Comments Add Comment

नेहरुले विपीलाई रिजेक्ट गर्दै भने, ‘ही इज अनप्रेडिक्टेबल !’

Ramhari joshi (2)

सन् १९५१ को जुलाई ६ मा ललितपुरको शशि भवनमा कांग्रेस कार्यकर्ता र नेताहरुको बैठक थियो । त्यसको नेतृत्व मातृकाप्रसाद कोइरालाले गरेका थिए । त्यो बैठकमा सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरुको कार्यशैलीप्रति केही सदस्यले असन्तुष्टि पोखे । बैठकको वातावरण तनावपूर्ण थियो । वीपी (विश्वेश्वरप्रसाद कोइराला) ले त्यसबेला निकै उत्तेजित भएर आफूमाथि लागेका आरोपको जवाफ दिएका थिए ।

राति साढे एघार बजे मात्र बैठक सकिएको थियो । केही साथीहरुबीच चर्को भनाभन र घम्साघम्सी परेको थियो । सुन्दरराज चालिसेले साथीहरुबीचको झगडा शान्त गर्न पहल गरिरहेको म सम्झन्छु । खासमा शशि भवनको त्यो घटना नै कांग्रेसभित्र कलहको श्रीगणेश थियो ।

वीपीका अनुसार राजाले उनलाई सोधेका रहेछन्, ‘मलाई थाहा नदिई किन राजीनामा दिएको ?’ वीपीले ठाडै भनेका रहेछन्, ‘मैले सोध्नु जरुरी ठानिनँ ।’

त्यो बैठकको करिब एक महिनापछि बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा सरकारको कार्यशैलीबारे वीपी लगायतका सरकारमा रहेका मन्त्रीहरुसँग १५ सूत्रीय लिखित स्पष्टीकरण मागिएको थियो । त्यो स्पष्टीकरण सोध्ने नेताहरु थिए, कृष्णप्रसाद भट्टराई, सूर्यप्रसाद उपाध्याय, त्रिपुरवरसिंह प्रधान, काशीनाथ गौतम र रामनारायण मिश्र । त्यसैगरी त्यसमा आमन्त्रित सदस्यहरु गोपालप्रसाद भट्टराई, बोधप्रसाद उपाध्याय, केदारमान व्यथित र दिगम्बर झाले पनि हस्ताक्षर गरेका थिए ।

त्यो संक्रमणकालीन अवस्थामा सरकारमा गएका मन्त्रीहरुले तीन-चार महिनामा के नै गर्न सक्थे र ?

मन्त्री गणेशमान सिंह भन्ने गर्थे, ‘संगीनको छायामा काम गर्नुपरेको छ, जतिबेला जे पनि हुनसक्छ ।’ नभन्दै गोर्खा दलले वीपीमाथि सांघातिक हमला गरेकै हो । त्यस्तो बेला मन्त्रीहरुको भूमिकाको प्रश्न उठाइएको थियो । त्यसले विस्तारै पार्टीमा कटुता बढाउँदै लग्यो । कटुता त्यसबेला चरम उत्कर्षमा पुग्यो, जब मोहन शमशेरको नेतृत्वमा रहेको अन्तरिम मन्त्रीमण्डल भंग भयो र मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भए ।

त्यसबेला विभिन्न समूहहरु मुलुकमा आन्दोलन गरिहन्थे । एकातिर सरकार चलाउन कांग्रेसका मन्त्रीहरुलाई राणाहरुको सहयोग थिएन । पार्टीका साथीहरु मन्त्रीमाथि आरोप बर्साइरहेका थिए । त्यस्तैमा एक दिन विद्यार्थीको समूह आफ्ना नेतालाई छुटाउन हनुमानढोका प्रहरी चौकी अगाडि पुगेर धर्ना दिन थाल्यो । त्यो भिड नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाउँदा दश कक्षामा पढ्ने छात्र चिनियाकाजी मारिए ।

चिनियाकाजी मारिएपछि वीपीले नैतिकताको आधारमा गृहमन्त्रीबाट राजीनामा दिए । वीपीको त्यो एउटा चातुर्य थियो । किनकि, वीपीले राजीनामा दिएपछि प्रधानमन्त्री मोहन समशेर लगायत अन्य सबै मन्त्रीलाई राजीनामा दिन कर लाग्यो । त्यसपछि सरकारमा राणा घटकको सहभागिता पनि समाप्त भयो । मोहन समशेर निर्वाचन बिना नै फालिए ।

वीपीले राजीनामा दिएकै भोलिपल्ट डिके शाही र म उनलाई भेट्न रंगमहलस्थित उनको निवासमा पुगेका थियौं ।

‘राजा, भारत र राणा घटक तीन वटै पक्षले काम गर्न नदिएकाले राजीनामा गरेको हुँ’, वीपीले भने ।

वीपीका अनुसार राजाले उनलाई सोधेका रहेछन्, ‘मलाई थाहा नदिई किन राजीनामा दिएको ?’

वीपीले ठाडै भनेका रहेछन्, ‘मैले सोध्नु जरुरी ठानिनँ ।’

वीपीले राजालाई नसोधी राजीनामा दिनु स्वाभाविक थियो । राजालाई सोध्नु र नसोध्नुको कुनै अर्थ थिएन । किनकि राजा जे गर्थे, भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुकै सल्लाहमा गर्थे ।

सरकारबाट राणा घटक त हट्यो, तर त्यसपछि राजा त्रिभुवन भने अलि निरंकुश हुँदै गए । मोहन समशेर हुँदासम्म राजा अलि हच्कन्थे । अब भने त्रिभुवन अलि डिक्टेटर हुने दिशामा गए । म तिनताक गणेशमानजीको चाक्सीबारीस्थित निवासमा बस्थें । नयाँ मन्त्रीमण्डल बनिसकेको थिएन ।

नक्सालस्थित महावीर भवन (जहाँ अहिले प्रहरी प्रधान कार्यालय छ) मा देशभरिबाट कांग्रेस कार्यसमितिका सदस्यहरु आइरहेका थिए । भोलिपल्ट बस्ने कार्यसमिति बैठकले प्रधानमन्त्रीको नाम दरबारमा पठाउनुपर्ने थियो । साथीहरु त्यसकै छलफलमा जुटिरहेका थिए । कोही पश्चिमको बर्दियाबाट आउनुपर्ने, कोही पूर्वबाट । यातायातको उस्तै समस्या । म पनि संयोगले त्यहाँ पुगेको थिएँ । महोत्तरीबाट आएका रामनारायण मिश्रलाई सोधेँ, ‘केमा आउनुभयो ?’ उनले भने, ‘श्रीमतीले टिकट कटाइदिइन्, म त हवाईजहाज चढेर आएको ।’ यस्तै केही न केही उपाय लगाएर साथीहरु आइरहेका थिए ।

राति बैठक भयो । ‘पार्टी हाम्रै हो, सरकार हामीले नै बनाउने हो, कसलाई प्रधानमन्त्री बनाउने त ?’ भन्ने सवालमा त्यहाँ बहस चलिरहेको थियो । मैले के थाहा पाएँ भने प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा त्यहाँ त स्पष्ट दुई समूह पो देखा पर्‍यो । एउटा समूह प्रधानमन्त्रीका रुपमा वीपी कोइरालाको नाम पठाउने पक्षमा थिए । उता, मातृकाप्रसाद कोइरालाको पक्षमा पनि उत्तिकै समर्थन थियो । पल्ला दुवैतर्फ करिब पचास-पचास प्रतिशत ।

नेहरुले राजासँग भनेका थिए, ‘नेपालको अहिलेको संक्रमणकालीन शासनमा वीपीलाई प्रधानमन्त्री बनाउनु ठीक हुँदैन । उनी जोशिला केटा हुन् । उनी आफू खुशी नै काम गर्छन्, हामीले भनेको पनि मान्दैनन्

महावीर शमशेर राजालाई भेटिरहन्थे । उनले भने, ‘एकपटक राजालाई नै भेटेर सल्लाह गरौं । किनकि, राजाले सायद वीपीलाई नबनाउन पनि सक्छन् । नेहरुलाई पनि वीपीको नाम स्वीकार्य हुनेछैन ।’

महावीर समशेरको कुराले बैठकमा मौनता छायो । वातावरण सन्न भयो ।

दिल्लीको मुड बुझ्न भनी नेपाली कांग्रेसले भोलिपल्ट कृष्णप्रसाद भट्टराई, सुवर्ण समशेर र सूर्यप्रसाद उपाध्यायलाई नारायणहीटी दरबार पठायो । नेताहरुले ‘प्रधानमन्त्रीमा मातृका र वीपीको नाम आयो, के गर्ने ? सरकारको राय के छ ?’ भनेर सोधे । राजा त्रिभुवनले भने, ‘हामीले यसबारेमा दिल्लीसँग नसोधी हुँदैन ।’

बल्ल कुरा स्पष्ट भयो । दिल्ली सम्झौता गर्दा नै नेपालमा कुनै राजनीतिक परिवर्तन वा सरकार गठन गर्दा दिल्लीसँग पनि सल्लाह गर्नुपर्ने’ सहमति भएको रहेछ । लिखित नभए पनि मौखिक समझदारी भएको रहेछ । ‘दिल्लीबाट केही सन्देश आएको छ ?’ नेताहरुले कोट्याउने क्रममा राजाले दुई दिनअघि मात्र भारतीय प्रधानमन्त्री नेहरुले आफूलाई पठाएको चिठीको गुह्य खोले ।

नेहरुले राजालाई लेखेको पत्रमा स्पष्ट शब्दमा मातृकाप्रसाद कोइरालालाई प्रधानमन्त्री बनाउँदा उचित हुने उल्लेख थियो । नेहरुलाई वीपी मन नपरेको भने होइन । नेहरुले राजासँग भनेका थिए, ‘नेपालको अहिलेको संक्रमणकालीन शासनमा वीपीलाई प्रधानमन्त्री बनाउनु ठीक हुँदैन । उनी जोशिला केटा हुन् । उनी आफू खुशी नै काम गर्छन्, हामीले भनेको पनि मान्दैनन् । उनलाई नियन्त्रण गर्न गाह्रो छ । उनले कहिले के गर्देलान् भन्नै सकिन्न । अनप्रेडिक्टेबल छन् । अहिलेको सन्दर्भमा गम्भीर प्रकृतिको र हामीले भनेको पनि मान्ने मातृकालाई राख्दा ठीक हुन्छ ।’

भारतको झुकाउ मातृका बाबुप्रति छ भन्ने कुरो खुल्यो । त्यहीँबाट कांग्रेसमा मातृका र वीपीको समूहबीच चिरा पर्‍यो । वीपीले स्वीकारे, नेहरुलाई विरोधमा पारेर काम गर्न गाह्रो हुन्छ । त्यसकारण उनले भने, ‘भो, भारतलाई नचिढाऔं, दाइलाई नै बनाए हुन्छ ।’

ठीक त्यसैताक मैले राजा त्रिभुवनलाई भेट्ने मौका पाएको थिएँ । म त्यसबेला काठमाडौंमा नेपाल र नेपाल बाहिरका प्रवासी नेपाली विद्यार्थीको बृहत् सम्मेलनको तयारीमा थिएँ । त्यसकै लागि चन्दा उठाउन राजाकहाँ पुगेको थिएँ । हिमाञ्चल छात्र संघका साथीहरु प्रधान न्यायाधीश हरिप्रसाद प्रधानका छोरा अरुणचन्द्र प्रधान र ईश्वरीलाल श्रेष्ठसँगै म मंसिर ८ गते दरबार पुगेको थिएँ । हाम्रो उद्देश्य थियो, चन्दा त माग्ने माग्ने, साथमा भारतले राजालाई उपहार स्वरुप दिएको डकोटा हवाईजहाजको पनि सहयोग माग्ने । राजाका भारतीय सल्लाहकार गोविन्दनारायणले नै भेटको चाँजोपाँजो मिलाएका थिए । नभन्दै राजाले नगद पाँच हजार भारु र हवाई जहाजको दश ट्रिप दिए । त्यसबाट प्रवासी नेपालीलाई काठमाडौंमा ल्याउन सजिलो हुने भयो ।

राजासँग मेरो त्यो भेट विद्यार्थी सम्मेलनका लागि आर्थिक र भौतिक सहयोग माग्नुमा मात्र सीमित रहेन, राजनीतिक रुपमा पनि उल्लेखनीय रह्यो । मातृकाप्रसादको नेतृत्वमा मन्त्रीमण्डल बनिसकेको थियो । सरकारको विरोधमा टंकप्रसादजीहरुको जुलुस आइरहेको थियो र, विरोधको स्वर त्यस दिन नारायणहिटी दरबारसम्म सुनिएको थियो ।

विद्यार्थी सम्मेलनको प्रसंग सकिएपछि मैले राजालाई ‘सरकार एउटा राजनीतिक प्रश्न गर्नु थियो’ भनेँ । अलि असहज महसुस गरे पनि उनले ‘हुन्छ, सोधे हुन्छ’ भने । मैले सोधेँ, ‘चिनियाकाजी काण्डपछि ४-५ दिनमै मन्त्रीमण्डल गठन भयो । हतार किन भयो ? छलफल गर्न पाइएन ।’

राजाले भने, ‘मैले धेरै दिन खाली राख्न भएन भनेर बनाइहालेको ।’

मैले सोधेँ, ‘मातृकाको नाम कसरी आयो ?’

उनले भने, ‘मैले नेपाली कांग्रेसकै कार्यसमितिको सल्लाह बमोजिम मातृकालाई प्रधानमन्त्री बनाएको हुँ ।’

खासमा राजाले हामीलाई त्यस दिन ढाँटेका थिए । मातृकाबाबुको नाम कांग्रेसबाट नभई नेहरुबाटै आएको थियो र नेहरुको आदेशसामु राजा लाचार थिए भन्ने कुरा कालान्तरमा खुल्दै गयो ।

मातृकाबाबु प्रधानमन्त्री भएपछि कांग्रेसमा कलह चर्कदै गयो । प्रधानमन्त्री र पार्टी सभापति एकै व्यक्ति हुनुहुँदैन भन्ने आवाज उठ्यो । ००९ सालको जेठमा जनकपुरमा सम्पन्न पार्टीको पाँचौं महाधिवेशनले वीपी कोइरालालाई पार्टी सभापति निर्वाचित गर्‍यो । विरोधमा पार्टीमा मातृकाबाबुको अर्को समूह क्रियाशील हुन थाल्यो ।

वीपी भन्थे, ‘प्रधानमन्त्रीले पार्टीको निर्देशन अनुसार काम गर्नुपर्छ ।’ प्रधानमन्त्री मातृका भन्थे, ‘सरकारको काममा पार्टीले हस्तक्षेप गर्न मिल्दैन ।’ पार्टी र सरकारको भूमिकाको विषयमा धेरै कचिङ्गल सुरु भयो ।

हुन त मातृकाबाबुको सरकार अन्तरिम संविधान बमोजिम नै चल्नुपर्ने अवस्था थियो । सरकारले विधान बमोजिम काम गरे-नगरेको अनुगमन गर्ने काम मात्र पार्टीको हो । तैपनि सरकारको कार्यशैलीप्रति पार्टी सन्तुष्ट भएन । प्रधानमन्त्री मातृकामाथि ‘जनताको आकांक्षा होइन, राजाको इच्छा अनुसार चलेको’ आरोप लाग्यो । पार्टीले मन्त्रीमण्डलको आकार घटाउन निर्देशन दिँदा पनि मातृकाले मानेनन् । पछि मन्त्रीमण्डलमा केही हेरफेर गर्न भन्दा पनि मानिएन । पार्टी र सरकारबीच कटुता कुन हदसम्म बढ्यो भने ००९ साल साउनमा प्रधानमन्त्री मातृकालाई पार्टीबाटै निश्कासित गर्ने निर्णय गरियो । सन् १९५२, अगस्त २९ (००९ साल भदौ १४ गते) विशालनगर दरबारमा कांग्रेस महासमितिको बैठक बोलाइयो ।

म त्यसबेला केही पत्रकारलाई लिएर विशालनगर दरबार पुगेको थिएँ । म त्यसबेला प्रचारप्रसारको काम हेर्थेँ । पत्रकार लिएर त्यहाँ पुग्दा सूर्यप्रसाद उपाध्यायले दुवैथरीलाई मिलाउने प्रयास भइरहेको बताए । अन्ततः पटकपटक मिलाउने प्रयास गर्दा पनि कुरा मिलेन । महासमितिमा मतदान भयो । महासमितिमा सहभागी १४९ प्रतिनिधिमध्ये १८ जनाले बैठक बहिष्कार गरे । १३१ कुल मतदातामध्ये ११८ जनाले मातृकालाई निष्कासन गर्ने कार्यसमितिको निर्णयको पक्षमा मतदान गरे । विपक्षमा ७ जनाले मत हाले । ६ मत बदर भयो ।

केही समयपछि मातृकाले केही असन्तुष्ट सदस्यको सहयोगमा राष्ट्रिय प्रजा पार्टीको स्थापना गरे ।

यता कांग्रेस विभाजनको पीडामा डुब्यो, उता राजा झन् निरंकुश हुँदै गए । उनले न्यायालयमाथि हस्तक्षेप बढाउन थाले । राजा त्रिभुवनको निधनपछि महेन्द्र राजा भए । हामी चाँडै संविधानसभाको निर्वाचन गर्नुपर्‍यो भन्ने, राजा पन्छिँदै जाने । त्यसपछि त राजा र हामीबीच झन् द्वन्द्व सुरु भयो ।

राजा महेन्द्र चलाख । उनले भडि्कन लागिरहेको जनविद्रोह थामथुम पार्ने रणनीति अपनाए । उनले नेताहरुसँग वार्तामा ‘संविधानसभाको निर्वाचन नगरौं, यसमा डबल खर्च हुन्छ । बरु संविधान बनाउन इंग्ल्याण्डबाट संविधानविद् आइभर जेनिङ बोलाउँछु । एकै पटक संसदकै निर्वाचन गरौं’ भन्ने प्रस्ताव राखे ।

जनताले संविधान बनाए आफूलाई खत्तम गर्छन् भन्ने महेन्द्रमा भय थियो । त्यसैले उनी संविधानसभाको निर्वाचन टार्न संसदको निर्वाचन गराउने पक्षमा रहे ।

०१५ साल फागुन ७ गते संसदको पहिलो आम निर्वानचनको मिति तोकियो । त्यसका लागि एउटा सल्लाहकार सभा गठन गरियो । सर्लाहीबाट म र वृक्षलाल सिंह मनोनीत भएका थियौं । सल्लाहकार सभाको अवधि एक महिनाको थियो । सल्लाहकार सभाको अध्यक्ष पदका लागि नेपाली कांग्रेसले होराप्रसाद जोशीको नाम प्रस्तावित गरेको थियो । मैले चाहिँ ‘कृष्णप्रसाद भट्टराई अध्यक्ष भएमा मात्र समर्थन गर्ने’ अडान राखेा । कांग्रेसले भट्टराईलाई खडा नगरेपछि मैले अर्कै निर्णय गरेा । स्वतन्त्र सदस्यहरुले इलाहवाद युनिभर्सिटीबाट बीए पास गरेका युवा सूर्यबहादुर थापालाई खडा गरे । मैले थापाकै नाम प्रस्तावित गर्न मञ्जुरी दिएा । थापा सल्लाहकार सभाको अध्यक्ष भए । होराप्रसाद हारे ।

संविधान बन्यो । संविधानमा राजालाई ‘पावर’ दिइयो । राजालाई मनमा लाग्यो भने सरकार विघटन गर्नसक्ने दफा पनि राखियो । त्यो बुझेर पनि हामी निर्वाचनमा लाग्यौं । नेपाली कांग्रेसले कुल ९० स्थानमध्ये ७४ स्थानमा विजय प्राप्त गर्‍यो । त्यो दुई तिहाइ बहुमत थियो । निर्वाचनमा प्रमुख दलका केही दिग्गज नेताहरु भने हारे । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई, प्रजा परिषद्का टंकप्रसाद आचार्य, भद्रकाली मिश्र, नेपाली राष्ट्रिय कांग्रेसका डिल्लीरमण रेग्मी, कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र केशरजंग रायमाझी, संयुक्त प्रजातन्त्र पार्टीका डा. केआई सिंह र तराई कांग्रेसका वेदानन्द झा हारे । सन् १९५९ मे २७ मा वीपीको नेतृत्वमा नेपाली कांग्रेसको प्रथम जननिर्वाचित सरकार गठन भयो ।

नेपाली कांग्रेसको सरकारले मुलुकमा क्रान्तिकारी सुधार गर्न थाल्यो । जंगलको राष्ट्रियकरण भयो । राजा रजौटा उन्मुलन गरियो । बिर्ता उन्मुलन गरियो । यसबाट राजाका सबै आर्थिक स्रोत गुम्न थाले । यसले दरबारियाहरुमा छटपटी बढायो । जंगल राष्ट्रियकरण गर्दा सरकारले मुआब्जा दिएको थियो । राजाका भाइ हिमालयलाई चाहिँ त्यो मुआब्जा पुगेनछ । उनले त हाकाहाकी भने, ‘मुआब्जा थोरै भयो, यो त पुग्दै पुगेन ।’

वीपीले स्पष्ट रुपमा भनिदिए, ‘यो भन्दा बढ्ता पाइँदैन ।’

यस्ता धेरै कारण रहे, जसले गर्दा दरबार र जननिर्वाचित सरकारबीच खटपट सुरु हुन थाल्यो । सरकारी कर्मचारीको नियुक्ति र बर्खास्तगीबारे राजा र प्रधानमन्त्रीबीच मतभेद हुन थाल्यो । सरकारको कार्यशैली देख्दा राजालाई कतै आफैंलाई खत्तम गर्ने त हैनन् भन्ने पनि लाग्न थाल्यो । त्यसबाहेक वीपीको करिश्म्याटिक व्यक्तित्व, जुन राजा महेन्द्रलाई दिनप्रतिदिन बिझाउँदै गएको थियो । त्यसैले राजाले जनताको शक्ति खासगरी वीपी र नेपाली कांग्रेसलाई कमजोर बनाउने षड्यन्त्र सुरु गरे ।

बिर्तावाल, छोटे सामन्त र परिवर्तन मन नपराउने तत्वहरु जिल्ला-जिल्लामा कांग्रेसको सरकारलाई बदनाम गराउने अनेक चलखेल गर्न थाले । बिर्तावालहरुले राजाको दुहाई दिँदै कांग्रेसको विरुद्ध अभियान थाले । मुम्बईमा रहेका वीपीले त्यसबेला आक्रोशित हुँदै राजा महेन्द्रतर्फ संकेत गर्दै भनेका थिए, ‘प्रजातन्त्र आएर पनि कोही आफूलाई पहिलेकै जस्तै ठान्छ भने त्यो उसको दिवास्वप्न हो, त्यस्ता तत्वलाई म यहीँबाट चुनौती दिन्छु ।’

वीपीले राजालाई सम्झाउँदै भने, ‘सरकारलाई समय कटाउन कठिन भएको भए नगर विकास योजना र राष्ट्रिय निकुञ्जको स्थापनातर्फ ध्यान बक्सी योजना दिइबक्से हामी त्यसको कार्यान्वयन गर्न सहयोग गर्नेछौं ।’

वीपीले आफैंलाई भनेको हो भन्ने कुरा राजा महेन्द्रले पनि महसुस गरेका थिए । उनले डा. तुलसी गिरीसँग भनेका रहेछन्, ‘तिम्रो वीपीले यो कसलाई भनेको भन त ? मलाई भनेको हैन ? मलाई नै भनेको हो ।’

योगी नरहरिनाथले ‘कर्मवीर महामण्डल’ नामक संस्थामार्फत पश्चिम १ नम्बर र २ नम्बरमा सामन्त वर्गलाई उक्साएर उपद्रव मच्चाए । पश्चिम २ नम्बरमा उपद्रव मच्चाउने सामन्तहरुको झुण्डले बडा हाकिमको कार्यालयमाथि हमला गर्दा भिड नियन्त्रण गर्ने क्रममा गोली चलाउँदा केही मानिस मारिएका थिए । त्यसैताक योगी नरहरिनाथको झोलाबाट एउटा आपत्तिजनक चिठी पनि फेला पर्‍यो । ‘नेपाली कांग्रेसको सरकारविरुद्धका गतिविधिमा सहयोग गर्नू’ भनेर राजाका पिएले जिल्लाका ठूलाठालु, बिर्तावाललाई सन्देश पठाएको व्यहोरा चिठीमा थियो । यसरी राजाको षड्यन्त्र पर्दाफास भयो । वीपीले ‘योगीलाई कसैले उचालेको हो’ भनेर घुमाउरो पारामा राजातर्फ संकेत गरे ।

राजा महेन्द्र त्यसबेला युरोप भ्रमणमा थिए । उनका साथ सवारीमन्त्री सुवर्ण शमशेर पनि थिए । वीपीको कुरा सुनेपछि लण्डनमा राजा महेन्द्रले सवारीमन्त्रीलाई भने, ‘सुवर्ण, यो कसलाई भनेको ? तिमीहरु के घमन्ड गर्छौ ? म यहीँ बसीबसी तिमीहरुलाई खत्तम गरिदिन्छु ।’ त्यसबेला सुवर्ण शमशेरले, ‘खै के भयो ? रेडियोमा खबर दिनेले पनि ट्वीस्ट गरेको होला सरकार’ भनेर राजाको आक्रोश शान्त पारेका थिए ।

०१६ सालको जाडो महिनामा म बिरामी परेँ । प्लुरिसी र टिबी भएको शंकामा डाक्टरले उपचार थाले । म घरमै आराम गरेर बसिरहेको थिएँ । त्यसै वर्ष माघमा नेपालगन्ज सवारीमा राजा महेन्द्रको कडा भाषण आयो । मैले बिरामी भएर ओछ्यानमा आराम गरिरहेकै बेला राजाको भाषण गोरखापत्रमा पढेको थिएँ । राजाले कांग्रेस सरकारको कार्यशैली यस्तै रहेमा आफू चुप लागेर नबस्ने चेतावनी दिएका थिए । त्यो सुनेपछि वीपीले नेपालगन्जमै रहेका सवारीमन्त्री डा. तुलसी गिरीलाई कडा प्रतिवादका साथ टेलिग्राम पठाएका थिए ।

वीपी स्वयंले पछि भने अनुसार प्रत्यक्ष रुपमा भेट्दा राजा महेन्द्र निकै प्रजातन्त्रवादी जस्तो देखिएर कुरा गर्थे, तर भित्रभित्रै उनी षड्यन्त्रमा लिप्त थिए । एकदिन वीपीले राजालाई भेटे । त्यसबेला राजाले वीपीसँग यस्तो गुनासो गरे, ‘तपाईँहरु सबै काम जनताको सरकारले गर्ने हो भन्नुहुन्छ । मैले के गरेर बस्ने ? दरबारमा मलाई समय कटाउन नै गाह्रो हुन्छ ।’ वीपीले राजालाई सम्झाउँदै भने, ‘सरकारलाई समय कटाउन कठिन भएको भए नगर विकास योजना र राष्ट्रिय निकुञ्जको स्थापनातर्फ ध्यान बक्सी योजना दिइबक्से हामी त्यसको कार्यान्वयन गर्न सहयोग गर्नेछौं ।’

राजाले ‘हुन्छ’ त भने, तर त्यसको चार-पाँच महिनापछि ०१७ साल पुस १ गते ‘कू’ गरे ।

नेपालमा यो घटना भइरहँदा म भने भारतको राजधानी नयाँ दिल्लीमा युनेश्कोद्वारा आयोजित दक्षिण-पूर्वी एसियाली विज्ञान शिक्षा सम्बन्धी सेमिनारमा सहभागी थिएँ । मेरो साथमा त्रिभुवन विश्वविद्यालयका डा. ध्रुवमान अमात्य तथा त्रिचन्द्र कलेजका प्रिन्सिपल फणिन्द्रप्रसाद लोहनी पनि थिए । हामी दिल्लीको एउटा पाँचतारे होटलमा बसेका थियौं ।

म त्यस दिन बिहान होटलको काउन्टरमा बसेर फोनमार्फत दिल्लीस्थित नेपाली राजदूत दमन समशेरसँग भेटघाटको समय मिलाउने कोशिस गरिरहेको थिएँ । राजदूतसँग भोलि भेट्न आउँछौं भनेर भन्दा उनले ‘मलाई फुर्सद त नहोला, तर आउन त आउनुस्’ भने । त्यही काउन्टरमा तात्कालीन गोरखा परिषद्का सांसद बेनीबहादुर कार्की (जो ०४८ सालको निर्वाचनपछि नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभाको अध्यक्ष भए) पनि भेटिए । उनी ‘मलाई पनि राजदूतसँग भेटने समय मिलाउनुस्’ भन्दै थिए ।

त्यो दिन हामी सेमिनारमा भाग लिएर राति आ-आफ्नो कोठामा आएर सुत्यौं । भोलिपल्ट अर्थात् ०१७ साल पुस २ गते झिसमिसेमै हामी सुतिरहेको कोठाको ढोका कसैले ढकढक्यायो । हामीलाई लाग्यो, चिया लिएर आउने ब्वाय हो । तर, होइन रहेछ । ढोका खोल्दा त बेनीबहादुर कार्की पो रहेछन् । उनी सीधै आएर खाटमा पल्टिएर एकदम आत्तिएको मुद्रामा भने, ‘लौ मिस्टर, नेपाल खत्तम !’

उनको हातमा ‘स्टेट्सम्यान’ नामक अंग्रेजी पत्रिका थियो, त्यसमा वीपी र महेन्द्रको फोटो प्रकाशित थियो । ठूल्ठूला अक्षरमा लेखिएको थियो, ‘किंग टेक्स ओभर इन नेपाल ।’ त्यही पत्रिका पढेर थाहा पायौं, वीपी लगायत नेपाली कांग्रेसका सबै नेता-कार्यकर्ता पक्राउ परे ।

(नेपाली कांग्रेसका वरिष्ठ नेता जोशीसँग गरिएको कुराकानीमा आधारित )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment