Comments Add Comment

अर्को जुनी पाउने भए चरा हुन मन छ: शिबहरि पौडेल

पछिल्लो समयका ब्यस्त कलाकार हुन् शिबहरि पौडेल । हाँस्य टेलिश्रृङ्खला ‘जिरे खुर्सानी’ का कलाकार एवं निर्देशक पौडेलले पछिल्लो समय हाँस्यश्रृङ्खला ब्रेकफेल निर्देशन गरेका छन् ।

लामो समय राष्ट्रबैंकमा काम गरेका पौडेल आफ्नो जीबनलाई फर्केर हेर्दा सन्तुष्ट भएको धारणा राख्छन् । अनुहारमा हल्का चाउरी परेको अनुभव गरेका पौडेल चाहन्छन् अर्को जुनी पाउने भए चरा हुन् । उनै शिबहरिसँग ध्रुव लम्सालले गरेको अन्तरंग कुराकानी ।  shivahari

१. तपाई त पुरुष ऐना त धेरै हेर्नु हुन्न होला?
किन नहेर्नु दिनमा चार पटक ऐन हेर्छु । बिहान उठ्ने बित्तिकै । मुख धोएपछि । यताउती जाँदा कपडा लगाएपछि र बेलुका घरमा आएपछि ?

२. अफिसमा हेर्नु हुन्न ?
अफिसमा ऐन थिएन । ट्वाइलेटमा मात्रै थिए । त्यति हेरिन ।

३. तपाईको शरीरको सुन्दर अंग सुन्दर लाग्छ ?
आँखा ।

४. तपाईले भनेको कि अरुले ?
अरुले नै भनेको ।

५. शरिरको कुनै अंग मिलाउन पाए ?
अनुहारमा चाउरी पर्न थालेको छ । त्यो चाउरी हटाउथें ।

६. जीवनको सबैभन्दा रमाइलो दिन ?
गाउँमा एकदमै दुःख गरेर हुर्केको मान्छे । सन २०१० मा अमेरिकाको भिषा लाग्दा सार्‍है खुसी लाग्यो । दुई महिना अमेरिका घुमेर आएँ ।

७. भगवानसित वरदान माग्ने अवसर पाए ?
सबथोक दिएकै छन्, खासै माग्न पर्ने कुरा छैन । माग्नैपरे टेन्सन नदेउ शान्ति देउ भन्थें । मलाई मात्रै हैन सबैलाई । शान्ति दिएपछि सुख आफैं आउँछ ।

८. तपाईंले सबैभन्दा दोहोर्‍याउने थेगो ?
कुरा बुझ्नु भयो भन्ने गर्छु बेला बेलामा । धेरै दोहोरिने शब्द चाँही यार हो ।

९. अहिले तपाईंको पर्स खोतल्यो भने कति पैसा भेटिएला ?
७/८ हजार होला । ऋण खोजेर भएपनि त्यति पैसा चाँहि बोक्ने गर्छु । के थाह कहाँ के पर्छ । यो कुरो सुनेर पकेटमारहरु उत्साहित होलान । पकेटमारहरुले यो नपढेकै राम्रो ।

१०. तपाईंको व्यक्तिगत ऋण कति छ ?
ठ्याक्कै तीस लाख छ ।

११. माया मारेको ऋण चाहिँ कति होला ?
७/८ लाख जति छ । जति गर्दा पनि उठाउन सकिएन । त्यो सबै आफ्नै साथीभाई लगेर दिएनन् ।

१२. दिन र रातमा कुन प्यारो ?
रात प्यारो । किनकी रातमा शरिरले एकदमै आराम पाउँछ ।

१३. गर्मी र जाडो कुन रमाइलो ?
दुबै उस्तै हो । हरेक मौसमको आ-आफ्नै महत्व छ ।

१४. मोटाउन मन छ कि दुब्लाउन ?
ठिक्कको हुन मन छ मोटाउन पनि नपरोस्, दुब्लाउन पनि नपरोस् ।

१५. तपाईंका अवगुणहरु के-के हुन् ?
म कसैको पनि दुःख देख्न सक्दिन । कसैले बहाना बनाएर वा झुक्याएरै भएपनि सहयोगा माग्यो भने सहयोग गर्ने गर्छु । मेरोमा नाई भन्ने शब्द नै छैन ।

१६. तपाईंका सदगुण ?
त्यहि हो । जसलाई पनि सहयोग गर्ने वानी छ ।

१७. हल्लाखल्ला मन पर्छ कि एकान्त ?
मलाई हल्लाखल्ला मन पर्दैन । एकान्त नै मन पर्छ ।

१८. कुन सेलिब्रिटीको सुन्दरता देख्दा डाह हुन्छ ?
ठ्याक्कै नाम त छैन । तर, मलाई बाहिरि सुन्दरता भन्दा पनि राम्रो अभिनय गर्ने कलाकार देख्दा डाह लाग्छ ।

१९. तपाईंको अनुहार कुन विदेशी सेलिब्रिटीसित मिल्छ ?
साथीहरुले त अनुपम खेर जस्तो भन्छन् । होचो होचो मोटो भएर होला ।

२०. तपाइँको मोबाइलमा दैनिक कति कल जति फोन आउँछन् ?
त्यस्तै ८०/९० कलजति आउछ ।

२१. फुर्सदमा कसरी टाइमपास गर्नुहुन्छ ?
म किताब पढेर समय बिताउछु ।

२२. कस्तो किताब पढ्नु हुन्छ ?
म सिरियस किताब कहिल्यै पढ्दिन । प्राय हाँस्यरसले भरिएका किताब र चुट्किला पठ्छु । त्यस्ता किताबले मन र शरीर दुबैलाई फाइदा पुग्छ ।

२३.तपाईंका मिल्ने साथीहरु को-को हुन् ?
क्षण क्षणमा भेट हुने किरण केसी दाई, मनोज आचार्य र टिकाराम कणेंल ।

२४. मन्त्री बन्न अफर आयो भने कुन मन्त्रालय रोज्नुहुन्छ ?
म विनाविभागिय मन्त्रालय रोज्छु ।

२५. किन ?
अहिलेसम्म बनेका मन्त्रीहरुको काम देखियो । तर, विभाग सम्हालेका मन्त्रीहरुलाई पनि कसैले टेरेको देखिएन । विनाविभागीय मन्त्री भएपछि टन्टै साफ । मन्त्री हुने रहर पुरा भैहाल्छ ।

२६. सबैभन्दा आरामदायी लुगा के लाग्छ ?
हाफ सर्ट, पाइन्ट । तर, दुबै खुकुलो मन पर्छ । आफैंले लगाएको लुगाले शरीरलाई असर नगरोस् ।

२७. कति घण्टा सुत्नुहुन्छ ?
आजसम्म दिउसो सुतेको रेकडै छैन । रातीमा पनि ३/४ घण्टा भन्दा धेरै सुत्दिन ।

२८. खाना खान कति बेर लाग्छ ?
मैले सबै भन्दा छिटो गर्ने काम भनेको खाना खाने हो । ३ देखि पाँच मिनेटमा खाईसक्छु ।

२९. तपाईं कत्तिको गफाडी हो ?
गफाडी त हो । तर, म नचाँहिने झुटो कुरा बोल्दिन । हैषियत भन्दा माथी उठेर ठूलो कुरा पनि गर्दिन ।

३०. तपाईंको अम्मल ?
कहिले काँही सुर्ती माडेर खान्छु । सुर्ती खानु राम्रो हैन थाह छ । तर, कहिले काँही लेख्न लाग्दा फुर्दैन । अनी सुर्ती माडेर मुखमा हालेपछि सरर फुर्छ ।

३१. झूटो कति बोल्नुहुन्छ ?
झुटो बोल्छु तर, मैले झुटो बोलिँदिँदा कसैलाइ राम्रो हुन्छ भने मात्रै ।

३२. कस्ता मान्छे देख्दा झोक चल्छ ?
जो मान्छे फुर्ति लाउछ । आफ्नौ हैषियत भन्दा माथी उठेर कुरा गर्छ । अरुलाई हेपेर कुरा गर्ने मान्छे पटक्कै मन पर्दैन ।

३३. बुढेसकाल कस्तो होस् भन्ने चाहनुहुन्छ ?
बुढेशकालै नहोस् भन्ने चाहन्छु ।

३४. कहिल्यै चोरी गर्नुभएको छ ?
गाउँको मान्छे खासै पैसा हुन्न थ्यो । ५ कक्षामा पढ्दा बाको दुई रुपैया चोरोको छु । मेरो घर नजिकै मन्दिर थियो । एकादशी, पुणिर्मा लगायतमा मन्दिरमा मेला लाग्थ्यो । त्यस्तो बेलामा मन्दिरमा पाँच पैसा, दश पैसा चढाउथे । त्यो पैसा टिपेर हिंडथेँ ।

३५. फेरि जन्मिँदा के बन्न चाहनुहुन्छ ?
चरा भएर जन्मिन चाहन्छु । चरा भएपछि आकाशमा आफ्नै स्टाईलमा उड्न पाईन्छ । रुखमै बस्न पाईन्छ, रुखमै फलफूल खान पाईन्छ । सबै भन्दा महत्वपूर्ण कुरा चरालाई नेपाल बन्दले कुनै असर गर्दैन ।

३६. बाटोमा पैसाको बिटो भेट्नुभयो भने ?
टिप्छु ।गोजीमा राख्छु । कोही मेरो पैसा हरायो भन्दै आयो र उसले हराएको कुरो चित्त बुझ्नेगरि राख्यो भने दिन्छु । हैन भने भगवानले मेरै लागि दिएका रहेछन् भनेर खर्च गर्छु ।

३७. तास खेल्न आउँछ ?
किन नआउनु । साथीभाई संग बसेर मज्जाले म्यारिज खोल्छु । म्यारिजले दिमागलाई पनि एक्सरसाइज गराएको हुन्छ ।

३८. तासमा मार्नुहुन्छ कि हार्नुहुन्छ ?
मैले अहिलेसम्म मारेको रेकर्ड छैन । ८५ प्रतिशत हारेकै हुन्छु ।

३९. तपाईंले अहिलेसम्म गरेको गलत निर्णय ?
एउटै हो । जागीर खान थालेपछि माष्सर्ट पढिन् । ब्याचलरमै सिमित भएँ । तीन पटक माष्टर्सका लागि भर्ना पनि गरेँ तर, पढिन ।

shivahari 2

४०. तपाईंले गरेको सबैभन्दा राम्रो काम ?
हाँस्य क्षेत्रमा लागेर दर्शकलाई मनोरञ्जन दिन सकें ।

४१. अरुलाई गाली गर्दा प्रयोग गर्ने शब्द ?
बद्मास भन्छु ।

४२. कति वर्षसम्म बाँच्न चाहनुहुन्छ ?
जबसम्म शरीरले साथ दिन्छ । यति नै वर्ष भन्ने छैन ।

४३. राति निद्रा लागेन भने के गर्नुहुन्छ ?
उठेर बत्ति बाल्छु । अनलाईनमा समाचार पढ्छु । त्यति गर्दा पनि निन्द्रा लागेन भने टिभी खोलेर समाचार हेर्छु ।

४४ अनलाईन केमा हेर्नुहुन्छ ?
पहिला मोबाईलमा पढथें । अहिले आँखालाई अप्ठयारो होला कि भनेर ल्यापटपमा हेर्ने गरेको छु ।

४५. नेपालपछि मन पर्ने देश ?
रसिया ।

४६. यदि केटी भएर जन्मेको भए कसलाई मन पराउनुहुन्थ्यो ?
म केटी भएर जन्मेको भए शिबहरि पनि जन्मिन्थ्यो होला नि उसैलाई मन पराउथेँ ।

४७. तपाईं सबैभन्दा बढी सुनेको गीत ?
सानैदेखि नारायण गोपालको गीतहरु सुन्थेँ । सल्मा आगाको दिलकी अरमा…भन्ने गीत पनि धेरै सुनें । मेरो घरमा सानो टेपरीकर्डर थियो । यी गीत निकै सुन्थें ।

४८. टीभीमा सबैभन्दा बढी हेर्ने कार्यक्रम ?
म कुनै पनि हाँस्य कार्यक्रम छुटाउदिन । त्यसपछि समाचार हेर्छु ।

४९. सबैभन्दा मीठो पकाउन जानेको परिकार ?
म सबथोक मिठो पकाउछु । पकाउने मामलामा मलाई कसैले भेट्दैन । मैले पकाएको फर्सिको तरकारी स्पेशल हुन्छ ।

५०. मीठो नलाग्ने तरकारी ?
मेरो मुख सार्‍है मिठो छ । मलाई नमिठो केहि पनि लाग्दैन ।

५१. अहिलेसम्म गरेको ठूलो दान ?
म पशुपतिनाथ मन्दिर जाँदा असहायहरुलाई सहयोग गर्छु । कसैलाई सिक्का दिन्छु त कसैलाई १०/२० । कतिजनालाई पाँचसय हजार पनि दिएको छु । सबै भन्दा ठूला दानचाँही क्षमा दान दिने गरेको छु । मेरो बिरुद्ध लाग्ने जो कसैलाई पनि मैले क्षमा दान दिने गरेको छु ।

५२. अबको २० वर्षपछि तपाईंलाई कहाँ भेटिएला ?
हेटौडा वा काठमाडौमा । ठ्याक्कै त भन्न सक्दिन ।

५३. स्कुल पढ्दा पाएको सबैभन्दा ठूलो सजायँ ?
स्कुल पढ्दा हेडसर निकै कडा हुनुहुन्थ्यो । उहाँलै लौरै लौराले हानेर मेरो औला फुटाइदिनु भएको छ । मलाई अनुशासित हुन सिकाएको पनि उहाँको त्यहि लौराले हो ।

५४. जीवनमा पाएको सबैभन्दा ठूलो पुरस्कार ?
दर्शकले मलाई हाँस्य कलाकार भनेर मन पराइदिनु भएको छ ।

५५.मन लागेर पनि गर्न नपाएको काम ?
मलाई गायक बन्ने ठूलो रहर थियो । स्कुल पढ्दा हरेक शुक्रवार अतिरिक्त क्रियाकलाप हुन्थ्यो । म खुब गीत गाउँथेँ । मेरो गीत सुनेर शिक्षक र विद्यार्थीले मनोरञ्जन लिन्थे । रेडियो नेपालमा चारवटा गीत पनि रेकर्ड गरेँ तर, गायक हुन सकिन ।

५६. तपाईंसित भएको सबैभन्दा महंगो वस्तु ?
मलाई मेरो मोटरसाईकल सबै भन्दा महंगो लाग्छ । किनकी मैले मोटरसाइकल सार्‍है दुःख गरेर पैसा जम्मा गर्नुको साथै किस्ता बन्दीमा किनेको थिएँ ।

५७. किन्न मन लागेर पनि नसकेको चिज ?
माया । अहिलेसम्म किन्न सकेको छैन ।

५८. अहिले नेपालमा कसलाई प्रधानमन्त्री बनाउदा राम्रो होला?
मैले त अहिलेसम्म यो देशमा प्रधानमन्त्री बनाउन लायक मान्छे नै देखेको छैन । जतिपनि प्रधानमन्त्री भए तिनले गफ मात्रै गरे । काम गरेनन् । सत्तावाट बाहिरिएपछि मात्रै यस्तो गर्छु र उस्तो गर्छु भने ।

५९. चुरोट खानुभएको छ ?
कहिले काँही डि्रङ्स गर्दा साथीहरुको लहै लहैमा लागेर गरेको छु । तर बानी छैन ।

६०. कहिल्यै बन्दुक समात्नुभएको छ ?
बन्दुक समातेको छु । तर, नक्कली । भृकुटी मण्डप मेलामा बन्दुक पड्काएको पनि छु ।

६१. बन्दुक समाउदा डर लागेन ?
नक्कली भन्ने थाह भएर होला डर लागेन ।

६२. आफ्नो नाम फेर्नुर्पयो भने ?
बाबु राख्छु । किनकी मेरो घरमा आमाले बोलाउने नाम पनि बाबु नै हो ।

६३. काठमाडौंको मन नपर्ने ठाउँ ?
मलाई काठमाडौको कुनै पनि साँघुरो गल्ली मन पर्दैन ।

६४. गाडीमा कति घन्टासम्म जाममा परेको अनुभव छ ?
१३ घण्टा जाम परेको छु मुग्लीनदेखि नौबिसे आईपुग्न १३ घण्टा लागेको छ ।

६५. चुनावमा कसलाई भोट हाल्नुभएको छ ?
अहिलेसम्म मैले तीन पटक भोट हालेँ । तिनै पटक मैले भोट हालेको मान्छेले चुनाब हार्‍यो । त्यसकारण अचेल भोट हाल्नै छाडें ।

६६. अरुलाई थाहा नभएका तपाईंका तीन गोप्य कुरा ?
मेरो गुन धेरै छन् । सबैलाई सहयोग गर्छु । सानालाई माया र ठूलालाई आदर गर्छु ।

६७. तपाईंलाई अरुले सबैभन्दा बढी सोध्ने प्रश्न ?
कसरि फिल्मलाइनमा आउनु भयो भनेर सोध्ने धेरै छन् ।

६८. तपाईंको गाडीमा तेल कति छ ?
गाडी र बाईकमा कहिल्यै तेल खाली हुँदैन । गाडीमा पाँचलिटर बाँकी हुँदैमा हाली हाल्छु । बाइकमा पनि पाँच लिटर घटाउने गरेको छैन ।

६९. तपाईंले अहिलेसम्म पाएको सबैभन्दा बहुमूल्य उपहार ?
छोरी ।

७७. तपाईंको प्रेरणा स्रोत ?
आमा ।

७१. राजनीतिमा हाम्फाल्नुभयो भने कुन पार्टी रोज्नुहुन्छ ?
म अहिलेकै पाटीमा लाग्दिन । यदि राजनितीमा लागीहालें भने नयाँ पार्टी खोल्छु । मेरो पार्टीको नाम हुन्छ ध्वस्त पार्टी ।

७२. कसम खाँदा प्रयोग गर्ने शब्द ?
भगवान कसम ।

७३. तँ भन्ने साथीहरु कति जना छन् ?
मैले चिनेका ५० प्रतिशत साथीलाई तँ नै भन्छु ।

७४. सपिङ गर्न जाने ठाउँ ?
फुटपाथ । फुटपाथमा अहिले सस्तो राम्रो सामान पाईन्छ ।

shivahari-3
७५. तपाईंलाई दिनमा कति जनाले नमस्ते गर्छन् ?
जागीर खाँदा त दिनमा १५० जनासम्मले गर्थे । अहिले पनि ६०/७० जनाले गर्छन् ।

७६. तपाईं दिनमा कतिजनालाई नमस्ते गर्नुहुन्छ ?
म साना ठूला सबैलाई स-सम्मान नमस्कार गर्छु । मेरो पनि त्यस्तै होला दिनमा ६० जना जतिलाई नमस्कार गर्छु ।

७७. तपाईंले संगत गरेको सबैभन्दा रमाइलो व्यक्ति ?
किरण केसी दाई ।

७८. ज्योतिषीलाई हात हेराउनु भएको छ कि छैन ?
तीन पटक हेराएको छु । पहिला विश्वास लाग्थेन । एक पटक हेराएको बिगतका सबै कुरा मिलाईदिए अनि विश्वास लाग्यो ।

७९. दैनिक कति घण्टा फेसबुक चलाउनुहुन्छ ?
त्यस्तै आधाघण्टा जति ।

८०. तपाईंले हेरेको मध्ये सबैभन्दा झूर फिल्म ?
धमेन्द्रको गुन्स भन्ने फिल्म सार्‍है झुर लाग्यो ।

८१. तपाईंले पढेको सबैभन्दा खराब पुस्तक ?
अश्लिल साहित्य ।

८२. सबैभन्दा बढी जाने मन्दिर ?
बंगलामुखी । हरेक बिहिवार म ब्रत बस्छु । गोसाइकुण्ड पनि मान्छु । अरु धेरै भगवानलाई मान्छु ।

८३. एक सिलिन्डर ग्यास र एक तोला सुनमा एउटा रोज्नुर्पयो भने ?
सिलिण्डर रोज्छु किनकी एक सिलिण्डरले मेरो एक महिना चुलो बल्छ ।

८४. तपाईंका विदेशी मित्र कतिजना छन् ?
८/१० जना छन् ।

८५. मन पर्ने फूल ?
पारीजात ।

८६. तपाईंले चिनेको सबैभन्दा ठूलो मान्छे ?
मेरो त्यस्ता ठुला मान्छेहरुसंग चिनाजानी नै छैन ।

८७. आफ्नो कमाइले किनेको पहिलो वस्तु ?
पहिलो महिनाको तलबमा केहि पैसा थपेर हिरो साइकल किनेको थिँए ।

८८. नेपालको राजधानी सार्नुर्पयो भने कहाँ सार्दा ठीक होला ?
दाङ सार्दा राम्रो हुन्छ ।

८९. तपाईंले अहिलेसम्म गरेको ठूलो झगडा ?
पहिला बागबजारमा डेरामा बस्दा एकजना मधेशी मुलका नागरिकले साइकलमा तरकारी लिएर हिंड्दै थिए । तीनजना केटाहरुले साइकल लडाईदिए । मलाई असैह्य भएर आयो । अनी ति तिनजनासंग ठूलै झगडा पर्‍यो ।

९०. तपाईंसित कति कोट छ ?
तीनवटा कोट छ । खासै लाउदिन ।

९१. नेपाल गरिब हुनुको कारण ?
यहाँको नेतृत्व सक्षम नभएर ।

९२. नेपाली जनता पनि गरिब छन् नि ?
जनताको मानसिकता पनि गरिब खालकै छ ।

९३. तपाईंको मासिक खर्च कति हो ?
त्यस्तै १५ हजारजति होला ।

९४. जीवनमा कति लामो लाइन बसेको अनुभव छ ?
म सँधै लाईन बस्छु । कलाकार भनेर लाईन नबसेको रेकर्ड छैन ।

९५. तपाईंले पछिल्लो पटक भ्रमण गरेको देश कुन हो ?
बेलायत ।

९६. तपाईंले२० वर्षे तरुनीसंगकम्मर मकाएर नाँचेको दर्शकले हेर्न पाउलान् ?
अँ । त्यो सम्भावना छ । दुई तीनवटा फिल्ममा कुरा हुँदैछ ।

९७ .तपाइ आफैं निर्देशक चाँही बन्नु हुन्न ?
म आफैं पनि पनि निर्देशक बन्ने कुरा छ । बुढो र तरुनीको कथा राखेर फिल्म बनाउने तयारीमा छु । अरुले बनाएनन् भने म आफैं बनाउँछु ।

९८. निर्देशन गर्दा मज्जा कि अभिनय गर्दा ?
अभिनयमा जिम्मेवारी थोरै हुन्छ ।

९९. छक्का पञ्जामा त राम्रै तरुनीसंग बिहे गर्न खोज्नु भएको रहेछ नि ?
सिनेमामा त त्यस्तो कति गरियो गरियो ।

१०० रियलमा पनि मन छ र ?
छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment