Comments Add Comment

१० चम्चासम्म चिनी भएका यी खाना, हामीले थाहै नपाई खाइरहेका छौं

कर्न फ्लेक्सदेखि कोकसम्म, दहीदेखि न्युटेलासम्म

३ कात्तिक, काठमाडौं । मोटोपन बढाउनमा हाम्रा दैनिक खानेकुरामा पाइने अत्यधिक क्यालोरी सवैभन्दा जिम्मेवार कारण हो । शारीरिक श्रमको कमी हुने शहरी क्षेत्रमा अत्यधिक क्यालोरीकै कारणमा मानिसहरुलाई युवा उमेरमै मधुमेह (सुगर)ले सताउने गरेको छ ।

हाम्रोजस्तो चिया संस्कार भएको मुलुकमा हरेक दिन पिइने चिया र त्यसमा हुने चिनीको मात्रा सुगर बढाउने अर्को जिम्मेवार कारण हो । त्यसैले स्वास्थ्यलाई ख्याल गर्दै धेरैले आजकल चिया र कफीमा चिनी खान कम गरिरहेका छन् ।

तर, तपाईंले देखिने चिनी खान छाडेरमात्र हुन्न, दैनिकरुपमा खाइरहेका कुनैकुनै खानामा एकैपटक १० चम्चासम्म चिनीमा पाइने क्यालोरी हुन्छ । जसलाई हामीले सहजै खाइरहेका हुन्छौं ।

तपाईंलाई लाग्नसक्छ, मैले चिनी खान पनि छाडिसकेँ, कार्बोहाइड्रेट हुने खाना पनि कम गरिरहेको छु, तर किन झन् झन् मोटाउँदै गइरहेको छु ? जब कि मैले खाने खाना पनि ठीक छ, आहार तालिका पनि ठिकै छ !

दैनिक खानेकुरामा हुने चिनीको मात्रा ख्याल नगर्दा हामी यस्तै प्रश्नमा रुमल्लिइरहेका हुन्छौं । यहाँ हामीले यस्ता खाद्यवस्तुबाट बच्न केही खाद्यवस्तुबारे चर्चा गर्दैछौ, जुन हेर्दा र खाँदा त स्वास्थयकर नै लाग्छन, तर एकपटकमा चारदेखि दश चम्चासम्म चिनीयुक्त खाना खाइरहेका हुन्छौं ।

१. कर्न फ्लेक्स

chini-yukta-khana-1

हुन त स्लिम बन्नु छ भने बिहानको समयमा भातको सट्टामा ‘कर्नफ्लेक्स’ खानु उचित मानिन्छ । विभिन्न विज्ञापनहरुले पनि यही कुरा दर्शाउने गर्दछन् । त्यसैले आधुनिक बन्न हामी पनि अधिकांश समय कर्न फ्लेक्स लगायतका सिरियल्सकै प्रयोग गर्दछौं ।

तर, के त्यसकोे सेवन हाम्रो स्वास्थ्यका लागि साँच्चै नै फाइदाजनक छ त ? पोषणविदहरुका अनुसार यस्ता खानेकुरामा झण्डै ३७ ग्राम (करिब सात चम्चा भन्दा अतिकति बढी) चिनी समावेश गरिएको हुन्छ । यो भनेको विश्व स्वास्थ्य संगठनले तोकेको चिनीको मात्रा भन्दा निकै धेरै हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार एकजना पुरुषलाई दिनभरमा सरदर २५ ग्राम अर्थात ५ चियाचम्चा चिनीको आवश्यकता पर्दछ । त्यस्तै, महिलाको हकमा १५ ग्राम अर्थात ३ चम्चा चिनी तथा बालबालिकाको हकमा २.५ ग्राम अर्थात एक चम्चा चिनी आवश्यक पर्दछ । तर, हामी भने जानी नजानी विभिन्न खाद्यवस्तुको सेवनमार्फत दैनिक १५ चम्चाभन्दा बढी चिनीको सेवन गरिरहेका हुन्छौं । यसले शरीरलाई बेफाइदा गर्नुका साथै अस्वाभाविक रुपमा शरीरको तौलसमेत बढाइरहेको हुन्छ ।

२. दही

chini-yukta-khana-2

दहीमा भीटामिन ‘डी’ पाइन्छ । यसले हाम्रो शरीरमा भिटामिन ‘डी’ को कमीलाई पूरा गर्ने काम गर्दछ । त्यसैले, चिकित्सकहरु हामीलाई दैनिकरुपमा दहीको सेवन गर्न सुझाव दिने गर्दछन् । त्यही सुझावअनुसार हामी बजारमा पाइने जुनसुकै दही सेवन गर्न पनि पछि पर्दैनौं ।

जब कि चिकित्सकहरुले भन्ने गरेको दही आकर्षक बट्टामा प्याक गरिएको दही नभएर मिसावटरहित प्राकृतिक दही हो । तर, हामी यस कुरालाई बिर्सन्छौं र बजारमा आकर्षक प्याकेटमा पाइने दहीलाई आफ्नो दैनिक खानामा समावेश गर्छौ ।

यस्तो दहीमा झण्डै ३.५ देखि ६ चम्चा चिनी मिसाइएको हुन्छ । यसले हाम्रो शरीरमा नकारात्मक असर पुर्‍याउनुका साथै यस्ता दहीको दैनिक प्रयोगले शरीरको तौल बढाउने गर्दछ ।

३. चकलेट बार

chini-yukta-khana-3

भनिन्छ, थोरै मात्र चकलेटको सेवनले पनि शरीरमा उर्जा थप्ने काम गर्छ । तर, तपाईलाई थाहा छ, प्रत्येक दिन यस्ता चकलेटको प्रयोगले तपाईको शरीरमा कति तौल बढाउँछ ? एक रिपोर्ट अनुसार मार्स, स्निकर जस्ता ब्राण्डेड चकलेट बारहरुमा चिनीको प्रयोग अधिक हुन्छ । यदि ५५ ग्रामको एउटा स्ट्याण्र्डड साइजको चकलेटबारलाई हेर्ने हो भने मात्रै पनि त्यसमा झण्डै २७.५ ग्राम चिनी मिसाइएको हुन्छ । यो भनेको ५ देखि ६ चियाचम्चा बराबर चिनी हो ।

४. कोकाकोला, पेप्सी

chini-yukta-khana-4

कोक, पेप्सीलगायतका पेय पदार्थ हामी सबैको रोजाइमा पर्दछ । यस्ता पेय पदार्थले हाम्रो तिर्खा मात्र मेटाउँदैन, रमाइलो गर्ने जोश समेत थप्दै लैजान्छ । त्यसैले त चाडवाडका बेला, साथीभाइसितको जमघटका बेला कोक, पेप्सीलगायतका पेय पदार्थ हाम्रो पहिलो रोजाइमा पर्ने गर्दछन् ।

त्यसैले त हामी कहिल्यै पनि यस्ता पेय पदार्थबाट अघाउँदैनौ । बरु अझ बढी यस्ता पदार्थ सेवन गर्न खौज्छौ । किन थाहा छ ?

यसको कारण हो क्यालोरी । ०.३३ लिटरको एउटा पेप्सीमा झण्डै आठ चम्चा चिनी हुन्छ । त्यस्तै, ५०० मिलिलिटरको कोकमा झण्डै सात चम्चा चिनी समावेश हुन्छ । अब तपाई आफै भन्नुस्, यदि तपाईले एक बोतल कोक वा पेप्सी पिउनु भयो भने कति क्यालोरी प्राप्त गर्नुहुन्छ ?

५. चिनी लेपन गरिएको क्याण्डी

chini-yukta-khana-5

तपाईलाई लाग्दो हो, जेम्स क्याण्डीको सानो प्याकेटले हाम्रो शरीरलाई कै नै असर गर्ला ? वा भनौं ‘एम एण्ड एम’ को एउटा सानो प्याकेटले नै कुनै असर पुर्‍याउला र ?

तर, तपाईलाई थाहा छ ? सय ग्रामको एउटा जेम्सको प्याकेटमा झण्डै ४७२ के. क्यालोरी हुन्छ, अर्थात ४५ ग्रामको एउटा स्ट्याण्डर्ड प्याकेटमा करिब छ चम्चा चिनी हुन्छ ।

अब भन्नुस्, यदि तपाई दिनमा एक प्याकेट मात्रै पनि यस्ता क्याण्डीको प्रयोग गर्नु हुन्छ भने तपाईले दैनिक कति क्यालोरी प्राप्त गर्नुंहुन्छ ?

६. न्युटेला

chini-yukta-khana-6

आजकल ब्रेकफास्टमा न्युटेलाको प्रयोगलाई लाभदायक मानिन्छ । खानमा स्वादिलो र अत्याधुनिक तरिकाबाट निर्माण गरिने हुँदा अधिकांश मानिस न्युटेलातर्फ आकषिर्त हुँदै गएका छन् ।

तर तपाईलाई थाहा छ ? तपाईले दैनिक प्रयोग गर्ने न्युटेलामा के-के कुरा समावेश गरिएको हुन्छ ?

सामान्यतया एक सिसी न्युटेलामा चिनी, पाम तेल, बदाम, कोका पाउडर, मिल्क पाउडर, भेनिलाको धुलो र छाछ पाउडरको प्रयोग गरिएको हुन्छ । यी सामग्री क्यालोरीले भरिपूर्ण हुन्छन् । किनकि यसमा प्रयोग गरिने सामग्रीमध्ये झण्डै ७० प्रतिशत सामग्री चिल्लो र चिनीमात्रै हुन्छ । यस अर्थमा जम्मा दुई चम्चा न्युटेलामा झण्डै दुई सय के. क्यालोरी र २१ ग्राम चिनी पाइन्छ ।

७. थ्रि इन वान् कफी

chini-yukta-khana-7

जब कफीका पारखीले कफी बनाउने समय पाउँदैनन्, तब उनीहरुको रोजाई थि्र इन वान कफी हुने गर्छ । बजारमा सजिलै पाइने र बनाउन पनि सजिलो हुने भएकाले पछिल्लो समय यो कफी पारखीमाझ लोकपि्रय छ ।

स्मरण रहोस्, २० ग्रामको एउटा कफीको प्याकेटमा करिब ७० के क्यालोरी हुन्छ र १० ग्राम (दुई चम्चा) चिनी हुन्छ । त्यसबाहेक, गुलियो कम भएको महसुस भएमा अतिरिक्त चिनी थप गर्ने त छँदैछ ।

८. शक्तिवर्द्धक पेय पदार्थ (इनर्जी ड्रिंक्स)

chini-yukta-khana-8

कहिलेकाहीँ काम धेरै हुन्छ, तर सुत्न मन लाग्छ । त्यस्तो बेला तपाईलाई शक्तिवर्द्धक पेय पदार्थ (इनर्जी ड्रिंक्स )को आवश्यकता पर्छ । यस्तो पेय पदार्थले तपाईलाई शक्ति त अवश्य नै प्रदान गर्छ । तर, उच्च रक्तचापका साथमा रगतमा चिनीको मात्रा समेत बढाउँदै लैजान्छ ।

शक्तिवर्द्धक पेय पदार्थको कुरा गर्दा छुटाउन नहुने नाम हो, ‘रेड बुल’ । रेड बुलमा करिब २७ ग्राम चिनी समावेश गरिएको हुन्छ । जसको निरन्तरको सेवनले तपाईको शरीरमा अचानक तौल बढ्दै जान्छ ।

९. केचअप

chini-yukta-khana-9

टोमाटो केचअप बालबालिकामाझ निकै लोकप्रिय छ । चाउमिन खादाँ होस् वा फ्राइड राइस्, हामी पनि केचअप भनेपछि हुरुक्कै हुन्छाैं । तर, तपाईलाई थाहा छ कि छैन ? यस्ता केचअपमा पनि प्रशस्त मात्रामा चिनी मिसाइएको हुन्छ । अर्थात सय ग्रामको केचअपमा झण्डै ३० ग्राम चिनी (४ देखि ६ चम्चा) पाइन्छ ।

यसको मतलव, एक दिनमै सिंगो बोतल रित्याउने भन्न खोजेको हैन । तर, अलिअलि गरेरै पनि यदि तपाई हरेक दिन केचअप लिनुहुन्छ भने अब आफैं सोच्नुस्, तपाईको शरीरले हप्तामा कति कैलोरी प्राप्त गरिरहेको हुन्छ ?

१०.फ्रुट जुस

chini-yukta-khana-10

धेरै मानिसमा के भ्रम छ भने प्याकेजिङ् गरिएको जुस स्वास्थ्यका लागि लाभदायक हुनुका साथै शुद्ध पनि हुन्छ । अझ कतिपय मानिस यसलाई फलफुल जतिकै तागतिलो पेय पदार्थका रुपमा लिने गर्छन् ।

घाममा हिँड्दा अवश्य नै यसले पानीको काम गर्दछ र शरीरलाई तागत प्रदान गर्दछ । तर, यसको अर्थ यस्ता पेय पदार्थ फलफूल जत्तिकै तागतिलो हुन्छ भन्नु कदापि हैन । किनकि यस्ता फ्रुट जुसमा चिनी र केमिकल्सभन्दा बढी अरु केही पाइँदैन ।

पोषणविद डा. अरुणा उप्रेतीका अनुसार यस्ता जुसमा सिर्फ चिनी मिसाइएको हुन्छ । साथमा जुस नबिग्रयोस् भन्नका लागि केही केमिकल्स प्रयोग गरिएको हुन्छ । साथमा स्वादका लागि नगन्य मात्रामा फलफूलको बोक्रा तथा गुदी प्रयोग गरिएको हुन्छ । जसले तपाईलाई प्राकृतिक फलफूलले जस्तो तागत दिने त परै जाओस्, न्युनतम फाइदासमेत गर्दैन । ‘प्राकृतिक फलफूल त ७२ घण्टाभन्दा बढी रहँदैन भने यस्ता जुस यत्तिकै ६ महिनासम्म कसरी रहन्थ्यो ?’ डा. उप्रेती प्रश्न गर्छिन् ।

त्यसो त, विभिन्न अध्ययन तथा अनुसन्धानहरुले देखाएअनुसार स्ट्याण्डर्ड साइजको एक गिलास अंगुरको जुसमा करिब ५८ ग्राम चिनी हुन्छ । त्यस्तै एप्पल जुसमा ३९ ग्राम तथा नासपातीको जुसमा ३७ ग्राम चिनी मिसाइएको हुन्छ । जसले शरीरमा तौल बढाउने बाहेक अन्य केही फाइदा गर्दैन ।

(स्रोतः किचिन म्याग एवं पोषणविदहरुसँग कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment