Comments Add Comment

पूर्वराजा ज्ञानेन्द्रको आफ्नै अनुभवः निषेधले विद्रोह जन्माउँछ !

यस्तो थियो वनकालीमा पूर्वराजाको भाषण (भिडियोसहित)

birat-hindu-sammelan-gyanendra-shah-5
४ कात्तिक, काठमाडौं । मुलुकमा राजनीतिक माहौल तातिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाह पनि विहीबार नयाँ स्वरुपमा देखा परे । पूर्वरानी कोमलसँगै पशुपति परिसरको वनकालीमा हिन्दु धर्मावलम्बीको सभालाई सम्बोधन गर्न पुगेका पूर्वराजाले ‘निषेधको राजनीतिले असन्तुलन र विद्रोह जन्माउँछ’ भनिरहँदा विगतमा उनले चालेको निरंकुश कदमको सम्झना गर्न सकिन्थ्यो ।

पहिलो जनआन्दोलन ०४६ ले राजालाई संवैधानिक दायरामा राखेको थियो । तत्कालीन राजा वीरेन्द्र सम्झौतालाई पालना गरेर संवैधानिक दायरामा बसे ।
तर, वीरेन्द्रको बंश विनास भएपछि ज्ञानेन्द्र सत्तामा आउनासाथ उनले निषेधको राजनीति सुरु गरे । शुरुमा शेरबहादुर देउवालाई असक्षम घोषणा गरेका ज्ञानेन्द्रले माघ १९ को ‘कू’ मार्फत संसदवादी दलहरुसँग निषेधको राजनीति अगाडि बढाए ।

ज्ञानेन्द्रले लोकतान्त्रिक शक्तिलाई निषेध गर्न खोज्दा त्यसको परिणामस्वरुप राजनीतिक असन्तुलन पैदा भयो । शक्ति सन्तुलन फेरियो र १२ बुँदे समझदारीमार्फत संसदवादी र माओवादीहरु मिले । राजाले लोकतान्त्रिक शक्तिलाई निषेध गरेको परिणामस्वरुप ०६२/०६३ को जनआन्दोलनका रुपमा विद्रोह जन्मियो ।

विहीबार वनकालीमा आफ्नो पहिलो सार्वजनिक भाषणमा पूर्वराजा ज्ञानेन्द्रले निषेधको राजनीतिले असन्तुलन र विद्रोहलाई जन्माउने चेतावनी दिइरहँदा यस्तो लाग्थ्यो, उनी आफ्नै असफल राज्य सञ्चालनको अनुभव सुनाइरहेका छन् ।
पूर्वराजाको यो पहिलो सार्वजनिक सम्वोधन भए पनि यो खासै रौनकपूर्ण नदेखिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

के भने ज्ञानेन्द्रले ? 

birat-hindu-sammelan-gyanendra-shah-8

पूर्वराजा ज्ञानेन्द्र शाहले मन्तव्यका क्रममा देशमा निषेधको राजनीतिले असन्तुलन निम्तने र त्यसले विद्रोहको रुप लिने चेतावनी दिए । ‘हाम्रो दर्शनले हामीलाई सधैं अगाडि बढ्न निर्देशित गर्दछ । तर यदि निषेधको राजनीति अगाडि बढाइन्छ भने त्यसले राष्ट्रमा असन्तुलन निम्ताउँदछ । असन्तुलनले उपेक्षा जन्माउँदछ र उपेक्षितहरुमा विद्रोह जन्मिन सक्दछ,’ उनले भने ।

गणतन्त्र स्थापना पछि पहिलोपटक सार्बजनिक सम्बोधन गरेका पूर्वराजा शाहले अगाडि भने, ‘आजको यो स्थिति र हाम्रो दर्शनबीच हामीले आफूलाई राखेर हेर्न सक्यौं भने यथार्थलाई स्वीकार्न र परिस्थितिलाई सुधार्न सहज हुनेछ । बहुजन हिताय, बहुजन सुखाय यो मूल मन्त्र आत्मसाथ गर्दै अगाडि बढ्नुको हामीसँग विकल्प छैन ।’

‘देशमा बाह्य हस्तक्षेप बढ्यो’

पूर्वराजा ज्ञानेन्द्रले राजनीतिक अस्थीरताका कारण देशमा बाह्य हस्तक्षेप बढेको र जनतामा चरम निराशा छाएको बताए । उनले यस्तो परिस्थिति कसरी सिर्जना भयो भनेर जनताले प्रश्न गर्नुपर्ने बेला आएको धारणा समेत राखे ।

‘कहिले पराजित नभएको नेपाल कुनै बेला विश्व शान्ति सहिष्णुताको उपमा थियो भने आज हामी कुन अवस्थामा छौं भनि सोच्नै पर्ने बेला आएको छ,’ पूर्वराजा ज्ञानेन्द्रले भने, ‘राज्यको समग्र परिस्थिति र राजनीतिक गतिविधिले बाह्य हस्तक्षेप बढेको छ । जनतामा छाएको चरम निराशा हाम्रा लागि अभिसाप भएका छन् । यस्तो अवस्था किन आयो भनेर नेपाली जनताले प्रश्न गर्नुपर्ने बेला आएको छ ।’

हेर्नुहोस भिडियो

आफ्नो मौलिक चिनारी, परम्परागत धर्म र राष्ट्रिय सम्वेदनशीलतालाई हृदंगम गरी अघि बढ्ने हो भने देशमा पुनः दिगो शान्ति स्थापना गर्न सकिने उनले बताए ।

दिगो शान्ति र समृद्धिका लागि नयाँ सोंचको आवश्यकता उनले औंल्याए । ‘हाम्रो दर्शनलाई नयाँ बाटो चाहिएको छैन तर, नयाँ सोंच चाहिएको छ । यस्तो सोंच जसले पुरानै बाटो हिँड्न सिकाअोस्,’ उनले भने ।

भाषा, इतिहास, धर्म दर्शन देशका धरोहर, वैभव र प्राण हुन् भन्दै उनले सनातन हिन्दुहरु जो जहाँ छन् त्यहाँ शान्ति र सदभाव हुने बताए ।

यो पनि पढ्नुहोस् 

भाषणको पूर्ण पाठ-  नयाँ बाटो चाहिएको छैन, पुरानै बाटोमा अगाडि बढ्न सकौं

पहिलो सार्वजनिक भाषणका तस्वीरहरू यहाँ हेर्नुहोस्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment