Comments Add Comment

नयाँ बाटो चाहिएको छैन, पुरानै बाटोमा अगाडि बढ्न सकौं

gyanendra-2

जगतगुरु शंकराचार्य, मठाधीश, पीठाधीश, गुरुवाचार्य र यस अन्तरराष्ट्रिय विराट हिन्दु महासम्मेलनमा उपस्थित हुनुभएका ओमकार परिवारका धर्मगुरु तथा हिन्दु दर्शनका चिन्तकहरु । धार्मिक, दैविक र प्राचिन ऐतिहासिक तथ्य बोकेको नेपाल भूमिमा आई समारोहको उद्घाटन गर्ने अवसर प्रदान गर्नुहुने अन्तरराष्ट्रिय विराट हिन्दु महासम्मेलन आयोजक तथा यहां उपस्थित सबै धर्मपरायण, संघ संस्था तथा आस्थाका पात्रहरुप्रति पनि म आभार व्यक्त गर्दछु ।

हिन्दु धर्म एवं दर्शन विश्वकै महान र उदार छ । अध्यात्म जीवन पद्धति विश्वकै निम्ति अनुकरणीय छ । सनातन मान्यता, मौलिक विशेषता र आफ्नै प्रकारको उदार आस्था तथा आदर्श हाम्रो धर्मको सार संक्षेप हो भन्ने मलाई लाग्दछ । विश्वको यो प्राचीन ऐतिहासिक पाशुपत क्षेत्रमा विश्वकै अग्रगन्य आचार्य, गुरु, सन्त, महात्मा, पीठाधीश, मठाधीश एवं विद्धान विवेचकहरुको भेला हुनु आफैमा स्तुत्य कार्य हो । म यहां पाल्नुभएका जगतगुरु शंकराचार्य, मठाधीश, पीठाधीश, गुम्वाचार्य र विभिन्न आश्रम प्रमुख धर्माधिमहरुप्रति हार्दिक नमन गर्न चाहन्छु ।

राष्ट्रको समग्र परिस्थिति र वितेका केही वर्षका राजनीतिक गतिविधि समेतलाई दृष्टिगत गर्दा चरम बाह्य हस्तक्षेप, जनतामा देखिएको निराशा, गन्तव्यहिन यात्रा हाम्रा निम्ति अभिशाप सिद्ध भएका छन्

धर्म जो धारण गरिन्छ, त्यसका धेरै कारण छन् । आत्म उन्नति, परमार्थ र परमपुण्य मात्र होइन, धर्मले राष्ट्र, समाज एवं सामाजिक सद्भावको आवश्यकतालाई पनि उजागर गर्दछ । राष्ट्रको आस्था, अखण्डता, एकता, सहिष्णुतालाईर् अभिवृद्धि गर्न र आन्तरिक एवं अन्तरराष्ट्रिय सद्भावको प्रवर्द्धन गर्न पनि यस्तो सम्मेलनले महत्वपूर्ण भुमिका खेल्नुपर्दछ भन्ने मेरो धारणा छ ।

सम्पूर्ण हिन्दु दर्शन एवं संस्कृतिमा हिमाललाई देवभूमि मानिएको छ । त्यसको मध्यमणि समान विविधताले नेपाल स्थापना गरी हिमालको शोभा र नेपालको महत्व बढाएको छ । यसै धार्मिक भावनाबाटै नेपालले देवभूमि, तपोभूमि, योगभूमि भन्ने नाम पाएको छ । हिन्दु अनुयायीका आराध्यदेव पशुपतिनाथले यसैकारण आफ्नो संरक्षणमा राख्नुभएको छ ।

चारै वेद, उपनिषद, अठार पुराण, भावगत् गीता, रामायण, महाभारत आदि ग्रन्थहरु र ऋषि, ऋषिका, महषिर्, सन्त, महन्त, महापुरुषहरु कैलाश पर्वतदेखि गंगाको मैदान हुँदै कन्याकुमारीसम्मका उपज हुन् । अनादिकालदेखि चल्दै आएको वैदिक सनातन हिन्दु धर्म ओमकार परिवारमा वौद्ध, किरात, प्रकृतिपूजक, जैन, शिख, आदि समष्टिहित केन्दि्रत अध्यात्मवादको उद्गम पृष्ठभूमि हो ।

गुरु गोरखनाथको आशिर्वाद प्राप्त यो भूमिमा हामी एकत्र भएका छौं । नेपाल हिन्दु, बौद्धहरुका लागि संधै प्रेरणाको अक्षय श्रोत हो । आज हाम्रो धर्म, संस्कृति माथि कालो बादल मडारिएको छ, तसर्थ हाम्रो परम्परागत धर्म, संस्कृति र सभ्यतालाई पुनर्जागृत र सुसंस्कृत बनाउन एकवद्ध गर्नुपर्ने खाँचो देखापरेको छ ।

जुनसुकै युग, देश र कालमा पनि सत्य, सत्य नै रहन्छ, त्यसैगरि असत्य, असत्य नै । यो कुरा हाम्रा ऋषि महर्षिले सिकाएका हुन् र मानव मात्रले अनुभव गरी आएको कुरा हो । आफ्नो भाषा, इतिहास, धर्म, दर्शन र संस्कृति देशका धरोहर हुन्, वैभव हुन् र प्राण हुन् । यिनको समुचित रुपमा संरक्षण, संवर्द्धन र समादर गरेर नै आफ्नो मुलुकलाई ओजस्वी, तेजस्वी बनाउन हामी सबै जागृत हुनु परेको छ ।

हाम्रो दर्शनलाई नयाँ बाटो चाहिएको छैन । तर, नयाँ सोच अवश्य चाहिएको छ । यस्तो सोच होस्, जसले पुरानै बाटोमा हामी अगाडि बढ्न सकौं । नयाँ दायित्व होइन, तर यस्तो शक्ति होस् जसले भइरहेकोलाई सजिलोसँग फैलाउन सकोस् । भविष्य भनेको एउटा सेतु होस्, जसमा आस्था र विकासको जरा, मानवीय अनुभव र आत्मीयताले भरिभराउ होस् ।

कहिल्यै पराजित नभएको नेपाल, कुनै बेला विश्व शान्ति, आध्यात्म संचेतना र सहिष्णुताको उपमा थियो भने, आज हामी कुन अवस्थामा छौं भनेर सोच्नैपर्ने बेला आएको छ । राष्ट्रको समग्र परिस्थिति र वितेका केही वर्षका राजनीतिक गतिविधि समेतलाई दृष्टिगत गर्दा चरम बाह्य हस्तक्षेप, जनतामा देखिएको निराशा, गन्तव्यहिन यात्रा हाम्रा निम्ति अभिशाप सिद्ध भएका छन् ।

यस्तो विषम, जटिल र क्लिष्ट परिस्थिति किन र कसरी सिर्जना भयो, यसका कारक तत्व के के हुन्, भन्ने कुरा, अब नेपाली जनताले नै प्रश्न गर्नुपर्ने बेला भएको छ ।

सनातन धर्म, संस्कृति र सभ्यताको प्राचीन भूमि नेपालले आफ्नो मौलिक चिनारी हजारौं वर्षको पुरानो सभ्यता, परम्परागत धर्म, संस्कृति तथा राष्ट्रियताप्रतिको संवेदनशीलतालाई हृदयंगम गरेर सबै मिली अघि बढ्ने हो भने हामी पुनः दिगो शान्ति, स्थिरता र स्वाभिमानको रक्षा गर्न सक्दछौ ।

राजर्षि जनकका आदर्श, वुद्धका वाणि, स्वामी विवेकानन्दका विचार तथा अन्य अनेकौं विद्धान र विदुषीहरुले देखाएको बाटो र हजारौ वर्षदेखि हाम्रा पूर्वजवाट विरासतमा प्राप्त सदगुण र सदविचार, अनुशरण गर्दै अगाडि बढ्न सके मात्र ज्ञान र विज्ञानका बीच सन्तुलन कायम गर्न सक्दछौं । गाई, गंगा, गुरु, गायत्री, वेद, उपनिषद, गीताका पूजक सनातन हिन्दु अनुयायीका रुपमा प्रश्न गर्न चाहन्छौं कि विश्व मानचित्रको हिन्दु तथा बौद्ध अग्रणि नेपाल तथा समस्त हिमवत खण्डको संरक्षण कसरी हुन सक्दछ ?

दुई ठूला छिमेकीको धार्मिक, सांस्कृतिक, आध्यात्मिक सम्बन्ध सेतु हिमवत खण्ड नेपालको धर्म, संस्कृति, सभ्यता र आध्यात्मको केन्द्र जोगाउने के सामुहिक दायित्व भित्र पर्दैन ?

तराईमा बसोवास गर्ने नेपालीहरु आफ्नो धार्मिक साध्य पूरा गर्न पहाडी र हिमाली क्षेत्रमा अवस्थित मुक्तिनाथ, गोसाईकुण्ड, हलेसी र पाथीभरा जस्ता पवित्र तीर्थ स्थलसम्म पुग्छन् भने हिमाली र पहाडी क्षेत्रमा वसोवास गर्ने नेपालीहरुको पवित्र धाम जनकपुर र लुम्िवनी रहेको छ । यसरी हामी नेपालीलाई धार्मिक दृष्टिले पृथक भूगोलप्रति आस्था, विश्वास र भरोसाको कडीले एउटै सुत्रमा बुनेको छ ।

सनातनी हिन्दुहरु जो जहाँ छन्, त्यहीँ सुसंस्कृत, सभ्य र शान्त छन् । जहाँ हिन्दु हुन्छन् त्यहाँ शान्ति र सद्भाव हुन्छ । असत्यलाई निरुत्साही गर्दै सत्य स्थापित हुँदै जान्छ भन्ने उक्तिको चरितार्थ गर्दै विश्वमा उत्पन्न तनाव, विवाद र सघर्षको स्थितिलाई न्युनीकरण गर्न आह्वान गर्दछु । हाम्रो साझा र एकतावद्ध प्रयासले मात्र विश्वको शान्ति, सभ्यता, मानवता, मानवोचित व्यवहार र समृद्धिको जगेर्ना गर्न सक्दछ ।

आज विश्वमा प्रकृतिले भोगेको विपन्न र असन्तुलनलाई सम्वोधन गर्ने दायित्वबाट मानवजाति पन्छिन सक्दैन । हाम्रो दर्शनले हामीलाई त्यसको संरक्षणको दायित्व सुम्िपएको छ । दर्शन बारे कोरा बहस हाम्रो लक्ष होइन र हुनु पनि हुँदैन । यस दर्शनबाट हामी कसरी निर्देशित हुने, जीवन र जगत अनि राष्ट्रप्रति हाम्रो दायित्व के हुने यी विषय आजको सन्दर्भमा अझ बढी गभ्भीर बन्न पुगेका छन् ।

हाम्रो दर्शनले हामीलाई सधैं अगाडि बढ्न निर्देशित गर्दछ । तर, व्यवहारमा निषेधको राजनीति आदि अगाडि बढाइन्छ भने त्यसले राष्ट्रमा असन्तुलन निम्त्याउँदछ । असन्तुलनले उपेक्षा जन्माउँदछ र उपेक्षितहरुमा विद्रोह जन्मिन सक्दछ । आजको यो स्थिति र हाम्रो दर्शनबीच हामीले आफूलाई राखेर हेर्न सक्यौं भने यथार्थलाई स्वीकार्न र परिस्थितिलाई सुधार्न सहज हुनेछ ।

अन्त्यमा, बहुजन हिताय, बहुजन सुखायको मूल मन्त्रलाई आत्मसाथ गर्दै अगाडि बढ्नुको हामीसँग विकल्प छैन । हामी सबै सनातनी ओमकार परिवारहरु यही साध्य प्राप्तिका लागि कर्मठ प्रयासमा जुटौं ।

श्री पशुपतिनाथले धर्म संस्कृतिको पुनरुत्थान गर्नमा हामी सबैलाई शक्ति प्रदान गरुन् । जय नेपाल ।

(पूर्वराजा ज्ञानेन्द्रले वनकालीमा विहीबार गरेको सम्वोधनको पूर्ण पाठ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment