Comments Add Comment

निर्माण सामाग्री अभावमा बेलहिया-बुटवल सडक निर्माण रोकियो

belhia-butwal-road-1

५ कात्तिक, भैरहवा । ५ अर्ब ६८ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना समेत रहेको बेलहिया-बुटवल ६ लेन व्यापारिक मार्ग विस्तार आयोजनाको निर्माण कार्य रोकिएको छ ।

जिल्ला विकास समिति रुपन्देहीले निर्माण कार्यमा सहयोग नगरेका कारण नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा)को अभावमा बेलहिया बुटवल सडकखण्डको निर्माण कार्य रोकिएको बेलहिया बुटवल ६ लेन व्यापारी मार्ग विस्तार आयोजनाले दावी गरेको छ ।

नदीजन्य पदार्थमा अभावमा सडक निर्माण कार्य ठप्प छ भने सडक छेउको डे्रन (नाला) निर्माण कार्य मात्र भइरहको छ ।

भूकम्प र नाकाबन्दीका कारण सडक निर्माण कार्य ढिलाई भएको र अहिले नदीजन्य निर्माण सामाग्रीको अभावमा सडक निर्माण कार्य प्रभावित भएको बेलहिया-बुटवल ६ लेन व्यापारी मार्ग विस्तार आयोजनाका प्रमुख शालिग्राम रेग्मीले बताए ।

‘सडक निर्माणका लागि निर्माण साम्रगी (नदीजन्य पदार्थ) उपलब्ध हुन सकेको छैन, त्यसकारण निर्माण कम्पनीहरुले राम्रोसँग काम गर्न पाएका छैनन्’, आयोजना प्रमुख रेग्मीले अनलाइनखबरसँग भने ‘नदीजन्य पदार्थको सहज रुपमा उपलब्ध भएलग्त्तै तीव्र गतीमा सडक निर्माण हुनेछ ।’ उनक अनुसार अहिले सम्म आयोजनाको ४५ प्रतिश्त काम सम्पन्न भइसकेको छ ।

उनले जिल्ला विकास समितीले रुपन्देहीले असोज १ गते सडक निर्माणकार्यका लागि आयोजनालाई नदीजन्य निर्माण सामाग्री उपलब्ध गराउने आश्वासन दिएपनि जिविसले हालसम्म नदीजन्य निर्माण सामाग्री उपलब्ध गराउन पहल नगरेको गुनासो गरे ।

bhairahawa-road

उनले जिविस रुपन्देहीले नदीबाट नदीजन्य पदार्थको उत्खननमा रोक लगाउँदा आयोजनालाई गत वर्षदेखि नै नदीजन्य निर्माण सामाग्रीको समस्या उत्पन्न भएको बताए ।

यता यस विषयमा स्थानीय विकास अधिकारी युवराज सुवेदीले आयोजनाले नदीजन्य निर्माण सामाग्रीको स्टिमेट गर्ने बेलामा जिविसले नदीबाट नदीजन्य पदार्थ उत्खनन्मा रोक लगाएको र अहिले पनि रोकिएको अवस्थामा रहेको कारण जिविसले नदीजन्य पदार्थ उपलब्ध नगराएको भन्ने आरोप नलगाउन आग्रह गरे ।

आयोजनाले नदीजन्य पदार्थ माग गर्दैमा खुरुक्क झिकेर दिन नमिल्ने भन्दै उनले प्रक्रिया अनुसार जानुपर्ने बताए । ‘आयोजनालाई सहयोग गर्ने पक्षमा हामी छौँ तर आयोजनाले नदीजन्य पदार्थ माग गरेलगत्तै उपलब्ध गराउन सक्दैनौं’ एलडिओ सुवेदीले अनलाइनखबरसँग भने, ‘यसको पनि प्रक्रिया हुन्छ, हामी प्रक्रिया पुर्‍याएर आयोजनालाई नदीजन्य पदार्थ उपलब्ध गराउँछौँ ।

धुलाम्मे बाटोले स्थानीयलाई सास्ती

विशेषतः भैरहवाको मुख्य बजारस्थान बर्मेली टोल-बुद्धचोक केही मिटरको दुरीको मात्र समेत महिनौंदेखि सडक निर्माण नहुँदा स्थानीयले सास्ती समेत ब्यहोर्नुपरेको छ । घाम लाग्दा धुलाम्मे हुने बाटो पानी पर्दा हिलाम्मे हुने गर्दछ । खाल्डाखुल्डी सडकका कारण समय समयमा दुर्घटना पनि हुने गरेको छ ।

belhia-butwal-road

काठमाडौंको कालिका तमाङ्ग पेसेफिक जेभी नामक कम्पनीले भैरहवाको बर्मेली टोल देखि अंचलपुरको गोदार इन्जीनियरिङ्ग सम्मको सडक निर्माण गर्ने आयोजनासँग ठेक्का सम्झौता गरेको छ ।

कालिका तमाङ्ग जेभीले १६ जुन २०१४ देखि १ नभेम्बर २०१६ सडक निर्माण सम्पन्न गर्ने गरी अयोजनासँग सम्झौता गरेको थियो । सम्झौता अनुसार यस कम्पनी म्याद समाप्त हुन लागेपनि बीचमा भूकम्प र नाकाबन्दीलाई कारण देखाउँदै कालिका तमाङ्ग जेभीले आयोजनाबाट सडक निर्माणको लागि थप समय म्याद पाएको छ ।

ठेकेदारले थप समय म्याद पाएपनि नदीजन्य पदार्थको अभाव भएको भन्दै सडक खाल्डाखुल्डी पारेर छाडेको कारण बुद्ध नगरी भैरहवा शहर पुरै धुलाम्मे बनेको छ । यसले दुर्घटनाको जोखिम बढ्नुका साथै धुलाम्मे वातावरणमा बाध्य भएर बस्नु परेको स्थानीयको गुनासो छ ।

यस विषयमा आयोजनाका प्रमुख रेग्मी भन्छन्, ‘नदीजन्य पदार्थको अभावमै निर्माण कम्पनीले काम गर्न नसकेको हो र नदीजन्य पदार्थ उपलब्ध भएलगत्तै निर्माण कार्य सुरु हुन्छ ।’

त्यस्तै यही कालिका तमाङ्ग पेसेफिक जेभी कम्पनीले डण्डापुलको सशस्त्र क्याम्पदेखि मेडिकल जाने बाटोसम्म पनि सडक निर्माण गर्ने ठेक्का पाएको छ । यो सडकखण्ड पनि ठेकेदार कम्पनीले लथालिङ्ग पारेर छाडेको छ ।

belhia-butwal

मेडिकल जाने बाटोदेखि बर्मेली टोलसम्म शर्मा दिवा द कन्सट्रक्सनले पाएको ठेक्का अनुसार यस कम्पनीले सडक निर्माणकार्य सम्पन्न गरेपनि भारतबाट आउने क्षमता भन्दा बढीका मालवाहक सवारीका (ओभरलोड) कारण सडक भत्किदै गएको छ ।

अंचलपुरको गोदार इन्जीनियरिङदेखि करिब कटैयासम्म विरुवा श्रेष्ठ एपेक्स जेभी नामक कम्पनीले सडक निर्माण गर्ने ठेक्का सम्झौता गरेको छ । ११ जुलाई २०१८ मा सम्पन्न गर्ने गरी यस कम्पनीले १२ जनवरी २०१६ मा सम्झौता गरेको हो ।

त्यस्तै कटैया देखि मधवलिया सम्म टेली कम्नीकेसन इन्डिया लिमिटेडले (टिसिआइएल) २ अगस्त २०१८ मा सम्पन्न गर्ने गरी २ फेब्रेरी २०१६ मा आयोजनासँग सम्झौता गरेको छ ।

मधवलीया देखि भलवारी इन्जनियरिङ्ग कलेजसम्मको सडक निर्माण कार्य कालिका रायमाझी जेभी कम्पनीले २९ जुलाई २०१८ मा सम्पन्न गर्ने गरी ३१ जुन २०१६ मा सम्झौता गरेको छ ।

यस्तै भलवारीदेखि मणिग्रामसम्म टिसिआइएल कम्पनीले ११ जुलाई २०१८ मा सडक निर्माण कार्य सम्पन्न गर्ने गरी १२ जनवरी २०१६ मा सम्झौता गरेको छ ।

मणिग्रामदेखि जानकी नगरसम्म शर्मा लामा कान्छाराम जेभी कम्पनीले १ नभेम्बर २०१६ मा सम्पन्न गर्ने गरी २५ जनवरी २०१४ मा सम्झौता गरेको थियो । यस कम्पनीको समयसीमा समाप्त हुने अवस्था आएपनि थप समय म्याद थपेर निर्माण कार्य छिट्टै नै सम्पन्न गर्ने बेलहिया बुटवल ६ लेन व्यापारी मार्ग विस्तार आयोजनाका इन्जनियर लिलाबहादुर भण्डारीले बताए । उनका अनुसार यस कम्पनीको ६० प्रतिशत काम सम्पन्न भइसकेको र अन्य काम पनि जारी रहेको छ ।

जानकी नगरदेखि बुटवल राजमार्गसम्म लुम्बिनी कन्सट्रक्सन आशिष जेभी नामक कम्पनीले ठेक्का सम्झौता गरे अनुसार यस कम्पनीले सडक निर्माण सम्पन्न गरिसकेको छ । यस्तै बेलहिया बाइपासदेखि डण्डापुलसम्म लामा रायमाझी कान्छाराम जेभीले पाएको सडक निर्माण ठेक्का अनुसार यस कम्पनीले निर्माण कार्य सम्पन्न गरिसकेको छ ।

विभिन्न चरणको सडक निर्माण गर्ने ठेक्का पाएको यी कम्पनीहरुले नदीजन्य पदार्थको अभावको कारण देखाउँदै सडक निर्माण कार्य बन्द गरेका छन् । केही ठेकेदार कम्पनीले विगतमा नदीजन्य पदार्थ स्टकको रुपमा राखेको कारण सोही नदीजन्य सामाग्रीले छिटपुट रुपमा कार्य गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment