Comments Add Comment

काठमाडौंको सडकमा बल्ने भो २१ करोडको सौर्य बत्ती, सबै पैसा निजी क्षेत्रको

solar-sadak-batti-light-ban

५ कात्तिक, काठमाडौं । अबको एक वर्षभित्र काठमाडौं महानगरपालिकाका सबै मुख्य सडक खण्डमा शहरी सौर्य सडकबत्ती जडान हुने भएको छ । तर यसका लागि सरकार र महानगरपालिकाको एक रुपैयाँ पनि खर्च हुने छैन ।

नीजि क्षेत्रको लगानीमा काठमाडौंको सडक सौर्यवत्तीले झलमल्ल हुने भएको हो । महानगरपालिकाले पहिलो चरणमा यो परियोजनाका लागि बीके ट्रेडर्स एण्ड सप्लायर्ससँग सम्झौता गरेको छ । सम्झौताअनुसार कम्पनीले अबको एक वर्षभित्र काठमाडौंमा मुख्य सडकहरुमा १ हजार २ सय ८५ वटा पोलमा बत्ती जोड्नेछ । यसमा उसले २/३ साइजको विज्ञापन बोर्ड राख्नेछ ।

महानगरपालिकाले सार्वजनिक निजी साझेदारी अन्तरगत शहरका मुख्य सडकहरुमा सोलार बत्ती जोड्न लागेको प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले अनलाइनखबरलाई जानकारी दिए । सम्झौताअनुसार निजी क्षेत्रले पूर्ण रुपमा आफ्नै लगानीमा सौर्यबत्ती जोड्ने उनको भनाई छ । ‘सौर्यबत्ती जोडिने पोलमा सानो आकरको विज्ञापन बोर्ड राख्न दिइनेछ । त्यही विज्ञापनका आधारमा निजी कम्पनीले आफ्नो लागत उठाउने छन्,’ तामाङले भने ।

सोलार बत्ती जोडेपछि निजी कम्पनीले वाषिर्क रुपमा महानगरपालिकालाई प्रतिपोल रोयल्टी र विज्ञापन कर पनि बुझाउने छ । महानगरपालिकाले प्रतिपोल वार्षिक ८ हजार ७ सय रुपैयाँ रोयल्टी लिने तय भएको छ । रोयल्टीबाट महानगरपालिकाले वार्षिक १ करोड ११ लाख रुपैयाँ आम्दानी पनि गर्ने छ ।

बीके सप्लार्यर्सले महानगरपालिकालाई वार्षिक रुपमा नगर परिषद्ले किटान गरेको दरका आधारमा विज्ञापन कर तिर्ने सम्झौतामा उल्लेख छ । यो परियोजनामा महानगरपालिकाले एक रुपैयाँ पनि नखर्चिने कार्यकारी तामाङले स्पष्ट पारे । सबै सडकमा बत्तीका लागि निजी क्षेत्रको २० करोड ५७ लाख रुपैयाँ खर्च हुने छ

मर्मत जिम्मा पनि निजी क्षेत्रकै

एक वर्षको निर्माण अवधिबाहेक १० वर्षसम्म कम्पनीले नै सौर्य सडक बत्तीको व्यवस्थापन गर्ने महानगरपालिकाका खरिद महाशाखा प्रमुख दीपक अधिकारीले जानकारी दिए । सौर्य सडकबत्तीमा मर्मतसम्भारको जिम्मा पनि बीके सप्लायर्सको नै हुने गरी सम्झौता भएको छ ।

कम्पनीले प्रत्येक एक-एक महिनमा सोलार प्यानल सफा गर्नुपर्ने र ब्याट्री परिवर्तन गर्दासमेत उसैले खर्च बेहोर्नुपर्ने सम्झौतामा उल्लेख छ । कम्पनीसँग महानगरपालिकाले परियोजना सुरु हुनु अघि नै १ करोड रुपैयाँ धरौटी मागेको छ । यदि तोकिएको समयमा सडक बत्ती नजोडे उसको रोयल्टी जफत गर्ने महानगरपालिकाले जनाएको छ ।

solar-street-light

कुन-कुन सडकमा जोडिँदैछ ?

महानगरपालिकाले मुख्य ४ वटा क्षेत्रमा बत्ति जडानका लागि सम्झौता गरेको खरिद प्रमुख अधिकारीले बताए । बीके सप्लायर्सले कलंकीदेखि त्रिपुरेश्वर, थापाथली चोक हुँदै माइतिघरसम्म सौर्य सडक बत्ती जोड्नेछ । केशरमहल चोक हुँदै ठमेल क्षेत्र, क्षेत्रपाटी हुँदै सोह्रखुट्टे चोकसम्म पनि बत्ती राखिनेछ । सोह्रखुट्टेदेखि बालाजु चोक हुँदै नयाँ बसपार्कसम्म सडक बत्ती जोडिने भएको छ ।

यसैगरी दरबारमार्गको महेन्द्र शालिकदेखि काठमाडौं प्लाजा-कृष्णपाउरोटी चोक-ज्ञानेश्वर हुँदै गौशालासम्म बत्ती जोडिनेछ । ज्ञानेश्वर चोकदेखि मैतिदेवी हुँदै बत्तिसपुतलीसम्म पनि सोलर बत्ती जोड्ने सम्झौता भएको छ । मैतिदेबी डिल्लीबजार हुँदै पुतलिसडक खण्डमा पनि बीके सप्लार्यसले नै बत्ती जोड्ने छ ।

यसैगरी पुरानो बानेश्वर चोकदेखि रत्नराज्य स्कुल-नयाँ बानेश्वर चोक हुँदै शंखमुल पुलसम्म पनि सौर्यबत्ती जडानको सम्झौता भएको छ । पुरानो बानेश्वर चोकदेखि भिमसेनगोला हुँदै सिनामंगल चोकसम्मका सडकमा पनि सोलर बत्ती राखिने छ ।

यता पनि थपिने

यसबाहेक एकवर्षभित्र अनामनगर, हनुमानथान हुँदै बिजुलीबजार, नयाँबानेश्वर चोकसम्म पनि यस्ता बत्ती जोडिने छ । यसैगरी गौशाला-चाबहिल-चुच्चेपाटी, बौद्ध हुँदै जोरपाटी सडक खण्डमा पनि निजी क्षेत्रले नै सौर्य बत्ति जोड्ने भएको छ ।

यो सडकमा २ सय वटा बत्ती जोडिनेछ । यि बत्तीको लागत भने महानगरले सम्झौतामा उल्लेख गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment