Comments Add Comment

‘जंगलमा भेटाएको’ भन्दै आफ्नै सन्तान प्रहरीलाई जिम्मा लगाएपछि…

५ कात्तिक, प्यूठान । गत आइतबार प्यूठानको जस्पुर जंगलमा बेवारिसे अवस्थामा शिशु भेटाएको भन्दै एक महिला प्रहरीकोमा पुगिन् । बेवारिसे भन्दै एक महिनाको उक्त शिशु (बालक)लाई प्रहरीले आवासगृहको जिम्मा लगायो । तर, अनुसन्धानको क्रममा यस्तो रहस्य पत्ता लाग्यो जसबाट प्रहरीमात्रै होइन आम नागरिकलाई अचम्मित तुल्याएको छ ।

Abandoned Baby found at Pyuthan
जंगलमा भेटाएको भन्दै प्रहरीलाई बुझाइएको शिशु

बिजुली-८ प्यूठानकी सिर्जना थापा बेवारिसे शिशु भेटाएँ भन्दै प्रहरीकोमा पुगेकी थिइन् । तर, अनुसन्धानको क्रममा उक्त शिशु सिर्जनाकै भएको पत्ता लागेको प्रहरीले जनाएको छ ।

‘सिर्जनाले आफ्नै शिशुलाई भेटाएको भनेर हल्ला फैलाएको पत्ता लाग्यो,’ प्यूठान प्रहरी प्रमुख डिएसपी रञ्जितसिंह राठौरले भने ।

सिर्जना पाँच सन्तानकी आमा हुन् । उनले मजदुरी गरेर परिवार पाल्दै आएकी छन् । उनका पति पनि भारतमा मजदुरी गर्दछन् । वर्षेनी बच्चाहरु जन्मँदा लालनपालनमा समस्या भएकाले आफूले भेटाएको भनेर नाटक गरेको सिर्जनाले प्रहरीलाई बयान दिएकी छन् । प्यूठानकै पुँजा गाविसको एक घरमा मजदुरी गर्दै आएको बताउने सिर्जनाले घरपरिवार र माइतबाट समेत सहयोग नपाएको गुनासो गरेकी छन् ।

‘गरिवीका कारण झुटो प्रचार गरेरै भए पनि आफ्नो शिशुलाई उनले सुरक्षित गर्न खोजेको अनुसन्धानमा देखिएको छ,’ प्रहरी नायव उपरीक्षक राठौरले भने ।

पाँच वर्ष र दुई वर्षका दुई छोरीसहित सिर्जना र एक महिने शिशुलाई अहिले महिला तथा बालबालिका कार्यालयले सञ्चालन गरेको महिला तथा बालबालिका दिवा आवास केन्द्र (सेफ हाउस)मा राखिएको छ ।

ति महिलाले दिएको बयानबारे अझै अनुसन्धान जारी राखिएको छ । घटनाबारे महिलासँग मनोसामाजिक पराशर्म सहित सोधपुछ भैरहेको जिल्ला बालकल्याण समितिका बालअधिकार अधिकृत यादप खनालले बताए । आवश्यक कागजी प्रक्रिया पूरा गरी परिवारको रोहवरमा शिशुलाई आमकै जिम्मा लगाउन सकिने सम्भावना रहेको उनले बताए । यसबारे अझै निर्णय भने भैसकेको छैन ।

महिलाले सबैलाई भ्रममा पार्ने गरी गरेको घटनाले जिल्लाका सरोकारवालाहरु अचम्मित छन् । गत आइतबार स्वर्गद्वारी माइतबाट फर्कंदै गर्दा जंगलमा शिशु भेटाएको भन्दै एक रातपछि सोमवार विहान शिशुसहित महिला प्रहरी समक्ष पुगेकी थिइन् ।

– विजयसिंह भारतीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment