Comments Add Comment

‘विराट हिन्दु सम्मेलन’ को बन्दशत्रमै विद्रोह र कुटाकुट

birat-hindu-sammelan-gyanendra-shah-10

फाइल फोटो

५ कात्तिक, काठमाडौं । अरुलाई आदर्श, नैतिकता एवं मूल्यमान्यताको पाठ सिकाउँदै आयोजना गरिएको विराट हिन्दु सम्मेलनको बन्दशत्रभित्रै कुटाकुट भएको छ । पूर्वराजा ज्ञानेन्द्रले ‘निषेधको राजनीतिले विद्रोह जन्माउँछ‘ भनेको भोलिपल्टै राजावादीकै समूहभित्र ‘विद्रोह’ जन्मिएको हो ।

राजधानीको कमलादीस्थित प्रज्ञाभवनमा जारी विराट हिन्दु सम्मेलनको बन्दसत्रमा शुक्रबार सहभागीहरुबीच कुटाकुट भएको हो । झडपसँगै भएको कुटाकुटमा एकजना राप्रपा नेपालका कार्यकर्ता घाइते भएका छन् ।

अहिले त्यहाँको स्थिति तनावग्रस्त छ । उल्लेख्य संख्यामा प्रहरी परिचालित गरिएको छ ।

एकजना व्यक्तिले ‘म पनि राजावादी हुँ, म कमल थापाको कार्यकर्ता हुँ भनेपछि विवाद सुरु भएको थियो । विवाद बढ्दै गएपछि कुटाकुट भएको प्रत्यक्षदर्शीले बताए ।

आक्रोशित समूहले बन्दसत्रमा पाहुनाका रुपमा उपस्थित भारतीय जनता पार्टीका नेता आदित्यनाथविरुद्ध समेत नाराबाजी गरेको छ ।

विराट हिन्दु सम्मेलन भनिए पनि बन्दशत्रमा करिब ५०/६० जनामात्रै मानिसहरुको उपस्थिति थियो ।

पूर्वशाही पाश्वर्ती भरतकेशर सिंहको नेतृत्वमा आयोजना गरिएको तीन दिने अन्तरराष्ट्रिय हिन्दु सम्मेलनको उदघाटन विहीबार वनकालीमा पूर्वराजा ज्ञानेन्द्रले गरेका थिए ।

पूर्वराजा ज्ञानेन्द्रमार्फत उदघाटन गराइएको सम्मेलनमा यसरी आपसमै पिटापिट भएपछि यो घटनाले पूर्वराजाको राजनीतिक पहलको पहिलो गाँसमै ढुंगा लाग्न पुगेको छ ।

दलहरुवीच व्याप्त असन्तुष्टिलाई ‘क्यास’ गर्दै राजावादीहरुले ज्ञानेन्द्रलाई मैदानमा उतार्ने प्रयास गरेका थिए । तर, बिहानीले दिउँसोको संकेत गर्छ भनेजस्तै राजावादीहरुको सम्मेलन निराशाजनक एवं एकप्रकारले विफलजस्तै बन्न पुगेको छ ।

शनिबारसम्म चल्ने भनिएको हिन्दुवादीहरुको तीन दिने यो सम्मेलनले ज्ञानेन्द्रलाई सम्राट घोषणा गर्ने र नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्ने बताइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment