Comments Add Comment

प्रिय पुस्तक: सबै पाठकलाई रुचिकर ‘मुनामदन’

मैले सात–आठ कक्षामा हुँदादेखि नै महाकवि देवकोटाको मुनामदन पढेको हुँ । कैलालीको धनगढीमा रहेको रघुनाथ आदर्श माविमा पढ्थेँ । त्यहीँको पुस्तकालयमा यो किताब पहिलो पटक पाएको हुँ । त्यसयता कति चोटि पढेँ, त्यसको हिसाबै छैन । अहिलेसम्म पनि मुनामदनप्रतिको तृष्णा छँदै छ ।

munamadan-coverसामान्य चेतनास्तर भएका पाठकदेखि बौद्धिक तहका मान्छेहरुका लागि त्यो किताबले दिने सन्देश र आनन्द बराबर छ । त्यो पक्ष मलाई असाध्यै मन पर्छ । सबै प्रकारका पाठकलाई उत्तिकै आनन्द दिन सक्नु किताबको खुबी हो । कुनै किताब सामान्य पाठकलाई मन पर्छ, बौद्धिक पाठकहरुले त्यसलाई ध्यान दिँदैनन् ।

कुनै किताब चाहिँ बौद्धिक तहका पाठकले मात्र बुझ्छन् र पढ्छन्, सामान्य पाठकले त्यसलाई महत्व दिँदैनन् । तर, मुनामदन यस्तो किताब हो, सामान्य गोठालादेखि बौद्धिक क्षेत्रका तर्कशील व्यक्तिहरुसम्मलाई बराबर छुन्छ ।

पहिलो चोटि पढ्दा सामान्य हिसाबले लय हालेर पढ्ने मिठासका रुपमा मन पर्‍यो । तर, कविताका पंक्तिहरुमा डुब्दै जाँदा त्यहाँभित्रको दर्शन र साहित्यको रस त्यत्तिकै प्राप्त हुँदै गयो । यही विशेषताका कारण नेपाली साहित्यमा मुनामदन सदाबहार र अजम्बरी रहेको हो ।

मुनामदन सरल लोकलय झ्याउरेमा आधारित छ । देवकोटाले नेपाली ग्रामीण लयलाई पहिलो चोटि कविताको माध्यम बनाएकोले पनि यति लोकप्रिय भएको हो ।

यो कृति आएपछि नेपाली जनमानसले हाम्रो लोकलय पनि कविता हुन सक्छ है भनेर आत्मसात् गरे । त्यतिबेला नेपाली कविताको क्षेत्रमा संस्कृतका छन्दहरु र बौद्धिक कुराको दबदबा थियो । जनजीवनको लयलाई टिपेकोले सामाजिक जीवनले यो मेरै समाजको गीत हो भन्ने भावना पनि त्यहाँभित्र पाइयो ।

देवकोटालाई यही कृतिले अमर बनाएको हो । उनले पनि लेखिसकेपछि पाठकको रुपमा अध्ययन गर्दा यो कृतिमा विशिष्टता देखे । त्यही भएर भनेका होलान्, मुनामदन बाहेक अरु कृति जलाए हुन्छ भनेर । लेखकको हिसाबले त उनले आफ्ना सबै कृतिलाई बराबर माया गरे होलान् । तर, सामाजिक अवस्थादेखि मानवतावादी दर्शनसम्मका कुरा आएकोले वास्तवमा मुनामदन अद्भूत कृति हो । यसबाट पाठकले जे प्राप्त गर्छन्, त्यो उनीहरुको बुझाइको स्तर अनुसार ग्रहण गर्छन् ।

यसमा नेपालीहरु वैदेशिक रोजगारीमा जानुपर्ने विवशताको कथा लेखिएको छ । नेपाली समाजको त्यो विवशता अहिले पनि हट्न सकेको छैन । अधिकांश किताबमा निश्चित समयको चित्रण गरिएको समाज हुन्छ, त्यो समाज समय अनुसार बदलिएर पहिलेको कुरा एकादेशको कथा भइसक्छ । तर, मुनामदनमा नेपाली समाजको विवशताको चित्र हिजो जस्तै आज पनि छँदै छ । किताबभित्रको अर्को पक्ष, मानवतावादी चिन्तन र दर्शन हो । जीवनका शाश्वत कुराको उद्घाटन गर्दै त्यसले मानव जीवनलाई मार्गदर्शन गर्छ ।

जस्तै –

हातका मैला सुनका थैला के गर्नु धनले
साग र सिस्नु खाएको वेश आनन्दी मनले

अर्को –

क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।

धेरै ठूलो दर्शन हो यो । यस्ता धेरै कुरा पंक्तिपंक्तिमा भेटिन्छन् ।

साहित्यिक जमातमा मुनामदनको नाम नसुन्ने र नपढ्ने सायदै कोही होला । साहित्यमा म बाम सर्दै गर्दा लेखनप्रति असाध्यै भोक जगाएको र धेरै प्रभावित पारेको यही कृतिले हो

मैले मुनामदन पढ्ने मात्र होइन, शिक्षकको रुपमा विद्यार्थीलाई पढाइरहेको पनि छु । कक्षा १२ को ऐच्छिक नेपाली विषयमा यो कृति राखिएको छ । त्यहाँभित्र मानवतावादको कुरा, प्रकृतिको चित्रण, नेपाली समाजको विडम्बना समेटिएकोले विद्यार्थीलाई त्यही किसिमले पढाउने गरिन्छ । नयाँ पुस्ताले चाख दिएकै पाएको छु । ‘हातका मैला सुनका थैला’ र ‘मानिस ठूलो दिलले हुन्छ’ भन्ने दुई पंक्ति त धेरैजसो विद्यार्थीलाई थाहा हुन्छ । यसबाट साहित्यले यति ठूलो कुरा ल्याउने रैछ, साहित्य त पढ्नुपर्ने चिज रैछ भनेर पाठक जमात बढाउने काम गरेको छ ।

साहित्यिक जमातमा मुनामदनको नाम नसुन्ने र नपढ्ने सायदै कोही होला । साहित्यमा म बाम सर्दै गर्दा लेखनप्रति असाध्यै भोक जगाएको र धेरै प्रभावित पारेको यही कृतिले हो । साहित्य बुझ्ने लेभलको पहिलो खुड्किलो मुनामदन नै हो जस्तो मलाई लाग्छ ।

ramlal2
रामलाल जोशी

म सात वर्षको हुँदा बुवा स्वर्गे हुनुभो । डोटी जिल्लाको कानाचौर गाउँमा त्यतिबेला स्कूल थिएन । म १० वर्षको हुँदा गाउँमा स्कूल खुल्यो र पढ्न थालेँ । ढिलो गरी पढेकोले चार कक्षामा पुग्दा म १४/१५ वर्षको थिएँ । घरमा बुवाको एउटा बाकस थियो, त्यहाँ किताबहरु हुन्थे । एकदिन बुवाको एउटा डायरी फेला पारेँ । त्यसमा उहाँले लेखेका कविताहरु थिए । एउटा कविता थियो ‘विद्याकी रानी’ भन्ने । त्यो कविता मुनामदनकै जस्तो झ्याउरे लोकलयमा थियो ।

बुवाको कविता पढेपछि मैले त्यही हेर्दै लेख्न नक्कल गरेँ । शब्द जोडजाड पारेर कविता लेख्ने र साथीहरुलाई सुनाउने गर्न थालेँ । त्यहीँबाट नजानिँदो किसिमले साहित्यमा लागेको रै’छु । बुवाको कविताको प्रभावले साहित्यमा लागे पनि त्यसलाई माझ्ने काम भने मुनामदनले गरेको हो । सुरुका दिनमा मैले झ्याउरे लयमै कविताहरु लेखेँ । यस अर्थमा साहित्यमा लाग्ने पहिलो प्रेरणा मुनामदनले दिएको हो ।

स्कूल र क्याम्पसहरुमा पढ्दा म कविता प्रतियोगिताहरुमा भाग लिन्थेँ । कहिले फस्ट र कहिले सेकेन्ड हुन्थेँ । त्यसरी प्रतियोगितामा विजयी हुँदा पुरस्कारका रुपमा विभिन्न साहित्यिक पुस्तकहरु दिइन्थ्यो । संयोग कस्तो भने, पुरस्कार दिँदा अरु किताबको साथमा मुनामदन पनि हुन्थ्यो । ९/१० कक्षामा पढ्ने विद्यार्थीलाई धेरै ठूलो दर्शनको किताब दिए पनि उसले बुझ्न सक्दैन । त्यो बुझेर पनि होला, सहजै पढ्न सकिने मुनामदन दिइन्थ्यो ।

नेपाली साहित्यलाई समृद्धितिर लैजाने एउटा विन्दु हो मुनामदन । यो पढेर पछि यस्तै कविता लेख्दै अगाडि बढ्ने र साहित्यलाई धनी बनाउने दिशामा यसले साहित्यकारहरुलाई प्रेरणा दिएको छ ।

(कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment