Comments Add Comment

समीक्षाः केपी अाेलीलार्इ जेलमा खाना खुवाउँथे सुमार्गी !

साहित्य लेखनमा आत्मकथा अलि विशेष चर्चामा आउने विधा हो । किनकि त्यहाँ नन फिक्सन भईकन पनि फिक्सनको कलेवरमा आत्मकथाहरु समावेश गरिएका हुन्छन् । अजेयराज सुमार्गीको व्यवसाय र राजनीतिको शक्तिस्रोतबारे धेरैले आश्चर्य मानिरहेका बेला उनका बारेमा पुस्तक बाहिर आएको छ ।

sumargi-coverअजेयराज नेपाली उद्योग व्यवसायमा परिचित नाम हो । अजेयराज सुमार्गी (पराजुली) अापफूलार्इ वामपन्थी विचारधारा बोकेर समाजलाई सही दिशा प्रदान गर्ने रुपचन्द्र विष्टको थाहा आन्दोलनको अगुवा जनमुखीका रुपमा रहेको दाबी गर्छन् यो पुस्तकमा ।

यो पुस्तक अजेयराजले आफ्नै बारेमा भनेको भन्दा पनि उनका बारेमा उनलाई चिन्नेहरुका अवधारणाहरुको संकलन बढी हो । सन् सत्तरी/असीको दशक  ताका हेटौंडा मकवानपुरको सेरोफेरोमा आफ्नो पहिचान तिर्खान कस्सिएका सुमार्गीको कथा अरुका भनाइमा उनको केस्रा-केस्रा केलाउनमा खरो उत्रेको देखिन्छ ।

दुःखको बेलामा सुमार्गीका पिता माधवराज पनि आफ्नो समयका प्रभावशाली व्यक्ति थिए । व्यवसायका साथै पत्रकारिता, साहित्य र समाजसेवामा उनी लागेका थिए । सुमार्गी पनि उनैले जन्माएको शब्द थियो । पुख्र्यौली मोटो व्यवसाय थियो । तर, पिताको अल्पायुमै मृत्यु भएपछि परिवारमा वियोग परेको देखिन्छ ।

सानो उमेरमै पिताले छाडेर गएको व्यसायलाई सम्हालेका अजेयराजमाथि परिवारको जिम्मेवारी पनि थपिएको थियो । परिवारमा आमा, एक भाइ र दुई बहिनीहरु थिए । घरको प्रबन्ध र भाइबहिनीको पठन पाठन एक्लैले हेरेका थिए । १३/१४ वर्षको केटोका रहर र सपना धेरैथरि हुन्छन् । तर, परिवारप्रतिको उत्तरदायित्व र व्यवसायप्रतिको लगनले उनमा प्रौढता थपिदिएको देखिन्छ ।

आत्मकथामा अजेय सुमार्गीको व्यावसायिक उडान मात्र होइन, उनी प्रभावशाली ओरेटर, समयको प्रवाहलाई समात्न सक्ने, कूटनीति र राजनीतिको मात्रा बुझेर पाइला चाल्ने व्यक्तिका रूपमा उनलार्इ चर्चा गरिएको छ ।

सुमार्गीका स्कूले जीवनका साथीहरुदेखि व्यवसायका क्रममा भेटिएका, राजनीतिमा हात समात्ने र सँगै दौडने साथीहरुले गरेको व्याख्या पढ्दा लाग्छ, आज उनी जुन स्थानमा छन् त्यसको तयारी उनले पहिल्यैबाट थालिसकेका रहेछन् ।

रुपचन्द्रको क्रान्तिकारी विचार बोकेकको बताउने अजेयमा आफ्ना हजुरबुवा कलानाथ अधिकारी र डा. केआई सिंहको अभिभावकत्वमा राजनीतिप्रतिको झुकाव र सक्रियता ह्वात्तै बढेर गएको थियो । उनी र केही साथी मिलेर हतियार समेत उठाउने दाउमा पुगेका थिए । पुस्तकमा त्यसको पर्दाफास सुमार्गीले गरेका छन् । तर, हतियारले समाजमा परिवर्तन ल्याउन सक्दैन भन्ने निक्र्यौलमा उनीहरु पुगेर गुरु रुपचन्द्र विष्टको निर्देशन बमोजिम जनसभा र परिवर्तनकारी कामहरुमा लागेको देखिन्छ ।

रुपचन्द्रका उत्तराधिकारीका रुपमा चिनिएका अजेयराज कुनैबेला वीरगन्ज जेलमा रहेका राजनीतिक बन्दीहरु केपी ओली लगायतका नेताहरुका लागि हेटाैंडाबाट आफ्नो गाडीमा खाना लिएर जाने गर्थे भन्ने पनि याे पुस्तकमा छ । रुपचन्द्र राजनीतिक हिसाबले वामपन्थी विचारबाट प्रभावित भए पनि उनी राजाको शासनकालमा सरकारमा सहभागी भएका थिए । तर, अजेय भने केवल ‘थाहा’का कार्यकर्ताका रुपमा मात्र चिनिए । उनले राजनीतिलाई बुझे मात्र । आवश्यक समयमा सरसल्लाहमा अग्रसर रहे पनि धेरै समय पारिवारिक व्यवसाय र त्यसलाई आधुनिकीकरण गर्न केन्दि्रत भएको देखिन्छ । बीस वर्षको उमेरमा आइपुग्दा अजेयराज दर्जन जति उद्योग-धन्दाका मालिक बने ।

हेटौंडा चुन उद्योगका मालिक अजेयराजको कथा फिक्सनल लाग्छ, तर अन्य पात्रहरुले बोलेका हुनाले तिनमा प्रामाणिकता पाइन सक्छ । सुमार्गी परिवारको सम्पन्नताको सन्दर्भमा, कुनै बेला हालको ब्लुकर्ड होटल एरिया र सुन्धारा अघिल्तिरको भूभाग पनि उनको हो भन्ने जनश्रुति त्यस कालखण्डका वृद्धवृद्धाहरुमा पाउन सकिन्छ ।

भीमफेदी, निबुवाटार क्षेत्रमा अहिले पनि सुमार्गीको धेरै जायजेथा रहेको पाइन्छ । परिवारको सम्पन्नतामा राजनीतिक विलक्षणता बोकेर व्यवसायमा होमिएका अजेय नेपालको निजी क्षेत्रको पहिलो मोबाइल सेवा ‘मेरो मोबाइल’का प्रमुख डिजाइनर थिए । त्यसबाट नेपाल टेलिकमको एकल स्वामित्वलाई धावा बोली निजी मोबाइल सेवाको अवसर दिएका थिए ।

पुस्तकका अनुसार, उनको सोच नागरिकमुखी बढी देखिन्छ । भारतले गरेको नाकाबन्दीपछि पनि उनले सरकारको एकल स्वामित्वमा रहेको आयल निगमको सेवालाई अरु निजी व्यवसायीलाई प्रतिष्पर्धाबाट आउन दिएर नागररिकलाई आधारभूत आवश्यकता पूर्ति गर्नका लागि सरकारलाई दबाव दिने सल्लाह दिने उनी एक्ला व्यक्ति थिए ।

उनी राजा ज्ञानेन्द्रका ज्वाइँ राजबहादुरका व्यावसायिक साझेदारका रुपमा अघि आएका हुनाले दरबारको मान्छे भनेर हेरिएको थियो । पछिल्लो समय भने प्रचण्डका निकट मान्छे भन्नेे चर्चाले निकै बजार पिटेको छ

पुस्तकले अजेयराजका बारेमा रहेका धेरै रहस्य र जिज्ञासाको खुलासा गरिदिएको छ । उनको बारेमा धेरै कुरा तातो चर्चाको विषय बन्ने गर्थे । धेरैलाई उनी बाहिरबाट नेपाल आएर अस्थायी हुँदै स्थायीरुपमा बसोबास गरेका मारवाडी समुदायको मानिस होला भन्ने भ्रम थियो ।

केहीले तत्कालीन राजा वीरेन्द्रको भित्रियाका रुपमा चित्रण गरेका थिए । उनी राजा ज्ञानेन्द्रका ज्वाइँ राजबहादुरका व्यावसायिक साझेदारका रुपमा अघि आएका हुनाले दरबारको मान्छे भनेर हेरिएको थियो । पछिल्लो समय भने प्रचण्डका निकट मान्छे भन्नेे चर्चाले निकै बजार पिट्यो ।

फ्रेस पाठकहरुले अजेयको जीवनयात्रालाई प्रेरणादायी र सफलताको अचुक मन्त्रका रुपमा लिन सक्नेछन् । सकारात्मक चिन्तनका बारेमा अरुले लेखेको बोल्ने, अरुले लेखेको पढ्ने उधारो चिन्तन बोकेका व्यापारीहरुका लागि सुमार्गीको कथा र उनको जीवन उदाहरणीय बन्ने दाबी पुस्तकका लेखककाे छ ।

यो अजेयले आफूबारे भनेको/लेखेको कथा नभई अरुले नै भनिदिएको उनको अंश-अंश जीवनको योगफल हो । बाल्यकालका साथीहरुले रमाइलो विगतका बारेमा बताएका छन् भने ‘थाहा’का अभियन्ताहरुले त्यसबेलाका जनसभाहरुमा उनको अनिवार्य सहभागिताबारे बोलेका छन् । राजनीतिक जीवनमा सँगै जेल परेका साथीहरु, उमेरले बुढो भए पनि सानो अजेयलाई अभिभावक मान्नेहरुका कुरा पनि पुस्तकमा समेटिएका छन् ।

अजेयका हजुरबुवा कलानाथका मित्र, बुवा माधवराज र आमा विश्वकान्ति कलावतीका शुभचिन्तक पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टका भनाइ पनि पुस्तकमा पढ्न सकिन्छ । रुपचन्द्रका कान्छा भाइ गुणचन्द्र विष्टसँग अजेयको आत्मीय सम्बन्ध मित्रताको संसारमा प्रेरक सूत्र बन्न सक्छ । गुणचन्द्र आफैं पनि जल्दाबल्दा व्यवसायी हुन्, चितवनलाई हृयाचरीको हब नै बनाइदिने जस उनलाई जान्छ । यसका साथै दार्शनिक ओशोसँग शिष्यका रुपमा लामो समय बिताएका उनीबाट पाठकले धेरै कुरा सिक्न सक्छन् । पुस्तकमा परिवारका केही सदस्यको भर्सनलाई पनि समावेश गरिएको छ ।

पुस्तक निर्मलकुमार थापा र सुमार्गीका सहोदर भाइ अरुणराजको संयुक्त लेखनी हो । समग्रमा यो पुस्तक अबका दिनमा कसैको जीवनकथा लेख्न तम्सिनेहरुलाई गतिलो झापड हुनेछ, लेख्दा गुदी निकाल्नेतर्फ लाग्ने कि छालाको शिकारमा मात्र रम्ने ?

तर, धनीमानी व्यापारीहरूले अाफ्नाे जीवनगाथालार्इ बढाइ चढाइ गरेर लेख्ने गरेको सामन्तवादी स्तुत्य साहित्यको बजारमा यसले अाफूलार्इ पृथक राख्ला, त्यो चाहिँ हेर्न बाँकी छ । सुमार्गी कम्प्लेक्सकाे छतमा यो पुस्तककाे विज्ञापनका लागि टाँसिएकाे हाेडिङ बाेर्डले त्यही सस्ताे प्रचारवाजीतिर संकेत गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment