Comments Add Comment

कर्मचारीतन्त्रमा व्यवसायीकरण र सुधारका केही उपाय

व्यवसायीकरणदेखि पुनर्व्यवसायीकरणसम्म

Karmachari

राज्य प्रणालीको सुरुवातदेखि नै शासन सञ्चालन गर्न प्रशासनको थालनी भयो । सानो राज्य शासनको अवस्थामा प्रशासन प्रणाली पनि सानै थियो । एक व्यक्ति नै धेरै प्रकारका काममा संलग्न हुन्थे । व्यक्तिको मुखमा यावत अभिलेख रहन्थे । अभिलेखको खास संरक्षण थिएन । व्यक्ति गयो अभिलेख पनि गयो, को अवस्थामा थियो ।

म्यानेजर आफू र मातहतका श्रमिकको कामसम्म गर्न जुट्थे । प्रशासनमा जो व्यक्ति पहिले सम्पर्कमा आउँथ्यो, उसैलाई काममा लगाइन्थ्यो । ज्ञान परीक्षणको कुनै प्रणाली र विधि थिएन । सीप विकासले महत्व पाउदैनथ्यो । प्रशासनिक कार्यहरु कुनै स्तरीय विधि विना केवल अनुभव, चलन र कमन सेन्सको आधारमा हुने गर्थे । मान्छेलाई मेसिन जस्तो सम्झेर काममा लगाइन्थ्यो । कर्मचारीको मनोवाञ्छित व्यवहारको कल्पनासम्म गर्न सकिन्नथ्यो । सबै काम सबैका लागि र जिम्मेवारी पनि सबैका लागि हुन्थ्यो ।

काम गर्ने तरिका व्यक्तिपिच्छे अलग-अलग हुन्थे । जनताको अपेक्षा र शासन प्रणालीको बोझ ठूलो हुन्थेन । प्रशासन पद्धति सधैं शासनको आवश्यकता, शासकको मनसुवा र जनताको सेवामा समर्पित रहिआयोे । यद्यपि आधुनिकीकरणप्रति चासो देखियो ।

कर्मचारीतन्त्रको आधुनिकीकरण

प्रशासन प्रणालीलाई आधुनिकीकरण गर्न विभिन्न सिद्धान्तको प्रतिपादन र अभ्यास भएका छन् ।  व्यवस्थापनका ज्ञाता फ्रेड्रिक टेलरले प्रशासनलाई वैज्ञानिक बनाउँदै उत्पादकत्व बढाउन कार्यसम्पादनका लागि वैज्ञानिक विधि, प्रतिस्प्रर्धात्मक पद्धतिबाट कर्मचारी छनोट, काम गर्ने वातावरण, प्रोत्साहनको व्यवस्था, म्यानेजर र कामदारबीच जिम्मेवारीको बाँडफाँड गर्नुपर्ने सिद्धान्त प्रतिपादन गरे । जसले प्रशासनमा आधुनिकीकरण भित्र्यायो ।

laxmibilash-koirala
लक्ष्मी विलास कोइराला

कार्यतालिका अनुरुप संगठनको कार्यसम्पादन हुनुपर्ने हेनरी ग्रान्टको सिद्धान्त र हेनरी फोयलकोे संगठनात्मक सक्षमताका लागि संगठनमा नेतृत्वको भूमिका र संगठनको प्रभावकारिताका लागि निर्देशनको एकता, अधिकार र जिम्मेवारीमा स्पष्टता र अनुशासनको आवश्यकता औल्याउँदै अधिकारको प्रयोगले मात्र जिम्मेवार र उत्तरदायी प्रशासन पद्धति बन्ने दृष्टिकोण दियो । फोयलको सिद्धान्तले प्रशासन प्रणालीलाई आधुनिकीकरणको मार्गमा डोर्‍याउँदै लग्योे ।

प्रशासन प्रणालीलाई कर्मचारीतन्त्रमा रुपान्तरण गर्न सफल विद्वान् म्याक्स वेवर हुन् । कर्मचारीतन्त्रका विधिसम्मत कार्यसम्पादन गर्ने, पदसोपान पद्धतिमा रहने, मेरिट (गुण) को आधारमा कर्मचारी छनोट गर्ने, कर्मचारीमा कार्यसम्पादन सक्षमता उच्च हुने, श्रम विभाजनको सिद्धान्त अनुरुप संगठनमा जिम्मेवारी तोकिने, कार्यसम्पादनमा विशिष्टीकरण हुने र संगठनको सम्पूर्ण क्रियाकलापको अभिलेख रहने जस्ता विशेषताले कर्मचारीतन्त्रलाई प्रोफेसनल प्रशासनको रुपमा चिनायो । लोक सेवा आयोगबाट गुण सिद्धान्त (मेरिट प्रिन्सिपल) को आधारमा छानिएका सक्षम कर्मचारीको समूह कर्मचारीतन्त्रले एउटै नियम र विधि अनुरुप प्रशासनलाई हाँक्न थाल्यो ।

व्यवहारवादी सिद्धान्तका समर्थक हरवर्ट सिमोनको सिद्धान्तले कर्मचारीतन्त्रमा हुने निर्णयलाई थप वैज्ञानिक र तार्किक बनायो । इल्टन मायो र रेन्सिस लिंकर्ट जस्ता विद्वानहरुले कर्मचारीतन्त्रको मेरुदण्ड कर्मचारीहरु मेसिन होइनन्, मानव हुन् भन्ने तथ्यलाई हार्थन प्रभावको अध्ययनबाट पुष्टि गरे ।

कर्मचारीको उत्पादकत्व एक्लैभन्दा समूहमा काम गर्दा बढी हुन्छ । कर्मचारीतन्त्रमा सहभागितामूलक ढंगले गरिएको निर्णयको कार्यान्वयन सफल पनि हुन्छ भन्ने विषयले महत्व पायो । अब्राहम मास्लो र डगलस म्याक ग्रेगरले कर्मचारीको उत्प्रेरणा केन्दि्रत सिद्धान्तको प्रतिपादन गरे । कर्मचारीसँग आवश्यकताको शृंखला हुन्छ र आवश्यकता पूर्ति नै कर्मचारीको उत्प्रेरणा हो । सो पूरा गर्न कर्मचारी क्रियाशील हुन्छ भन्दै कर्मचारीतन्त्रमा कर्मचारीलाई मानवोचित व्यवहार गर्नुपर्ने आवश्यकता औंल्याए ।

आधुनिकतासँगै कर्मचारीतन्त्रको स्थिर कार्यवातावरण गतिशील र जटिल बन्न पुग्यो । आजको गतिशील र जेलिएको समाजका अन्तरसम्बन्धित क्रियाकलापहरुको व्यवस्थापनबाट कर्मचारीतन्त्रको लक्ष्य प्राप्त गर्नुपर्ने हुन्छ । यसैले स्रोत-साधनको उपयोगमा प्रभावकारिता, सेवाको गुणस्तर र परिमाणप्रति उत्तरदायी बन्नुपर्ने अवधारणा तथा अपेक्षाले प्रशासनको आधुनिकीकरणका साथै प्रोफेशनल चरित्र र क्षमताको खोजी बढ्दैै गयो ।

प्रोफेसनल कर्मचारीतन्त्र

प्रशासनको आधुनिकीकरणले कर्मचारी तथा प्रशासन संयन्त्र र प्रणालीलाई व्यावसायिक बनाउँदै लैजान्छ । प्रोफेसनल कर्मचारीतन्त्रका विश्लेषक हेनरी मिन्टजवर्ग हुन् । उनले प्रशासनको कार्यसम्पादनमा सामान्यतया पाँच प्रकारका संगठन प्रयोग हुने स्पष्ट पारेका छन् ।

पहिलो संगठन साधारण हुन्छ, जसमा उच्च तहको म्यानेजर र केही कर्मचारी हुन्छन् । निर्णय केन्द्रिकृत हुन्छ । समन्वय औपचारिक हुन्छ । श्रम विभाजन नगन्य हुन्छ । कर्मचारी उस्तै-उस्तै काम गर्छन् । संगठनले बाहृय वातावरणको परिवर्तन अनुभव गर्दैन । संगठनको लक्ष्य प्राप्ति संगठनको स्थायित्वसँग जोडिएको हुन्छ ।

दोस्रो संगठन यान्त्रिक हुन्छ । धेरै कर्मचारी हुन्छन् । पदसोपानयुक्त संगठन हुन्छ । नियम र प्रक्रियामा आधारित काम हुन्छन् । अधिकार केन्द्रमा रहन्छ । प्रशासनिक र प्राविधिक कर्मचारी सँगसँगै काममा संलग्न हुन्छन् । सबै काम औपचारिक विधिबाट सम्पन्न हुन्छन् । प्रविधिको प्रयोग उच्च हुन्छ । वातावरण स्थिर हुन्छ । संगठनमा बाह्य प्रभाव नहुने भएकोले आन्तरिक सक्षमतामा संगठनको उद्देश्यप्राप्ति टिकेको हुन्छ ।

तेस्रो संगठन डिभिजनलाइज्ड हुन्छ । संगठन ठूलो र कामको आधारमा डिभिजनहरु स्थापना गरिएका हुन्छन् । विभागहरु आफ्नो काम गर्न केही हदसम्म स्वतन्त्र हुन्छन् र वातावरण स्थिर नै हुन्छ ।

चौथो संगठन तदर्थमुखी हुन्छ । गतिशील र जटिल वातावरणमा पनि काम गर्न सक्षम हुन्छ । अत्याधुनिक प्रविधि प्रयोग गर्छ । संगठनको संरचना औपचारिक हुन्छ भने अधिकार केन्द्रमै रहन्छ । संगठनको काम प्रायशः विज्ञहरुबाट हुन्छ भने नियन्त्रण दोहोरो चेन अफ कमान्डबाट हुने गर्छ ।

गुणस्तरीय सेवा, जनप्रेमी व्यवहार र कामप्रति उत्तरदायित्वबोध गर्न सक्ने प्रशासन संयन्त्र विकास गर्न कर्मचारीतन्त्रको प्रोफेशनलाइजेसन गर्ने गरिन्छ

पाँचौं संगठन प्रोफेसनल हुन्छ । कर्मचारी थोरै, प्रोफेसनल र कार्यसम्पादनमा पोख्त हुन्छन् । सेवा प्रवाह जुनसुकै समयमा हुने गर्छ । निर्णय प्रक्रिया विकेन्दि्रत हुन्छ । संगठनको उद्देश्य प्राप्त गर्न निरन्तर कार्यसम्पादन प्रक्रियाको सुधार हुन्छ । प्रोफेसनल कर्मचारी पेशागत आचरण, मूल्य र मान्यतामा अडिग हुन्छन् ।

कर्मचारीतन्त्रको प्रोफेशनालाइजेसन

प्रोफेशनालाइजेसन आधुनिकीकरणको अझ परिष्कृत अवस्था हो । गुणस्तरीय सेवा, जनप्रेमी व्यवहार र कामप्रति उत्तरदायित्वबोध गर्न सक्ने प्रशासन संयन्त्र विकास गर्न कर्मचारीतन्त्रको प्रोफेशनलाइजेसन गर्ने गरिन्छ । प्रोफेसनल व्यक्ति, संगठन र विधिले प्रोफेसनल कर्मचारीतन्त्रको विकास र सञ्चालन गर्दछ ।

प्रोफेशनल कर्मचारीहरु योग्यता प्रणालीका पक्षपाती, सेवाग्राहीप्रति जवाफदेही, सैद्धान्तिक ज्ञान र व्यावहारिक अभ्यासमा पोख्त, आचारसंहिता र मूल्य मान्यतामा अडिग, सकारात्मक सोचका धनी र कर्त्तव्यनिष्ठ हुन्छन् । उनीहरु सधैं उद्देश्यप्रति केन्दि्रत हुन्छन् । प्रोफेशनल कर्मचारीहरुले संगठनलाई पनि प्रोफेशनल बनाउँछन् । आफ्नो जिम्मेवारी पूरा गर्दा उच्च नैतिक व्यवहार, सीप र जिम्मेवारी प्रदर्शन गर्नु नै प्रोफेशनालिज्म हो । प्रोफेसनालिज्म प्रोफसनल कर्मचारी र संगठनको चिनारी पनि हो ।

कर्मचारीतन्त्रलाई स्थानीयकरण गरी निजामती सेवा भनिन्छ । निजामती सेवा एक प्रोफेशनल सेवा हो । आजकल कर्मचारीतन्त्रको आधुनिकीकरण र कर्मचारीतन्त्रको सामाजिकीकरणले कर्मचारीतन्त्र पूर्णरुपमा प्रोफेशनल नभई ‘अर्द्ध प्रोफेशनल’ हुन्छ भन्ने विश्वास बढ्दै गएको छ । जसले गर्दा कर्मचारीतन्त्रको डिप्रोफेशनलाइजेशन र रिप्रोफेशनलाइजेसनको खोजी भयो ।

कर्मचारीतन्त्रको डिप्रोफेशनालाइजेसन

डिप्रोफेशनालाइजेसनलाई सरल रुपमा विश्लेषण गर्न उदाहरणहरुलाई आधार बनाइएको छ । पहिलो, प्राविधिक कर्मचारी खासगरी चिकित्सक र शिक्षक-प्राध्यापकलाई व्यवस्थापकीय जिम्मेवारी दिनु डिप्रोफेशनालाइजेसनको एक उदाहरण हो । पढाउने प्राध्यापक वा शिक्षकलाई कुनै संस्थाको महाप्रबन्धक, अस्पतालका डाक्टरलाई स्वास्थ्य मन्त्रालयको सचिव बनाउनु डिप्रोफेसनलाइज्ड गर्नु हो ।

दोस्रो, प्रोफेशनल क्षेत्रमा ट्रेड युनियनको अभ्यास हो । युनियन मेरिट पद्धतिभन्दा सिनियारिटी पद्धतिलाई जोड दिन्छ, जुन प्रोफेशनालाइजेसनको विपरीत हो । तेस्रो, एरोविक फिटनेस क्लब, डाइट क्लबहरुले पनि उस्तै सेवा प्रवाह गर्न थालेपछि खेल विज्ञ वा कोचहरुको डिप्रोफेसनलाइज्ड हुन पुगेको हुन्छ । अर्थात्, सेवा प्रवाहमा प्रतिस्प्रर्धात्मक वातावरणले पनि कर्मचारीतन्त्रलाई डिप्रोफेशनलाइज्ड गर्छ । परम्परागत कार्यसम्पादन र सेवा प्रवाहको क्षेत्रमा स्थापित शक्ति, ज्ञान, तजविजी अधिकार, स्वायतता, नियन्त्रण र प्रभावमा कमी आउनु कर्मचारीतन्त्र डिप्रोफेशनलाइज्ड हुनु हो । यसले प्रोफेशनल स्टाटसमा पनि ह्रास आउँछ ।

देहायको अवस्थामा कर्मचारीतन्त्र डिप्रोफेसनलाइज्ड भएको मानिन्छः

  • कार्यक्षेत्रमा अन्य पतिस्पर्धीको प्रवेश भई परम्परागत एकाधिकार समाप्त हुनु ।
  • सूचना सञ्चार प्रविधिको प्रयोगले प्रोफेसनल कर्मचारीको पेशागत ज्ञान र विज्ञतामाथिको   नियन्त्रण कमजोर बन्नु वा ज्ञान, सीप र विज्ञता अपर्याप्त हुनु ।
  • कार्यसम्पन्न गर्ने सन्दर्भमा संगठनभित्र निर्णय निर्धारणमा रहिआएको तजविजी अधिकारको समाप्ती र स्वायतत्तामा कमी आउनु ।
  • कर्मचारीतन्त्रमा ट्रेड युनियनको उपस्थिति र अभ्यास गरिनु ।
  • प्रोफेशनल कर्मचारी अत्याधिक प्रोफेशनल, आत्मकेन्द्रित र संकीर्ण बन्नु ।
  • गैरप्रोफेशनल स्वार्थ समूहहरुको दबावका कारण प्रोफेशनलहरुले कार्यसम्पादन गर्नको लागि अधिकार र शक्तिको प्रयोग गर्ने सहज वातावरण नहुनुु ।
  • राजनीतिक नेतृत्वमा पनि प्रोफेशनल ज्ञान भएकोले उनीहरुबाट हुने निर्देशन र मूल्यांकनले प्रोफेशनल प्रभुत्वमाथि चुनौती आउनु ।

समाज सुसूचित हुँदा जनसाधारणबाट प्रोफेशनल सेवा र गुणस्तर खोजी प्रबल हुनु । जस्तैः डाक्टरकोमा जाँदा बिरामीले इन्टरनेटबाट सबै जानकारी लिएर जानु ।

वातावरणीय, राजनीतिक, सामाजिक, आर्थिक र प्राविधिक विकासले सिर्जना गरेको परिवर्तन व्यवस्थापन गर्न सक्षम नहुनु ।

समयको गतिसँगै राजनीतिक, आर्थिक, सामाजिक परिवर्तनले कर्मचारीको क्षमता अपर्याप्त सिद्ध हुन पुग्छ । कर्मचारीतन्त्रको पुनर्ताजगी नगरेसम्म राजनीतिक लक्ष्य र उद्देश्य प्राप्त हुँदैन

कर्मचारीतन्त्रको रिप्रोफेसनलाइजेसन

कर्मचारीतन्त्र एक प्रोफेशनल संयन्त्र हो । कर्मचारीतन्त्रको आधुनिकीकरण सँगसँगै त्यसमा प्रोफेशनल सक्षमता र उत्तरदायित्वको अपेक्षा गरिएको हुन्छ । सिद्धान्ततः कर्मचारीतन्त्र र प्रोफेशनालिज्मको सह-अस्तित्व संगठनमा हुन्छ । प्रोफेशनल कर्मचारीतन्त्र उत्तरदायी, जनमुखी, परिणाममुखी, पारदर्शी र विकेन्दि्रत हुन्छ । त्यस्तो कर्मचारीतन्त्रले मात्र देशको सर्वाङ्गीण विकासको नेतृत्व गर्न र विकास अभियान परिचालन गर्न सक्छ ।

यद्यपि समयको गतिसँगै राजनीतिक, आर्थिक, सामाजिक परिवर्तनले कर्मचारीको क्षमता अपर्याप्त सिद्ध हुन पुग्छ । कर्मचारीतन्त्रको पुनर्ताजगी नगरेसम्म राजनीतिक लक्ष्य र उद्देश्य प्राप्त हुँदैन । यसकारण कर्मचारीतन्त्रको रिप्रोफेशनलाइज गर्नु सधैं आवश्यक हुन्छ । रिप्रोफेशनलाइजेशन भनेको कर्मचारीतन्त्रलाई वर्तमान आवश्यकता र भावी अपेक्षा पूरा गर्न सक्ने गरी सक्षम, उत्तरदायी र नैतिकवान् बनाउने सुधारात्मक प्रक्रिया हो ।

कर्मचारीतन्त्रको रिप्रोफेशनालाइजेसन यसरी गर्न सकिन्छः

  • संगठनमा कर्मचारीतन्त्र र प्रोफेशनालिज्मका गुण र विशेषताको सह-अस्तित्व कायम गर्ने,
  • कर्मचारीतन्त्रको सामाजिकीकरण गरी सामाजिक एवं राजनीतिक उत्तरदायित्व वहन गर्न सक्षम बनाउने,
  • उच्च स्तरको नैतिकता र इमानदारीका लागि आचारसंहिताको पालना कठोर बनाउने,
  • प्रोफेशनल कर्मचारीहरुको ज्ञान, सीप र विज्ञतालाई आध्यात्मिक ज्ञानको माध्यमबाट समयानुकूल सबल पार्ने,
  • कर्मचारीतन्त्रलाई वातावरण अनुकूल कार्यसम्पादन गर्न र परिस्थितिको व्यवस्थापन गर्न सक्षम बनाउने,
  • जनताका लागि सेवाको सह-उत्पादन, सह-प्रवाह र सह-मूल्यांकनको संयन्त्र विकास गर्ने । (जस्तैः मधुमेह रोगका डाक्टर र रोगीहरुको संस्था मिलेर रोगको व्यवस्थापन सम्बन्धमा सेवा निर्धारण गर्ने, सेवा दिने र मूल्याकंन गर्ने),
  • समावेशी प्रजातन्त्रका मूल्य-मान्यता अनुरुप कर्मचारीतन्त्रको पुनरुत्थान र सञ्चालन गर्ने
  • कार्यसम्पादन विधि र प्रक्रियाको आधुनिकीकरण र स्तरीकरण गर्ने,
  • सार्वजनिक सेवा प्रवाहमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग अनिवार्य बनाउने,
  • सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी बनाउने र
  • सेवा वा कार्यका सम्बन्धमा सरकार र कुनै सरकारी अधिकारीप्रति नभई जनता र सेवाग्राहीप्रति उत्तरदायी बन्न बाध्यकारी बनाउने ।

कर्मचारीतन्त्रको परम्परागत गुणहरुका कारण सिर्जना हुने ढिलासुस्ती, असंवेदनशीलता र अनुत्तरदायीपन जस्ता कमजोरी तथा प्रोफेशनलको जस्तो संकीर्णता, मानवीयताको उपेक्षा र अहम् जस्ता कमजोरी नै कर्मचारीतन्त्रको डिप्रोफेसनलाइजेसन र रिप्रोफेसनलाइजेशनका आधार हुन्

निष्कर्ष

राज्य सञ्चालन गर्न स्थापित प्रशासन पद्धति कर्मचारीतन्त्र (निजामती सेवा) को आधुनिकीकरण र प्रोफेशनलाइजेसन गर्नु समयको माग हो । कर्मचारीतन्त्रको परम्परागत गुणहरुका कारण सिर्जना हुने ढिलासुस्ती, असंवेदनशीलता र अनुत्तरदायीपन जस्ता कमजोरी तथा प्रोफेशनलको जस्तो संकीर्णता, मानवीयताको उपेक्षा र अहम् जस्ता कमजोरी नै कर्मचारीतन्त्रको डिप्रोफेसनलाइजेसन र रिप्रोफेसनलाइजेशनका आधार हुन् ।

प्रोफेशनलाइजेसन, डिप्रोफेशनलाइजेशन र रिप्रोफेशनलाइजेशन प्रशासन सुधारका क्रमिक चरण हुन्, जसले कर्मचारीतन्त्रलाई राज्य सञ्चालनको गहन जिम्मेवारी वहन गर्न सदैव सक्षम, कर्त्तव्यनिष्ठ र उत्तरदायी बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment