Comments Add Comment

चित्लाङका गोपालीले कात्तिकमा दशैं मनाए, यस्तो छ किंवदन्ती

teeka-lagaudai-gopali-community-copy६ कात्तिक, मकवानपुर ।  चित्लाङ गाउँ विकास समितिका चार गाउँका गोपाली जातीले यस वर्षको दशैं कात्तिक ४ गते मनाएका छन् ।

चित्लाङका गोपाली र गमालहरुले परम्परागत चम्पाकेश्वर महादेवको जात्रा लाग्ने दिन कात्तिक संक्रान्तिभन्दा अघि दशैं परेकोले गाउँमा भद्र भलाद्मी सहित थकालीको निर्णयबाट दशैं सारेका थिए ।

‘गोपाली समुदायले परम्परा अनुसार कार्तिक १ गते चम्पाकेश्वर जात्रा, २ गते सगोलमा राँगा काट्ने, ३ गते बोकाको बली सहित कुल पुजा गरेर ४ गते टीका लगायौ’, स्थानीय सुशीला गोपालीले भनिन् ।कार्तिक संक्रान्तिदेखि वरको ८ औं दिन महानवमी परेकोलेसारेको दशै ४ कात्तिकमा मनाइएको थकाली ९२ वषिर्य आरसिंह गोपालीले बताए ।

आठ दिनअघि गोपाली समुदायको परम्परागत जात्राका लागि ‘आँग’ अर्थात प्रसादका लागि जाँड राख्ने दिन हो । ‘कार्तिक संक्रान्तिको आठ दिन अघि महानवमी नपरेको भए दशैं माथ्यौं’-स्थानीय ४८ वर्षीय अंक गोपालीले भने ।

परम्परा अनुसार चित्लाङको गोपाली समुदायले ३ कात्तिकमा कुल देवता अर्थात भिमसेनको पुजा गरेको स्थानीय सुशीला गोपालीले बताइन् । कुलपुजाको अवसरमा भकारी भर्न सहयोग गर्ने खेतीपातीमा प्रयोग हुने सबै औजारलाई पनि पूजा गर्ने गोपालीहरुको परम्परा छ ।

चित्लाङका गोपालीहरुले ३ कात्तिकमै कुलपूजा सकेर घरको जेठोदेखि उमेर अनुसार ताँती लगाएर स्थानीय गणेश मन्दिरमा पूजा गर्दछन् । अन्य समयमा गोपाली महिलाहरु गणेश मन्दिर जाने भए पनि त्यस दिन महिलाहरु पुजामा सहभागी हुँदैनन् ।

गोपालीहरुले ४ कात्तिकमा अघिल्लो दिन कुल पुजा गरेको सरजामहरु, फुलहरु, अक्षता नजिकैको दोबाटोमा लगेर सेलाएपछि मात्र दशैको टीकाको सुरसार हुन्छ । उनीहरुले सेलाएको बस्तुलाई फुलपाती भन्छन् भने सेलाउने ठाउँलाई ‘हिडल’ भन्छन् । गोपालीहरुको फुलपाती सेलाउने ठाउँ भने टोल अनुसार फरकफरक हुन्छ ।

कात्तिक संक्रान्तिपछि गोपालीहरुले लगाउने दशैको टीका पनि हिन्दु परम्परा अनुसार नै घरको पाको व्यक्तिबाट क्रमैसंग टीका र आशिष लिने चलन छ ।

गोपाली समुदायमा ४ कात्तिक दिनभर घरगाउँमा दशैको टीका लगाएपछि बेलुकी कुलदेवतालाई बली दिएको बोकाको टाउकाको थकाली घरमा भोज खाने चलन छ । टाउकाको कान, नाक, मुख, आँखा लगायतको भाग छुट्ययाई खाने यस्तो भोजलाई उनीहरु ँशिकाःभ्वयः’ भन्छन् ।

दशैंको टीका लगाएको भोलिपल्ट एक दिन मात्र ‘परदेशी’का लागि टीका लगाउन पर्खने चित्लाङका गोपाली समुदायमा परम्परा रहेको स्थानीय ४२ वषिर्य नानकाजी गोपालीले बताए ।

चित्लाङको गोपालीको बसोबास रहेको न्हुँलगाँउ र  टौखेल, तथा गमालको बसोबास रहेको कलाँटु र तल्लो बिसिङ्खेलबासीले दशैं सारेका थिए ।

के छ किम्बदन्ती ?

धार्मिक ग्रन्थ रामायणको पात्र वाणासुरको कथासँग चम्पाकेश्वर महादेवको उत्पत्तिको प्रसंग जोडिएकोले चम्पाकेश्वर महादेवको उत्पत्ति आदि कालमै भएको दाबी छ । गोपाली जातीको बाहुल्यता रहेको यो क्षेत्रमा नाच र जात्रा चलाउन गुठीको ब्यवस्था गरिएको छ ।

यस भेगमा पानी नपरेमा पानी माग्न र गाईवस्तुको रक्षाको लागि चम्पाकेश्वर महादेवलाई पुज्ने बताइन्छ । यस मन्दिरमा पुख्यौँली घर पाटन रहेका राजोपाध्याय  खलकका पूजारी छन् । प्रत्येक वर्ष जात्रामा विशेष पुजाका लागि महादेवलाई जाँड र एकैपटक कुटिएको चिउरा चढाउनुपर्छ । जसलाई स्थानीय वासिन्दा ककः बजी भन्दछन् ।

सोही दिन बेलुकी काठको लठ्ठी ठोकाठोक गरेर टाउकोमा पगरी र पगरीभरि फूल सिउरेर स्थानीय गोपालीहरुले घरबुना खेसका कपडा लगाएर नाच देखाउने चलन रहेको छ । उक्त नाचलाई स्थानिय भाषामा ‘ट्वाक प्याखँ’भनिन्छ ।

स्थानिय गोपालवंशी ग्वालाहरुको अत्यन्त श्रद्धाको पर्व चम्पाकेश्वर मेलामा विभिन्न गुठीयारहरुले चार घेम्पो जाँड ल्याउने प्रचलन छ । कीरा परिसकेको उक्त जाँड र ‘कक बजी’ प्रसादको रुपमा खाएमा पेटका रोग निर्मुल हुने जनविश्वास छ ।

किम्बदन्ती अनुसार हालको थानकोटलाई प्राचीन कालमा शोणितपूर भनिन्थ्यो । त्यहा राजा बाणासुर ले राज्य गर्दथे । एक दिन शिकार खेल्न राजपरिवार र सेनाहरु चन्दागिरी जंगल हुँदै बिसिङखेलको वनमा आइपुगेको स्थानिय बासिन्दा बताउँछन् ।
उक्त वनको एउटा रुखमा फूलिरहेको चापको फूल राजकुमारीले देखेपछि उनी लोभिएको र उक्त फूल टिपेर ल्याउन अनुरोध गरिएको स्थानिय बुढापाकाहरु बताउँछन् ।

कथाअनुसार फूलको रुखको फेदबाट हेर्दा फूल देखिने र टुप्पोमा पुग्दा हराउने गरेपछि राजालाई साहृै रिस उठेछ । त्यसपछि कलाँटु गाँउका काठका काम गर्ने ब्यक्तिहरुलाई बोलाएर उक्त रुख काट्न आदेश दिएछन् । रुख काट्दा रगत आएको र एउटा ज्योर्तीलङ पैदा भएपछि कलाँटुका गमालहरुले उक्त लिङ्ग आफ्नो गाँउमा लगेर राखेछन् । तर, त्यो रात गाँउमा कुखुराको भाले नबासेपछि केहि अनिष्ट भयो भन्ठानेर गाँउलेमा चिन्ता बढेछ ।

क्षमापुजा गरेपछि आकाशवाणी भएर ‘सोझा जाती गोपाली बस्ने टौखेलमा मलाई लगेर राख्नु’ भनेपछि अझै पनि जात्राको दिन टौखेलबाट शिवलिङ्ग ल्याउने र जात्रा सकिएपछि फिर्ता लैजाने प्रचलन रहेको छ । अहिले पनि चाँपको रुखको ठुटो हालसम्म मन्दिरमै छ ।

सुरजकुमार भुजेलको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment