Comments Add Comment

१८ करोडमा काष्ठमण्डपको पुनर्निर्माण हुँदै, १८ हजार क्युफिट काठ लाग्ने

सरकारसँग काठ किन्ने, टेण्डरको तयारी

kasthamandap
भूकम्पले क्षतिग्रस्त हुनु अघिको काष्ठमण्डप

६ कात्तिक, काठमाडौं । भूकम्पले भत्काएको महत्वपूर्ण पुरातात्विक एवम् ऐतिहासिक सम्पदा काष्ठमण्डपको पुनर्निर्माणका लागि १८ हजार क्युफिट काठ लाग्ने भएको छ । पुनर्निर्माणमा ढिलाइ भइरहेको समयमा पुरातत्व विभागले यसमा लाग्ने काठको परिमाण एकीन गरेको हो ।

पुनर्निर्माणका लागि आवश्यक पूर्वाधार, बजेट र मापदण्डसहित सबै विषय पुरातत्व विभाग, काठमाडौं महानगरपालिका र पुनर्निर्माण प्राधिकरणबीच सहमति भएकाले अब टेण्डरको तयारी सुरु गरिएको महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले जानकारी दिए ।  सरकारले काष्ठमण्डप पुनर्निर्माणको जिम्मा महानगरपालिकालाई दिएको छ ।

टिसीएनबाट काठ किनिने

काष्ठमण्डपको पुनर्निर्माणको जिम्मा लिएको काठमाडौं महानगरपालिकालाई टेण्डर निकाल्न विभागले यसअघि नै स्वीकृति दिएको थियो । तर यसका विविध प्राविधिक पक्षबारे स्पष्ट नहुँदा र निर्माण मापदण्डबारे अन्योल हुँदा निर्माण प्रक्रिया रोकिएको थियो ।

अब प्राधिकरण, विभाग र महानगरपालिकाबीच काष्ठमण्डमा प्रयोग गर्ने काठ सबै सरकारले नै उपलब्ध गराउने सहमति भएको छ । यसअनुसार महानगरपालिकाले टिम्बर कर्पोरेशन अफ नेपाल -टिसीएन)साग काष्ठमण्डका लागि काठ किन्ने छ । महानगरपालिकाले यसको निर्माण भने ठेकेदारमार्फत नै गर्नेछ ।

सालको काठ प्रयोग हुने

काष्ठमण्डपमा कु-काठ मानिने सिसौ, चिलाउने लगायतका रुखका काठ प्रयोग गरिने छैन । बलियो हुने भएकाले सखुवा अर्थात सालकै काठ प्रयोग गर्न अनिवार्य गरिएको छ ।

पुनः प्रयोग गर्न मिल्ने काठहरु जाँच गरेर मात्रै प्रयोग गर्ने योजना पनि छ । प्राविधिक जाँच गरेर योग्य काठ फेरि काठहरु प्रयोग गरिनेछ ।  काम नलाग्ने काठ भने विभागले नै राख्नेछ ।

काष्ठमण्डप एउटै रुखबाट निकालिएको काठबाट बनेको हो भन्ने प्राचिन किंबदन्ती छ । तर, पुरातत्व विभागले एउटै रुखबाट काठ निकालेर यसको पुनर्निर्माण गर्न महानगरपालिकालाई भनेको छैन । यो अहिले सम्भवन पनि नदेखिएको विभागका अधिकारी बताउँछन् ।

काष्ठमण्डपको पुनर्निर्माणमा निकै ठूला आकारका काठहरु प्रयोग हुन्छ । तर, काष्ठमण्डपमा ठूला बुट्टा र जटिल किसिमका काष्ठकलाकृतिहरु नभएकाले नाउन ठूलो मेहेनत भने नपर्ने पुरातत्वका अधिकारीको भनाइ छ ।

‘हेर्दा दुरुस्तै, बलियो प्रशस्तै’

काष्ठमण्डपको पुनर्निर्माण डिजाइनमा पहिलेभन्दा कुनै किसिमको फेरबदल नगरिएको विभागका महानिर्देशक भेषनारायण दाहालले बताए ।  पुरातात्विक सम्पदाको पुनर्निर्माण गर्दा त्यसमा कुनै परिवर्तन गर्न नपाइने युनेस्कोको अन्तराट्रिय मापदण्ड नै छ ।

‘हेर्दा दुरुस्तै, बलियो प्रशस्तै हुनुपर्छ । भूकम्पले ढाल्न नसकिने गरी यसको पुनर्निर्माण हुन्छ,’ दहालले भने । यसको निर्माणमा बलियो प्रविधि अपनाए पनि आधुनिक निर्माण सामाग्री प्रयोग नगरिने उनले स्पष्ट पारे ।

सुरुवात कहिलेबाट ?

काष्ठमण्डपको निर्माण सुरु गर्ने विषय लामो समयदेखि अन्योलमा छ । रानीपोखरीको मन्दिर निर्माण्को क्रममा महानगरपालिकाले आरसीसी प्रविधि प्रयोग गरेपछि काष्ठमण्डपको प्रक्रिया अघि बढाउन पनि ढिलाइ भएको हो ।
अब सबै सहमति जुटेपनि टेण्डर प्रक्रिया सकेर औपचारिक पुनर्निर्माणको काम कहिलेदेखि सुरु हुन्छ भन्ने अन्योल  अझै कायम छ ।

‘अब लागत स्टमेटको रिभाइज भइरहेको छ । यो सकिनासाथ टेण्डर हुन्छ’ महानगरका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले भने,’जतिसक्दो छिटो सुरु गरेर यसको निर्माण सक्न हामी पनि आतुर छौं ।’

लागत १८ करोड

निर्माण सुरु भएको दुईदेखि तीन वर्षमा पुनर्निर्माण सक्ने महानगरपालिकाको लक्ष्य छ । पुरातत्व विभागले काष्ठमण्डपको पुनर्निर्माणका लागि आधिकारिक ‘ड्रोइङ र डिजाइन’ महानगरपालिकालाई हस्तान्तरण गरिसकेको छ ।

पर्यटकीय महत्वको सम्पदा समेत मानिने काष्ठमण्डप बनाउन लाग्ने झण्डै २० करोड अनुमान गरिएको थियो । तर, यसका लागि आवश्यक काठ सरकारले सरकारी दरमै उपलब्ध गराउने भएकाले लागत घटेर १८ करोडसम्म हुने अनुमान गरिएको छ ।
महानगरपालिको काष्ठमण्डप पुर्निर्माणका लागि पहिलो चरणमा ३ करोड रुपैयाँ छुट्याएको छ । बाँकी रकम निर्माण गर्दैगर्दा पछिल्ला वर्षहरुमा व्यवस्था गर्नेर पुनर्निर्माण प्राधिकरणले पनि यसमा सहयोग गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment