Comments Add Comment

महाअभियोग प्रकरणः मौन बस्न किन नपाउने कांग्रेसले ?

congress-cc-meeting

नेपाली राजनीतिमा हिस्ट्री र मिष्ट्रीको बेजोड केमेस्ट्री फ्यूजन भाएको दल हो कांग्रेस । यो संकटमा सुतुरमूर्ग जस्तै मुन्टो लुकाउँछ अनि अवसरमा हात लम्काउँछ, युद्ध विजेताले तक्मा थाप्न लडेजस्तै ।

भारतीय र बेलायती मोडलमा काटकुुट, जोडजाड गरेको लोकतन्त्रका जननायक वीपी कोइरालाद्वारा आयातीत जडौरी जामा यसको लाज छोप्ने सदावहार कछाड हो । सत्तामा भाग पाउँदा लोकतन्त्र बलियो हुने र विपक्षमा परे लोकतन्त्र संकटमा पर्ने कांग्रेसको निरन्तर दृष्टि हो ।
जनता, देश र सत्ताको परिवेश कांग्रेसका लागि मागी खाने सनातनी कमाण्डलु हो, जहाँ यो ईखबिनाको भिख लिएर पार्टीको जीवन धान्छ । यो सनातनी मान्यता, राष्ट्रियता , लोकतन्त्र र समाजवादको खिलाफ बोल्दैन, तर सोही अनुुरुपको व्यवहार पनि कहिल्यै गर्दैन ।

कांग्रेस हिमालतिरको काँस हो, पहाडतिरको दुबो हो । तराईतिरको उन्नत घाँस हो । केपी ओलीहरुले शेर देखे पनि यो सधैको रुख हो ।
अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि अप्ठ्यारोमा परेको नेपाली कांग्रेस मध्यमार्गी बाटोको खोजीका नाममा फेरि एकपट्क सुुतुुरमुुर्ग चरित्रको कठोर अभ्यास गर्दैछ । र, त उसले कात्तिक ३ मा लोकमानविरुद्ध संसदमा दर्त्ता महाअभियोग प्रस्तावको दिनांकको भोलिपल्टदेखि सुुरु केन्द्रीय समितिको वैठक कात्तिक ५ सम्म जारी राखेर बाँकी कात्तिक ८ सम्मका लागि स्थगित गरिदियो ।

कति बाठो कांग्रेस ! कात्तिक ७ मा संसद बैठक छ, अनि उ त्यो बैठकको मुख्य एजेण्डा महाअभियोगबारे छलफल गर्न त्यसको भोलिपल्टसम्म मौन बस्छ । हुलमुलमा जीऊ जोगाउनुु, अनिकालमा बीऊ जोगाउनुु भन्ने गहिरो ज्ञान छ, ००७ सालदेखिको आरामदायी क्रान्तिबाट परिपक्क बनेका कांग्रेसजनलाई ।

कांग्रेस को हो ? कांग्रेसी को हुन् ? उत्तर सरल र सहज छ । कांग्रेस मुलतः शेरबहादुर देउवा हो, शशांक कोइराला हो, खुमबहादुर खड्का हो, विमलेन्द्र निधि, अमरेशकुमार सिंह हो । कांग्रेस रामशरण महत, डा. मिनेन्द्र रिजाल हो, कांग्रेस गोविन्दराज जोशी र चिरन्जीवी वाग्ले पनि हो । जब यति समावेशी र खारिएको कांग्रेस हो भने उसले किन महाअभियोगबारे आरामले विमर्श गर्ने सुविधा नपाउने त ? बस, त्यसैले कांग्रेस चुप छ, महाअभियोग प्रकरणमा ।

सूर्य खड्का
सूर्य खड्का

एकाथरी मानिस कांग्रेसका अनुहारमा गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुंग, रामहरि खतिवडा, प्रदिप पौडेलहरुको छायाँ देख्छन् । हो, कांग्रेसको माया असलीरुपमा तिनैलाई छ । र, त ती चारतारे युवाहरु जोडदार माग गर्छन, कांग्रेसले महाअभियोगको नेतृत्व गरोस् र लोकमान नियुक्तिको ऐतिहासिक भुल सुधार गरोस् ।

तर त्यहाँ सानेपा दरवारले लिने साहसिक निर्णयका घडीमा ती युवा जमात नावालक नै हुन्, किनकि कांग्रेसको ७० बर्ष बढीको इतिहासमा पालो शेरहरुको जो छ, त्यहाँ निर्णायक बन्ने त केवल विमलेन्द्र निधी र अमरेश सिंहहरु नै हुन् । किनकि दक्षिणी दीक्षा र कृपाले दीक्षित नहुन्जेलसम्म ती पुुस्ताको कांग्रेसी योग्यता काविल र निख्खर हुन सक्दैन । र, ती हस्तक्षेपकारी बन्न सक्दैनन् । पार्टीको फोरममा आफ्ना कुरा राख्नु मात्रै तिनको धर्म हो ।

अर्काथरी कांग्रेसलाई न यता न उताको देख्छन्, मझधारको, असामञ्जसको र अनिर्णयको बन्दीसरह देख्छन् । तर, त्यो पनि असली कांग्रेसी चरित्र नबुुझ्नेहरु हुन शायद । किनकि कांंग्रेस स्पष्ट छ, लोकमानलाई जोगाउनुुहुँदैन, कारण उनलाई जोगाउन सकिन्न । लोकमान शाही आयोगका गणतन्त्रकालीन संस्करण बनेको खुुलासा सभापति शेरबहादुुर देउवाले पार्टी बैठकमा नै गरिसकेका पनि छन् । र, कांग्रेसलाई राम्रैसँग हेक्का यो पनि छ कि लोकमानलाई महाअभियोगबाट हटाउनुु पनि हुुँदैन, कारण लोकमान लोकतन्त्र पनि हुन । अलिकति चारतारे डिजाइनभित्र परिनसकेका मात्रै हुन, तर लोकमान असलीमा कांग्रेसी परिभाषाका लोकतन्त्रकै प्रतिविम्व हुन् ।

लोकतन्त्रमा कसैलाई अन्याय गर्नु हुन्न भने लोकमानलाई मात्रै किन अन्याय गर्ने, त्यो पनि मिलिजुुली सरकारको मुख्य सत्ताघटक कांग्रेसले ? यसको खुलासा डा. शेखर कोइरालाले अस्ति भर्खर डा. गोविन्द केसीको मागका सुुनुुवाइका क्रममा संसदमा नै गरिसकेका हुन् । डा. शेखरको संसदको शल्य चिकित्साले दिशानिर्देश गरिसक्यो डा. केसीका मागले नेपालको मेडिकल शिक्षा तहस-नहस पारिसक्यो । बस, कांग्रेस हो, यति निष्कर्ष निकाल्न उ योग्य एवं जेठो नेपाली लोकवादी दल हो र डा. शेखर त्यसका लायक रहे ।

प्रमुख सत्तारुढ दल हुनुुका नाताले जो छ, दायित्व र जो छ, संसदको बहुमत गणित, तदनुुरुप कांग्रेस लोकमानहरुको पनि हो । त्यसैले नेपाली कांग्रेसभित्रै अख्तियार प्रमुखविरुद्धको महाभियोग प्रक्रियालाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा तीव्र मतभेद हुुनुु लोकतान्त्रिक कांग्रेस आदर्श, चरित्र र व्यवहारभन्दा पृथक वा विपरीत हुुँदै होइन । हो र ? बिहीबार यता जारी र स्थगित कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा शुक्रबार बोल्ने नेताहरुमध्ये कतिपयले अहिलेको सत्ता गठवन्धन टुटाउने नियतले महाभियोगको प्रस्ताव अघि बढेको धारणा राखेर दुुई ठूला वाम महाअभियोग प्रकरणमा एक ठाम गर्दा कांग्रेसलाई थाहा पाइहाल्छ कि भनेर जुन वामचतुर्‍याइँ वा अल्पवुद्धिको मुख्र्याइ देखाए, त्यही हो रामवाण कांग्रेसलाई पर्ख र हेर, अहिले चुपचाप बस भन्न विवश पार्ने विशेष लोकतान्त्रिक खुराक । कांग्रेसलाई निहुँ खोज्न यहाँनेर वाम दलको काग बठ्याइँ नै मसला हो ।

गगन, विश्वप्रकाश, धनराज, रामहरि वा प्रदीप पौडेलजस्ता फरकमत राख्नेहरुले महाभियोगमा समर्थन नगरे कांग्रेसप्रति जनआस्था घट्ने र त्यसले आगामी दिनमा सहमतिको राजनीति समेत भत्काउने भन्दै व्यक्त गरेको चिन्ता नेतृत्वले गहिरोसँग सुनेको छ । बस् बाँकी निर्णय त नेतृत्वले आफ्नो सुविधामा लिने हो । किन बेकार अरुले टाउको दुुखाउनुुु नि ?

युवाको काम खबरदारी गर्ने हो । खबरदारी पुुगेको छ । गुुरुराज घिमिरेहरु पनि त्यही हुँदाहुँदै विश्वप्रकाशहरुको दबदबा मात्रै मञ्जुर कहाँ हुन सक्छ र केन्द्रीय समिति बैठकमा ?ं

निलम्वित अख्तियार प्रमुख लोकमानविरुद्ध संसदमा दर्ता महाभियोग प्रस्तावमा संसदको सबैभन्दा ठूलो दल कांग्रेसले लिने रणनीतिबारे सर्वत्र चासो देखिएकैले उसले बैठक स्थगित गरेको हो, समाप्त गरेको हैन ।

कात्तिक ७ मा संसदले कुुनै मोड लिए, कांग्रेसले मुख खोल्नै परेन । सर्प पनि मर्ने, लाठी पनि जोगिने, बडा काइदाको फाइदा लिने सुर हो कांग्रेसको । त्यसैले किन सत्तोसराप गर्नु र उसलाई ?

महाभियोग प्रस्ताव संसदमा दर्ता छ त त्यो कता नै हराइहाल्ला र ? त्यसबारे त्यहाँ छलफल हँुदा प्रस्ताव ल्याउने दलहरु माओवादी र एमालेले त्यसको औचित्य पुष्टि गरुन्, त्यही वीचमा लोकमानले कुनै विकल्प रोजुन् अनि त कांग्रेस बोलिहाल्छ नि । अहिले लोकमान मौन, माओवादी एमाले नयाँ जोगी र दक्षिण गम्भीर अनि रञ्जित रे निकै हतास बन्या बेलामा कहाँ हतार गरेर बोल्न मिल्छ त त्यति लामो गौररवशाली इतिहास बोकेको दलले ? त्यसैले कांग्रेस बरु बैठक रोक्छ, तर बोल्दैन महाअभियोगबारे ।

केन्द्रीय कार्यसमिति बैठक सोमबारसम्मका लागि स्थगित गरिएपछि उ त्यसबारे तत्काल औपचारिक निर्णय लिने मनस्थितिमा नरहेको नबुुझ्नेहरु नै खासमा या त लालबुुझक्कड हुने । या संक्रमणकालीन राजनीतिमा लोकमानको आवरणमा संकट थप बल्झाउने कुतत्व हुन् । त्यसैले मौन छ कांग्रेस रोम जलिरहँदा बाँसुरी बजाइरहने नीरो जस्तै, आफ्नै पारामा, मौलिक कांग्रेसी भाषा र शैलीमा ।

आफ्नै सत्ता सहयात्री माओवादी केन्ऽ र विपक्षी एमालेले संयुक्त रुपमा ल्याएको प्रस्तावप्रति संशकित हुुनु वा कांग्रेसभित्र महाभियोगलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा तीव्र मतभेद हुुनु त खाँटी कांगे्रसी दलको सनातनी चरित्र मात्रै हैन, कांग्रेसलाई मौनतावीच अनुकूल निर्णय लिनका लागि खास्सा मौका पनि हो ।

कांग्रेससित पर्याप्त छलफल नै नगरी महाभियोग प्रस्ताव किन ल्याइयो त ? के महाअभियोगको अप्रत्याशित उदघाटन वर्तमान सत्ता गठवन्धन भत्काउने प्रयास हो भनेर कांग्रेसले शंका गर्न पनि नपाउनुु भन्ने कतै छ र ?

फेरि हाल बिनाहतियारका विपक्षी घेराबन्दीमा परेका फौजका निरीह कमाण्डरको झैं स्थितिमा रहेका अख्तियार प्रमुखको योग्यतासम्बन्धी मुद्दा अदालतमा विचाराधीन भएकाले महाभियोग प्रस्ताव न्यायालयको क्षेत्राधिकारमाथिको हस्तक्षेप हुन सक्ने खतरा पनि हो भन्ने बहस शहरमा बाक्लिँदै गर्दा कांग्रेस किन ओरालो लागेको हरिणलाई खेद्ने बाच्छो बन्नुु र ?

सही कुरालाई सही भनेर समर्थन गर्न सक्नुपर्छ वा महाभियोगको मामिलामा अरु दलसँगै कांग्रेस पनि उभिएन भने त्यसले आगामी दिनमा चाहिने राजनीतिक सहमति भत्काउनेछ भनेर प्रदीप पौडेलहरु चिच्याउनुत स्वाभाविक कांग्रेस उर्जा हो, त्यो वैठकमा पोखियो त सिद्धि गो नि ? हैन र ?

दुुनियाँ जान्दछ कि कांग्रेसविना महाभियोग प्रस्ताव पारित गर्न संसदमा आवश्यक दुई तिहाइ मत पुर्याउन सम्भव हुने छैन । संसदभित्रको मिलिजुुली अंकगणितको हिसाबले आफ्नो अपरिहार्यता बुझेकोे कांग्रेस नागरिक समाजको ठूलो हिस्साको साथ पाएको अख्तियार प्रमुखविरुद्धको महाभियोगमा साथ नदिँदा नै देशभरबाट बढारिने कुरा पनि शहरका एलिट वर्गको कोठे विश्लेषण र लोकमान विरुद्धका मिडिया र शक्तिको तुजुक मात्रै न हो ।

गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेलसहितका युवा नेताहरुले निशंकोच महाअभियोगको पक्षमा उभिन पार्टी नेतृत्वमाथि दबाव दिए त उनीहरुको कर्म पूरा भैगो नि थप किन मच्चिनु र ?

कांग्रेसका धेरै नेताहरुले आवेगमा निर्णय नगरौं भनिरहेर मध्यमार्गी विकल्पको खोजीका नाममा पार्टीलाई महाअभियोग मामिलामा तटस्थ राख्न किन पो नपाउने र ? त्यही गर्न नै वैठक पनि नसक्ने, निर्णय पनि नलिने मौलिक बाटो रोज्दैछ, कांग्रेस । सामान्यतः भीडका पछि दल हैन, दलका पछि भीड हुनुपर्छ भन्ने मान्यता राख्नेहरु पनि छन कांग्रेसमा ।

लोकमान विरुद्धको जनमत विपरीत लोकमानलाई बोक्न पनि नसक्ने र महाअभियोगको पक्षमा लाग्न पनि नसक्ने अवस्थाको सहज निकास मध्यमार्गको नाममा बिलखबन्दमा पर्न पाउनु कांग्रेसको नैससर्गिक अधिकार हो नै हो ।

कांग्रेसको इमान, प्रेस्टिज र इतिहास पनि भुल्नुहुन्न उसका विरोधीहरुले । उसले ०४६ पछि सबै पञ्ज कांग्रेस, सबै कांग्रेस पञ्च गरेरै पुर्नस्थापित प्रजातन्त्रको रक्षा गरेको हो । ०६३ को परिवर्तनलाई संस्थागत गर्न नै उसले रायमाझी आयोगको प्रतिवेदनलाई आयो गयोमा सीमित गरेेको हो ।

माओवादी सुप्रिमो प्रचण्डले स्व. गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनाउने भनी दिएको आश्वासनले माले, मण्डले र मसालेहरुलाई समान देख्ने गिरिजाबाबुु खाँटी गणतन्त्रवादी, संघीयतावदी र धर्मनिरपेक्षतावादी बनेको इतिहासको आलोक ताजै छ । अनि प्रचण्ड धोकेवाजीले गिरिजावावुु पहिलो राष्ट्रपति बन्न नपाएको हिसाब मिलाउन अहिले नै हो महामन्त्री शशांकहरुले कांग्रेसलाई गिरिजापथबाट जननायक विपीपथमै फर्काउने मौका । अझ लोकमान प्रकरण त माओवादी, एमाले एकै ड्यांगका मुला हुन् भन्ने प्रमाणित गर्ने स्वर्ण मौका नै हो ।

कांग्रेसलाई चाहिने नोट र भोट हो । नोट सत्तामा फल्छ र भोट जनतासँग हुन्छ भन्ने अनुुभव यो लामो ऐतिहासिक बिरासत भएको कांग्रेसलाई राम्रै छ । शहरका एकाध आलोचक, मिडियाले लोकमानसंगै कांग्रेसलाई खुुइल्याउने घृष्टता गर्दैमा त्यो दुुरदराजको तीनपुस्ते कांग्रेसजन माओवादी, एमाले वा गैरकांग्रेस बन्दैन भन्ने उसलाई स्पष्ट अनुुभुुति छ । कांग्रेस सधैं कांग्रेस नै छ दुुरदराजका बस्तीदेखि शहरसम्म । र, त कांग्रेस लोकमान जस्ता प्रकरणलाई हाई र हाच्छिउँमै सल्टाईदिन्छ ।

मधेस आन्दोलनको पूर्वसन्ध्यामा धनगढी पुुगेर टीकापुर नरसंहारको उर्दी गर्ने अमरेश सिंहलाई अहिले संघीयताविरोधी बनाउन सक्ने कांग्रेस, अदालतका भ्रष्ट खुमबहादुरलाई सर्वाधिक दोस्रो ठूलो मतले १३ औं महाधिवेशनमा विजयी बनाउन सक्ने कांग्रेस, यसअघि डा. गोविन्द केसीको महाअभियोगको मागलाई राजनीतिक भनेर पन्छिने कांग्रेस यसपटक मध्यमार्गका नाममा पनि अनिर्णयक बन्न स्वतन्त्र छ । रहन पाउनैपर्छ ।

जहाँसम्म वर्गीय पक्षधरताको कुरा छ, कांग्रेसका लागि कनकमणि दीक्षित र लोकमान उस्तै उस्तै हुन् । कोही शहीद परिवारका होलान, कोही शहीद बनाउने परिवारका होलान् । तर, ती चारतारे भए त्यो कांग्रेस नै हुन्छ । राजीनामा र लोकमानको भेट कांग्रेेसको चाहनामा भर पर्छ कि लोकमानको अन्तरमनको आदेशमा ? त्यो भने समयले नै पुष्टि गर्ला ।

र, बुझिदिनै पर्छ इत्तर कांग्रेसजनले कि हिजो दरवार हुुँदा आफ्ना साशकीय कमजोरीलाई दरबारको टाउकोमा सिउरेर पानीमाथिको ओभानो हुने छुट नपाएको वर्तमान काग्रेसले यहाँ भन्दा अरु केही नै गर्न सक्छ र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment