Comments Add Comment

लोकमानसँग किन डराउँछन् प्रचण्ड ? यस्ता छन् ३ कारण

विद्रोहबाट आएका नेता कर्मचारीसँग किन थुरथुर ?

prachanda

समाचार टिप्पणी

६ कात्तिक, काठमाडौं । व्यवस्थापिका संसदमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव पेश भएपछि आफूलाई राति निद्रा नलागेको प्रधानमन्त्री प्रचण्डले आफ्नो संसदीय दलको बैठकमा सवाई सुनाए । उनले त्यतिमात्रै भनेनन्- प्रधानमन्त्री पदबाटै राजीनामा दिने विषयमा समेत सोचेको खुलासा गरे ।

लोकमानसिंह कार्की यो देशका कुनै राजा-महाराजा नभएर एउटा संवैधानिक निकायका प्रमुख हुन् । निर्वाचन आयोगका प्रमुख वा लोकसेवा आयोगका प्रमुख आयुक्त भनेजस्तै अख्तियारका प्रमुख लोकमान पनि एकजना संवैधानिक पदाधिकारी हुन् । तर, लोकमानलाई यति ठूलो ‘पेपर टाइगर’ का रुपमा प्रस्तुत गरिँदैछ कि उनीदेखि देशका कार्यकारी प्रधानमन्त्रीसमेत डरले थुरथुर देखिन्छन् । आखिर किन ? यसका पछाडि केही कारण छन्ः

पहिलो कारणः प्रचण्डको मनको बाघ

सरकारको एउटा कर्मचारीसँग प्रधानमन्त्री डराउनुको एउटा मुख्य कारण उनको आफ्नै मनको बाघ हो । लोकमानले के के न गर्न सक्छन् र उनले चाहेका बेला आफूलाई जेल हालिदिन सक्छन् भन्ने प्रचण्डको मनमा भय देखिन्छ । लोकमानदेखि यति साह्रो डर नलागेको भए प्रचण्डले प्रधानमन्त्रीजस्तो पदमा बसेर ‘खुकुरीको धारमा हिँडिरहेको छु’ ‘घेराबन्दीमा परियो’ ‘रातभरि निद्रा लागेन’ ‘राजीनामा दिनेसम्म सोचें’ भनिरहनुपर्ने नै थिए ।

अख्तियार प्रमुख लोकमान कार्की
अख्तियार प्रमुख लोकमान कार्की

वनको वाघले खाओस् कि नखाओस् प्रचण्डलाई मनको बाघले खाइरहेको देखिन्छ । यसका पछाडि लाडाकूको भ्रष्टाचार प्रकरणले पनि थोरै काम गरेको देखिन्छ । र, यसैलाई लिएर लोकमानले प्रचण्डमाथि मानसिक दोहन गरेका थिए र अझै गर्ने प्रयास गरिरहेका छन् ।

गोवाबाट फर्कनेवित्तिकै लोकमानले प्रचण्डलाई केपी ओलीविरुद्ध कुरा लगाएको सूत्रहरुको दाबी छ । यही कारण प्रचण्डले आफ्नो संसदीय दलको बैठकमा भनेका थिए कि यो त केपी ओलीले हाम्रा साथीहरुलाई प्रयोग गरेर फसाएको पो रहेछ ।

प्रचण्ड आफूलाई माओवादी भन्छन् । उनकै नेता माओले भनेका थिए कि प्रतिक्रियावादीहरु कागजी बाघ मात्रै हुन् । हुन त उनीहरु हेर्दाखेरि अलिअलि बाघजस्तै देखिन्छन्, तर वास्तवमा उनीहरु कागजका बाघ हुन् । जनताको शक्तिका सामु उनीहरुको केही लाग्दैन ।

लोकमानसिंह कार्की पनि कागजका बाघ हुन् । अहिले आफ्नो अस्थित्व रक्षाका लागि उनी क-कसको दैलोमा हारगुहार मागिरहेका छन् भन्ने कुरामात्रै थाहा पाउने हो भने प्रष्ट हुन्छ कि उनी साँच्चैका बाघ हुन् या होइनन् ।

लोकमान यतिबेला धरापमा परेको आफ्नो पदको थमौतीका लागि रोइलो मच्चाउँदै हिँडिरहेका छन् । तर, देशको प्रधानमन्त्री चाँहि उनीसँगै डराएर के के न होला भन्दै खुकुरीको धारमा हिँड्नुपरेको बताउँदै छन् । प्रष्ट छ, यसका पछाडि लोकमानसिंहले उनलाई अझै पनि डर देखाउन छाडेका छैनन् ।

केपी ओली चाहिँ प्रचण्ड जसरी डराएको देखिँदैन । संसद बैठकपछि बानेश्वरको चौरीमा बसेर पत्रकारसँग कुरा गर्दै उनले महाअभियोगपछि के हुन्छ भन्ने पत्रकारको प्रश्नको जवाफमा ‘अब देउसी खेलिन्छ’ भन्ने जवाफ दिन्छन् त कुनै बेला उनी महाअभियोगको ‘ब्याक गियर’ छैन भन्छन् । प्रचण्डका यस्तो निश्चिन्तभाव र साहस देखिएको छैन ।

त्यत्रो क्रान्ति गरेर आएका प्रचण्ड किन यति साह्रो ढुलमुल, कातर र अस्थिर देखिएका होलान् ? अहिले जनमानसमा यस्ता प्रश्नहरु उठ्न थालेका छन् । हुनसक्छ लोकमानको भूतले अहिले पनि प्रचण्डलाई तर्साइरहेको छ ।

दोस्रो कारणः भारतको स्याल हुइँया

यतिबेला अर्को र्‍युमर के पनि फैलाइएको छ भने लोकमानले मोदीलाई फोन गरे, भारतीय राजदूत रञ्जित रेले लोकमानलाई जोगाउन सक्रियता देखाए, इत्यादि । लोकमान भारतले उभ्याएका र उसले जोगाउन सक्ने पात्र हुन् भने प्रचारबाजी गरेर उनलाई साँच्चैको बाघ देखाउने र उनीबाट तर्सिने काम पनि भइरहेको छ ।

के भारतीय प्रधानमन्त्री, बीजेपी वा त्यहाँको संस्थापन पक्षले सिंगो नेपाल एकातिर र अर्कातिर लोकमानलाई काँध थाप्ने नीति लेला ? जानकार हरुका अनुसार भारतले लोकमानलाई साथ दिएको छ र बचाउँछ भन्नु लोकमान केही हुन् भनेर उनको सेवा गर्नुमात्रै हो ।

यथार्थमा लोकमानको भारतीय सूत्र भनेको पाइलट बाबा हुन् । लोकमान पाइलट बाबाका चेला हुन् । तर, मोदीले उनलाई संरक्षण गरेको छैन । जतिखेर प्रधानमन्त्री प्रचण्ड भारतको राष्ट्रपति भवनमा पाहुना बनिरहेका थिए, त्यही बेला लोकमानले प्रधानमन्त्रीको दललाई काठमाडौंमा पत्र काटे ।

माओवादीको पदाधिकारी तहका एक नेता भन्छन्- लोकमान मोदीका मान्छे हुन्थे भने उनले यस्तो हरकत कदापि गर्ने नै थिएनन् ।
जहाँसम्म भारतीय राजदूतको प्रश्न छ, उनले लोकमानलाई बोकेर हिँडेको प्रमाण भेटिएको छैन । तर, केही दिनअघि नेपालका केही पत्रकारसँगको हाइ टीमा उनले लोकमानबारे के हुँदैछ भनेर चासो राखेका थिए । यसैका भरमा लोकमानलाई भारतको समर्थनप्राप्त व्यक्तिको रुपमा जसरी प्रचार गरिँदैछ, यो अर्को भयको खेती हो । र, यसबाट प्रधानमन्त्री प्रचण्डसमेत डराएको देखिन्छ ।

तेस्रो कारणः महाअभियोगपछिको भय

बजारमा अर्को पनि एउटा भयको खेती गरिँदैछ, त्यो के हो भने महाअभियोगको प्रस्ताव पारित भएन भने अब लोकमानले कसैलाई छाड्नेवाला छैनन्, उनले आफ्नो विरोध गर्नेजति सबैलाई जेल हालिदिन सक्छन्, प्रचण्डले पनि जेल जानुपर्ने हुन सक्छ, एमाले पनि ठेगान लाग्छ, लोकमानले छानी छानी सबैलाई जेलमा जाक्छन् आदि आदि ।

यथार्थमा संसदमा महाअभियोगको प्रस्ताव पास भएन भने पनि लोकमानले केही गर्न सक्ने देखिँदैन । उनले विगतमा जसरी पूर्वाग्रहका आधारमा विभिन्न व्यक्तिमाथि कारवाही गरे । अब त्यो हालतमा उनी पुग्नै सक्दैनन् । समानान्तर सत्ता चलाएर अख्तियारमा रहने उनको नैतिक बल सकिइसकेको छ । यदि उनले त्यसो गरे भने फेरि कुनै पनि बेला संसदले उनलाई निकालिदिन सक्छ ।

साथै लोकमानलाई नियन्त्रण र सन्तुलनमा राख्ने अदालत पनि छ । तर, त्यो भन्दा ठूलो चेक एण्ड ब्यालेन्स गर्ने नागरिक समाज सडकमा छ । लोकमानले कसैमाथि न्याय निसाफ गर्न नजाने पनि जनताले सडकबाटै न्याय निसाफ गर्न सक्छ । त्यसैले अब महाअभियोग असफल भयो भने लोकमान नामको बाघ ठूलो स्वरमा गर्जनेछ भन्ने ठान्नु भनेको अवस्तुवादी विश्लेषण हो । महाअभियोग पछिको लोकमान भनेको सामान्य नागरिकको अवस्थामा पुग्ने हो ।

महाअभियोगको प्रक्रिया अघि बढ्दै गर्दा लोकमान धेरैजनासँग झुक्न र नरम हुन थालिसकेका छन् । मलाई बचाइदिनुपर्‍यो भन्दै उनले आफन्तमार्फत् धेरैतिर भनसुन गरिरहेका छन् । उनी बाघजस्तो हैन, मैनजस्तो पग्लिइरहेका छन् । जलिरहेका छन् ।

तर, यति कुरा बुझ्न नसक्दा केही मानिसहरुलाई लोकमानको भुतले अझै सताउन छाडेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment