Comments Add Comment

पूर्वराजा ज्ञानेन्द्रलाई भरतकेशरले यसरी फसाए

birat-hindu-sammelan-gyanendra-shah-6

६ कात्तिक, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह विराट हिन्दु सम्मेलनका नाममा वनकालीमा आयोजना गरिएको एउटा सानो समूहको कार्यक्रममा सहभागी भएर फसेको चर्चा यतिबेला स्वयं राजावादी र हिन्दुवादीहरुले गर्न थालेका छन् ।

भारतीय जनता पार्टीका नेता आदित्यनाथ समेत ठूलो हिन्दु सम्मेलन होला भनेर काठमाडौं आएका थिए । तर, सानो झुण्डको योजनामा फसेको अनुभूतिसहित उनी दिल्ली फर्किएका छन् ।

प्रत्यक्ष राजनीतिमा हत्पति नफस्ने र सर्वमान्य भएर बस्ने योजनामा रहेका ज्ञानेन्द्रका लागि वनकालीको मञ्च ‘पहिलो गाँसमै ढुंगो’ बन्न पुगेको छ ।

ज्ञानेन्द्रले विद्रोह हुन सक्छ भनेर अभिव्यक्ति दिएको भोलिपल्टै प्रज्ञाभवनमा बन्दसत्रभित्रै कुटाकुट भएपछि यसले पूर्वराजा र आदित्यनाथको समेत अपमान भएको विश्लेषण गर्न थालिएको छ ।

‘पूर्वशाही पाश्र्ववर्ती भरतकेशर सिंहले आयोजना गरेको सानो गुटको भेलामा पूर्वराजा सहभागी हुनु नै गल्ती हो,’ हिन्दुराष्ट्रका पक्षधर एक विश्लेषकले भने, ‘मलाई सल्लाह मागिएको भए म पूर्वराजालाई वनकाली नजान सल्लाह दिने थिएँ, आदित्यनाथलाई पनि यस्तो कार्यक्रममा नेपाल नआउन भन्ने थिएँ ।’

वनकालीमा आयोजना गरिएको विराट हिन्दु सम्मेलनमा करिब एक हजारको हाराहारीमा पनि उपस्थिति थिएन । तर, भरतकेशर सिंहका मानिसहरुले पूर्वराजालाई ठूलो जनसहभागिता हुने आश्वासन दिएर ढाँटेको पूर्वराजपरिवार निकट स्रोतको गुनासो छ ।

त्यस्तै आदित्यनाथलाई पनि पूर्वराजासहितको सहभागितामा विशाल सम्मेलन हुने भनेर काठमाडौं बोलाइएको थियो । पाँच सय, हजार मान्छेमात्रै देखेपछि आदित्यनाथले सभामै निराश बनेको स्रोतले बतायो ।

बन्दशत्रमा त झनै विजोग देखिएको थियो । उपस्थिति पनि ५०/६० जनाको मात्रै थियो । भरतकेशरलाई अध्यक्ष घोषणा गर्दा त्यहाँ कुटाकुटको अवस्था सिर्जना भएको थियो, जसले गर्दा सम्मेलनको सकारात्मक भन्दा पनि नकारात्मक सन्देश गएको महसुस धेरैले गरेका छन् ।

भरतकेशरले विद्रोह गर्लान् ?

हिन्दुराष्ट्रको पक्षमा आवाज उठाउँदै आएका कमल थापा वा खुमबहादुर खड्काहरुलाई अलग्याएर ज्ञानेन्द्रका पूर्व अंगरक्षक भरतकेशर सिंहले यो देशमा राजतन्त्र वा हिन्दु राष्ट्र फर्काउलान् भन्ने कसैलाई पनि विश्वास छैन ।

तर, खुमबहादुर वा कमल थापाको समेत संलग्नता नरहेको त्यस्तो सानो समूहको सभामा पूर्वराजाले किन उपस्थिति जनाए र किन भाषण गरे ? यो प्रश्नसँगै काठमाडौंमा टिप्पणी हुन थालेको छ- यस्तै ताल हो भने पूर्वराजा पनि राजनीतिमा आए भने उनको हालत बिजोग हुने देखियो । बरु भरतकेशरको कार्यक्रममा भाषण नगरेको भए उनको उचाइ यसरी खस्कने थिएन ।

ज्ञानेन्द्रले भनेझै निषेधले विद्रोह त जन्माउला, तर के त्यस्तो विद्रोहको नेतृत्व भरतकेशर सिंहजस्ता संकीर्ण र अराजनीतिक मान्छेले गर्न सक्लान् ? कतै त्यस्तो विद्रोह त हिन्दु सम्मेलनको बन्दशत्रभित्रै भएको कुटाकुटजस्तै यदुवंशी पाराको त हुँदैन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment