Comments Add Comment

कुल्लीदेखि फिल्म निर्देशकसम्म सिंघबहादुरको यात्रा, अब देखाउनेछन् जात्रा

singe-lamaदुई सयवटा चलचित्रमा कला निर्देशकको जिम्मेवारी निर्वाह गरेपछि सिंहबहादुर लामा उर्फ सिंघे लामा चलचित्र निर्माता बनेका छन् । आफूसहित चारजनाको संयुक्त निर्माणमा बनेको फिल्म ‘जात्रा’ प्रदर्शनको छेकोमा उनले आफ्ना पुराना दिनहरु स्मरण गरे ।

रसुवा जिल्लाको दुर्गम गाउँमा जन्मेका लामाले ३ महिनाको हुँदा आमा गुमाएका थिए । ७ वर्षको उमेरमा बाबुको पनि स्वर्गवास भयो । त्यसपछि उनको जीवनमा कति हण्डर खाए कति ।

बुवाको निधनपछि उनलाई दुई-तीन वर्ष दिदीले सहारा दिएर हुर्काइन् । जीविकाका लागि सानै उमेरदेखि उनले मजदुरी गर्न थाले । सुरुमा गाउँमा सडक बनाउन आएका ठेकेदारकहाँ भान्से बसे । त्यसपछि ४२ सालमा काठमाडौं आएका उनले सिमेन्ट बोक्न थाले ।

‘१३ वर्षको हुँदा म रक्तकालीदेखि शोभाभगवतीसम्म सिमेन्टको बोरा काँधमा बोकेर ओसार्थेँ,’ सिंघबहादुर गर्वसाथ सुनाउँछन् । सिमेन्ट बोक्ने र बालुवा चाल्ने कामपछि उनले एउटा पसलमा रोजगार पाए ।

खिचापोखरीमा रहेको सो पसलमा उनले दुई वर्ष काम गरे । त्यसपछि होलसेल पसलेको सहयोगमा आफ्नै व्यापार सुरु गरे । सुन्धारामा बसेर ब्याग बेच्ने गरेका उनले ठिकै पैसा कमाउन थालेका थिए, तर नगरपालिकाले त्यहाँबाट लखेट्यो । त्यसपछि भृकुटीमण्डपमा पसल राखे । तर, त्यहाँ पनि व्यापार राम्रो भएन ।

त्यसपछि उनी झापातिर लागे । त्यहाँ एउटा फिल्म हलमा अपरेटरको काम गर्न थाले । दुई वर्षपछि फेरि काठमाडौं आए र ५-६ महिना गार्मेन्टतिर काम गरे । त्यसपछि एकजना साथीसँग फुटपाथमा उभिएर कपडा बेच्न थाले । सस्ता कपडाहरु ‘आयो आयो’ भन्दै कराएर बेच्ने सिलसिला पनि लामो समय चलेन ।

अनि उनले हाउस पेन्टिङको काम सिके । यसै क्रममा कला निर्देशक नन्दु अधिकारीसँग उनको भेट भयो । नन्दुले उनलाई घामछाया फिल्ममा सहायक कला निर्देशकका रुपमा काम दिलाए । त्यसपछि उनले अरु केही फिल्ममा सहायक कला निर्देशकका रुपमा काम गरे । सो काम गर्दा उनले दैनिक २ सय रुपैयाँ पारिश्रमिक पाउँथे ।

यसै क्रममा निर्देशक किशोर रानाले उनलाई बन्धकी चलचित्रमा कला निर्देशकको जिम्मेवारी दिए । सो जिम्मेवारीमा खरो उत्रिएपछि सिंघेलाई एकपछि अर्को कामहरु आउन थाले । कला निर्देशकका रुपमा उनी राम्रैसँग जमे । फिल्म मात्रै नभएर म्युजिक भिडियो, विज्ञापन र टेलिसिरियलहरुमा पनि भटाभट काम पाउँदै गए ।

सिंहबहादुर भन्छन्, ‘कला निर्देशकका रुपमा स्थापित भएपछि मलाई कहिल्यै कामको अभाव भएन । कहिले चलचित्र, कहिले म्युजिक भिडियो, कहिले विज्ञापन त कहिले टेलिसिरियलमा काम भइहाल्छ ।’

महसञ्चारद्वारा निर्मित टेलिसिरियलहरुमा पनि सिंघबहादुर आवद्ध छन् । मह जोडीसँगको निकटतालाई उनी आफ्नो करिअरकै सुखद पक्षका रुपमा लिन्छन् । आफूलाई महजोडीबाट सधंै प्रोत्साहन र हौसला प्राप्त भइरहेको उनले बताए ।

चलचित्र क्षेत्रमा २२ वर्ष बिताएका सिंहबहादुरले धेरथोर पैसा पनि कमाएका छन् । आफूले कमाएको पैसा चलचित्र क्षेत्रमै सदुपयोग गर्ने उनको सोच छ । त्यही भएर उनी फिल्म निर्माणमा हात हाल्दैछन् ।

फिल्म जात्राबाट उनी निकै आशावादी छन् । सिंघबहादुर भन्छन्, ‘हामीले लहैलहैमा फिल्म बनाएका होइनौं । दर्शकलाई मनोरञ्जन दिन राम्रो विषयवस्तु छनोट गरेर स्तरीय फिल्म बनाएका छौं ।’

फिल्म बनाएर धेरैको घरखेत डुबेको देखेका-सुनेका सिंघबहादुरलाई डर कत्तिको छ ?

‘एक्लैले बनाएको भयो घरखेत जाने डर हुन्थ्यो,’ उनले भने, ‘तर चार जना मिलेकाले त्यो डर छैन । त्यसमाथि फिल्मले नाफाको व्यापार गर्छ भन्नेमा ढुक्क छौं ।’

फिल्म निर्माण गर्नु पक्कै पनि चुनौतिपूर्ण काम हो । तर, सिंघबहादुरले भने कत्ति पनि तनाव नलिइकन फिल्म सिध्याएको बताए । उनले भने, ‘हामी चारजना निर्माताको धन मात्रै मिलेको छैन मन पनि मिलेको छ । त्यसैले फिल्म निर्माणमा कहिल्यै पनि तनाव महसुस भएन । फेरि निर्माणमा लागेपछि पैसा खर्च हुन्छ भन्ने पहिल्यै थाहा हुन्छ, किन तनाव लिने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment