Comments Add Comment

हुम्लाका जीवनबहादुर शाही, सोलुका गोपाल किराती !

अनुभूतिः ‘वी आर जस्ट स्टुपिड कमन मेन’

SAMSUNG CAMERA PICTURESहुम्ला सदरमुकामको सिमिकोट विमानस्थलमा मानिसहरु लाम लागेर उभिएका थिए । पहिलो लहरमा रहेका पञ्चकन्याहरुले परम्परागत पोशाक पहिरिएर हातमा फूल लिई स्वागतका लागि तम्तयार थिए । पहिलो पटक क्याविनेट मिनिस्टर पाएको हुम्लामा मन्त्रीको आवगमनले उनीहरुलाई गाउँघर र जिल्ला हुँदै आफ्नै मान्छे मन्त्री भएकोमा खुसी र आत्मगौरवको अनुभूति गरायो होला ।

स्वागत, खादा फूलमालाको औपचारिकता र हार्दिकता दुबै सक्दासम्म हुम्लाको चिसोसँगै साँझ पनि छिप्पिँदै थियो ।

मैले हुम्लामा जिवनको असाध्धै छोटो समय बिताएँ । जति समय बिताएँ त्यति समयमा हुम्ली जनताको, राज्यको र तीनका प्रतिनिधिहरुको सामान्य व्यवहार र समाजशास्त्रलाई नियाल्ने प्रयत्न गरेँ । जसले मलाई शासक र शासित बीचको मनोविज्ञान, धनी र गरिब बीचको खाडल तथा राजा र रैती बीचको भिन्नताको बोध गरायो ।

गजबको कुरा के थियो भने मैले यो कुराको बोध एक्काईशौं शताब्दीको दोस्रो दशकमा आएर गर्दै थिएँ, जति बेलासम्म नेपालमा अधिकार र समानताका लागि कयौँ पटक सशस्त्र र शान्तिपूर्ण आन्दोलन भैसकेका थिए ।

राज्यको शासन व्यवस्थालाई कुन राजनीतिक दर्शन र सिद्धान्त अन्तरर्गत निर्देशित गर्ने भन्ने कुराको टुंगो राजनीतिक नेतृत्वले नै गर्नै गर्छ । चाहे त्यो अधिनायकवादी शासन व्यवस्था होस्, चाहे लोकतन्त्रवादी ।

कुनै राजनीतिक सीमाभित्र शासन गर्दै गरेको नेतृत्वले नै जनताको हैसियत र आफ्नो हैसियतको टुंगो लगाउने गर्छ कि उनीहरुको जीवन स्तर कस्तो हुने । त्यसले नै राज्यको जनता प्रतिको दृष्टिकोण र भूमिकाको निर्धारण गर्छ । जनतासँग उनीहरुका प्रतिनिधि भनिएकाहरुले कस्तो व्यवहार गर्छन् ? जनताको सानो समूहमा पनि उनीहरुप्रतिको भावना नेतृत्वमा कस्तो हुन्छ ? भन्ने कुराले शायद धेरै अर्थ राख्छ होला । मैले यही कुराको बोध हुम्ला बसाइका क्रममा गहिरो गरी गरेँ, जसको संगीत र लय दुबै कर्णप्रिय छैनन् ।

Naresh-Gyawali
नरेश ज्ञवाली

हुम्लाबाट प्रत्यक्ष निर्वाचित नेपाली काँग्रेसका सांसद जीवनबहादुर शाही बडो मिजासिला र सरल मान्छे छन् । हुम्लाको स्थानीय विद्यालयदेखि काठमाडौंको बुढानीलकण्ठ हुँदै अमेरिका पुगेर पाइलटको कोर्ष गरेका उनी अमेरिकी समाजमा अभ्यासरत लोकतान्त्रिक व्यवस्थालाई नेपाली समाजमा पदार्पण गराउने सपना पाल्दै राजनीतिमा होमिए । र, २२ बर्षको उमेरमै नेपाली काँग्रेसको जिल्ला सभापति भए । राजनीतिका विभिन्न उकाली ओराली गर्दै उनै शाही आज संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री छन् ।

उता हुम्लाभन्दा सुदुरपूर्व सोलुमा जन्मिएर पर्यटकहरुको भारी बोक्ने भरिया हुँदै गोपाल खम्बु (जसलाई काठमाडौंले गोपाल किरातीका नामले चिन्छ) उनी पनि समानताको सपना देख्दै राजनीतिमा होमिए । खुम्बुवान पार्टीको अध्यक्ष तथा माओवादी पार्टीको स्थायी समिति सदस्य हुँदै दुई पटक मन्त्री भए । म दुबै जनासँग पूर्व हुँदै पश्चिमसम्मको यात्रामा सँग–सँगै गएँ । दुबै मिजासिला र गम्भिर राजनीतिक नेताको जनताप्रतिको दृष्टिकोणले मलाई बारम्बार प्रश्नको कटघरामा ल्याई खडा गरिदिएको छ– हामी कहाँ जाँदैछौ ?

जेठ तेस्रो हप्ता काठमाडौंदेखि खोटाङको दिक्तेल हुँदै भोजपुरसम्म पुगेको म केही दिनअघि मात्रै हुम्लाको सिमीकोट पुगेर फर्केँ । यी दुबै राजनीतिक नेतृत्वकर्ताको अथवा भनौं संस्कृति मन्त्रीहरुको सांस्कृतिक चेतका बारेमा गम खाइरहेको छु अहिले ।

प्रशंग सुरु गरौँ खोटाङबाट । खोटाङ जानका लागि किरातीले टाटासुमोका दुईबटा टिकट काटेका थिएँ । हामी हिलाम्मे सडकमा टाटासुमोलाई धक्का लगाउँदै आरामसाथ खोटाङ पुग्यौँ । यतिमै रात छिप्पिइसकेको थियो । त्यहाँ कुनै माओवादी कार्यकर्ताको घरमा एक रात बास बस्ने गरी उनले मिलाएका रहेछन् । तर, संयोगले उनी त्यहाँ नभएपछि हामी अर्को कुनै पार्टी कार्याकर्ताको घरमा जाने भयौँ ।

रातभर उनले त्यहाँ आएका पार्टीका नेता कार्यकर्तासँग राजनीतिक विषयमा छलफल गरे । भोलिपल्ट बिहानको राजनीतिक छलफल र भेटघाट सकेपछि हामीलाई दिनभरको बाटो हिँडेर खोटाङ र भोजपुरको सीमानामा रहेको टेम्केडाँडा पुग्नु थियो । तर, किरातीको स्वास्थ्यले साथ नदिएपछि हामी बाटोमै बास बस्ने भयौँ ।

निर्धतम आर्थिक अवस्थामा जेनतेन घस्रिरहेको एउटा परिवार, जो माओवादी समर्थक थियो, हामीलाई स्वागत गर्दै बास दिने भयो । (त्यो परिवार दलित थियो) किरातीलाई र मलाई उनीहरुले निकै सम्मानका साथ राखे । तर, उनीहरुसँग ओड्न र ओछ्याउन पुग्ने कपडा समेत थिएन । राजनीतिक छलफल र बहस चल्दै थियो कि म निदाएँछु ।

अचानक राति २ बजेतिर आँखा खुल्दा बहस उत्कर्षमा पुगेको भान हुन्थ्यो । किरातीलाई गाउँका बुढापाका, तन्नेरीहरुले घेरेका थिए र कयौँ कुराहरु अझै पनि सोधिरहेका थिए । किरातीको स्वास्थ्य राम्रो नभएपछि मैले पटक–पटक उनलाई बाटोमा आफ्नो रुक्स्याट मलाई दिन आग्रह गरेको थिएँ तर उनले मानेनन् ।

बिहान हामीले गाउँ छोड्नु अघि नै मैले किरातीको रुकस्याट बोकेँ र अघि हिडेँ । त्यो देखेर उनले कुनै पनि हालतमा आफ्नो ब्याग अरुलाई बोक्न नदिने भन्दै आफ्नो पुरानो थेगो देहोरयाए– ‘म त भरिया हुँ नि । पहिले गोराहरुको, अहिले जनताको । ब्याग बोकाउने कुरा सामान्य भए पनि यो ठूलो सांस्कृतिक चेतको कुरा हो । म त्यो चेतना मार्न चाहन्न ।’

म अवाक् केही नबोली उनलाई रुक्स्याट दिएर आफ्नो ब्याग भिरेर हिँड्न लागें । किरातीको सांस्कृतिक चेतनाको कुरा सामन्ती संस्कारसँग जोडिएको चेतनाको कुरा थियो, जुन भत्काउन उनले लामो संघर्ष गरेका थिए ।

बाटामा भेटिने धेरै बटुवाले उनलाई चिन्दा रहेछन् । कति उनकै पार्टीका क्याडर समेत । त्यस्तोमा उनीहरु बसेर फेरि छलफल गर्न लाग्थे । कति प्रश्न मतर्फ पनि तेर्सिन्थे । झण्डै दुईहप्ता जतिको बसाइमा मैले उनको शैली, व्यवहार र आचरणलाई निकै मसिनो गरी नियालेँ, जुन उनले बोकेको राजनीतिक दर्शनबाट आर्जन गरेका थिए । किरातीले राज्यका प्रशासकदेखि निर्धनतम दलित र भरियासँग समेत सम्मानपूर्वक संवाद गरिरहेका थिए ।

यता हुम्लामा अत्यन्त सम्मान र अदबका साथ हामीलाई राज्यले स्वागत गर्दै थियो । हामीलाई स्वागत गर्नेमा राज्यको प्रमुख प्रतिनिधि प्रमुख जिल्ला अधिकारीसहित अन्य कयौँ वरिष्ट अधिकारीहरु थिए । किनभने हामीसँग स्वयंम राज्य थियो । बाहालवाला मन्त्री जीवनबहादुर शाही थिए ।

हामीले हरेक साँझजसो रातो र नीलोस्तरको मध्यपान गर्यौं । मन्त्री, कर्मचारी, सेना, प्रहरी र पत्रकार हुँदै कार्यकर्ताको स्तरसम्म हामी सबैले बडो सहजतापूर्वक मध्यपानलाई विस्तार गर्यौं । सबै बडो खुसी र आनन्दित थिए । सबै खुसी भएकोमा शाही परिवार पनि निकै खुसी थियो ।

मलाई भने बिहारका पूर्व रेलमन्त्री लालु यादवको झल्को आउँदै थियो । किनभने गाउँले र कार्यकर्ता खुसी पार्न ठूलो संख्यामा खसी र मदिराको वितरण जो गरिएको थियो ।

गोपाल किराती जुन संस्कारबाट हुर्किएर आएका थिए, त्यहाँ जाँड रक्सी आम थियो । तर, पनि उनलाई त्यसप्रति मोह थिएन । तर, शाही परिवार हरेक साँझ रमझममै बिताउन अभ्यस्त जस्तो लाग्थ्यो । हामीलाई पनि चिठ्ठा परेको थियो, आरामको सुताइ, मोजको बसाइ र मन लाग्ने खुवाइ ।

मलाई अर्को कुरा अच्चम्म लागिरहेको थियो । पश्चिमको शाही परिवारमा हुर्किएका र मन्त्री भएका जीवनबहादुर शाहीले त्यहाँ आदरार्थी शब्दको प्रयोग गर्ने मान्छेको संख्या अत्यन्त कम थियो । उनले भावुक शैलीमा भाषण गर्ने क्रममा भनेका थिए– ‘मैले आदर गर्नुपर्ने मान्छे यो गाउँमा निकै थोरै छन् । यसको अर्थ धेरै बुढापाकाहरु बितिसके र नयाँ पुस्ता आइसक्यो ।’

तर आदर सम्मान भन्ने कुरा जात, उमेर र पदवीले मात्र हुन्छ र ? यदि हुन्छ भने यो कुन राजनीतिक दर्शन र सिद्धान्तले निम्त्याएको परिणाम होला ? बुढा–बुढा मानिसहरु दुई हत्केलालाई अञ्जुली जस्तै बनाएर ढाड कुप्य्राउँदै जजो जजो भन्थे । मन्त्री भने– के छ काका, राम्रोसँग काम गरेस् भन्थे ।

उता मेरो मानसपटलमा किरातीले किराती शैलीमा गरेको सेवारो र अभिवादनको झल्को आउँथ्यो । शाही परिवारलाई गाउँका निर्धनहरु राजा साहब पनि भन्थे, जसले राजतन्त्रको झल्को दिन्थ्यो ।

राज्य र राज्यभित्र बसोबास गर्ने नागरिकहरुको उन्नतिका लागि चाहिने जुन चेत हो, त्यो चेतलाई विकास गर्न राजनीतिक नेतृत्वले आफूलाई र आफ्नो वरिपरिका समूहलाई नियाल्न जरुरी छ । किनभने हाम्रो भविष्य समेत उनीहरुकै हातमा छ

पूर्वमा जहाँ हामी दलित परिवारको घरमा बडो आदर र सम्मानसाथ भित्र्याएइएका थियौं, त्यहीँ पश्चिममा एउटा राजनीतिक दलको प्रतिनिधि दलित भएकोमा कांग्रेस जिल्ला सभापतिले जिप्रकाद्धारा आयोजित मध्यपान कार्यक्रमको अधिकांश समय हल बाहिर बिताए । उनले भनेको कुरा मेरो मनमा अझै गढेको छ– ‘भाइ, एउटा सार्की, त्यसको हैसियत छ ? मन्त्रीको अगाडि आएर रक्सी खाने ? कसरी खाने हो, कसरी बस्ने हो, कसरी बोल्ने हो , केही थाहा छैन । त्यस्ता मान्छे यहाँ दलका प्रतिनिधि भएर आएका छन् । यस्ता कुराले मन पोल्छ भाइ, त्यसैले बाहिरै बसेको छु ।’

आज आएर सोच्छु- समानता र अधिकारको लडाइँ लडीदिने राजनीतिक दल नै जब समानता र अधिकारका बिरोधी हुन्छन्, तब समाज कुन दिशातर्फ जान्छ ? एउटा दलित, पिछडिएको समुदाय जसको आर्थिक, शैक्षिक र सामाजिक स्टाटास समाजका हैसियतवानको भन्दा कमजोर र निरीह भयो भने के त्यसो हुनुमा त्यहाँको सामाजिक र राजनीतिक व्यवस्था जिम्मेवार हुँदैन ?

मलाई लाग्छ, मैले देखेको हुम्ला यी सबै कुराको जिउँदो उदाहरण हो । जनताका प्रतिनिधिहरू जनप्रतिनिधि कम र जनतामा अधिकार लाद्ने तप्काका बढी लाग्छन् ।

नेपालको शासन व्यवस्थाको यो प्रतिनिधि कुरा हो । हुम्लाको प्रशंग त यहाँ कोट्याइएको मात्र हो । जुन सरकारी कर्मचारी आफ्नो संगठनमा व्यवसायीकरण भन्दा धेरै राजनीतिकरण भयो भन्छ, उही आफ्नो संगठनको चुनावका लागि सरकारी बिदा दिइओस भनेर वकालत गर्छ र बडो सानका साथ कर्मचारीतन्त्रमा राजनीतिकरण नभइदेओस भन्छ ।

जुन प्रहरी अथवा अनुसन्धान विभागको अफिसर हाम्रो संगठन राजनीतिकरणले विग्रियो भन्छ, उ नै बडो सानका साथ खुमबहादुर दाइले मलाई भर्ति गर्नुभएको भन्छ । यही हाम्रो राज्यको चरित्र हो । यही हाम्रो चरित्र हो । यो दुबै भोगी हिँड्ने हामी ‘वाइनस डे’ फिल्ममा नसरुद्धिन शाहले भनेको लाइनसँगै मेल खान्छौँ– ‘वी आर जस्ट स्टुपिड कमन मेन ।’

राज्य र राज्यभित्र बसोबास गर्ने नागरिकहरुको उन्नतिका लागि चाहिने जुन चेत हो, त्यो चेतलाई विकास गर्न राजनीतिक नेतृत्वले आफूलाई र आफ्नो वरिपरिका समूहलाई नियाल्न जरुरी छ । किनभने हाम्रो भविष्य समेत उनीहरुकै हातमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment