Comments Add Comment

चितवन र रुपन्देही अधिवेशनमा एमालेको गुटगत लडाइँ

uml-party-office

७ कात्तिक, काठमाडौं । पार्टी केन्द्रले गुट उपगुटलाई पूर्णनिषेध गर्न भन्दै तल्लो तहसम्म सुर्कलर गरेपनि एमालेको रुपन्देही र चितवन अधिवेशनमा गुटगत भिडन्त हुने भएको छ । दुबै जिल्लाका अधिवेशनमा नेता-कार्यकर्ताहरु केपी ओली पक्ष र माधव नेपाल पक्षमा बिभाजित भएका छन् ।

एमाले चितवनको नवौं अधिवेशनमा ओली पक्षका जगन्नाथ (जेएन) थपलिया र कृष्णभक्त पोख्रेलले अध्यक्षमा दावी गरेका छन् । थपलिया ओली निकट र पोख्रेल नेपाल निकट हुन् । उनीहरुले अलग-अलग पोष्टर प्रकाशित गरेर प्रचार प्रसार गरेका छन् जसमा जिल्लाका आफू निकटका नेताहरुका तस्वीरसमेत राखेर प्यानल घोषणा गरिएको छ ।

थपलियाको प्यानलमा पार्वती रावल, कृष्ण भुर्तेल, रामप्रसाद न्यौपाने, भक्तिप्रसाद गौतम, निशा अधिकारी र अनोज जोशी छन् । यसैगरी पोख्रेलको पक्षमा हालका सचिव तेजेन्द्र खड्का, प्रकाश ढुंगाना, घनश्याम भट्टराई लगायतका नेताहरु छन् ।

jn-thapaliya-and-krishna-bhakta-pokhrel-chitwan

कसले जित्ला ?

एमाले चितवनको नवौं जिल्ला अधिवेशनको प्रतिनिधि छनौटको तथ्यांकलाई विश्लेषण गर्दै दुबै पक्षले आफूले जित्ने दावी गरेका छन् । थपलिया पक्षले क्षेत्र नम्बर १, २, ४ र ५ मा आफ्ना प्रतिबद्ध साथीहरु प्रतिनिधि छनोट भएर आएको दाबी गरेको छ । त्यसैले एमाले चितवनका अध्यक्ष समेत रहेका थपलिया भन्छन्, ‘परिणाम मेरै पक्षमा आउने छ ।’

सांसदसमेत रहेका वर्तमान उपाध्यक्ष कृष्णभक्त पोखरेल पनि कमजोर आकांक्षी होइनन् । क्षेत्र नम्बर ३ को सांसद पनि भएकाले पोख्रेल त्यहाँ बलियो देखिन्छन् । भरतपुर उपमहानगरपालिकाका केही वडाहरु जहाँ धेरै प्रतिनिधि छन् त्यसमा पनि पोख्रेलको पकड छ ।

त्यसैले निर्वाचनमा थपलिया र पोख्रेलबीच कडा प्रतिस्पर्धा हुने स्थानीय एमाले नेताहरु बताउँछन् । सर्वसहमतिको प्रयास विफल भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया मतदानबाट टुंगो लगाइने भएको छ ।

पोख्रेल र थपलियाले छाडे खड्का अध्यक्ष

नेतृत्व सहमतिमा चयनका लागि बनाइएको पहल समितिले थपलिया र पोख्रेल दुवैलाई अध्यक्षको उम्मेदवारबाट पछि हटाउन सके हालका सचिव तेजेन्द्र खड्काको नेतृत्वमा सहमति हुन सक्छ । यसो हुँदा माधव नेपाल समूहका खड्का अध्यक्ष हुनेछन् भने, उपाध्यक्ष र सचिव केपी ओली समूहले पाउने छ । यसअघि पनि एमाले चितवनमा गुटको भागवण्डा यसरी नै हुँदै आएको छ ।

हालका अध्यक्ष थपलियाले एक कार्यकर्ता भेलामा सांसद पोख्रेलप्रति संकेत गर्दै भनेका थिए, ‘हामी बरु सकिन तयार छौं, पराजित हुन तयार छौं, तर एक ब्यक्तिलाई दुई पद दिन तयार छैनौं । यसबाट के बुझिन्छ भने थपलिया तेस्रो व्यक्तिलाई अध्यक्ष मान्न तयार छन् तर पोख्रेललाई स्वीकार्न तयार छैनन् ।

यदि पहल समितिले पोख्रेललाई पछि हटाउन सक्यो भने थपलियाले पनि त्यसमा सहमति जनाउने छन् र खड्काको नाममा सहमतिको वातावरण निर्माण हुनसक्ने छ ।

रुपन्देहीमा पनि दुई प्यानल

yubaraj-subedi-and-purushottam-ghimire
शिवराज सुवेदी र पुरुषोत्तम घिमिरे

चितवनमा जस्तै रुपन्देहीको आठौं जिल्ला अधिवेशनमा पनि दुई प्यानलबीच प्रतिस्पर्धा हुने देखिएको छ । अध्यक्षमा शिवराज सुवेदी र पुरुषोत्तम घिमिरेले दाबी गरेका छन् । सुवेदी ओली निकट र घिमिरे नेपाल निकट हुन् । सुवेदीलाई एमाले उपमहासचिव विष्णु पौडेल र घिमिरेलाई अर्का उपमहासचिव घनश्याम भुसालको साथ छ । उपमहासचिवद्वय पौडेल र सुवेदी दुबैको गृहजिल्ला रुपन्देही हो ।

अघिल्लो अधिवेशनमा समेत अध्यक्षमा दाबी गरेका सुवेदी उपाध्यक्षमा चित्त बुझाउन बाध्य बनेका थिए । अहिले उनी अध्यक्ष नछाड्ने दाउँमा छन् । सुवेदीको प्यानलमा तुलसी चौधरी, सुरेन्द्र वर्मा, गोपाल राना, राजेन्द्र पन्थी, हितराज पन्थी र तेजेन्द्र केसी लगायत छन् । सुवेदीको प्यानललाई जिताउन एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराई सहितको टिम समेत आन्तरिक रुपमा लागेको स्रोत बताउँछ ।

त्यस्तै उपमहासचिव धनश्याम भुसाल निकट मानिएका पुरुषोत्तम घिमिरे अध्यक्षका अर्का प्रतिष्पर्धी हुन् । घिमिरेको पक्षमा राजु गुरुङ, सिद्धिचरण भट्टराई, श्रीराम गुप्ता, बासु घिमिरे, जागेश्वरी चौधरी लगायत छन् । घिमिरेको प्यानललाई विजयी गराउन पार्टीका वर्तमान जिल्ला अध्यक्ष भोजप्रसाद श्रेष्ठको समर्थन छ ।

अध्यक्षका दावेदार सुवेदी र घिमिरे दुबैले मनोेनयनपत्र लिएर गए पनि यो समाचार तयार पार्दासम्म दर्ता भएको छैन ।

ganatantrik-sava-griha-bhai
एमाले रुपन्देहीको अधिवेशन स्थल गणतान्त्रिक सभागृह भैरहवा

अधिवेशनमा जिल्ला नेताहरु बिभाजित भएसँगै तल्लो तहका कार्यकर्ताहरु पनि दुई कित्तामा बिभाजित भएका छन् । अधिवेशनबाट ७५ सदस्यीय नयाँ कार्यसमिति चयन हुने छ ।

एमाले रुपन्देही जिल्ला सदस्यका लागि वर्तमान जिल्ला सदस्यका अतिरीक्त नयाँ सदस्यमा सशक्क्त उम्मेदवारको रुपमा पत्रकार मोहन चापागाई देखिएका छन् । उनी प्रेस चौतरी नेपालका पूर्वकेन्द्रीय उपाध्यक्ष हुन भने सामुदायिक रेडियोहरुको छाता संगठन अकोराबको हाल अध्यक्ष छन् । विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका उनले पार्टीका विभिन्न कमिटीमा रहँदै अर्थमन्त्रालयमा सूचना तथा संचार विज्ञका रुपमा समेत काम गरिसकेका छन् ।

यसैगरी सदस्य पदमा पत्रकार यम राना, उमा काफ्ले, सरिता श्रीस, घनेन्द्र विक्रम पाण्डे, बाबुराम पन्थी, रमेश प्रसाद नेपाल, ध्रव आचार्य, इन्द्रजीत यादव, उमा अधिकारी, गोपाल खनाल, चक्रबहादुर थापा, धर्मराज गिरी, रामबहादुर श्रेष्ठ, लक्ष्मी थापा, सुनिल श्रेष्ठ, एजाज आलम, शंकर पहारी, डिजाइन थापा, यज्ञमूर्ति भण्डारी, निरबहादुर खड्का, रामप्रसाद रेग्मी लगायतले दाबी गर्दै प्रचारप्रसार थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment