Comments Add Comment

शेरबहादुर देउवा लोकमानविरुद्ध उभिने तीन कारण

कांग्रेस स्रोत भन्छन्- महाअभियोगको पक्षमा नउभिई सुख छैन

Sher-Bahadur-Dauba

७ कात्तिक, काठमाडौं । अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावले संसदमा प्रवेश पाएको छ ।

तर, सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले अझैसम्म मौनता तोडेको छैन । कांग्रेस केन्द्रीय समितिको बैठक कुनै निर्णयमा पुग्न सकेको छैन भने शीर्ष नेताहरु मौन छन् । युवा नेताहरुको दबावका बावजुद केही प्रभावशाली नेताहरु भने महाअभियोग प्रस्तावको विपक्षमा देखिएका छन् । जसका कारण मंगलबार संसदमा हुने छलफलमा कांग्रेस कसरी प्रस्तुत होला ? कांग्रेसकै कारण कतै महाअभियोग प्रस्ताव असफल हुने त होइन ? धेरैको प्रश्न छ ।

देउवा लोकमानविरुद्ध नउभिई सुखै छैन

लोकमानले शाही आयोगले भन्दा बढी ज्यादती गरेकाले लोकमानलाई बचाउन गाह्रो रहेको भन्दै देउवाले आफू लोकमानको पक्षमा नरहेको संकेत दिएका छन्

सत्तारुढ दुई नेता प्रचण्ड र शेरबहादुर देउवा लोकमानबारे निर्णय गर्न एकअर्काको मुख ताकिरहेका छन् ।

आफ्ना ४० सांसदले महाअभियोग प्रस्तावमा हस्ताक्षर गरेपछि माओवादीले संस्थागत निर्णय गर्न सकेको छैन र, दलहरुसँग छलफल गरेर निर्णय गर्ने अधिकार प्रचण्डलाई अधिकार दिएको छ ।

तर, उनी देउवाले पहिला निर्णय गरोस् भनेर पर्खिरहेका छन् । देउवा भने प्रधानमन्त्री समेत रहेका प्रचण्डले के निर्णय गर्छन् भनेर कुरिरहेका छन् । तर, यदि प्रचण्ड महाअभियोगको पक्षमा दाह्रोसँग उभिएमा देउवालाई लोकमानविरुद्ध नउभिई सुखै नहुने कांग्रेसका एक नेताको दाबी छ ।

केन्द्रीय कार्यसमिति बैठकमै लोकमानले शाही आयोगले भन्दा बढी ज्यादती गरेकाले लोकमानलाई बचाउन गाह्रो रहेको भन्दै देउवाले आफू लोकमानको पक्षमा नरहेको संकेत दिएका छन् ।

तर, उनको यो संकेतलाई उनी पक्षकै कतिपय नेताले स्वीकार गरेका छैनन्, जुन उनका लागि टाउको दुखाइ बनेको छ । कांग्रेसमा देउवा क्याम्पका मुख्य नेताहरु विमलेन्द्र निधिदेखि एनपी साउदसम्म महाअभियोग एमालेको षड्यन्त्र भन्दै त्यसको विपक्षमा उभिएका छन् । आवेगमा निर्णय गर्नु हुँदैन भनेर रामचन्द्र पौडेल समूहले पनि यही मतलाई मलजल गरेको छ ।

महाअभियोगको पक्षमा त केबल गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ र प्रदीप पौडेलमात्र देखिएका छन् । एक नेता भन्छन्, पार्टी सभापति लोकमानलाई बचाउने पक्षमा छैनन् तर, कांग्रेसमा अझै माहोल बनेन । बरु ठूलो मत विभाजन देखियो । यसले निर्णय गर्न समस्या परेको छ ।’

किन देउवा महाअभियोगको पक्षमा उभिन्छन् ?

राजनीतिज्ञले कुनै पनि निर्णय लिँदा मुलुकसँग आफू र आफ्नो पार्टीलाई हुने लाभ र हानी हेर्नु स्वभाविक हुन्छ ।

अहिले लोकमानबारे निर्णय लिँदै गर्दा कांग्रेस सभापति देउवाले पनि पक्कै लाभहानी हेर्छन् र हेनुपर्छ पनि । यसरी हेर्दा देउवाले सहजै महाअभियोगको पक्षमा उभ्याउने निर्णय लिने सम्भावना छ ।

यदि लोकमानको पक्षमा उभिने हो भने कांग्रेस र देउवासामू एउटा मात्र सम्भावित लाभ हुनेछ । त्यो भनेको यदि लोकमान जोगिए भने उनले भोलि कुनै पनि बेला कांग्रेसको राजनीतिक प्रतिस्पर्धी एमालेमाथि प्रहार गर्न सक्ने बाटो रहन्छ । तर, यदि विध्न विवादित भइसकेका लोकमानले अख्तियार प्रमुखका हैसियतमा गर्ने कुनै पनि काम अब विवादरहित हुँदैन ।

त्यसमाथि महाअभियोगबाट बचे पनि उनी अदालतबाट पनि बच्छन् भन्ने अनुमान गर्नु गलत हुनेछ । किनकि उनको नियुक्तिबारे सर्वोच्चले पुनरावलोकन गर्ने फैसला गरिसकेको छ र, त्यसक्रममा अब कस्तो फैसला आउँछ भनेर पूर्व अनुमान लगाउन सकिने संकेत दिएको छ ।

ठीक विपरीत देउवा लोकमानविरुद्ध र महाअभियोगको पक्षमा उभिँदा हुने लाभ भने धेरै हुनेछ ।

लोकमानतन्त्रबाट मुलुकले मुक्ति पाउने मात्र होइन, कांग्रेस र उसको सभापतिका रुपमा देउवाले पाउने राजनीतिक लाभ पनि छन् । यसरी हेर्दा देउवा महाअभियोगको पक्षमा उभिने तीन कारण देखिन्छः

पहिलो कारणः कांग्रेस सभापति देउवा वेइटिङ प्राइमिनिष्टर पनि हुन् । अबको केही महिना -सम्भवतः चैत)पछि देउवा प्रधानमन्त्री बन्ने समझदारी कांग्रेस र माओवादीबीच भइसकेको छ । त्यसैले पनि उनी लोकमानका लागि आउँदै गरेको प्रधानमन्त्री पद बली चढाउन चाहँदैनन् ।

किनकि यदि देउवा महाअभियोगको पक्षमा उभिनु भनेको माओवादी-कांग्रेसको सत्ता गठवन्धन टुटाउने जस्तै हुनेछ । माओवादीका ४० सांसदले महाअभियोग प्रस्तावमै हस्ताक्षर गरेका छन् भने उसको हेडक्वाटरमा भएका अधिकांश नेता लोकमानलाई हटाउने पक्षमा छन् ।

दोस्रो कारणः देउवालाई राम्रोसँग थाहा छ कि महाअभियोगको विपक्षमा उभिनु भनेको एमाले र माओवादीलाई झन नजिक्याउनु हो । दुई दल अघिल्लो सरकारमा सँगै थिए । केपी ओलीले भद्र सहमतिअनुसार सत्ता हस्तान्तरण नगरेपछि मात्र प्रचण्ड वत्तिएर देउवातिर पुगेका हुन् । अहिले फेरि लोकमानलाई प्रचण्डले चिढ्याउनु भनेको ओलीसँग मिलन गराउनुजस्तै हुनेछ ।

तेस्रो कारणः अहिले जनमत लोकमानको विपक्षमा छ । र, मुलुक तीन निर्वाचनको संघारमा छ । संविधान कार्यान्वयनका लागि आगामी ०७४ माघ ७ भित्र स्थानीय, प्रान्तीय र संघीय संसदको गरी तीनवटा चुनाव गर्नु पर्नेछ । यदि अहिले लोकमानका लागि जनमतको विपक्षमा उभिनु भनेको आगामी चुनावमा दण्डित हुन तयार हुनु सरह हुनेछ ।

के देउवाले पार्टीलाई यस्तो आत्मघाती बाटोमा लैजालान् ? अबको केही दिनमा यो स्पष्ट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment