Comments Add Comment

‘निजी अस्पतालले नर्सहरुको आर्थिक शोषण गरे’

'सरकारी अस्पतालमा ४२ हजार कमाउँछन्, निजीमा ५ हजार'

tara-pokhrel_810८ कात्तिक, काठमाडौं ।  तारा पोखरेल नर्सिङ पेशामा लागेको झण्डै ४० वर्ष हुन लाग्यो । विगत २५ वर्षदेखि उनी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा नर्सिङ विषयको अध्यापन गराउँदै आएकी छिन् । उनी नर्सिङ एसोसिएसनकी अध्यक्षसमेत हुन् । तारा आफै पनि एक नर्स हुनुका साथै क्यान्सर पीडित हुन् ।

हालसम्म झण्डै १२ हजार विद्यार्थीलाई नर्सिङ्ग सम्बन्धी शिक्षा दिइसकेकी उनी आफै भने अहिलेका नर्सहरुबाट त्यति सन्तुष्ट छैनन् । पोखरेल भन्छिन्, ‘पढाउने बेलामा नै हामीले तपाईको व्यवहार राम्रो भएन भने तपाईसित जति ज्ञान भए पनि त्यसको अर्थ हुँदैन भनिरहेका हुन्छौ, तर यथार्थमा त्यो व्यवहार अहिलेका नर्समा अझै विकास भएको पाइदैन ।’

अहिलेका विद्यार्थी अधिकांश विदेश जानमै केन्दि्रत हुने गरेकाले पनि उनीहरु पहिलेका नर्सजस्तो संवेदनशील नभएको उनको भनाइ छ ।

यसमा नर्सको मात्र नभएर अहिले खोलिएका अस्पतालको पनि केही हदसम्म दोष रहेको उनले बताइन् ।

‘विद्यार्थी भर्ना गर्दा छाती ठोकेर आठ सय बेडको अस्पताल भन्ने यहाँका अस्पतालहरुले नर्सहरु लिदाँ भने जम्मा सय जना भनेर संख्या तोक्ने गर्छन्,’ उनी भन्छिन, ‘जब कि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार त्यहाँ कम्तिमा ६ सय नर्स हुनु पर्दछ ।’

त्यसबाहेक कम तलवमा काम गराउने, एक जनालाई चालीस जनासम्म विरामी हेर्न लगाउने, आठ घण्टा भन्दा बढी काममा लगाउनाले पनि नर्सहरुले सोच अनुरुपको काम गर्न नसकेको पोखरेलको कथन छ । ‘कहिलेकाहीँ विरामीका चापका कारण थकान महसुस हुन पुगी नर्सहरु बोल्ने स्थितिमै हुँदैनन् । त्यसमा गल्ती नर्सको मात्र छैन, अस्पतालको पनि छ,’ उनले भनिन् ।

विशेषगरी अहिले नयाँ खोलिएका एक सय शैयाको एउटै अस्पतालले  दशवटा सम्म नर्सिङ्ग क्याम्पसहरुलाई अनुबन्धन दिने गरेकाले समस्या पैदा भएको उनले बताइन् ।

सधैं अरुलाई पढाउने व्यक्ति कहिलेकाहीँ आफै अस्पताल भर्ना हुँदा नर्सको व्यवहार देखेर कस्तो महसुस हुन्छ भन्ने प्रश्नमा क्यान्सर पीडित ताराले भनिन्, ‘अरु सबै त ठीक छ, कहिलेकाहीँ उनीहरु विरामीप्रति संवेदनशील नभएको अनुभव हुन्छ ।’

उनले आफु विरामी भएर अस्पताल बस्दा एउटा नर्सको हात च्याप्प समातेर ‘स्टप’ भनेको क्षण सम्झिँदै भनिन्, ‘मलाई किमो दिँदा उनले दश ठाउँमा सुई घोपिरहेकी थिइन् । जबकि किमो दिँदा उक्त किमो अन्य ठाउँमा पर्‍यो भने त्यसले सो ठाउँमा क्यान्सर पलाउने सम्भावना रहन्छ ।’

नर्सहरुले भोगिरहेका समस्या,  नर्सिङ्ग एशोसिएसनको माग र नर्सिङ्ग पेशाका सम्बन्धमा पोखरेलसित अनलाइनखबरले गरेको कुराकानी यस प्रकार छः

नेपालमा नर्सहरुको संख्या कति छ ?

नर्सिङ्ग काउन्सिलमा हाल ३४ हजारभन्दा बढी नर्स दर्ता छन् । त्यस्तै, वर्षेनी पाँच हजारको हाराहारीमा नर्सहरु उत्पादन भइरहेका छन् ।

tara-pokhrel

नर्सहरुको अहिलेको अवस्था कस्तो छ ?

अधिंकाश नर्सहरुलाई स्वयंसेवकका रुपमा राखिएको छ । अहिले पनि नर्सहरुलाई थोरै तलवमा राख्ने र पैसा माग्दा जागिरबाट निकालिदिने खालको प्रवृत्ति जारी छ ।

कहीँ कहीँ लैंगिक हिंसा पनि देखिएको छ । तर त्यसमध्ये न्युनतम तलव र स्वयंसेवकका रुपमा काम गराउनेे प्रवृत्ति नै अहिलेको सबैभन्दा ठूलो मुद्दा  हो ।

 

निजी र सरकारी अस्पतालमा नर्सको तलवको अवस्था कस्तो छ ?

नर्सको जागिर भनेको सुब्बा सरह हो । तर, अहिले निजी अस्पतालमा नर्सहरुलाई पाँच हजारदेखि आठ हजार रुपैयाँसम्म तलवमा काम गराइन्छ । जब कि सरकारी अस्पतालमा एउटा नर्सले ४२ हजार रुपैयाँसम्म तलव पाउँछन् ।

उनीहरुलाई वर्ष दिनसम्म विनातलव स्वयंसेवकका रुपमा पनि जागिरमा राख्ने गरेको पाइएको छ  । अनि जब पैसा माग्यो, तब जागिरबाट निकालेर अर्को नर्स भर्ना गर्ने चलन निजी अस्पतालमा अत्यधीक छ । यसरी छ-छ महिनामा नयाँ नर्स नियुक्ति गर्दा उसले काम पनि राम्ररी सिकिसकेको हुँदैन । त्यो अवस्थामा विरामीले ती नर्सबाट कस्तो सेवाको आशा गर्न सक्लान् ?

तपाईहरुले बेलामौका बाहिरी जिल्लाहरुको अनुगमन पनि गर्नुहुन्छ । कस्तो पाउनुभएको छ, त्यहाँका नर्सहरुको अवस्था ?

निजीको कुरा गर्नुहुन्छ भने काठमाडौमा होस् वा बाहिर होस्, अति नै आर्थिक शोषण हुने गरेको छ । उनीहरुलाई भरसक आठ घण्टासम्म सित्तैमा काम लगाउने गरिन्छ । बोले, आवाज उठाए निकालिदिने र तलव दिइहालेमा पनि नगन्य मात्रामा दिने गरिन्छ ।

सरकारी अस्पतालको हकमा पनि नेपालमा राम्रो सिस्टम छैन । कसैको मान्छे छैन भने ऊ वर्षौदेखि बाहिर बस्न बाध्य छ । मान्छे छ भने उसको दुई महिनामै काठमाडौमा सरुवा हुन्छ, बढुवा पनि पाउँछ । यस अर्थमा शोषित हुने शोषितै छन् ।

नर्सहरुको सेवा-सुविधाबारे नर्सिङ्ग एशोसियसनले केही पहल गरेको छैन ?

नर्सिङ्ग एशोसिएशनले नर्सहरुको पीरमर्का बुझेर नै पहिलेदेखि नै  २० सुत्रिय माग राख्दै आएको छ । त्यसमा नर्सका सुरक्षाका कुरा पनि आउँछन् । विगत ०५७ सालदेखि यो कुरा उठ्दै आएको थियो । त्यसपछि पनि चरणवद्ध आन्दोलन भइरहेको हो ।

अहिले हामी आफै पनि यसको विरुद्धमा आवाज उठाइरहेका छाैं र यो कुरा स्वास्थ्य मन्त्रालयमा पुर्‍याएका छौ । यसबारे पहिलेका मन्त्री समक्ष पनि कुरा राखेका थियौ  । तर त्यो प्रभावकारी भएन ।
अहिलेका सचिवलाई पनि हाम्रो मागबारे राम्रो जानकारी छ । करिब दुई हप्ताअघि मात्रै पनि हाम्रा मागबारे कुरा राख्न गगन थापासमक्ष गएका थियौं । उहाँले यसबारे चासो दिनुभएको छ । यदि हाम्रो माग उहाँले पनि सुन्नुभएन भने हामी कुनै एउटा निचोडमा अवश्य नै पुग्छौं ।

जिल्लाहरुमा एसोसिएसनका शाखाहरु पनि खोलिएका छन् । हामीले कुनै पनि समस्या भएमा शाखाका कर्मचारीहरुलाई खबर गर्न भनेका छौं ।

पहिले कोहलपुर मेडिकल कलेजमा एउटा हिंसाको घटना भएको थियो । त्यसबेला केन्द्रका प्रतिनिधि समेत गएर समस्या सामाधान गरिएको थियो । त्यहाँ नर्सहरुलाई जागिर दिएको ६ महिनामा तलव नदिईकनै निकालिदिने र अर्को मान्छे राखिदिने समस्या भएको थियो ।

डा. गोविन्द केसीले अबको १० वर्षसम्म काठमाडौंमा चिकित्सासम्वन्धी शिक्षण संस्था खोलिनु हुँदैन भन्ने माग राख्दै आउनुभएको छ,  यसबारे तपाईको  भनाइ के छ ?

त्यो कुरामा म अलिकति सहमत छैन । यदि मापदण्ड नपुर्‍याइकन  शिक्षण संस्था खोलिएको छ भने त्यस्ता संस्था बन्द गर्नु उचित हो । तर, त्यसो भन्दैमा नयाँ खोल्नै दिनुहुन्न भन्नु बेठीक हो । ती संस्थाले अरु भन्दा गुणस्तरीय सेवा दिन पनि त सक्छन् नि ।

अहिले सात प्रदेशमा एक-एक सरकारी अस्पतालको कुरा उठिरहेको छ । प्रत्येक प्रदेशमा एक सरकारी अस्पताल बन्यो भने नर्सहरु जान तयार छन् ?

एउटा कुरा के भन्छु भने यदि हाम्रो सरकार बलियो छ भने हाम्रा नर्सहरुलाई पनि अनिवार्य दुई वर्ष बाहिर काम गरेर बस भन्न सक्नुपर्‍यो, नियम बनाउन सक्नुपर्‍यो । अनि बाहिर गए भने पनि उनीहरुलाई सरुवा, बढुवा, छात्रवृतिलगायतको व्यवस्था मिलाइदिनुपर्‍यो । जिल्लाहरुमा सुरक्षाको प्रत्याभूति गराइनुपर्‍यो ।

tara-pokhrel_455अहिले नेपालका ९९ प्रतिशत नर्स महिला छन् । बाहिरी जिल्ला जाँदा उनीहरुलाई क्वार्टरको व्यवस्था हुनुपर्‍यो । अस्पतालमा राम्रो सुरक्षा व्यवस्था हुनुपर्‍यो । आफ्ना छोरीचेलीलाई सुरक्षा नभएको ठाउँमा कसैले पठाउँदैन । त्यसको ग्यारेण्टी सरकारले लिनुपर्‍यो ।

त्यसपछि नर्सिङ्ग एशोसियसन र काउन्सिललाई राखेर सरकारले बैठक गर्नुपर्‍यो । त्यो बैठकमा नर्सहरुलाई कसरी परिचालन गर्ने, कहाँ कसरी पठाउने भन्ने कुरा हामी सल्लाह दिन्छाैं ।

अहिले मैले के सुनेकी छु भने चिकित्सकहरुको हकमा दुई वर्ष बाहिर बस्यो भने उनीहरुलाई छात्रवृत्तिमा पढ्न दिइन्छ । त्यही भएर चिकित्सकहरु मागी-मागी बाहिर गइरेहका छन् रे । त्यो व्यवस्था नर्सहरुलाई पनि दिइयोस् न । त्यसका लागि सरकारले सिस्टम त बसाल्नु पर्‍यो नि ।

तपाईंले यो पेशामा लामो अनुभव संगाल्नुभएको छ । पहिलेका र अहिलेका नर्समा कस्तो फरक पाउनुहुन्छ ?

पहिले हामीलाई विदेशको महत्व त्यति थिएन । तर, अहिले विदेशमा जानलाई पढ्न आउने विद्यार्थी  नै धेरै छन् । उनीहरुमा विदेशै जाने भन्ने सोचाइ विकसित भइरहेको छ ।

अहिलेका नर्सहरुलाई बोल्न त सिकाउँछाैं । तर, पनि उनीहरुको व्यवहार सबैमा विकसित भएको पाइँदैन । अस्पतालमा गइसकेपछि पनि उनीहरुलाई सुपरीवेक्षण गर्न जरुरी छ । अस्पतालमा पुगिसकेपछि डाक्टर र नर्सको महत्वपूर्ण भूमिका हुन्छ ।

उनीहरुले राम्रो बोली बोलिदिए मात्र पनि विरामीको आधा रोग आफै कम भएर जान्छ । तर, त्यो व्यवहार नर्समा मात्र नभएर चिकित्सक, प्यारामेडिक्सहरुमा पनि नभएको अनुभव हुने गरेको छ । उनीहरुलाई विरामीसित १० मिनेट बोल्नेसम्म फुर्सद हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment