Comments Add Comment

लोकमान प्रकरणबारे मधेसी मोर्चा अल्मलियो, उपेन्द्रको पार्टीमा दुई धार

राजकिशोर भन्छन्- हामी बोल्छौं, अनिल भन्छन्- सचेत हुनुपर्छ

Morcha-meet८ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि लागेको महाअभियोगबारे मधेसी मोर्चाभित्र खैलाबैला मच्चिएको छ । महाअभियोगलाई समर्थन गर्ने कि नगर्ने भन्नेमा मोर्चाका नेताहरु रनभुल्लमा परेका छन् । तर, जनमतका सामु उनीहरु यसबारे बोल्न चर्को दबावमा छन् ।

अधिकांश मधेसी नेताहरु अहिले काठमाडौं बाहिर छन् । संघीय समाजवादी फोरमका नेता उपेन्द्र यादव दोलखा, रामेछाप हुँदै सोमबार जनकपुर पुगेका छन् । महिन्द्र यादव, राजेन्द्र महतो र अनिल झा पनि मधेसतिर लागेका छन् । राजकिशोर यादव सिरहाबाट आइतबार मात्रै राजधानी फर्केका छन् ।

मधेसी मोर्चाले लोकमानसिंहबारे किन नबोलेको भन्ने प्रश्नमा फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले अनलाइनखबरसँग भने, ‘यसबारे नेताहरुसँग छलफल गरेर मोर्चाले चाँडै नै साझा धारणा बाहिर ल्याउँछ ।’

मधेसी मोर्चाको आशंका

लोकमान प्रकरणबारे अधिकांश मधेसी नेताहरुले यसलाई संविधान संशोधनको नारालाई विषयान्तर गर्न ल्याइएको विषय बताउने गरेका छन् । केही नेताले चाँहि यो केपी ओलीको डिजाइनमा अघि सारिएको हुन सक्ने भन्दै ओलीलाई सम्झेर महाअभियोगप्रति अरुची देखाइरहेका छन् । र, केही नेताहरु चाँहि यसमा छिमेकीहरुश्रको विचार बुझ्नसमेत खोजिरहेका छन् ।

तर, यसबारे पूर्वमन्त्री राजकिशोर भन्छन्-‘लोकमानसिंहको विषय यतिबेला संसदमा छलफलको विषय बनिसकेको छ र सार्वजनिकरुपमा पनि हामीलाई सबैले सोधिरहेको अवस्था भएकाले यसबारे मोर्चाले बोल्नैपर्ने हुन्छ । यो विषयमा मोर्चा मौन बस्न हुँदैन । त्यसैले हामी चाँडै नै यसबारे आफ्नो धारणा सार्वजनिक गर्छौं । महाअभियोगमा भोटिङ हुँदा हामीले के गर्ने ? यसबारे मोर्चाले आफ्नो धारणा ल्याउँछ ।’

उपेन्द्र यादवको पार्टीमा अन्तरविरोध

लोकमानमाथि महाअभियोग लागेपछि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमभित्र अन्तरविरोध चर्किएको छ । फोरमका उपाध्यक्ष लालबाबु राउतले महाअभियोगको प्रस्तावको आलोचना गरेको भन्दै केही नेताले पार्टी अध्यक्ष उपेन्द्र यादवसमक्ष गुनासो पोखोका छन् ।

upendra yadavफोरमका एक नेताले अनलाइनखबरसँग भने- ‘लोकमानबारे नेताहरुले जथाभावी बोल्दै हिँड्न भएन, अध्यक्ष र बरिष्ठ नेताले यसबारे चाँडो पार्टीको धारणा स्पष्ट पार्नुपर्‍यो ।’

स्रोतका अनुसार पार्टीभित्र अशोक राई खेमाका केही नेताहरु महाअभियोगको प्रस्ताव पारित गर्न पार्टीले सघाउनुपर्ने लाइनमा छन् भने उपेन्द्र यादव खेमाका नेताहरु यसलाई वास्ता नगर्ने र लोकमानप्रति उदारता अपनाउने पक्षमा छन् ।  यही कारणले गर्दा आइतबार दोलखामा फोरम अध्यक्ष उपेन्द्र यादवले लोकमानबारे पत्रकारले सोधेको प्रश्नको स्पष्ट जवाफ दिन सकेनन् ।

उता राजेन्द्र महतो र महन्थ ठाकुर पनि लोकमानमाथि लोगेको महाअभियोगबारे पूर्णतः मौन छन् ।

यसैवीच अनिल झाको नेपाल सदभावना पार्टी रौतहटमा विस्तारित बैठक गर्दैछ । जहाँ प्रस्तुत गरिएको राजनीतिक प्रतिवदेनमा लोकमान प्रकरणबारे चर्चा गर्दै भनिएको छ कि सदभावना पार्टी भ्रष्टाचारको विरुद्धमा छ । तर, महाअभियोगको प्रस्ताव संविधान संशोधनको मुद्दालाई ओझेलमा पार्न ल्याइएको हो भने त्यसमा समेच हुनुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment