Comments Add Comment

माओवादी कुनै हालतमा महाअभियोगबाट ‘ब्याक’ हुँदैन

'सरकारसँग महाअभियोग प्रस्तावको कुनै सम्वन्ध छैन'

Narayankaji Shresth Prakash

व्यवस्थापिका संसदमा अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध महाअभियोगको प्रस्ताव दर्ता हुँदा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाश बेइजिङमा थिए । एकसाता लामो चीन भ्रमणबाट फर्किएलगत्तै उनी महाअभियोग प्रस्ताव पारित गराउने भूमिकामा सक्रिय बनेका छन् ।

पार्टी अध्यक्ष प्रचण्डसँगको आन्तरिक छलफलपछि श्रेष्ठ अब कांग्रेस र एमालेका नेताहरुसँग सम्वादमा जुटेका छन् । उसो त श्रेष्ठले बेइजिङबाटै पार्टी अध्यक्ष प्रचण्डलाई फोन गरेर महाअभियोगको पक्षमा दृढतापूर्वक उभिन र पारित गराउनेतर्फ भूमिका खेल्न आग्रह गरिसकेका थिए ।

यसैसन्दर्भमा श्रेष्ठसँग अनलाइनखबरले गरेको संक्षिप्त कुराकानीः

आफ्नै सांसद प्रस्तावक रहेको महाअभियोग प्रस्तावलाई माओवादीले अझै स्वामित्वग्रहण गर्न सकेको देखिँदैन । के माओवादी यसबाट पछि हट्न सक्छ ?

हामी अघि बढिसक्यौं, कुनै पनि हालतमा ब्याक हुँदैनौं । हामी अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा यो विषयमा एक ढिक्का भएका छौं र संसदबाट महाअभियोग प्रस्ताव पारित गराउन पहल गरिरहेका छौं ।

तर, प्रमुख सत्ता साझेदार कांग्रेसले अझै पनि निर्णय गर्न सकेको छैन । कांग्रेसलाई देखाएर माओवादीले पनि के हो भन्ने आशंका त छ नि ?

नेपाली कांग्रेस महाअभियोगको प्रस्तावको पक्षमा बाहेक अर्को निर्णयमा पुग्छ भनेर हामीले परिकल्पना गरेका छैनौं । आम अराजकता र स्वेच्छाचारिता अन्त्यका लागि कांग्रेस महाअभियोगको पक्षमा आउँछ भन्ने विश्वास छ । साथै कुनै द्वीविधामा नपरी प्रस्तावको पक्षमा आउन म कांग्रेसलाई आहृवान गर्छु ।

तर, सरकारमा कांग्रेसका नेतृत्व गरिरहेका विमलेन्द्र निधीदेखि धेरैले यसलाई कांग्रेस र माओवादीको सत्ता गठवन्धनविरुद्ध एमालेले गरेको षड्यन्त्र भनेका छन् नि ?

यो महाअभियोग प्रस्तावको सरकारसँग कुनै सम्वन्ध छैन । हामी कांग्रेससँगको गठवन्धनमा प्रतिवद्ध छौं । नेपाली कांग्रेस आफैंले सहमति उल्लंघन गर्ने वा नयाँ ढंगले कदम चालेको अवस्थामा बाहेक यो सत्ता गठवन्धन कायमै रहन्छ ।

उसोभए यो महाअभियोग प्रस्ताव एमालेको पहलमा नभएर माओवादीले नै ल्याएको हो त ?

पहिलो कुरा त लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख नियुक्त गर्ने बेलामा विरोध गर्ने व्यक्ति हुँ म । त्यसयता पनि मैले लगातार विरोध गर्दै आएको छु । यस हिसावले हामी पनि हौं ।

डा. गोविन्द केसीले पनि लोकमानको विरोध गरेका छन् । अहिलेकै हकमा कसको प्रस्ताव भन्नेतिर बहस गरिरहन आवश्यकै छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment