Comments Add Comment

मेलम्चीको पानीः फेरि सर्‍यो भाका, पूरा भएन प्रचण्डको बाचा !

अहिलेसम्म १९ अर्ब खर्च, अझै ५ अर्ब लाग्ने

Melamchi_810

८ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकाबासीलाई मेलम्चीको पानी खुवाउने भाका पुनः सरेको छ । आयोजनाले अहिलेसम्म ४ पटक भाका सारिसकेको छ ।

प्रधानमन्त्री प्रचण्डले मेलम्चीको स्थलगत अनुगमन गर्दै २०७४ को नयाँ वर्षको सुरुवातमै काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने बताएका थिए । तर, मेलम्ची खानेपानी आयोजनाले कुनै भैपरी नआएमा काठमाडौंबासीले २०७४ असोज महिनाभित्र मेलम्चीको पानी पिउन पाउने जनाएको छ ।

२०१६ को सेप्टेबरमा काम समाप्त हुनुपर्ने अन्तिम समयलाई पुनः थप गर्दै आगामी असोज महिना भित्रमा पानी वितरण गर्ने आयोजनाले जनाएको छ । सोमबार व्यवस्थापिका संसदको विकास समितिको छलफलमा आयोजनका कार्यकारी निर्देशक इन्जिनियर घनश्याम भट्टराइले सो कुरा बताएका हुन् । आयोजनाको सुरुङ निर्माण कार्य अब ९ किलोमिटर मात्र बाँकी रहेको र यसको निर्माण सम्पन्न २०७४ असोजसम्म हुने भट्टराइले बताए ।

‘आर्थिक वर्ष २०७३/७४ भित्रमा आयोजनाले हेडवक्र्स तथा सुरुङ निर्माण सम्पन्न गर्छ,’ भट्टराईले भने, ‘अहिलेसम्म आयोजनाले मोटामोटी ७५ प्रतिशत काम सम्पन्न गरेको छ ।’

आयोजनको काम सन् २००१ बाट सुरु भई २००७ भित्र सम्पन्न गर्ने भनिए पनि अस्थिर राजनैतिक अवस्था र ठेकेदारको लापरबाहीलाई कारण देखाउँदै एक दश ढिला भइसकेको छ ।

आयोजनले बाँकी रहेको ६० हजार घनमिटरको ओपनकट तथा रक सपोर्ट कार्यपनि सम्पन्न गरी हेडवर्क्स डाईभर्जन सञ्चालनमा ल्याउने जनाएको छ । मेलम्ची आयोजनाले पहिलो चरणमा आगामी असोजसम्म प्रतिदिन १७ करोड लिटर पानी (न्यूनतम सुख्खा समयमा) काठमाडौं उपत्यकामा ल्याउने र दोस्रो चरणमा थप याङ्ग्री तथा लार्केबाट ३४ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याउने योजना बनाएको छ ।

पानी प्रशोधन केन्द्र भाग दुईका लागि पनि परामर्शदाता छनौट भइसकेकाले निर्माण व्यावसायीको छनौट समेत गर्ने भट्टराइले जानकारी दिए ।

यसैगरी चालु आर्थिक वर्ष २०७३/७४ भित्रै पानी प्रशोधन केन्द्र भाग एकको ८५ करोड लिटर लिटर क्षमता केन्द्र निर्माणमा बाँकी रहेको १० प्रतिशत काम पनि सम्पन्न गर्ने आयोजनाले दाबी गरेको छ ।

आयोजनाले यी काम सम्पन्न गर्छु भने पनि काम हुने आधार भने कुनै तय गरेको छैन । आयोजनाले गत आर्थिक वर्षमा सम्पन्न गर्ने भनेको २५ प्रतिशत हेडवक्र्स निर्माणमा १३ प्रतिशत, ५ किलोमिटर सुरुङ निर्माण सम्पन्न गर्ने भनेतापनि ४.९२ किलोमिटर र पानी प्रशोधन केन्द्र निर्माणमा २१ प्रतिशत काम गर्ने भनेपनि २० प्रतिशतमात्रै काम गरेको थियो ।

यही आधारलाई हेर्दा अझै पनि भाका सारेको समयमा मेलम्चीको पानी उपत्यका आउने निश्चित छैन । आयोजनले काम सुरु गरेदेखि अहिलेसम्म १९ हजार ९ सय ५० घनमिटर मात्र पानी प्रशोधन केन्द्र निर्माण गरेको छ । अझै आयोजनाले आरसीसी तर्फ १८ सय घनमिटर र पीसीसी तर्फ ३३ सय घनमिटरको प्रशोधन केन्द्र निर्माण गर्न बाँकी रहेको जनाएको छ । आयोजना अन्तर्गतको सामाजिक उत्थान कार्यक्रम सन् २०१६ सम्ममा सम्पन्न गर्नुपर्ने समय पनि थप गर्दै २०१७ सम्म पुर्‍याएको छ ।

आयोजना भनेकै समयमा सम्पन्न गरी उपत्यकाबासीलाई पानी वितरण गर्न निर्माण व्यावसायीको कमजोर व्यवस्थापन र आयातित सामानको नियमित आयात हुन नसक्नु प्रमुख चुनौती रहेको भट्टराइले बताए ।

यसैगरी आयोजनाको काम सम्पन्न गर्न स्थानीय निर्माण सामाग्रीको आपूर्तिमा समस्या, निर्माण औजारको जगेडा व्यवस्था नहुने, कमजोर भौगोलिक पत्रहरु र अन्तरनिकाय बीचको समन्वय तथा सहयोगहरु पनि समस्या रहेको उनले समितिलाई जानकारी गराएका छन् ।

विभिन्न समस्या हुँदा हुँदै पनि आयोजनले २०७४ असारसम्म सुरुङ निर्माण सम्पन्न गर्दै असोजसम्ममा पानी वितरण गर्ने प्रतिवद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment