Comments Add Comment

मेलम्चीले मात्रै पुग्दैन, याङ्ग्री र लार्केको पानी पनि ल्याऊः विकास समिति

rabindra-adhikari-bikas-samiti
सोमबारको विकास समितिको बैठक । तस्वीर: रासस

८ कात्तिक, काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले मेलम्ची खानेपानी आयोजनाको कामलाई गति दिँदै आगामी असोजभित्रै काठमाडौंबासीलाई पानी खुवाउन निर्देशन दिएको छ ।

समितिले सोमबार मेलम्ची खानेपानी आयोजनाका प्रमुख घनश्याम भट्टराईलगायतलाई बोलाएर छलफल गरेको थियो । छलफलको क्रममा समिति सदस्यहरुले तोकिएको समयभन्दा एक दशक ढिला हुँदा पनि आयोजनाको निर्माण सम्पन्न नहुनु निकै बिडम्बनापूर्ण र दुःखदायी भएको बताए । काठमाडौं उपत्यकामा खानेपानीको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न प्राथमिकताका साथ अगाडि सारिएको आयोजनाको काम ढिलाई हुनु दुःखद रहेको उनीहरुको भनाइ थियो ।

छलफलमा सांसदहरु टोपबहादुर रायमाझी, गणेश पहाडी, रामकुमार भट्टराई लगायतले आयोजनाको काममा ढिलाई हुनुका कारण, खर्च, समस्या र ठेकेदारको काम लगायतका विषयमा केन्द्रित भएर आयोजना प्रमुख घनश्याम भट्टराईलाई प्रश्न गरेका थिए ।

सांसदहरुको प्रश्नको जवाफ दिँदै आयोजना प्रमुख भट्टराईले अहिले कामले गति लिन थालेकाले अब कुनै पनि बहानामा समय थप नगर्ने र आगामी २०७४ असोज महिनासम्म उपत्यकामा पहिलो चरणमा रिङरोड भित्रका घर-घरमा पानी वितरण हुने बताए ।

समितिका सभापति रविन्द्र अधिकारीले पटक-पटक समय थप गर्नुभन्दा छिटोभन्दा छिटो आयोजना निर्माण सम्पन्न गर्न निर्देशन दिए । २०७४ असोज महिनाभित्र जसरी भएपनि पानी वितरण गर्न नेपाल सरकार, खानेपानी तथा सरसफाई मन्त्रालय र मेलम्ची खानेपानी आयोजनालाई उनले सो निर्देशन दिएका हुन् ।

यसैगरी समयभित्रै आयोजना सम्पन्न गर्न व्यवस्थापन पक्ष, निर्माण औजार एवं दक्षजनशक्तिलाई कुशलतापूर्वक परिचालन गर्न, हेडवर्क्स निर्माण, सुरुङ निर्माण, पानी प्रशोधन केन्द्र निर्माण लगायतका कामलाई अझ तिब्रता दिन पनि समितिले निर्देशन दिएको छ ।

मेलम्ची खोलाको पानीबाट मात्रै काठमाडौं उपत्यकामा दिर्घकालसम्म पानीको आवश्यकता पूरा नहुने हुँदा याङ्ग्री र लार्के खोलाको पानी समेत ल्याउने कामको थालनी गर्न समितिले सरोकारवालालाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment