Comments Add Comment

‘डढेलोभित्रका सतिसाल’ को हङकङमा प्रिमियर

raamesh-samman-hk

०२० को दशकमा गठन भएको राल्फा समूहले नेपाली साहित्य र संगीतमा नयाँ तरंग ल्यायो । पञ्चायतकालीन अँध्यारो सडकमा त्यो समूह जनचेतना जगाउने अथक जूनकीरी थियो । साहित्यकार पारिजातसँगै मञ्जुल, रायन लगायतका कवि र कलाकारको त्यो समूहमा गायक/संगीतकार रामेश पनि थिए ।

उनै रामेशको साढे पाँच दशक लामो संगीत यात्रा र जीवनका विविध पक्षलाई फिल्मकर्मी प्रणय लिम्बू र पत्रकार डम्बरकृष्ण श्रेष्ठ (अनुशील)ले ‘डढेलोभित्रका सतिसाल’ नामक वृत्तचित्रमा उतारेका छन् । सार्थक जनसंगीत प्रतिष्ठान नेपालका लागि हङकङ हिमायतीले वृत्तचित्र निर्माण गरेको हो । कलाकार रामेशको उपस्थितिमा वृत्तचित्रको कात्तिक ७ गते हङकङको युनलङ थिएटरमा प्रिमियर शो गरियो ।

पहिलो प्रदर्शनपछि हङकङका दर्शकले वृत्तचित्र सांगीतिक विषयको भईकन ००७ सालदेखि ०७३ सम्मका राजनीतिक घटनाक्रम र परिवर्तनको चित्रणले अझ जीवन्त रहेको प्रतिक्रिया दिए ।

वृत्तचित्रले विगतदेखि गीत-संगीतको माध्यमबाट सामाजिक र राजनीतिक चेतना छर्न सक्रिय रामेश र उनी जस्तै सर्जकहरुको कलाकारी यात्राको चित्रण गरेको छ । उतिबेलाको बन्द समाजमा चेतनाको बिगुल फुक्ने राल्फा, संकल्प, आस्था परिवार र रामेशहरुको जीवन-संघर्ष र संगीतहरुलाई वृत्तचित्रमा उतार्ने क्रममा जनसंगीतका सर्जक तथा जानकारहरूको अनुभव समेत समेटिएको फिल्म निर्माण टोलीले जनाएको छ ।

therthum

रामेशका गाउँ गाउँबाट उठ, गरिबको चमेली, आऊ मिलाऊ हाम्रा हातहरू, एक जुगमा एक दिन, संघर्ष हो जीवन जस्ता सार्थक गीतहरू दिएका छन् । निकै चर्चित ‘बलिदान’ फिल्मका गायक-संगीतकार,पटकथा र संवाद लेखक समेत रहेका ७३ वर्षीय रामेशका जन संगीत,बाल संगीत तथा नारी जागरणका सयौं गीत जनमनमा छाएका छन् ।

फिल्मको प्रदर्शनीसँगै हङकङ हिमायतीका अध्यक्ष शिव सुब्बाले रामेश र फिल्मका निर्देशक डम्बरकृष्ण श्रेष्ठलाई सम्मान गरेका थिए । सो क्रममा रामेशले जनता नै देशको मालिक भएकाले देश बनाउन जनता अगाडि सर्नुपर्ने र भ्रष्ट नेताहरु विरुद्ध खबरदारी गरिरहनुपर्ने बताए । उनले हङकङवासीको प्रयासले जनताका लागि आफूले गरेको प्रयास डकुमेन्ट्री फिल्ममा लिपिबद्ध भएको भन्दै खुशी व्यक्त गरे ।

documentry-team

यस्तै, फिल्मका निर्देशक मध्येका श्रेष्ठले पार्टीहरु भूमिगत रहेको पञ्चायतकालमा जनचेतना जगाउन देशको कुनाकुनामा सांगीतिक यात्रामा हिँडेका रामेश-मञ्जुलहरुको कथा भोलिको पुस्ताले पनि बुझून् भनेर यो वृत्तचित्र बनाएको बताए । वृत्तचित्रको छायाङ्कन बाबुराम नेपालीले गरेका छन् भने सम्पादन सन्तोषी नेपालले गरेकी छिन् ।

वृत्तचित्र निर्माणमा महत्वपूर्ण भूमिका खेलेका हङकङका इन्द्र वनेमले यो वृत्तचित्रले  देश र जनताको लागि जीवन समर्पण गर्ने रामेश जस्ता सर्जकहरुलाई नयाँ पुस्तामा परिचित गराउने बताए ।

raamesh-documentry-pic_-1

हङकङ प्रिमियरपछि वृत्तचित्र नेपालका प्रमुख शहर र विदेशका साथै विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरुमा प्रदर्शन गरिने योजना छ । देश-विदेशमा हुने च्यारिटी शो र प्रदर्शनीबाट संकलित रकम सार्थक जनसंगीत प्रतिष्ठानको कोषमा जम्मा गरी संगीतको संरक्षण र प्रवर्द्धनमा खर्च गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment