Comments Add Comment

सभामुख भन्छिन्- महाअभियोग प्रस्ताव अघि बढाउन कुनै कसर बाँकी राख्दिनँ

सांसदहरुले विवेकपूर्ण निर्णय गर्ने विश्वास

८ कात्तिक, काठमाडौं । सभामुख ओनसरी घर्तीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा पेश भएको महाअभियोग प्रस्तावमा सांसदहरुले विवेकपूर्ण निर्णय गर्ने विश्वास व्यक्त गरेकी छन् । उनले प्रस्तावलाई अगाडि बढाउन आफूले कुनै कसर बाँकी नराख्ने पनि बताइन् ।

Onsari-Ghartiसोमबार संयुक्त विद्यार्थी आन्दोलन समितिका प्रतिनिधिहरुको ज्ञापनपत्र बुझ्दै सभामुख घर्तीले भनिन्, ‘जनताले निर्वाचित गरेका प्रतिनिधिहरुले जनताको आवाजलाई प्रतिनिधित्व गर्नेछन् र विवेक प्रयोग गर्नेछन् भन्ने विश्वास छ । मैले पनि कुनै कसर बाँकी नराखी प्रस्ताव अगाडि बढाउने छु ।’

सभामुख घर्तीले संसदले महाअभियोग प्रस्तावमाथिको छलफलको मिति तय गरिसकेकाले यसले निरन्तरता पाउने प्रष्ट पारिन् ।

महाअभियोग प्रस्तावमा राजनीतिक सहमति जुटाउन आफूले पहल गरिरहेको उनले जानकारी पनि दिइन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र निकट १३ विद्यार्थी संगठन आवद्ध संयुक्त विद्यार्थी आन्दोलन समितिले महाअभियोग प्रस्ताव संसदबाट छिटो पास गराउन दबावमुलक अभियान चलाउँदै आएको छ । बिभिन्न राजनीतिक दलका शीर्ष नेताहरुलाई भेटेर ज्ञापनपत्र बुझाउँदै आएका विद्यार्थीहरुले सोमबार सभामुखलाई भेटेका हुन् ।

मंगलबार प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेर ज्ञापनपत्र बुझाउने तयारी गरिएको अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment