Comments Add Comment

सांसदले पूरा गरिदिए अन्तिमपटक छोरोको अनुहार हेर्ने बाबुआमाको इच्छा

prem-aale
क्यान्सर पीडित अकमकी दिदीलाई सान्त्वना दिँदै सांसद प्रेमबहादुर आले

८ कात्तिक, काठमाडौं । अन्तिम पटक छोराको मुख हेर्ने बाबु आमाको चाहना पूरा गर्न नसकेर हार गुहार गर्दै हिँडेकी डोटीकी मनिषा बोहोराले अन्ततः आफ्नै जिल्लाका सांसदको साथ पाएकी छन् । क्यान्सरबाट अन्तिम अवस्थामा पुगेका ८ वर्षीय भाइ अकम बोहोरालाई डाक्टरले बाँच्ने आशा अन्त्य भएको भन्दै उपचार रोकेपछि एक्ली मनिषा रुँदै हिडेकी थिइन् ।

डोटीको निरौली गाविसमा रहेका बुबा बीरबहादुर र आमा भागिरथी बोहोराले छोराको अन्तिम पटक अनुहार हेर्ने भनेपछि उनी आपतमा परिन् । काठमाडौंबाट डोटीसम्म भाइलाई लैजान नसकेपछि उनले सार्वजनिक रुपमा हारगुहार गरेकी थिइन् ।

डोटी क्षेत्र नम्बर २ का सांसद प्रेमबहादुर आलेले मनिषाको गुहार थाहा पाएपछि आफ्नै खर्चमा एम्बुलेन्स खोजेर दिदी भाइ दुवैलाई डोटी जाने व्यवस्था मिलाइदिएका छन् ।

काठमाडौंबाट डोटीको विपीनगरसम्म जान एम्बुलेन्सले ६० हजार रुपैयाँ मागेपछि उपचारमा सबै पैसा सकिएकी मनिषा अवाक भएकी थिइन् । एम्बुलेन्स लगायत सबै खर्च सांसद आलेले व्यहोरेपछि भाइ निको नभए पनि बुबा आमाको इच्छा पूरा भएको भन्दै उनले खुसी व्यक्त गरिन् ।

क्यान्सरका कारण अकम बोहोराको फोक्सोले ९९ प्रतिशत काम गर्न छाडिसकेको मनमोहन कार्डियोथेरापिक मस्कुलर एण्ड ट्रान्स्प्लान्ट सेन्टरले जनाएको छ ।

८ वर्षका अकमको समयमै उपचार गराउन नपाएकोमा सांसद आलेले दुःख व्यक्त गरे । उनले जिल्लाका जनतालाई आपत पर्दा सघाउनु आफ्नो कर्तव्य भएको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment