Comments Add Comment

टेकुमा यसरी निकालिँदैछ फोहोरबाट बिजुली (फोटोकथा)

८, कात्तिक काठमाडौं । फोहोरबाट बिजुली ! यो कुरा सुन्दा सुरुमा धेरैले पत्याएनन् । पत्याउन पनि कसरी ? समयमा नउठाउँदा सडक छेउमै फोहोर थुप्रिने र नाक थुन्दै हिड्नु पर्ने अवस्था अझै अन्त्य भएको छैन ।  तर, काठमाडौं महानगरपालिकाको फोहोरबाट बिजुली निकालेर फोहोर त मोहोर रहेछ भन्ने प्रमाणित गर्दैछ ।

टेकुमा फोहोरबाट बिजुली निकाल्न अन्तिम तयारी भइरहेको छ । जहाँ काठमाडौंमा दैनिक जम्मा हुने ३ टन फोहोर खपतका लागि बायो मिथनाइजेशन प्लान्ट जडान गरेको छ । यसबाट मिथेन ग्यास उत्पादन भइसकेको छ र, यही ग्यासबाट बिजुली उत्पदन हुनेछ । यसका लागि टर्वाइन जडान भइसकेको छ । प्राविधिकले अन गरेपछि विजुली बल्छ ।

यो प्लाल्टबाट १४ देखि २० किलोवाटसम्म बिजुली निकल्ने महानगरपालिकाले जनाएको छ । आखिर कसरी निस्किन्छ त फोहोरबाट बिजुली ?

१.

biomethanation-plant-1

सुरुवातमा यो माथिको तस्वीरलाई हेर्नुस् । यो काठमाडौंको टेकुमा स्थापना गरिएको बायो-मिथनाइजेशन प्लान्टको एक भाग हो ।

यो प्लान्टमा कुहिने फाहोरमैला मात्रै हालिन्छ । महानगरपालिकाले दैनिक ३ टन कुहिने फोहोर छुट्याउँछ । त्यही फोहोरलाई सुरुमा यो स्ट्याण्डको भाँडोमा राखिन्छ ।

यसमा नकुहिने प्रकारका कुनै फोहारे छन् कि भनेर सुक्ष्म रुपमा हेरिन्छ । कुनै अजैविक फोहोर भए यसबाट झिकिन्छ । फिँजारेर हेर्दा फोहोर राम्रोसँग छुट्याउन सकिने भएकाले यो भागको प्रयोग गरिएको हो ।

२.

biomethanation-plant-2
तस्वीरमा निलो रंगको मेसिनलाई हेर्नुस् । यो ग्रान्डर अर्थात फोहोरलाई धुलो बनाउने मेसिन हो । छानिएको फोहोरलाई यही मेसिनमा राखेर धुलो बनाइन्छ । यो मेसिनले फोहोरलाई स-सना टुक्रामा परिणत गर्छ । टुक्रा बनाइएको फोहोरलाई भाँडोमा थापिन्छ । र, प्लान्टमा हाल्न लगिन्छ । प्लान्टमा मानवीय जनशक्ति खटेर गर्नुपर्ने काम यही मात्रै हो ।

३.

biomethanation-plant-3तस्वीरमा देखिएको ट्यांकी जस्तो देखिने भाग भने फोहोरको इन्ट्री पोइन्ट हो । यही भागबाट टुक्राइएको फोहोरलाई कुहाउन प्रयोग हुने मेसिन -डाइजेष्टर) मा पठाइन्छ । फाहोर राख्दा यसमा आवश्यक मात्रामा पानी पनि हालिन्छ । फोहोरलाई कुहाउन पानीले सहयोग पुर्‍याउँछ । यही मेसिनमा टुक्रा फोहोर र पानीलाई घोलिन्छ । यसबाट डाइजेष्टरमा फोहोर पठाइन्छ ।

४.

biomethanation-plant-4

यी दुई हरिया रंगको ट्यांकी जस्तो देखिने भाग भने डाइजेष्टर हुन् । यसमा नै पानीमा घोलर पठाइएको टुक्राइएको फोहोर जम्मा हुन्छ ।

मेसिनमार्फत नै आवश्यक ताप दिएर फोहोरलाई यसैमा राखेर कुहाइन्छ । पहिलो डाइजेष्टरमा इन्ट्री हुने फोहोर एक ठूलो पाइप हुँदै दोस्रो डाइजेष्टरसम्म पुग्छ ।

त्यतिबेलासम्म त्यो फोहोर कुहिसक्छ र त्यसले मिथेन ग्यास उत्पादन सुरु हुन्छ । यी दुई डाइजेष्टर नै प्लान्टको मुख्य भाग हो । डाइजेष्टरमै फोहोरबाट मिथेन ग्यास ग्यास तयार हुन्छ ।

५.

biomethanation-plant-5
अब यो भागलाई हेर्नुस् । तस्वीरमा देखिने पहेँलो रंगका पाइपहरु ग्यासपाइप हुन् । डाइजेष्टरमा फोहोर कुहिएर बनेको ग्यास यही पाइप हुँदै ल्याइएको छ । यो पाइपलाई घरभित्र सुरक्षित गरिएको कालो रंगको ग्यास बेलुनमा जोडिएको छ ।

पाइपबाट आउने ग्यास यही बेलुनमा भरिन्छ । बेलुन ग्यासको भण्डार हो । दैनिक रुपमा डाइजेष्टरबाट बन्ने मिथेन ग्यास यही बेलुनसम्म पाइपबाट आउँछ । यो भरिएपछि पुरै फुल्छ । बेलुनका लागि एउटा पाइपबाट ग्यासभित्र पठाइएको छ भने एउटा पाइपबाट बाहिर पनि लगिएको छ ।

६.

biomethanation-plant-6
यो बिजुली उत्पादन गर्ने टर्वाइन हो । यसलाई तस्वीर नम्बर ५ मा देखिएको बेलुनमा जम्मा भएको मिथेन ग्यासले चलाउँछ । यही टर्वाइन चलेपछि बिजुली उत्पादन हुन्छ ।

यो जेनेरटरबाट दैनिक १४ देखि २० किलोवाट बिजुली निकाल्ने अनुमान गरिएको छ । भारतबाट आएर प्राविधिकले यो जेनेरटर जोडेर चलाउन भने बाँकी छ । यो सञ्चालन हुनासाथ टेकुमा फोहोरबाट बिजुली उत्पादन औपचारिक रुपमा सुरु हुनेछ ।

७.

biomethanation-plant-7
अब प्लान्टको यो भागलाई समेत हेर्नुस् । यहाँ प्लान्टमा ग्यास उत्पादन भएपछिको फोहोर जम्मा हुन्छ । दैनिक रुपमा ३ टन फोहोर प्लान्टमा राख्दा त्यति नै परिमाणमा योबाट जैविक मल निस्किन्छ । योबाट निस्कने फोहोर खेतबारीमा प्रयोग गर्न मिल्ने मलका रुपमा बाहिरिन्छ । प्लान्टमा राखिएको पानी पनि यही भागबाट बाहिर निस्कन्छ ।

र त्यो पानी रि-टि्रटमेन्ट भएर फेरि प्लान्टमा पुनः प्रयोग गर्न योग्य बन्छ । यसबाट निस्कने पानी खेर पनि जाँदैन । फोहोर पनि अति उर्बरशक्ति भएको जैविक मलका रुपमा बाहिर निस्कन्छ ।

८.

biomethanation-plant-8
यो सेतो रंगको ठड्याइएको स्ट्याण्ड भने ग्यास रिलिज गर्ने साधन हो । बेलुनमा आवश्यकभन्दा बढी ग्यास भरियो भने यो मेसिनले ग्यासको चाप मापन गरेर ग्यासलाई बाहिर पठाउँछ ।

पहेँलो रंगको पाइप हुँदै बढी भएको ग्याँस बेलुनबाट बाहिर आउँछ । यो भागले बेलुनलाई सुरक्षित राख्न मद्धत गर्छ । यो फोटोको दाहिने पट्टी भवनको भित्तामा जोडिएको लाइट यही प्लान्टबाट निस्कने बजिुलीबाटै बालिनेछ ।

९.

biomethanation-plant-9तस्वीरमा देखिएको भवन ग्यास बेलुन राख्ने घर हो । असुरक्षा र आगलागीको जोखिमका कारण यही भवनभित्र प्लान्टको संवदनशील भागहरुलाई सुरक्षित गरिएको छ ।

यसबाट उत्पादन हुने बिजुली यही प्लान्ट सञ्चालन गर्न र महानगरको टेकुस्थित कार्यालयमा उपयोग गर्ने योजना छ । यसका लागि तयारी थालिसकिएको छ । परियोजनाका लागि कुल १ करोड ८२ लाख रुपैयाँ खर्च गरिएको छ । यसमा युरोपियन युनियनको ८० प्रतिशत लगानी छ । बाँकी रकम महानगरपालिकाले खर्चिएको छ ।

बिजुली निकाल्ने फोहोरका लागि महानगरका तोकिएका वडामा सर्वसाधरणको घरमै जैविक फोहर बर्गीकरण गर्न लागिएको छ । त्यही फोहर बिजुली प्लान्टमा प्रयोग गरिनेछ ।  राजधानीमा दैनिक जम्मा हुने फोहोरमध्ये झण्डै ६५ देखि ७० प्रतिशत कुहिने खालका हुन्छन् ।

१०.

biomethanation-plant-10
यो प्लान्टको ‘ओभर भ्यु’ तस्वीर हो । योसँगैको भवनभित्र ग्यास बेलुन राखिएको छ । प्लान्टका अरु भाग खुलास्थानमा छन् । यो प्लान्ट निकै ठूलो नभएपनि फोहोरबाट बिजुली निकल्न सम्भव छ भन्ने सन्देश दिन सफल हुने महानगरपामलिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिहं तामाङ बताउँछन् ।

प्लान्ट स्थापनापछि यस्तै विषयमा अध्ययन तथा अवलोकनका लागि भारत नै जानुपर्ने अनुसन्धानकर्ता र विद्यार्थीको बाध्यता पनि हट्ने उनले बताए ।

फोटोः श्रीधर पौडेल

यो पनि पढ्नुहोस्ः

पाइपलाइनबाटै ग्यास बल्यो ! अब सिलिण्डरको के काम ? (भिडियोसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment