Comments Add Comment

भारतीय राष्ट्रपति फर्किएलगत्तै देउवाको दिल्ली भ्रमण

देउवाले दिल्ली र गोवामा भारतीय उच्च नेतृत्वसँग भेट्ने

Sher-Bahadur-Deuba
९ कात्तिक, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले गोवामा आयोजना हुने एक सेमिनारमा भाग लिन जाने क्रममा दिल्लीमा उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन् ।

देउवा कात्तिक १९ र २० गते गोवामा इण्डिया फाउण्डेशनले आयोजना गर्न लागेको एक अन्तर्राष्ट्रिय सेमिनारमा भाग लिन १९ गते दिल्ली जाने तय भएको उनका स्वकीय सचिव भानु देउवाले बताए ।

देउवाले भारतका प्रधानमन्त्री सहितका नेताहरुसँग दिल्लीमा भेट गर्ने कार्यक्रम भने तय भइनसकेको उनले बताए । ‘सेमिनारमा भारतका नेताहरुसँग भेट हुन्छ तर दिल्लीमा क-कसलाई भेट्ने भन्ने तय भएको छैन,’ उनले भने ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जी कात्तिक १७ गते नेपाल भ्रमणमा आउने कार्यक्रम छ । मुखर्जी फर्किएकै दिन देउवा दिल्ली जान लागेका हुन् ।

अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध महाअभियोग प्रस्तावमा कांग्रेस अनिणिर्त भएका बेला देउवाको दिल्ली भ्रमण तय भएको हो । कांग्रेस केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरले तत्काल केन्द्रीय कार्य समितिले महाअभियोगको पक्ष वा विपक्षमा रहने निर्णय लिने सम्भावना नरहेको बताए ।

उनले भने, ‘सभापति जी दिल्ली जाने कुरा मैले पनि सुनेको छु । जहाँसम्म महाअभियोगको बारेमा छ, संसदीय दलले पनि निर्णय गर्न सक्छ । अहिले नै हतार गर्नु परेको छैन ।’

भारतीय उच्च नेतृत्वको चाहनामा देउवाको भ्रमण हुन लागेको स्रोतले जनाएको छ । नेपालको संविधान संशोधनमा चासो दिएको भारतले देउवालाई आमन्त्रण गर्नु अर्थपूर्ण छ ।

प्रधानमन्त्री प्रचण्डले तिहार र छठपछि संविधान संशोधनको प्रस्ताव संसदमा आउने बताएलगत्तै देउवाको दिल्ली भ्रमण हुँदैछ । लोकमान प्रकरणमा समेत देउवा फर्किएपछिमात्रै कांग्रेसले आफ्नो धारणा तय गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment