Comments Add Comment

महाअभियोग प्रस्तावबाट केपी ओलीको हस्ताक्षर गायव !

क-कसले गरे हस्ताक्षर ? हेर्नुहोस् पूर्ण विवरण

kp-oli-signature
एमाले अध्यक्ष केपी शर्मा ओली । फाइल तस्वीर

९ कात्तिक, काठमाडौं । अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोगको प्रस्तावमा एमाले अध्यक्ष केपी ओलीले समेत हस्ताक्षर गरेका थिए । तर, प्रस्ताव दर्ता गर्ने बेलामा ओलीको हस्ताक्षर हटाइयो । आखिरमा ओलीको हस्ताक्षर किन हटाइयो ?

संसदमा दर्ता भएको प्रस्तावमा हस्ताक्षरकर्ता एमाले सांसदहरुको सूची २ नम्बरबाट सुरु भएको छ । २ नम्बरमा झलनाथ खनालको हस्ताक्षर छ भने ३ र ४ नम्बरमा क्रमशः माधव नेपाल र सुवासचन्द्र नेम्वाङले हस्ताक्षर गरेका छन् । सूचीमा पहिलो नम्बरमा हस्ताक्षर गरिसकेका ओलीको नाम छोपेर फोटोकपी गरिएको छ ।

हेर्नुहोस् फोटोकपी

mahaaviyog-signature

संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको पूर्व विवरण अनलाइनखबरले पाएको छ । जसमा एमालेको तर्फबाट पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, माधवकुमार नेपाल, पूर्व सभामुख सुवास नेम्वाङका साथै अमृतकुमार बोहोरा, भीम रावल, सत्यनारायण मण्डल, अग्नि खरेल, शेरधन राई, पार्वत गुरुङसमेतको हस्ताक्षर छ ।

महाअभियोग प्रस्तावमा एमाले अध्यक्ष ओलीको हस्ताक्षर हटाइए पनि महाअभियोग दर्ता प्रक्रियामा उनको भूमिका निर्णायक नै रहेको एमाले र माओवादी नेताहरुले बताएका छन् ।

ओलीको हस्ताक्षर किन हटाइयो ?

संसदमा महाअभियोग प्रस्ताव दर्ता गर्नुअघि एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । प्रधानमन्त्री प्रचण्डले संसदलाई सम्बोधन गर्नुअघि सभामुखको कार्यकक्षमा दुई नेताबीच गोप्य छलफल भएको थियो ।

त्यस छलफलमा लोकमानलाई महाअभियोग लगाउन दुबै नेता सहमत देखिएका थिए । तर, प्रचण्डले आफ्नो सत्ता साझेदार कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि कुरा गर्नुपर्छ भने । त्यसपछि प्रचण्डले संसदलाई सम्बोधन गरेलगतै फेरि तीन नेताबीच संसद भवनकै शंकर हलमा छलफल अर्को छलफल भयो ।

त्यो छलफलमा तीनैजना नेताहरु लोकमानलाई महाअभियोग लगाएर हटाउन सहमत भए । तर, देउवाले यसबारे पार्टीमा छलफल गर्नुपर्ने बताए ।

स्रोतहरुले बताए अनुसार प्रचण्ड र देउवासँग छलफल गर्दै गर्दा एमाले अध्यक्ष ओली केही रिजर्व बसेका थिए । उनले आजै अभियोग दर्ता हुँदैछ भनेनन् । तर, लोकमानलाई हटाउन देउवा र प्रचण्डलाई उनले सैद्धान्तिकरुपमा सहमत गराए । त्यसबेला ओलीले महाअभियोग प्रस्तावका लागि हस्ताक्षर गरिसकेका थिए ।

तर, जब देउवाले पार्टीमा छलफल गर्नुपर्छ भन्दै हस्ताक्षर गर्न मानेनन्, एमालेका केही नेताहरुले ओलीलाई आफ्नो हस्ताक्षरबारे पुनर्विचार गर्न सुझाए ।

प्रचण्ड र देउवाको हस्ताक्षर नभएकाले ओलीको पनि नराखौं भन्ने सल्लाह पार्टीका शीर्षनेताहरुबाटै आएपछि हटाइएको हो, एमाले उच्च स्रोतले भन्यो, तर, महाअभियोग प्रस्तावप्रति ओली प्रतिवद्ध हुनुहुन्छ ।

स्रोतहरुका अनुसार त्यही छलफलपछि नै पहिलो नम्बरमा रहेको ओलीको हस्ताक्षरलाई हटाइएको हो । संसदमा दर्ता भएको महाअभियोग प्रस्तावसँगै संलग्न एमाले सांसदहरुको हस्ताक्षरको पन्नामा त्यही भएर १ नम्बर उल्लेख नभएको हो ।

महाअभियोगमा माओवादीका ४० सांसदले हस्ताक्षर गरे पनि उसले सुरुमा यसको स्वामित्व लिन निकै धर्मरायो । अहिले आएर माओवादीसमेत महाअभियोगमा दृढ देखिएको छ । नेपाली कांग्रेसले अझै निर्णय गर्न सकेको छैन । लोकमानबारे कांग्रेसमा छलफल लम्बिएको छ ।

तर, नेकपा एमाले भने महाअभियोग प्रस्तावको पक्षमा निकै दृढ देखिएको छ । र, उसको सिंगो नेतृत्व पंक्ति नै यो प्रस्ताव पारित गराउन लागिपरेको छ । महाअभियोग प्रस्तावमा एमालेका ११७ सांसदले हस्ताक्षर गरेका छन् ।

हेर्नुहोस् महाअभियोगको प्रस्ताव र हस्ताक्षरको पूर्णसूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment