Comments Add Comment

सडकको दुरावस्थाबारे सांसदले उठाए आवाज

विभाग भन्छः जनशक्ति पुगेन

Bikash-Samiti
फाइल फोटो

९ कात्तिक, काठमाडौ । राजधानीको सडकको दुरावस्थाबारे मंगलबार सांसदहरुले आवाज उठाएका छन् । संसदको विकास समितिले भौतिक पूर्वाधार मन्त्रालयमा सचिव र सडक विभागका निर्देशकलाई सडकको दुरावस्थाबारे छलफल गर्न आमन्त्रण गरेको थियो ।

छलफलमा भाग लिदै सांसद रामकुमार भट्टराईले भने, ‘राजधानीकै सडकमा गाडी गुड्दा गुड्दै खाल्डोमा डुबेर हराउने स्थिती आएको छ, यो खाडल कस्ले पुरिदिने ?’

सँगै रहेका सडक विभागका निर्देशक देवेन्द्र कार्कीतर्फ र्फकदै उनले भने, ‘अब त्यो खाल्डोबारे पनि कुनै बहाना छ की ?’

त्यसअघि कार्कीले सडकको दुराअवस्थाबारे समितिलाई जानकारी गराउँदै भनेका थिए, ‘सडक निर्माणमा प्रयोग हुने आयात सामग्री निकै कमसल छन्, चाहिने जनशक्ति छैनन् र ढुंगा, गिट्टी, बालुवाको सहजता छैन ।’

अर्का सांसद मोहन बानियाले सडकको अवस्था लाजमर्दो भएको बताए । उनले कर्णाली लोकमार्ग र कर्णाली करिडोरको बाटो कम्तिमा पनि दुई लेनको हुनुपर्ने धारणा राखे ।

अहिले सिंगल लेनको मात्र सडक हुँदा कर्णाली लोकमार्ग ‘कर्णाली कालमार्ग’मा परिणत भएको भन्दै उनले समितिको ध्यानाकर्षण गराए । अर्का सांसद जनार्दन ढकालले सडक विभागले भएका जनशक्तिले गर्न सक्ने काम पनि राम्रोसँग नगरेको भन्दै आलोचना गरेका थिए ।

विभाग भन्छः जनशक्ति पुगेन

सडक विभागले एउटा आयोजनामा २/३ जना मात्र इञ्जिनियर राखेर काम गराउनु परेको भन्दै समिति समक्ष गुनासो पोखेको छ । विभागका महानिर्देशक कार्कीले भने

‘हामीसँग २०५० सालको दरबन्दी अनुसारको जनशक्ति छ, त्यो जनशक्तिले आजको दिनमा पुग्दैन ।’

विदेशबाट आयात हुने सडक निर्माण सामग्री पनि निकै कच्चा हुने भन्दै त्यसको गुणस्तर जाँच हुनुपर्ने उनले बताए । कार्कीले देशभरको सडक निर्माणको अवस्थाबारे जानकारी समेत गराएका थिए । निर्माण भएका सडकको गुणस्तरबारे उनले भने, सस्तो, राम्रो र बलियो एक अर्कामा तालमेल हुने कुरा होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment