Comments Add Comment

मेरो गीतले नवविवाहित वीरेन्द्र-ऐश्वर्य लाजले पानी-पानी हुँदा …

कुमार बस्नेत

kumar-basnet-_810

हामी जनताको लागि गीत गाउँदै आएका कलाकार हौं । तर, राजतन्त्रको समयमा अवस्था त्यस्तै थियो । कलाकारको रुपमा इज्जत गरेपछि भनेको कुरा मान्नैपर्‍यो । एउटा कलाकार उतिबेलाको कलाप्रेमी राजपरिवारको समीपमा रहँदाका केही प्रसंग अविष्मरणीय छन् ।

०२६ सालतिरको कुरा हो, युवराज वीरेन्द्र र ऐश्वर्यको भर्खर बिहे भएको थियो । जर्नेल मोहनविक्रम शाहले ज्ञानेश्वरस्थित आफ्नो निवासमा नवदम्पतीको लागि रात्रिभोज राखेका थिए । मोहनविक्रमका छोराहरुले मलाई राम्रोसँग चिन्थे । त्यहाँ मलाई पनि डाकिएको थियो । बोलाएपछि नाइँ भन्न सकिएन र गइयो ।

तिनताका ‘लप्सीको गेंडो चुसेर’ बोलको मेरो गीत सुपरहिट थियो । पार्टीमा अधिकांश भीआईपीहरुको जमघट थियो । ठूलाबडाहरु टन्न भएको ठाउँमा मैले केही बोल्ने अवस्थै थिएन । तर, म चेपुवामा परेँ । पार्टीको रमाइलोमा झुम्दै गएका भीआईपी पाहुनाहरुले मलाई गीत गाउन लगाए । कुन गीत भने, त्यही ‘लप्सीको गेंडो चुसेर’ । गीत गाउनु भनेपछि बाध्यतामा परेर गाउनुपर्‍यो । मैले गाएँ –

लप्सीको गेंडो चुसेर
ज्यामिर निबुवा साँदेर
चटचट जिब्रो चड्काउँदै
घाममा सुतेर बिताउने
के रोग लाग्यो केटीलाई यस्तो
अमिलो मात्रै रुचाउने

नयाँ दुलहा-दुलहीलाई चाँडै बच्चा पाऊ भन्ने आशयले जिस्काउँदै भीआईपी पाहुनाहरुले मलाई त्यो गीत गाउन लगाएका थिए । गीत नै त्यस्तो थियो । उनीहरुले मलाई जिस्काउने माध्यम बनाएका थिए । मैले आफूले जिस्काउने त हैसियत नै थिएन ।

उनीहरुले बारम्बार त्यही गीत गाउन लगाए । टेप रेकर्डर जस्तै घोटिएको घोटियै एउटै गीत गाइरहेँ । गाउँदा-गाउँदा आठ-नौ पटकसम्म गाएँ त्यो गीत ।

सामुन्नेमा युवराज वीरेन्द्र र ऐश्वर्य लाजले पानी-पानी भइसकेका थिए । दुवैको टाउको घोप्टो परेको थियो । भर्खर बिहे भएका जोडी न परे ! म चाहिँ गाएको गायै । पाहुनाहरुले नाच्दै रमाइलो गरे ।

सात-आठ पल्ट त्यही गीत गाएर थकित भएर एउटा कुनामा पसेँ ।

रानी ऐश्वर्यसँग दोहोरी

वीरेन्द्र निकै कलाप्रेमी थिए । कलाकारलाई इज्जत र सम्मान दिन्थे । सुर्खेतको एउटा घटना पनि यादगार छ ।

birendra-family

दैलेखबाट हिउँ र पानीले पिटिएर म सुर्खेत पुगेको थिएँ । ०३२ सालतिरको कुरा हो । त्यतिबेला वीरेन्द्रको राज्याभिषेक भइसकेको थियो । राजा-रानी दुवै सुर्खेत आएका रहेछन् । शुक्रबारको दिन थियो, आर्मी क्याम्पमा आउनू भन्ने खबर आयो ।

मेरो लुगा चिसै थियो । त्यही हालतमा म गएँ । हिउँको चिसोले दाँत किटकिट बज्दै थियो । त्यहाँ त पार्टी चल्दै रहेछ ।

म मदिरा त खान्थेँ । तर, राजाको अगाडि रक्सी खाने कुरा पनि भएन । राजाले भने ‘कुमार, ल गीत गाऊ ।’

म गीत गाउन थालेँ । त्यस क्रममा ‘काठमाडौंकी नेवार्नी’ भन्ने गीत के गाएको थिएँ, राजा-रानी दुवै नाच्न थाले । मैले गीत गाउँदा राजा-रानी त्यसरी नाच्नु भनेको मेरो लागि त गौरवको कुरा भयो । हाम्रो लोकगीत उठाएका हुन् वीरेन्द्रले । जहाँसम्म लाग्छ, वीरेन्द्र रहँदासम्म पछिसम्म पनि राजदरबारमा लोकगीत नै बढी चल्यो ।

सुर्खेतको क्याम्पमा त्यतिबेला गणेश रसिक, नवीन किशोर राई र झलकमानको भाइ पर्ने लालबहादुर गन्धर्व लगायत अरु कलाकार पनि थिए । नाचगानको सिलसिला चल्दै जाँदा लालबहादुरले रानी ऐश्वर्यसँग दोहोरी गाए –

रानीलाई गीतको माध्यमबाट भए पनि तिमीलाई फकाएर लान्छु कसरी भन्नु ? त्यसमाथि राजा वीरेन्द्र पनि सँगै थिए

रेलमुनिको घुमाउने साँचो
तिमी भनी खोजेर म आ’को ।

हामी त डरले खङ्ग्रङ्ग भयौं । रानीसँग दोहोरी गाउने हिम्मतै गरेनौं । हामी पछि सर्‍यौं । रानीलाई गीतको माध्यमबाट भए पनि तिमीलाई फकाएर लान्छु कसरी भन्नु ? त्यसमाथि राजा वीरेन्द्र पनि सँगै थिए ।

गणेश रसिकले लालबहादुरलाई अघि सारिदिए । उनले चाहिँ गाउँको दोहोरी जस्तै झुमेर गाए रानीसँग । तिमीलाई लान्छु भनेर दोहोरी गाएपछि त्यही अनुसार जवाफ त दिनैपर्‍यो । ऐश्वर्यले पनि गाइन् । लालबहादुरले गाए अनि नाचे पनि । नाचगान कार्यक्रम रातैभरि चल्यो ।

राजा वीरेन्द्रले भोलिपल्ट बिहान पाँच बजेतिर मलाई बोलाए ।
सोधे, ‘कुमार, यो लालबहादुरले गजब गर्‍यो । के गरुँ भन ?’

मैले भनेँ, ‘सरकार, गरिबको छोरो हो । दिइबक्सियोस् जे छ । सरकारलाई जे दिन इच्छा लाग्छ ।’

मैले गर्न सक्ने सिफारिश थियो, गरिदिएँ । राजाले टक्रक्क २५ हजार रुपैयाँ नगद लालबहादुरलाई दिए ।

भोज खान जाँदा थप्पड खाइयो

जीवन मीठो-तीतो सबै कुराको संयोग हो । एउटा त्यस्तै तीतो प्रसंग छ, भोज खान गएको ठाउँमा थप्पड खानुपर्‍यो ।

राजा महेन्द्र सम्धी केन्द्र शमशेरको घर लाजिम्पाटमा भोजमा गएका रहेछन् । सुरज शमशेरको छोराको पास्नी थियो । म सुरजको साथी भएकोले निम्तो गरिएको थियो । उनी आर्मीमा लप्टन थिए । पास्नीमा म आफ्नो गच्छे अनुसार खाममा नगद बोकेर गएको थिएँ ।

kumar-basnet-singer-6त्यहाँ नातिकाजी, तारादेवी, शिवशंकर लगायत गीत गाउन टन्नै कलाकार आएका थिए । म चाहिँ साथीको नाताले गएको थिएँ । म एउटा कुनामा दरबारका आसेपासे मान्छेहरुसँग बसेर खाइरहेको थिएँ । कहाँबाट महेन्द्रले देखेछन् मलाई । पुलुक्क मलाई हेर्दै को हँ त्यहाँ भनेर बोलाए । कसैले यहाँ त कुमार बस्नेत पनि छ भन्यो । राजाले मलाई बोलाए ।

सामुन्नेमा पुगेपछि महेन्द्रले भने, ‘तिम्रो नयाँ गीत नसुनेको धेरै भो । गीत सुनाऊ त ।’

एकपछि अर्को गीत खुइँखुइँ गाउँदै गएँ । ५/६ वटा गीत सुनाएँ ।

खानपान कार्यक्रम सकिइसकेको थियो । गीत सुनिसकेपछि राजा उठेर नारायणहिटी फर्कने तर्खरमा थिए । त्यहाँ अरु कलाकारहरु र बजाउने टोली पनि थियो । तर, महेन्द्रले मतिर आएर सोधे, ‘ओ कुमार, केही भन्नु छ ?’

मैले हात जोड्दै भनेँ, ‘सरकार, ठीकै छ । म पछि बिन्ती चढाउँछु ।’

राजाले फेरि सोधे, ‘होइन, केही भन्नु छ भने भन ।’

राजा खुसी भएर केही माग्छौ भने माग भनेका रहेछन् । तर, मैले फेरि ‘ठीक छ सरकार’ मात्र भनेँ ।

त्यो बेलाको जमाना नै त्यस्तो थियो । फ्याट्ट कसैले आफूसँग घर छैन, जग्गा-जमिन छैन, मोटर छैन सरकार भनेको भए दिन्थे होलान् । त्यसमाथि मलाई त राजा आफैंले सोधेका थिए ।

त्यसै क्रममा रत्न पनि राजा नजिक आइन् । राजाले रत्नलाई भने, ‘बुझ्यौं रत्न, कुमारलाई केही पनि भन्नु छैन रे ।’
त्यति भनेर राजा सरासर बाहिरतिर निस्किए । पछाडिबाट मलाई कसैले चिटिक्क चिमोट्यो । पछाडि केन्द्र शमशेर रहेछन् । मैले सोचेँ, केही नभन् भन्ने आशयले चिमोटेका हुन् ।

राजा जाँदाजाँदै केन्द्र शमशेरले मलाई भने, ‘तिमी नजाऊ है, एकछिन बस ।’

यति भनेर उनी पनि राजाको सवारी चलाउन बाहिर निस्किए । म एक छेउमा चुपो लागेर बसिरहेँ ।
केहीबेरमा केन्द्र शमशेर ‘कुमार खै’ भन्दै आए ।
भनेँ, ‘जर्साब, म यहाँ छु’ ।

उनी सरासर आएर मलाई एक झापड लगाए । फेरि अर्को गालामा दोस्रो चड्कन लगाए ।

म त आकाशबाट तारा खसे झैं रन्थनिएँ । म एकदम हेन्सम थिएँ, ठाँटिएरै गएको थिएँ पार्टीमा । कुटाइ खाएपछि त खिस्रिक्क परेँ ।

kumar-basnet-singer-455उनले मेरो झाँको झार्दै भने, ‘तेरो बाउ-बाजे सबैलाई चिन्छु । सरकार, मलाई घर भएन भनेर राजासँग माग्न सकिनस् ? सरकार, मलाई जग्गा चाहियो भनेर माग्न सकिनस् ?’

दुई झापड र त्यति खप्की खाएपछि म घर आएँ । चार दिनसम्म मलाई रिँगटा लाग्यो ।

राजाले मलाई ‘केही भन्नु छ ?’ भनेर सोधिरहँदा केन्द्र शमशेरले ‘भन् न भन्’ भन्ने हिसाबले चिमोटेका रहेछन् । तर, मैले चाहिँ त्यतिबेला केही नभन् भनेको होला भन्ठानेँ ।

आज पनि नेपाली जनतामा गीत गाए वापत राजाले कुमार बस्नेतलाई घर र जग्गा दिए भनेर अफवाह फैलाइएको छ । यो झुटो कुरा हो । मलाई एक पैसा दिएको छैन । नेपालमा जे पनि हावा फैलाइन्छ ।

मलाई नबुझेर मान्छेहरुले अनेकथरी भन्छन् । कतिपयले मलाई लोकगीतका सम्राट् भन्छन् । कतिपयले गाइने पनि भन्लान् । म पनि आफूलाई गाइने भन्छु । मान्छेहरुले जुन रुपमा सम्बोधन गरे पनि त्यसलाई सम्मानको रुपमा लिएको छु ।

हाम्रो भावना कतिसम्म बिग्रेको छ भने, गाइने भनेपछि उसले खुम्चिएरै तल्लो तहको जीवन जिउनुपर्छ भन्ने सोचाइ छ । गाइने भन्ने बित्तिकै सडकमा बसेर वा मुग्लिनको बसमा सारंगी बजाउनुपर्छ भन्ने केही छैन । गाइनेका छोरा पनि डाक्टर, इञ्जिनियर हुन सक्छन् । तर, हामी त्यस्तो माथिल्लो कोटिमा सोच्न सक्दैनौं ।

आज मेरा छोराछोरी लेखपढ नगरेको भए, केही नबनेको भए घरमा पाहुनाहरुलाई सोफाको ठाउँमा गुन्द्रीमा स्वागत गर्थेँ होला ।

(कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment