Comments Add Comment

संसद बैठक दुई साता स्थगित हुनु संयोग कि नियोजित ?

दलहरुले चाहेका भए छलफल छोट्याएर सिफारिस समितिमा पठाउन सक्थे

mahendra-bahadur-shahi-in-parliament

१० कात्तिक, काठमाडौं । अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्धको अविश्वास प्रस्तावमाथि छलफल शुरु भएकै दिन व्यवस्थापिका संसदको बैठक दुई सातालाई स्थगित गरिएपछि विभिन्न आशंका व्यक्त हुन थालेका छन् ।

सभामुख ओनसरी घर्ती र दलका प्रमुख सचेतकहरुले भने संसद बैठक दुई साता पर धकेलिनुलाई चाडपर्वको कारण भनेका छन् ।

तर, तिहार शुरु हुनुभन्दा तीन दिनअघि नै संसद बैठक स्थगित गर्नुपर्ने कारण भने उनीहरुले चित्त बुझ्दो दिएका छैनन् ।

महाअभियोग सिफारिस समितिमा प्रस्ताव पठाएर संसद स्थगित गरेको भए समितिले काम पनि पाउने र जनतामा पनि राम्रो सन्देश जाने अवसर गुमेको समितिका सदस्य रेवतीरमण भण्डारीले बताए ।

सभामुख निकट स्रोतले भने प्रस्तावमाथि बोल्ने सांसदहरुको संख्या धरै भएको र १२ गतेसम्म छलफल नसकिने अवस्था देखिएकाले दलका प्रमुख सचेतकहरुको सुझाव अनुसार नै संसद २५ गतेसम्मलाई स्थगित गरिएको जनाएको छ ।

संसद बैठक तिहार र छठसम्मलाई स्थगित गर्ने प्रस्ताव मंगलवार प्रमुख सचेतकहरुको बैठकमा राप्रपा नेपालका दिलनाथ गिरीले राखेका थिए । उनको प्रस्तावलाई कांग्रेसका चीनकाजी श्रेष्ठ र एमालेका भानुभक्त ढकालले पनि स्वीकार गरे ।

गिरीले भने आफूले १२ गतेभित्र छलफल टुंग्याउन प्रस्ताव राखेको बताए । उनले भने-१२ गतेसम्म छलफल टुंगिन सक्दैन भने बैठक छठसम्म रोकौं भनेको हुँ । तर, ठूला दलका ठूला नेताको स्वार्थ मिलेको भए मलाई थाहा भएन ।’

कांग्रेस सभापति शेरवहादुर देउवा कात्तिक १९ गते भारत भ्रमणमा जादैछन् । देउवा फर्किएर आएपछिमात्र संसद बैठक बस्ने मिति तय हुनु चाहिँ संयोगमात्र रहेको सभामुख निकट स्रोतले बताएको छ । यद्यपि संसद केही समय स्थगित होस भन्ने आग्रह कांग्रेसले सभामुख समक्ष गरेको स्रोतले जनाएको छ ।

दलहरुले चाहेका भए प्रस्तावमाथि छलफल छोट्याउन सक्थे । केही सांसदले दलीय आधारमा बोलेपछि सो प्रक्रिया छोट्याएर प्रस्ताव महाअभियोग सिफारिस समितिमा पठाउन सकिन्थ्यो । तर, उनीहरुले पनि चाहेका देखिएन ।

एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले बैठक धकेलिनुमा अन्यथा कारण नरहेको प्रतिक्रिया दिए । चाडबाडका कारण पर सारौं भन्ने गिरीको प्रस्तावलाई आफूहरुले स्वीकार गरेको उनले बताए ।

कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले पनि दुई दिनमा छलफल नसकिने र सांसदहरु जिल्ला जिल्ला जानु पर्ने भएकाले बैठक स्थगित गरेको बताए । उनका अनुसार छठपछि २४ गते बैठक राख्ने प्रस्ताव आएको थियो । तर, गणेशमान सिंह स्मृति दिवस परेकाले कांग्रेसको आग्रहमा २५ गतेलाई राखिएको उनले बताए ।

महाअभियोगको बारेमा कांग्रेस अझै अनिणिर्त रहेको र अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुको समेत चलखेल बढेको बेला संसदको प्रक्रिया स्थगित हुनु संयोगमात्र नभएर नियोजित हुन सक्ने सांसदहरुको आशंका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment