Comments Add Comment

प्रवासबाट नेपाली राजनीति र पत्रकारितालाई नियाल्दा

नेपालको पछिल्लो राजनीतिक परिवर्तनमा अहिलेको भारतीय संस्थापन पक्ष असन्तुष्ट छ । नेपालको बिग मिडियाहरू भारतीय उत्पादनका विज्ञापनमा निर्भर छन् । भारतीय दूतावासको विश्वासपात्र नभइ नेपाली पत्रकारितामा जम्न सकिन्न भन्ने भ्रम पनि कतिपयमा छ । त्यसैले भारतीय हित विपरित चल्न खोज्ने नेपाल सरकारलाई यिनीहरु सबै मिलेर धेरै हत्कण्डा अपनाई अलोकपि्रय बनाउन चाहन्छन् ।

loknath-adhikariविकासशील देशका मिडियाका सबै कुराहरूमा सत्यता छ भनेर बुझ्नुहुन्न । हामी विदेशिएका नेपाली शुभचिन्तकहरू पनि यही मिडियाका पछाडि लागेर दौडिनुहुन्न भन्ने लाग्छ । अर्को कुरा मिडिया र सञ्चारको मूलभाव नै नबुझेकाहरू पनि पत्रकारितामा लागेका छन् । लगानी अधिकांशमा विदेशी छ । यिनीहरूको मिसन कुनै पनि हालतमा परिवर्तन संस्थागत हुन नदिने र जनताको ध्यान खिच्नमात्रै सम्बन्धित छ । सोसल मिडिया र अनलाइनहरूको न्युज कतिपय सूचनाका लागि सही भए पनि यिनीहरूको गुहृय भनेको पैसा कमाउनु र चर्चा बटुल्नुमात्रै हो । त्यसैले राजनीतिक कोर्षको बाटो मोडिदिन र जनताको आँखामा छारो हाल्न उद्दत भए कतिपय पत्रकारहरु । राष्ट्र निर्माणमा आफ्नो सकारात्मक भूमिका खेल्ने र देशको चिन्ता गर्दै पत्रकारिता गर्नेहरुहरु ‘रिमोट’बाट चल्ने पत्रकारहरुको अगाडि ओझेल परे ।

दरवारीया मिडियाहरू नेपालका धेरै पार्टी र राजसंस्थाको मुखपत्र बनिसकेका हुन् । नेपालको परिवर्तनमा भारतीय हस्तक्षेपको विरोध गर्ने मिडियाहरुले पत्रिका प्रकाशित हुने कागजको कृत्रिम अभावको सामना गर्नुपर्‍यो । मिडिया हाउसलाई आफ्नो हातमा लिन नसकेपछि भारतले कागजहरू सप्लाई बन्द गरिदिएको अतितलाई बिर्सन सकिँदैन । यसबाट के देखिन्छ जो नाजायज दबाव र प्रभावमा परेर पत्रकारिता गरे उनीहरु मालामाल भए । तर, जसले अनावश्यक हस्तक्षेपको विरोध गर्‍यो त्यसको आरालो यात्रा सुरु भयो । यहि वास्तविकता छ अहिले नेपालको र नेपाली पत्रकारीताको ।

पीत पत्रकारिता

नेपालमा चल्ने र विदेशस्थित प्रवासी नेपालीहरूबाट संचालित केही पत्रपत्रिकाहरू यल्लो जर्नालिजम उर्फ पीत पत्रकारितालाई आफ्नो अभिष्ट बनाउँछन् । सतही कुरा र चर्चा बटुल्नु मात्रै पत्रकारिता होइन । विकसित देशमा नेगेटिभ न्युजहरू नि आउँदैनन् तर पनि जीवन र व्यवहार त चलेकै छ नि ? तर, नेपालमा विभाजित मानसिकता र चरम असन्तुष्टीले घर गरेको छ । कुनै पनि पार्टीका अग्रज नेताहरूको बदनामी गरेर कसलाई फाइदा पुग्छ ? के यस्ता विषयहरूमा नेपालका पत्रकारहरू सचेत छौँ त ?

हामी सदैव विरोधी नै भएर सकिने कि समालोचनात्मक पत्रकार बन्ने भन्ने विषय मुख्य हो । कुनै पनि देशको विकास र समृद्धिमा पत्रकारिताको विशेष भूमिका हुन्छ तर सदैव बान्ता गर्नु र खुईल्याउनु मात्रै पत्रकारिता हो भने हामीले रामराम मात्रै भन्ने हो । राज्यको चौथो अंग भनेको के हो ? सदैव गैरजिम्वेवार र विद्वेष फैलाउने कार्य गर्नु मात्रै पत्रकार बन्नु हो ?

वर्तमान सरकार

बहुदलीय व्यवस्थामा सरकार नयाँ बन्नु स्वभाविक छ । यो सरकार लामो इतिहास भएको नेपाली कांग्रेस र परिवर्तनको अग्रणी माओवादी लगायतको सरकार हो । प्रचण्डले नेतृत्व गरे पनि यो सरकार गठबन्धनको स्पिरिट अनुसार नै काम गर्ला । प्रचण्डको पूजा गर्नुपर्छ भन्न खोजिएको होइन तर अहिले उनी नेपालका प्रधानमन्त्री हुन् । व्यक्ति त्यही समाजबाट आउने हो जुन समाज र सामाजिक चेतनाबाट समष्टीमा हामी बनेका हुन्छौं । फरक समाजबाट आएर भारतमा सोनिया प्रधानमन्त्री बन्न खोज्दा के हालत भो कंग्रेस आईको ? प्रचण्ड गैरनेपाली त पक्कै होइनन् । प्रचण्डका कमजोरीहरू पक्कै पनि छन् तर उनी एउटा सामान्य परिवारबाट देशको उच्च ओहदामा पुगिसकेका मान्छे पनि हुन् । अहिले प्रचण्डको खेदो खनेर पत्रकारितामा लाग्नेहरूले अतिरञ्जनालाई आधार बनाउँछन् कि जस्तो लाग्न थालेको छ ।

अघिल्लो वर्ष जापानमा बाढी पहिरो गयो । धेरै धनजनको क्षति पनि भयो । तर कुनै मिडियामा यति मानिस मरे, सखाप भो भन्ने समाचार आएन । न त प्रधानमन्त्री शिज्जु आवेको विरोध नै भयो । पीडाहरू लुकाएर भएपनि जापानिज मिडियाले रेश्क्यु गरिरहेको प्रहरीको फोटो र भिडियो मात्रै देखाए । तर, हाम्रोमा दैवीप्रकोप पनि राजनीतिक दलले ल्याइदिएको जस्तो ठान्ने मिडियाहरू पनि छन् । ति मिडियाहरुले अप्ठेरो परिस्थितिमा सरकारलाई सहयोग गर्नुको साटो खुइल्याउने अभियानमा लाग्छन् ।

केपी ओली नेतृत्वको सरकारलाई पनि अन्तिम समयमा उनका आकाशवाणीहरू सुनेर हल्लामात्रै गरे मिडियाले । त्यो सरकारका सुत्रधार पनि प्रचण्ड नै त थिए । नेपालमा सामुहिक उत्तरदायीत्वविहीन र कर्तव्यविमुखहरू धेरै भैयो भन्ने मेरो ठम्याई छ । राजनीति गर्नेहरू सबै राम्रा कुनै देशमा छैनन् तर नेपालमा चैँ सबै जनताहरूसम्म चम्चा बन्ने क्षमता छ । कुनै पनि राजनीतिक दलसँग प्रष्ट बहुमत नहुनु र भएकै बेला पनि आफ्नै पार्टीभित्र लोभिपापी मिलेर सरकारलाई ढाल्नमात्रै लाग्नु राजनीतिक धर्म बनेको छ नेपालमा । सरकार बनेको भोलिपल्टबाट किन दिनगन्ती सुरू हुन्छ, हाम्रो मातृभूमिमा ? के यहाँ क्षमता नभएका नेता नभएर हो ? त्यसो होईन । यहाँ त केवल ‘डिभाईड एण्ड रूल’ थ्योरीमात्रै लागू भएको छ ।

दृश्य मै भारतीय लगानीका मिडियाहरूमा सरकार बनेको १-२ महिनाबाटै खिलाफ सुरू हुने र सरकारहरू झ्वाम बन्ने गरे नेपालमा । यही प्रक्रियामा छ प्रचण्ड नेतृत्वको वर्तमान सरकार पनि । गिरिजाबाबु र प्रचण्डको दूरदर्शितामा जसरी शान्ति प्रक्रिया अगाडि बढ्यो नेपालमा त्यो कुरा धेरैलाई टाउको दुखाइ बनेको थियो । अतिवादी शक्तिहरूले जरो गाडेको समाजमा परिवर्तनको नेतृत्व गर्नेहरू फिक्का बन्नुपर्‍यो । अझै पनि हाम्रा मिडिया हाउसहरूले अश्वेत आनन्दका लागि मात्रै काम गर्ने हो भने मुलुक अस्थिर बन्ने छ । अध्ययन र अनुसन्धान गरेर रचनात्मक बन्न नसक्ने हो भने मिडियाको मज्जा रहन्न ।

(लेखक ‘दि डेफ्रेन्ट भ्वाइस’ रिसर्च जर्नलका सम्पादक एवम् अनुसन्धानकर्ता हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment