Comments Add Comment

१३ पान्ने लोकमान हतियार, जसले उनका बिरोधीको मुख बन्द गरायो

13-panne

१० कात्तिक, काठमाडौं । तत्कालीन शाही सरकारका मुख्य सचिव लोकमानसिंह कार्की अख्तियारको प्रमुख आयुक्त नियुक्त भएपछि आफ्ना विरोधी कर्मचारीहरुलाई १३ पन्ना विवरण भर्न लगाएको विषयले अहिले चर्चा पाएको छ । यससँगै कतिपयमा ‘१३ पन्ना’ के हो भन्ने जिज्ञासा पनि उठेको छ ।

खास के हो त १३ पन्ना ?

निजामती कर्मचारीहरुलाई सामान्यतया चार पन्नाको सम्पत्ती विवरण भराइन्छ । त्यसभन्दा पनि अझै विस्तृत सम्पत्ती विवरण खोज्नुपरेमा अख्तियारले १३ पाना ४ खण्डमा रहेका विवरणहरू भराउँछ ।

सार्वजनिक पद धारणा गरेका व्यक्तिले अबैधानिक बाटोबाट अकुत सम्पत्ति कमाएको शंकामा सम्पत्ति मूल्यांकन तथा अनुसन्धान गर्न १३ पाना भराइन्छ । यो १३ पाना भनेको व्यक्तिको सम्पत्ती विवरण जाँच्न तथा शंकास्पद व्यक्तिको सम्पूर्ण आयव्ययको विवरण भर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बनाएको फारम हो । १३ पृष्ठ लामो फारममा आफ्नो श्रीमान/श्रीमतीदेखि छोराछोरीसम्म, दाइ, भाउजू, भाइ बुहारीदेखि दिदीबहिनी लगायत परिवारका सम्पूर्ण सदस्यहरुको शिक्षा, स्वास्थ्य, विवाह लगायत विभिन्न शीर्षकमा गरेको सबै खर्च भर्नुपर्छ ।

यस्तै विवाहित दिदी बहिनी तथा छोरीहरुका श्रीमानको समेत विवरण भर्नुपर्छ । पुरुषले ससुरालीतर्फका सासु ससुरादेखि सालासाली, जेठान, जेठी सासुदेखि उनीहरु विवाहित भए उनीहरुको श्रीमानको समेत सम्पूर्ण विवरण भर्नुपर्ने फारम हुन्छ । यसरी भरेको हरेक विवरणमा पेशा, आम्दानी लगायतका विषय उल्लेख हुन्छ ।

यस्तै कर्मचारी तथा पदाधिकारीहरुले उक्त पदमा नियुक्त भएको समय, बढुवा, काज सरुवा, विदेश भ्रमण गर्दा थप आम्दानी भएको भए त्यसको विवरण लगाएत सबै कुरा प्रमाण सहित खुलाउनु पर्छ ।

यतिमात्र होइन सार्वजनिक पद धारण गर्नुपूर्वको सम्पत्ती र आम्दानी प्रष्टसँग लेख्नुपर्छ । त्यसपछि आम्दानी भएको सम्पत्ति पनि प्रमाण पुर्‍याएर लेख्नुपर्छ । घरघडेरी किनेको छ भने स्रोतसहित विवरण भर्नुपर्छ । बैंक वा वित्तिय संस्थामा रहेको पैसा तथा खाता नम्बर, लकरको विवरण खुलाउनु पर्छ । यस्तै सापटी दिए-लिएको भए त्यसको विवरण, ऋण लिएको र तिरेको विवरण पनि खुलाएको हुनुपर्छ । कुनै व्यावसाय वा फर्ममा लगानी भए त्यहाँको आम्दानी र खर्चको विवरण समेत पेश गर्नुपर्ने हुन्छ । यससँगै सुनचाँदीदेखि घरका लागि तथा सुविधाका लागि खरिद भएका मोबाइल, गाडी, टिभी, कम्प्युटर जस्ता सबै विवरण खुलाएपछि १३ पाना सकिन्छ ।

र अन्तिममा लेखिएको हुन्छ, ‘माथि लेखिएका विवरण ठीक साँचो हो । यसमा उल्लेख गरे बाहेक मैले कुनै सम्पत्ति वा विवरण यस फाराममा उल्लेख नगरेको वा लुकाएको छैन । लुकाएको वा छिपाएको प्रमाणित हुन आएमा कानून बमोजिम सजाय भोग्न तयार छु ।’
यति लेखेपछि तल दस्तखत गर्नुपर्छ ।

यसरी जाँचिन्छ १३ पानाबाट सम्पत्ती

सार्वजनिक पद धारण गरेको व्यक्तिले उक्त पदमा रहँदा बैधानिक रुपमा जति आम्दानी गरेको हुनुपर्ने हो, त्योभन्दा अस्वभाविक सम्पत्ती देखियो वा उसको जीवनशैली त्यो भन्दा बढी अस्वभाविक देखियो भने आयोगले १३ पन्ना भर्न लगाउँछ ।

त्यसपश्चात अब उसले अहिलेसम्म गरेको खर्च विवरण पनि भर्नुपर्छ । गाडी, घर, सुनचाँदी खरिद बिक्रीका सबै विवरण क्रमशः भर्दै जानुपर्छ । यसरी सबै खालका आय र व्ययको विवरण भर्ने फारमलाई १३ पाना भनिन्छ ।

त्यसपछि के हुन्छ ?

अकुत सम्पत्ति कमाएको आरोपमा १३ पाना भराइने हुनाले उसँग कति सम्पत्ति छ भन्ने आयोगलाई जानकारी हुन्छ । आयोगले उक्त फारममा भरेको विवरण अनुसार उसको आम्दानी र खर्चको हिसाब निकाल्छ । यसरी हिसाब निकाल्दा आम्दानीभन्दा बढी खर्च वा सम्पत्ति देखिएमा उ कारबाहीको भागिदार बन्छ । यस्तै कुनै आम्दानीको स्रोत देखाउन नसकेमा पनि कारबाहीको भागीदार बन्नुपर्ने हुन्छ । आयोगले थप शंका लागेमा १३ पानामा भरेको विवरणअनुसार उसको सम्पत्तिको खोजी गर्छ । यदि उसको नाममा वा उसको परिवार वा आफन्तका नाममा उसले सम्पत्ति राखेर नखुलाएको भेटिएमा पनि कारबाही चलाउने आधार बन्छ । यसै फारम १३ पानाको नामले पछिल्लो समय चर्चित बनेको छ ।

हेर्नुहोस् १३ पन्ने फारम 

२०७३ कार्तिक १० गते १६:२५ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment