Comments Add Comment

महिलाले अख्तियार प्रमुखको जिम्मेवारी सम्हाल्ने बाटो खुल्यो !

राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीशपछि अब अख्तियारमा पालो

ciaa-team1

१० कात्तिक, काठमाडौं । कांग्रेस, एमाले र माओवादी केन्द्रका युवा नेता तथा सांसदहरुको एउटा अनौपचारिक छलफलमा कांग्रेस नेताहरुको साझा चिन्ता देखियो- लोकमानगएपछि कम्युनिस्टहरु मिलेर अख्तियारमा उनीहरु अनुकूलको प्रमुख आयुक्त ल्याउने पो हुन् कि ?

यो प्रश्नको समाधान एमालेका केही युवा नेतामात्रै होइन, कांग्रेसकै कानुनविद सांसद राधेश्याम अधिकारीले समेत गरिदिएका छन् । यद्यपि कांग्रेसले लोकमानपछिको प्रमुख आयुक्तमा बार्गेनिङ गर्ने संकेत दिइसकेको छ । र, यसक्रममा अख्तियार प्रमुखमा पहिलोचोटि महिलाले नेतृत्व सम्हाल्ने सम्भावना देखा परेको छ ।

कांग्रेस आतंकित हुनुको अर्थ

महाअभियोग प्रस्ताव पारित भएर लोकमानसिंह कार्की अख्तियार प्रमुखबाट हटे भने त्यसपछिको प्रमुख आयुक्त आफूले भनेको हुनुपर्ने कांग्रेसको मनोविज्ञान देखिएको छलफलमा सहभागी एक एमाले नेताले बताए ।

उनले भने- लोकमानलाई जोगाउन सकिँदैन भन्नेमा कांग्रेस नेताहरु पुगिसकेका छन् । तर, उनीहरुभित्र कम्युनिस्टहरु मिलेर संवैधानिक परिषदबाट आफूले चाहेभन्दा बाहिरको व्यक्ति प्रमुख आयुक्त सिफारिस गर्छन् कि भन्ने आतंक देखियो ।

संवैधानिक परिषदमा कम्युनिस्टहरुको वर्चश्व छ । प्रधानमन्त्री प्रचण्ड, सभामुख ओनसरी घर्ती र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओली मिल्ने आशंका कांग्रेसलाई छ । किनकि महाअभियोग प्रस्तावमा नाटकीय ढंगले उनीहरु मिलेका छन् ।

संवैधानिक परिषदकै अर्का प्रभावशाली सदस्य प्रधानन्यायाधीश सुशीला कार्कीसँग पनि कांग्रेस आतंकित छ । आफ्नो प्रभाव कमजोर रहेको संवैधानिक परिषदले अब अख्तियार प्रमुखको सिफारिस गर्ने र राष्ट्रपतिबाट नियुक्त हुने त्यस्तो प्रमुख आयुक्त को बन्ला भन्नेमा कांग्रेसको चासो छ ।

एमाले प्रमुख सचेतक भानुभक्त ढकालले कांग्रेसका नेताहरुसँग यसबारे अनौपचारिक छलफल भएको पुष्टि गर्दै कांग्रेसको आशंकालाई आफूहरुले अन्त्य गराउन खोजेको बताए । ढकालले भने- अहिले साझा सहमति कायम गरौं, भविष्यमा कांग्रेसको चासो सम्बोधन गर्न हामी लचिलो हुन्छौं ।

बाहिरबाट प्रमुख आयुक्त ल्याउनु असंवैधानिक

नेपालको संविधानले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एकजना प्रमुख आयुक्त र चार आयुक्तको व्यवस्था गरेको छ । तर संक्रमणकालीन व्यवस्था अनुरुप लोकमान सहित अख्तियारमा हाल  ५ जना आयुक्त अहिले पनि कार्यरत छन्, जुन संख्या संविधान विपरीत थियो ।

अब लोकमान पदमुक्त भए  भने पनि संवैधानिक परिषदले बाहिरबाट प्रमुख आयुक्त सिफारिस गर्न संविधान बमोजिम सक्दैन । किनकि लोकमान पदमुक्त भए पनि अख्तियारमा ५ जना आयुक्त यथावत छन् । संविधान अनुसार त्यहाँ कसैलाई थप्न सकिँदैन ।

ciaa

लोकमानपछि अख्तियारभित्र रहेका पाँच जना आयुक्तमध्येबाटै संवैधानिक परिषदले एक जनालाई प्रमुख आयुक्त सिफारिस गरेर संसदीय सुनुवाइमा पठाउनेछ । संसदीय सुनुवाइपछि राष्ट्रपतिले अख्तियार प्रमुख नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।कतिपयले बरिष्ठताका आधारमा दीस्प बस्न्यात प्रमुख आयुक्त बन्ने बताए पनि संविधानमा त्यस्तो बाध्यता छैन कि बरिष्ठताकै आधारमा अख्तियार प्रमुख तोक्नुपर्छ ।

संविधानको धारा २३८ को उपधारा ५ अनुसार अख्तियारका प्रमुख आयुक्त र आयुक्तको पुनः नियुक्ति हुँदैन । तर आयुक्तलाई नै प्रमुख आयुक्तमा नियुक्त गर्न सकिनेछ । त्यस्ता प्रमुख आयुक्तको पदावधि भने आयुक्त पदमा नियुक्त पाएको मितिबाटै गणना हुने संविधानले प्रष्ट व्यवस्था गरेको छ ।

बरिष्ठताको अर्थ छैन

अहिले लोकमानलाई महाअभियोग लागेपछि बरिष्ठताका आधारमा दिप बस्न्यात कार्यवाहक प्रमुखका रुपमा कार्यरत छन् । तर संविधानले प्रमुख आयुक्त नियुक्ति गर्दा बरिष्ठताको बारेमा केही नबोलेकाले संवैधानिक परिषद स्वतन्त्र रहेको अधिवक्ता नवराज थपलियाले बताए ।

हाल कार्यरत ५ जना आयुक्तमध्येबाट एकजना प्रमुख आयुक्त सिफारिस गर्न संवैधानिक परिषद स्वतन्त्र छ । हाल कायम रहेका आयुक्तहरु दिप बस्न्यात,नविन घिमिरे,गणेशराज जोशी,सावित्री थापा गुरुङ र राजनारायण पाठकमध्येबाटै एकजना प्रमुख आयुक्त बनाउनुपर्ने संवैधानिक बाध्यता छ ।

कांग्रेसको बार्गेनिङ सावित्रीका नाममा ?

कांग्रेसको चासो अब यसमै छ । कांग्रेसले प्रमुख आयुक्तमा यी ५ मध्ये कसलाई रोज्ला ? यी मध्ये कांग्रेसको कोटाबाट नियुक्ति पाएकी आयुक्त सावित्री हुन् । नविन घिमिरे एमाले कोटाबाट र गणेशराज जोशी माओवादी कोटाबाट भएका हुन् ।

congress-cc-meeting

त्यस्तै दीप बस्न्यात राप्रपा र राप्रपा नेपालका हुन् भने राजनारायण पाठक लोकमानसिंह कार्कीकै जोडबलमा नियुक्त भएका व्यक्ति हुन् । दीप बस्न्यातका सम्बन्ध कांग्रेसका रामशरण्ण महत लगायत कांग्रेस नेताहरुसँग पनि राम्रो छ ।

संविधानको धारा २३८ को उपधारा ६ मा अख्तियारको प्रमुख आयुक्त र आयुक्तहरुको योग्यता तोकिएको छ । जसमा स्नातक गरेको, नियुक्ति हुँदा कुनै पनि राजनीतिक दलको सदस्य नरहेको,२० वर्ष अनुभव र ख्याति प्राप्त गरेको, ४५ वर्ष उमेर परा भएको र उच्च नैतिक चरित्र भएको हुनुपर्ने भनिएको छ ।

दीप बस्न्यात र राजनारायण अयोग्य ?

उच्च नैतिक चरित्रको व्यवस्थाले दीप बस्न्यात र राजनारायण पाठकलाई छुन सक्नेछ ।

deep-basnet1

दीप बस्न्यात

विगतमा दीप र लोकमान दुबैको मुद्दा एकैपटक तामेलीमा राखिएको थियो । त्यस्तै राजनारायण पाठक लोकमानका तर्फबाट बिभिन्न व्यक्तिहरुलाई धम्क्याउने र रकम असूल गर्नेमा संलग्न रहेको आरोप लागिसकेको छ ।

सावित्रीलाई लोकमानले दोहोरो सरकारी सुविधा लिएको भनेर केही समय अख्तियारमा कामै गर्न दिएका थिएनन् । उनी त्रिभुवन विश्वविद्यालयकी सह प्राध्यापक समेत भएकाले लोकमानले उनलाई दोहोरो सुविधा प्रकरणमा पेलेका थिए ।

आयुक्तबाटै आउनेः तर पदावधि पुरानै

लोकमान बाहेक अख्तियारका बाँकी ५ जना आयुक्तहरुको नियुक्तिमा भएको हो । यस हिसाबले अब नियुक्त हुने प्रमुख आयुक्तले उमेरले साथ दिएमा  मात्र अख्तियार प्रमुखका रुपमा काम गर्न पाउनेछन् ।

संविधानको धारा २३८ को उपधारा ५ मा भनिएको छ- आयुक्तलाई प्रमुख आयुक्तःको पदमा नियुक्तः गर्न सकिनेछ,त्यस्तो आयुक्त प्रमुख आयुक्त पदमा नियुक्ति भएमा निजको पदावधि गणना गर्दा आयुक्तको पदावधिलाई समेत जोडी गणना गरिनेछ ।

यसकारण सावित्रीको सम्भावना

दीप बस्न्यातको उच्च नैतिक चरित्रमा प्रश्न उठिसकेको र संवैधानिक परिषदले कनिष्टबाट समेत प्रमुख आयुक्त छान्न सक्ने भएकाले सावित्री गुरुङका लागि संविधानले बाटो खुल्ला गरेको छ । त्यसैले कांग्रेसले अब कम्युनिस्टहरुसँग सावित्री गुरुङलाई प्रमुख आयुक्त बनाउन बार्गेनिङ गरेर मात्रै महाअभियोग प्रस्ताव पारित गराउन सहमत हुन सक्ने सूत्रहरुको भनाइ छ । यसमा प्रकाशमानसिंह लगायतका कांग्रेस नेता लागिसकेका छन् ।

sabitrai-thapa

सावित्री गुरुङ

सावित्रीका पति नरेन्द्र गुरुङ भोजपुरका कांग्रेस नेता हुन् । अब प्रमुख आयुक्तमा सावित्रीको नाम अघि सारिने सम्भावना रहेको कांग्रेस निकट स्रोतले जनाएको छ । उनले भारतको जवाहरलाल  नेहरु विश्वविद्यालयबाट राजनीतिशास्त्रमा पीएचडी गरेकी छिन् ।

अहिले देशमा राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश जस्ता संवैधानिक पदमा महिला रहेकै बेला अख्तियारको प्रमुख आयुक्त पनि महिला नै हुनुपर्छ भन्ने कुराले कांग्रेसको बार्गेनिङलाई बल पुग्नेछ ।

सावित्रीलाई प्रमुख आयुक्त बनाउने सन्दर्भमा एमाले पनि लचिलो बन्ने संकेत देखिएको छ । महाअभियोग पारित गराउन कांग्रेसको आशंकाहरु अन्त गर्नका लागि एमाले र माओवादी तयार रहेको ढकालले बताए ।

कार्य क्षमता र विगतको छविका आधारमा नविन घिमिरे र गणेशराज जोशी अख्तियार प्रमुखका लागि उपयुक्त आयुक्त हुन् । तर कांग्रेसको आतंक अन्त गर्न र महाअभियोग पाारित गर्नका लागि कांग्रेसलाई तयार बनाउन पनि सावित्रीको सम्भावना बलियो हुन लागेको स्रोतले जनाएको छ ।

सावित्री गुरुङ लोकमानसिंह कार्कीबाट बढी नै खेदिएकी पात्र हुन् । तर, उनको कमजोरी एउटै छ, अख्तियारमा गइसकेपछि पनि त्रिभुवन विश्वविद्यालयबाट दोहोरो सुविधा लिएको उनीमाथि आरोप छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment