Comments Add Comment

लोकमानबारे प्रधानमन्त्रीले भने- १५ दिन समय छ, अन्त पनि हान्ला भन्ने चिन्ता छ !

नयाँ अख्तियार प्रमुखबारे शीर्षनेतावीच समझदारी बनेको दाबी

Prachanda,-Chairman-of-Maoist-Center

१० कात्तिक, काठमाडौं । लोकमानसिंह कार्कीको महाअभियोगबारे संसदले १५ दिन छलफल स्थगन गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि प्रकट गरेका छन् । यो प्रकरणलाई चाँडो टुंग्याउन आफूले चाहेको भन्दै प्रचण्डले १५ दिन समय दिँदा यसले अन्यत्र पनि हान्ने हो कि भन्ने आफूलाई चिन्ता लागेको बताए ।

बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले भने- ‘१५ दिन त किन रोकेको होला ? हाम्रो र मेरो चाहना भन्नुहुन्छ भने छिट्टै होस भन्ने हो । तर, ढीलो भयो ।’

ओलीजी प्रधानमन्त्री हुँदा हाम्रो कुरा हुन्थ्यो, प्रधानमन्त्री देशको कार्यकारी हो कि कुनै संवैधानिक निकायको प्रमुखको हातमा पावर जाने कुरा न्याचुरल हो ? यसमा बहस हुनुपर्‍यो । तपाई प्रधानमन्त्री हुनुहुन्छ, तर, निरीह देखिनुभएको छ

संसदले लामो समय बैठक रोकेकोमा चिन्तित बनेका प्रधानमन्त्रीले अगाडि भने- ‘मलाई चिन्ता त्यही छ क्या ! १५ दिन समय छ, अन्त अन्त हान्ला कि ? चिन्ता छ । तपाईहरु (पत्रकारहरु) सबै मिलेर मलाई मद्दत गरिदिनुभयो भने मेरो चिन्ता दूर हुन्छ । सक्दैन कसैले पनि । नेपाल र नेपाली नै मेन हो ।’

महाअभियोगले संविधान संशोधनलाई असर पार्न नहुने प्रधानमन्त्री प्रचण्डले स्पष्ट पारे । सबैले मिलेर वातावरण बनाउँदा माहोल बन्न सक्ने उनले बताए ।

तर, यो प्रकरणले दलहरुलाई एकै ठाउँमा ल्याउने वातावरणसमेत बनेको प्रधानमन्त्रीले विश्लेषण सुनाए । प्रधानमन्त्रीले भने- ‘सबैले माहोल बनाउँदा बन्छ । महाअभियोगले संविधान संशोधनलाई असर नगर्ने वातावरण बनाउने जिम्मा हामी सबैको हो । यो (महाअभियोग र संविधान संशोधन) अलग-अलग विषय हो । तर, जोडिने खतरा पनि हुन्छ नेपालमा त ।’

तर, ठूला पार्टीहरुले महाअभियोगमाथिको छलफललाई अलिकति पर लैजाउँ भनेपछि बैठक १५ दिन स्थगन भएको प्रचण्डले संकेत गरे । संसदको बैठक १५ दिनपछि सर्नुको कारण बताउँदै प्रधानमन्त्रीले भने- ‘तिहार पनि आउँदैछ, छठ पनि आउँदैछ । भारतका राष्ट्रपतिको भ्रमण छ । यी सबै कारणले अलिकति उता लैजाने भन्ने भयो । तर, यसैका कारण कन्फ्यूजन भयो भन्ने होइन ।’

‘ओलीलाई पटक-पटक भनें, मानेनन्’

केपी ओली प्रधानमन्त्री भएकै बेला आफूले लोकमानमाथि कारवाही गर्न पटक-पटक भनेको तर ओलीले नमानेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।

‘मैले केही त गर्नुपर्‍यो त्यतिबेलै भनेको थिएँ । उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो, सिरियस त हुनुहुन्थ्यो तर, मुभ अगाडि जाने अवस्था बनेन,’
प्रचण्डले त्यसबेला प्रधानमन्त्री ओलीलाई भनेको कुरा सुनाउँदै अगाडि भने, ‘ओलीजी प्रधानमन्त्री हुँदा हाम्रो कुरा हुन्थ्यो, प्रधानमन्त्री देशको कार्यकारी हो कि कुनै संवैधानिक निकायको प्रमुखको हातमा पावर जाने कुरा न्याचुरल हो ? यसमा बहस हुनुपर्‍यो । तपाई प्रधानमन्त्री हुनुहुन्छ, तर, निरीह देखिनुभएको छ ।’

आफू दिल्ली भ्रमणमा गएका बेला लोकमानले चुनौती दिएको भन्दै प्रधानमन्त्री प्रचण्डले आक्रोश पोखे । उनले लोकमानको विरोध गर्दै भने- ‘म प्रम भएँ र दिल्लीमा थिएँ । नेपाल राष्ट्रकै प्रतिनिधित्व गरेर गएको थिएँ । यहाँ अचानक प्रेसमिट गरेर क्यान्टोनमेन्ट लगाइन्छ भन्ने कुरा आयो । यो के देखियो भने कार्यकारी प्रमुख प्रधानमन्त्री हो कि को हो भन्ने आयो ।’

कांग्रेस सभापति शेरबहादुर देउवाले पनि लोकमानको यस्तो कार्यको विरोध गरेको प्रधानमन्त्री प्रष्टले बताए । उनले भने- ‘शेरबहादुर देउवाजीले बैठकमा भन्नुभएछ, प्रधानमन्त्री त हामी सबैको हो, केही गर्नुछ भने आएपछि गरे पनि भइहाल्छ, विदेशमै भएको बेला राष्ट्रको प्रतिनिधित्व गर्न गएको प्रधानमन्त्रीलाई तुरुन्तै पक्राउ गर्न खोज्ने भनेपछि यो के तरिका हो भन्नुभएछ । आज मैले आयुक्तहरुलाई राखेर यस्तोचाहिँ हुँदैन भनेको छु ।’

अख्तियारमा कसलाई ल्याउने ? राम्रो समझदारी भएको छ

प्रधानमन्त्री प्रचण्डले लोकमानपछि अख्तियारमा कसलाई ल्याउने भन्नबारे तीन दलवीच विवाद सल्टिएको बताए । यसलाई आफूलाई सन्तोष लागेको उनले बताएका छन् ।

‘अख्तियारमा को ल्याउने भन्नेतिर हामी प्रवेश गरेका छैनौं । तर, आजको बैठकमा हामी तीनको बीचमा असाध्यै राम्रो समझदारी भएको छ ।’ प्रधानमन्त्रीले बुधबार साँझ प्रधानमन्त्री निवासमा पत्रकारसँग कुरा गर्दै भने- ‘मैले पनि, ओलीजीले पनि र शेरबहादुरजीले पनि एउटै ठाउँमा राम्रोसँग मिलेकै स्पिरिट छ । यसरी जाने है, त्यहाँ विवाद गर्ने होइन है भनेपछि धेरै ठूलो सन्तोषको विषय भएको छ । त्यो समस्या छैन अब ।’

यो पनि पढ्नुस्

प्रचण्डका दुई योजनाः चैतमा चुनाव, संविधानमा ४ संशोधन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment