Comments Add Comment

आफ्नै निर्णय उल्लंघन गर्दै ओली र माधव नेपाल गुट

प्यानल बनाएर चुनाव नलड्ने निर्णय प्रदेश नम्बर ५ मा मात्र कार्यान्वयन

kp oli and madhav k nepal(1)११ कात्तिक, काठमाडौं । पार्टीको कुनै पनि कमिटी र जनवर्गीय संगठनमा गुटगत प्यानलका आधारमा चुनाव नगर्ने नेकपा एमालेको निर्णय जिल्ला चुनावहरुमा पालना हुन सकेन ।

प्रदेश नम्बर ५ यो निर्णय पालना भएको छ । प्रदेश संयोजक विष्णु पौडेल आफैं खटेर पछिल्लो पटक अधिवेशन भएका सबै जिल्लाहरुमा सर्वसम्मत नेतृत्व चयन गराएका छन् ।

तर, अन्य प्रदेश अन्तर्गतका जिल्ला कमिटी तथा नगर र गाउँ कमिटीहरुमा समेत  प्यानलगत चुनाव भइरहेको छ । र, अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूह प्यानल बनाएका छन् ।

जबकी एमाले केन्द्रीय कमिटी बैठकले १० बुँदे विशेष प्रस्ताव पारित गर्दै प्यानल चुनावले पार्टीमा विभाजन ल्याउने भएकाले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने र चुनाव भइहाले व्यक्तिगत रुपमा उम्मेदवार उठ्नुपर्ने निर्णय गरेको थियो ।

पौडेलले गराए प्रदेश नम्बर ५ मा सर्वसम्मत

प्यानल बनाएर चुनाव नलड्ने केन्द्रीय कमिटीको यो निर्णयपछि पाँच जिल्लामा अधिवेशन भएको छ  ।

जसमध्ये प्रदेश नम्बर ५ अन्तर्गतका दाङ, रुपन्देही र पाल्पामा सर्वसम्मत नेतृत्व चयन भएको प्रदेश सहसंयोजक दलवहादुर राना मगरले जानकारी दिएका छन् । प्रदेश संयोजक बिष्णु पौडेल पछिल्लो एक महिना कार्यक्षेत्रमै खटेर सर्वसम्मति कायम गरिएको उनले बताए ।

पार्टीमा प्यानलगत र गुटगत चुनाव होइन, सर्वसम्मत नेतृत्व चयन गर्ने यो अभियानलाई आफूले पार्टीको दशौं महाधिवेशनसम्म अभियानका रुपमा लैजाने उपमहासचिव पौडेलले अनलाइनखबरलाई बताए । ‘अब एमालेको दशौं महाधिवेशनमा सर्वसम्मत रुपमा नेतृत्व चयन हुनेछ, मेरो प्रदेशबाट शुरु भएको अभियान महाधिवेशनसम्म पुग्दा सबैको हुनेछ’ उनले भने ।

पौडेल हाल कपिलवस्तुको तौलिहवामा छन् । उनले आफूले नेतृत्व गरेको प्रदेश नम्बर ५ का कुनै पनि जिल्ला कमिटी, नगर, गाउँ र भातृ संगठनहरुमा प्यानलगत चुनाव हुन नदिने बताए ।

प्रदेश नम्बर ५ को दाङमा ओली पक्ष र नेपाल पक्ष समानान्तर जिल्ला कमिटी चलाउने तहको विवादमा थिए । तर, पौडेल इन्चार्ज भएपछि जिल्लाको विवाद मिलाएर अधिवेशन गराएका छन् ।

उनले सोही जिल्लासँग जोडिएका उपाध्यक्ष युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य शंकर पोखरेलको भावना बुझेर सर्वसम्मत रुपमा नेतृत्व चयन गरे । दाङ अध्यक्षमा टिकाराम खड्का चयन भए ।

त्यस्तै प्रदेश संयोजक पौडेलले आफ्नै जिल्ला रुपन्देहीमा सर्वसम्मत नेतृत्व चयन गर्न अर्का उपमहासचिव घनश्याम भुषालको समेत साथ लिए । अन्ततः रुपन्देहीमा शिवप्रसाद सुवेदी सर्वसम्मत रुपमा अध्यक्ष बने ।

पाल्पामा पनि नारायण आचार्यको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन भएको छ । प्रदेश ५ मा भएका तीन जिल्लाका सर्वसम्मत अध्यक्षमध्ये दाङका खड्का माधव नेपाल निकटस्थ हुन् ।

रुपन्देहीका सुवेदी र पाल्पामा आचार्य ओली पक्षधर हुन् । प्यानलगत चुनाव नगराई दुवै पक्षको सम्माजनक उपस्थिति सहित सर्वसम्मत नेतृत्व चयनलाई प्रमुख आधार बनाइएको पौडेलले जनाएका छन् ।

यसअघि प्रचार विभाग प्रमुख योगेश भट्टराईले आफू इन्चार्ज रहेको प्रेस चौतारीको केन्द्रीय अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरेर पार्टीभित्र सहमतिको सन्देश प्रवाह गरेका थिए ।

ओली र नेपाल समूहले नै मानेन

केन्द्रीय कमिटीको निर्णयपछि बारा र चितवन पनि अधिवेशन भयो । तर, प्रदेश नम्बर २ अन्तर्गतको बारा जिल्लामा केन्द्रको केपी ओली र माधव नेपाल गुटकै नाममा दुई प्यानलबीच प्रतिस्पर्धा भयो ।

प्रतिस्पर्धामा नेपाल पक्षका सुन्दर विश्वकर्माले नेतृत्व गरेको प्यानलले जित्यो भने ओली पक्ष बढारियो । यसअघि बारामा ओली पक्षको नेतृत्व रहेको थियो । प्रदेश संयोजक सत्यनारायण मण्डल र सहसंयोजक नागेन्द्र चौधरीले सर्वसम्मति कायम गर्न खोजे पनि सफल हुन सकेनन् ।

त्यस्तै प्रदेश नम्बर ३ अन्तर्गत निर्वाचन क्षेत्रको हिसाबले काठमाडौंपछि दोस्रो ठूलो जिल्ला चितवनमा पनि ओली र नेपाल प्यानलबीच चुनाव भयो । त्यहाँ पनि प्रदेश संयोजक अष्टलक्ष्मी शाक्य र काशिनाथ अधिकारीले सर्वसम्मति कायम गर्न वा प्यानल बनाउनबाट रोक्न सकेनन् ।

जिल्लाकै जनप्रतिनिधि समेत रहेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले सर्वसम्मत नेतृत्व चयन हुन नदिएको आरोप लागेको छ ।

चितवनमा माधव नेपाल पक्षका कृष्णभक्त पोखरेल ओली पक्षका जगन्नाथ थपलियालाई पराजित गर्न सफल भए ।

नेपाल पक्षमा उत्साह

पार्टीले निर्णय गर्नुअघि नै प्रदेश नम्बर १ को ओखलढुंगा जिल्ला कमिटी पनि सर्वसम्मत रुपमा चयन भएको थियो । जसको अध्यक्ष मोहन श्रेष्ठ चयन भए । एमालेका जिल्ला कमिटीहरुमा सर्वसम्मत नेतृत्व चयनको शुरुवात ओखलढुंगाबाटै भएको जिल्ला इन्चार्ज यज्ञराज सुनुवारले बताए ।

एमालेका धेरै जिल्ला कमिटीहरुको ३ वर्षे कार्यकाल सकिएकाले अहिले धमाधम जिल्ला अधिवेशनको मौसम शुरु भएको छ । त्यसैले पार्टी नेतृत्वले तलसम्म विभाजन हुन नदिन चुनावलाई भन्दा सहमतिलाई प्राथमिकता दिएको संगठन विभाग प्रमुख तथा सचिव पृथ्वी सुब्बा गुरुङले बताए ।

पछिल्ला जिल्ला अधिवेशनहरुको परिणाम भने माधव नेपाल पक्षलाई उत्साहित पार्ने खालका छन् । सहमति र चुनावबाट आएका ५ जिल्ला अध्यक्षमध्ये ३ नेपाल पक्षका र दुई ओली पक्षका छन् ।

आयोगको चेतावनी

यसैबीच एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले प्यानलगत आधारमा चुनाव भएको पाइए कारवाही गर्ने चेतावनी दिएका छन् ।

बारा र चितवनमा प्यानल बनाएर चुनाव भए पनि बोहोराले भने त्यसबारे आयोगलाई हालसम्म जानकारी नभएको बताए । उनले भने, व्यक्तिगत रुपमा चुनाव लड्ने स्वतन्त्रता छ, तर गुटगत प्यानल बनाउन पाइँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment