Comments Add Comment

एउटा सुटकेसमा केही भयो भन्दैमा नेपाल एयरलाइन्स खत्तमै भन्न मिल्ला ?

चिनियाँ जहाज फस्ट क्लास छ, समस्या पार्टपुर्जा र विमाको मूल्यमा

sugat-ratna-kansakar_810

नेपाल वायु सेवा निगम अहिले एयरबस किन्ने तयारीमा छ । यसका लागि टेण्डर खुलिसकेको छ भने सम्झौता भएको १२ महिनाभित्र एउटा विमान आइपुग्नेछ । तर, बेलाबेलामा नेपाल वायु सेवा निगममा रणनीतिक साझेदार भित्र्याउने चर्चा पनि हुने गरेको छ । यसै सन्दर्भमा निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारसँग अनलाइनखबरका लागि  उत्तम काप्रीले गरेको कुराकानीः

एयर वस खरिद प्रक्रिया कहाँ पुग्यो ?

टेन्डर प्रक्रिया चलिरहेको छ । अब ९ नोभेम्बरमा टेन्डर खुला गर्ने हो । हामीले ४५ दिनको समय दिएका छौं । यो समयमा आवेदन दिन चाहने कम्पनी वा व्यक्तिहरुको नै गृहकार्य बढी हुन्छ । यो समयमा हामीले केही गर्न परेन, उनीहरुले नै आफ्नो हिसावमा गृहकार्य गर्न पाउँछन् ।

टेन्डर खोलेपछि मूल्यांकन कमिटी गठन गर्छु । त्यसले चाँडै काम गर्ने हाम्रो योजना छ । २/३ हप्तामा मूल्यांकन सकियो भने सञ्चालकमा लिएर जान्छौं । त्यहाँ छलफल गरेर पास भएपछि लेटर अफ इन्टेन्ट दिन्छौं र नेगोसिएसन गर्छौं । त्यसपछि एमओयू गरेर सञ्चालक समितिबाट पास गराउँछौं ।

यो सबै प्रक्रिया पुरा भएर विमान आउन कति समय लाग्छ ?

दुबै एकै पटक आउँदैन । सम्झौता भएको १२ महिनामा पहिलो विमान आउँछ । पहिलो विमान आएको ६/८ महिनापछि अर्को ल्याउने सोच बनाएका छौं । यसले सञ्चालनमा हामीलाई केही सहज हुन्छ ।

नयाँ एयर बस ल्याएपछि कहाँ-कहाँ उडाउने भनेर गृहकार्य भइसक्यो कि बाँकी नै छ ?

गन्तव्य तय भइसकेको छ । अहिले भएको गन्तव्यमा उडान संख्या बढाउने योजना छ । दिल्लीमा अहिले सातामा ११ वटा उडान छ । नयाँ विमान ल्याएपछि विहान र बेलुका गरेर सातामा १४ वटा उडान गर्नुपर्‍यो भनेर विज्ञहरुसँग छलफल गरिरहेका छौं । अहिले हामी तीनवटा विमानमै सीमित छौं ।

sugat-ratna-kansakar-7

हाम्रा कर्मचारीले हाम्रो र अरु २४ वटा एयरलाइन्सको गरी दिनमा ८ हजार सुटकेस ह्याण्डल गर्छन् । महिनाको साढे २ लाख सुटकेस हो । त्यसमा एउटा सुटकेसमा केही भयो भने नेपाल एयरलाइन्स खत्तमै भन्न मिल्ला ?

त्यसमा पनि एउटा बोइङलाई टेन्डर प्रक्रियाबाट लिलामी गरेर बेच्ने प्रक्रियामा छौं । त्यो हुँदा दुई वटा एयर वस र एउटा बोइङले आठ वटा गन्तव्य धानिरहेका छौं । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तीन वटा विमानले ८ वटा गन्तव्यमा उडान गर्नु भनेको अन्त्यन्त गाह्रो काम हो । त्यसमा एउटा गन्तव्य थप्ने गृहकार्य पनि गरिरहेको छौं । साधारणतया एक सय २० हवाइजहाज भएको एयरलाइन्सले जम्माजम्मी ३७ वटा गन्तव्यमा उडान भरिरहेको छ । तर, हामी भने तीनवटैले ८ गन्तव्यमा उडान गरिरहेको छौं ।

खाडी मुलुकमा धेरै नेपालीहरु छन् । नयाँ विमान आएपछि त्यता पनि उडान थपिन्छ ?

नेपाल एयरलाइन्सले अहिले पनि मलेसियाको क्वालालम्पुरमा उडान गरिरहेको छ । नयाँ विमान आएपछि थप्न खोजेको असाध्यै महत्वपूर्ण गन्तव्य साउदी अरविया हो । दमाम वा रियाद, जहाँ झण्डै ५ लाख नेपाली छन्। त्यहाँबाट सिधा उडान भयो भने नेपालीहरुलाई ठूलो सुविधा हुन्छ । त्यसैले नयाँ विमान आएपछि साउदीमा उडान थाल्छौं ।

अन्य कुनै पनि कम्पनीको सिधै उडान नरहेकाले फाइदा पनि हुन्छ । यसबाहेक कोरिया, जापानमा पनि उडान सुरु गर्ने हाम्रो योजना छ । दोस्रो एयरबस आएपछि अवस्था हेरेर चौथो टार्गेट सिड्नी (अष्ट्रेलिया) हुन्छ । डाइरेक्ट त मिल्दैन । तर, सिंगापुर वा क्वालालम्पुर भएर जान्छौं ।

खाडी मुलुकहरुमा त बजेट एयरलाइन्सहरु पनि छन् । उनीहरुसँग प्रतिस्पर्धा गर्न सजिलो छ ?

वजेट एयरलाइन्सका कारण सबैतिर फरक परेको छ । तर, मानिसहरुको आ-आफ्नो रोजाई हुन्छ । बरु अलिकति बढी तिरौं, सुविधासँग जाऔं भन्नेहरु पनि छन् । बजेट एयरलाइन्समा पानीसम्म दिँदैन, खुम्चिएर बस्नुपर्छ । त्यसैले अहिलेसम्म बजेट एयरलाइन्सका कारण ठूलो धक्का परेको छैन । नेपाल एयरलाइन्स दुबई, दोहा, क्वालालम्पुरमा पनि राम्रै चलिरहेको छ ।

अर्को गन्तव्य सिड्नी भन्नु भो, अष्ट्रेलियामा उडान भर्न त एयर सर्भिस एगि्रमेन्ट छैन हैन र ?

हो । तर, यसबारे पर्यटन मन्त्रालयसँग छलफल भइरहेको छ । र, सिंगापुरसँग अहिले नै एयर सर्भिस छ ।

sugat-ratna-kansakar-5

युरोप तिरको उड्न त सम्भव भएन, किनकी हामी अझै कोलो सूचीमा छौं ?

मैले हाम्रा कर्मचारी साथीहरुलाई भनेको छु कि पान पसल र हामीमा केही फरक छैन । पान पसलले पान बेचेर पैसा कमाउँछ, हामीले सिट बेचेर कमाउनुपर्छ

त्यसलाई हामी ब्लाक लिस्ट होइन, सुरक्षा लिस्ट भन्छौं । हाम्रो डीजीसा’ब सञ्जिव गौतमको भनाइ अनुसार हामी एक दुई वर्षभित्रै त्यो सूचीबाट बाहिर निस्कन सक्छौं । हामी पनि त्यसकै लागि काम गरिरहेका छौं । नेपाल एयरलाइन्स र क्यान मिलेर चाँडो गराउने भनेर परार्मशदाता तथा प्राविधिकहरु ल्याएर काम गरिरहेका छौं । यो भयो भने हाम्रो फस्ट क्लास बिजनेश हुने भनेको काठमाडा-लण्डन ननस्टप हो । दिनको एउटा फ्लाइट राख्यो भने पनि चल्छ भन्ने हाम्रो तथ्यांकले देखाउँछ ।

नयाँ विमान किन्ने कुरा गरिरहँदा नेपाल एयरलाइन्स आफैं तयार थिएन । न कुनै योजना थियो न गन्तव्य नै तय थियो, भएको विमानले समेत राम्रोसँग उडान गरेको थिएन । बडो मुस्किलले यो अवस्थामा ल्याइयो भन्छन् नि मन्त्रालयका अधिकारीहरु ?

यसमा मेरो सहमति छैन । यद्यपि तपाईले भनेको जस्तो सुरुमा अलमल भएकै हो । त्यसलाई मैले कुन रुपमा लिएको छु भने २८ वर्षसम्म एउटा पनि विमान थपिएन । भएको चलाएर आनन्दसँग बसिरहेको थियो । नयाँ दुई वटा थपिएपछि कस्तो भयो भने मानाैं कसैको ३०/४० वर्षदेखि बसिरहेको घरमा तला थप्नुपर्‍यो । तला थप्ने क्रममा सिमेन्ट, बालुवा ओसार पसार गर्दा भर्‍याङ त फोहोर हुन्छ । भर्‍याङ फोहोर भयो भनेर कहाँ कराउन पाइन्छ र ? यो त्यस्तै भएको हो ।

अब भर्‍याङ फोहोर नहुने तरिकाले सबै चाँजोपाँजो मिलाएका छौं । विजनेश प्लान (आफ्नो टेबलमा भएको मोटो किताब देखाउँदै) बनाएका छौं । अहिले पाइलट के गर्ने भनेर रिपोर्ट आएको छ । नयाँ आउने विमानको त एक वर्षसम्म चलाउन पाइलट र इन्जिनियरको व्यवस्था गर्नुपर्छ । हामीले आँखा चिम्लिएर विमान किन्न लागेको भन्ने होइन । क्लियर कट छ, कुनै समस्या छैन ।

अर्को कुरा, स्वभाविक हो कि थाहा नहुने मान्छे सानातिना कुरामा अल्मलिएकै हुन्छ । तर, हाम्रो फोकस कुल आय बढाउनमा छ । यसका लागि सेल्स बढाउनु पर्‍यो । मैले हाम्रा कर्मचारी साथीहरुलाई भनेको छु कि पान पसल र हामीमा केही फरक छैन । पान पसलले पान बेचेर पैसा कमाउँछ, हामीले सिट बेचेर कमाउनुपर्छ ।

कुनै पान पसलमा दिउँसो १ बजे जाँदा पान सकियो भन्छ भने त्यो पसल कस्तो होला ? हाम्रो त्यस्तै भएको छ, सिट नै छैन । सिट थप्न हवाईजहाज किन्नुपर्छ । अहिले भएको हवाईजहाजहरु त पूर्ण क्षमतामा चलिसकेका छन् । भनेपछि यहाँको व्यवस्थापन ठीक नभएको भए कसरी हवाई जहाज फुल भयो ? स्पष्ट छ ।

तर, मानिसहरु सानोतिनो घटनालाई लिएर नेपाल एयरलाइन्सको व्यवस्थापन खत्तम भन्ने गर्छन् ।

तर, पटक-पटक समस्या त देखिएकै हो नि । हालै दिल्लीबाट काठमाडौं आएको पराराष्ट्रमन्त्री चडेकै विमानको टायर पडि्कयो । कहिले विमानमै मुसा भेटिन्छ । नेपाल एयरलाइन्सको विमान उड्ने भन्दा बढी ग्राउन्डेड हुन्छ भन्छन् ?

चाइनिज हवाई जहाजको समस्या अर्कै हो । यहाँ दुई वटा आइपुग्यो । अर्को चार वटा आउनु पर्नेमा आएको छैन । उसले तयार पारेको पनि डेढ वर्ष भइसक्यो । सरकार सरकारबीच सम्झौता भएकाले केही समस्या आएकाले ल्याउन सकेका छैनौं । यहाँ पनि केही समस्या भएकै हो । तर, चाइनिज हजाई जहाजलाई यसमा गाँस्न मिल्दैन ।

कुरा रहृयो, नयाँ हवाई जहाजको समस्या । यसमा समस्या नआएको होइन । अरु ठाउँमा पनि आउँछ । हवाई जहाजमा सुरक्षामा साह्रै सम्वेदनशील हुनुपर्छ । सानो पेच खुस्कियो भने पनि उडाउन पाइँदैन । फेरि टेक्निकल समस्या आउने भनेको सिभिल एभिएसनमा सामान्य कुरा हो । अरुको थाहा हुँदैन किनकी एउटामा समस्या आयो भने अर्कोले उडान भर्छ, ग्राहकलाई थाहा हुँदैन । हाम्रोमा त्यस्तो भएन । एउटा विमान उड्ने ठिक्क परेको थियो, समस्या आयो भने अर्को हङकङमा र तेस्रो दुवईमा हुन्छ । अनि उडान रद्द नगरी सुख्खै भएन । तर, मानिसहरु तीन वटा विमान भएको नेपाल एयरलाइन्स र १ सय भन्दा बढी विमान भएको अर्को एयरलाइन्ससँग तुलना गर्न थाल्छन् ।

sugat-ratna-kansakar-1

समयमा फ्लाइट हुँदैन, फ्लाइट रद्द हुन्छ, लगेजको समस्या त धेरै नै आएको छ । यसलाई कसरी लिनुहुन्छ ?

यो हाम्रोमा मात्रै आउने समस्या होइन । अरुको पनि हुन्छ, धेरैलाई थाहै छैन । म एउटा घटना भन्छु, अफ दि रेकर्ड भनेर हटाउन पाइन्न । एक जना भीभीआईपी स्पेशल एयरक्राफ्टबाट आएका थिए । टेक्निकल समस्या भएर अर्को विमान मगाउनु पर्‍यो । यहाँ कसैले समाचार लेखेनन् । अनि हाम्रो हवाई जहाजमा सानो समस्या भएर आधा घन्टा ढिलो भयो भने हंगामा मच्चिन्छ । कसकसको जागिर खोसौं भनेर सोध्न पनि आए, अनि मैले मेरै खोस्नुस् भनेर पठाइदिएँ ।

जहाँसम्म लगेजको कुरा छ, हालैसालै १५/१६ वटा सुटकेस फेरियो भन्ने कुरा आयो । तर यहाँ फेरिएकै होइन भनेर प्रमाणित भइसकेको छ । यस्तै घटना ४/५ महिना भएको थियो । नामै लिएर भनौं, दोहावाट आउँदा ३७ वटा सुटकेस फेरिएर आएको थियो । । हामीले दोहा एयरपोर्ट अथोरिटीलाई पत्र लेखेर पठायौं । र, थाहा भयो कि त्यहाँ काम गर्नेहरुले बदमासी गरेका रहेछन् ।

दोस्रो, साँच्चै भएको हो भने पनि हाम्रा कर्मचारीले हाम्रो र अरु २४ वटा एयरलाइन्सको गरी दिनमा ८ हजार सुटकेस ह्याण्डल गर्छन् । महिनाको साढे २ लाख सुटकेस हो । त्यसमा एउटा सुटकेसमा केही भयो भने नेपाल एयरलाइन्स खत्तमै भन्न मिल्ला ?

तर, टायर पन्चर हुने समस्या धेरै दोहोरियो । ठूलै दुर्घटनाको खतरा हुन्छ भन्छन् नि ?

टायर पन्चर आफैंमा ठूलो समस्या होइन । भारतमा गएको छ महिनामा पाँच वटा घटना भएको रहेछ । तर, हामी कहाँ २/३ हप्तामा नै तीन पटक टायर पन्चर भयो । र, केही गडबडी पक्क छै भनेर इन्जिनियरसा’बहरुसँग छलफल गर्‍यौं । उहाँहरुले पनि २०/२५ वर्षमा कहिले नभएको घटना भयो भन्नु भो । अहिले थाइल्याण्डको टायर बनाउने कम्पनीले भनेको छ कि एक ब्याचको रिसोलिङमै समस्या छ ।

चिनियाँ जहाजमा पनि त समस्या देखिएको छ । समस्या छ भन्ने थाहा हुँदाहुँदै थप चार वटा कसरी ल्याउने ?

त्यो चार वटा हामीले किनिसकेका हौं । ६० प्रतिशत रकम बुझाइसकेका छौं । अब त्यो के गर्ने भनेर नेपाल सरकारलाई सोधिरहेको छु । सरकारको केही उत्तर नआएकाले यस विषयमा मैले बोल्नै मिल्दैन ।

तर, पहिले ल्याएकैमा समस्या आएको देख्दादेख्दै अर्को ल्याउनु उपयुक्त हुन्छ ?

पार्टपुजाको कमीकमजोरीले गर्दा केही समस्या आएको हो । विमानको इन्जिनमा समस्या होइन । संसारको सबैभन्दा राम्रो इन्जिन नै छ त्यसमा । अपरेशन कस्ट अलि बढी भो कि भन्ने हाम्रो बुझाइ छ । त्यो पनि वीमा कम्पनीसँग मोलतोल गरेर ३५/३६ प्रतिशत घटाएका छौं । पाटपुर्जामा पनि घटाइदिन्छु भनेको छ । त्यसमा छलफल गर्नै बाँकी छ । चार वटा ल्याउनलाई सरकारको निर्णय पर्खिरहेका छौं ।

तपाईहरुको सुझाव विमान ल्याउनुपर्छ भने हो कि सरकारले चीन सरकारसँग छलफल गरेर विकल्प खोजे हुन्थ्यो भन्ने हो ?

विकल्प भन्ने त छँदै छैन । चीन मित्र राष्ट्र हो । मन्त्रिपरिषदबाट दुई पटक पारित गरेर सम्झौता भएको हो ।

हाम्रो प्राविधिक टोलीले त्यहाँ गएर हेरेर पनि ठीक छ भनेको छ । विमानमा कुनै समस्या छैन । अहिलेको समस्या भनेको पार्टपुर्जा मूल्य र विमाको मूल्य हो । त्यसैले चलाउनु परेको खण्डमा कुनै समस्या छैन ।

उसो भए, चीन सरकारले ६ वटा बाहेक कुनै विमान दिन्छु भन्यो भने निगम सकारात्मक हुन्छ ?

अहिले ६ वटा चलाएर हेर्ने हो । एक डेढ वर्ष चलाएर हेरेपछि भनौंला । फेरि यो त डोमेस्टिकको मात्र कुरा भयो । डोमेस्टिकमा निजी विमान कम्पनीहरुले पनि राम्रै गरिरहेका छन् । र, हाम्रो फोकस डोमेस्किट भन्दा अन्तराष्ट्रिय उडान हो । किनकी नेपाल एयरलाइन्स माथि नआएसम्म नेपालको पर्यटन क्षेत्रको विकास असम्भव हुन्छ भन्ने मेरो ठम्याई छ ।

sugat-ratna-kansakar-4

यसबाहेक एनएसीको लङ टर्म भिजन के हो ?

रणनीतिक साझेदार भित्र्याउने विषय मन्त्री वा एमडीले भनेर हुने विषय होइन । यसमा सबै मेजर पार्टीको सहमतिमा सरकारकै निर्णय आवश्यक पर्छ ।

यो दुई वटा एयरबस आउने वित्तिकै हाम्रो टिम अर्को दुई वटा न्यारोबडी किन्ने प्रक्रियामा जुट्छ । त्यसमा ३१९ मा जाने कि भन्ने छ । यो हाम्रो तीन वर्षे योजना हो । न्यारोबडीका विमान आएपछि तिब्बत/हृलासा जान सकिन्छ । त्यसपछि त हरेक वर्ष एउटा विमान थप्दै जानुपर्छ ।

तपाईसँग कुरा गर्दा रणनीतिक साझेदार भित्र्याउने विषय सोधिएन भने पाठकलाई अन्याय हुन्छ । मध्यपूर्वको भ्रमणका क्रममा तपाईले ५१ प्रतिशत शेयर दिएर पनि साझेदार भित्र्याउने भन्नु भएको थियो । कहाँ पुग्यो यो प्रक्रिया ?

यो मेरो मात्रै कुरा पनि होइन । ६ वर्ष पहिले शरदसिंह भण्डारीको पालामा भएको मन्त्रीस्तरीय निर्णय हो । निगमको बोर्डबाट ५१ प्रतिशतसम्म शेयर दिएर निजीकरण गर्ने भने निर्णय समेत भएको हो ।

तपाईले त नेगोसिएसन सुरु भएको भन्नु भएको थियो नि ?

मध्यपूर्वको एक कम्पनीले इन्ट्रेष्ट देखाएको हो । यहिँ कुरा गर्न आएका थिए । मैले हो भनेँ । तर, नेगोसिएसन भएको चाहीँ होइन । र, खुरुक्क कसैलाई पनि दिन मिल्दैन ।

अहिले यो कुन स्थितिमा छ त ?

त्यो ६ वर्षअघिको निर्णय बोर्डबाट पास भएर अर्थमन्त्रालयसम्म पुगेको थियो । त्यहीँ कतै होला । त्यसपछि के गर्ने भन्ने कुनै निर्णय भएको छैन ।

तपाईको विचारमा यो उपयुक्त छ कि छैन त ?

रणनीतिक साझेदार भित्र्याउने विषय मैले दूरसञ्चारमा अनुभव गरेर आएको हुँ । त्यसमाथि एभिएसन क्षेत्रमा अझे संवेदनशील विषय हो । मन्त्री वा एमडीले भनेर हुने विषय होइन । यसमा सबै मेजर पार्टीको सहमतिमा सरकारकै निर्णय आवश्यक पर्छ ।

मैले सात वर्ष पहिला जीएम भएर आउँदा मैले भनेको थिएँ, अब आजको मितिदेखि रणनीतिक साझेदार र पीपीपीको यहाँ उच्चरण पनि गर्न पाइँदैन । किनभने यहाँ त सबै अब रणनीतिक साझेदार आएपछि ठीक हुन्छ भनेर एक घन्टा काम गरेर बस्ने रहेछन् । यो कुरा म, सञ्चालक समिति र त्यस माथिकाले मात्र निर्णय गर्न सक्छ । त्यसैले हामी रणनीतिक साझेदार आउँदैन भनेर पूर्ण गतिमा काम गर्नुपर्छ । नेपालीहरुले नै गर्न सक्छन् भनेर देखाउनुपर्छ । नत्र म पनि रणनीतिक साझेदार आएपछि मात्र वाइड बडी किन्ने भनेर बसेँ भने १० वर्षमा पनि आउँदैन ।

उसो भए, तपाईको व्यक्तिगत विचारमा रणनीतिक साझेदार आवश्यक छैन ?

आउनै हुन्न भने होइन । र, पार्टनर आयो भने ५१ प्रतिशत नै शेयर दिएर ल्याउनुपर्छ । त्यो भन्दा कममा कोही आउनेवाला पनि छैन । तर, यो निर्णय कहिले हुन्छ भनेर मलाई शंका छ । पाँच वर्षसम्म निर्णय भएन भने म केही नगरी तलब खाएर बस्ने त ? म यसको पक्षमा छैन ।

तर, ५१ प्रतिशत शेयर दिँदा त राष्ट्रिय ध्वजावाहकको पहिचानमै असर गर्दैन ?

हो, त्यसैले यो अत्यन्तै गाह्रो निर्णय पनि हो । धेरैथोक विचार गरेर मात्र निर्णय गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment