Comments Add Comment

व्यङ्ग्य: चित्रगुप्तको तेह्रपन्ने बहीखाता

कात्तिकको चिसोमा एकाबिहानै चित्रगुप्त आफूसँग भएको सम्पूर्ण बहीखाता बोकी यमराजको क्वाटरमा पुगे । उनी पुग्दा बिहानको सात बजिसकेको थियो । तर, यमराज भने अघिल्लो दिनको ह्याङओभरले होला, त्यसबेलासम्म पनि निद्रामै मस्त थिए ।

madhav-dahalचित्रगुप्त एकछिन स्वर्गको पारिजात बगैंचामा टहलिन थाले । अप्सराहरुले गरेको नुहाइधुवाई र शृङ्गारपटार हेरिरहे । केही क्षण यमलोकको मनमोहक वातावरणको विचरण गरी उनले नजिकै रहेको रसादगृहमा प्रवेश गरे, अनि टिमहर्टनको मिडियम डबल कफी अर्डर गरे । उनी कफीको चुस्की लिँदै पलमल डिलक्स चुरोटको धुवाँमा विलीन भएको केही समयपछि मात्र धर्मराजको निद्रा खुल्यो ।

एकाध घण्टापछि यमराज चित्रगुप्त भएको ठाउँमा आइपुगे र चकित भावमा भने, ‘के भयो चित्रगुप्त ? एकाबिहानै आइपुगेछौ त । सबै ठीकै त छ नि हैन ?’

‘ठीकै छ महाराज, सबै ठीकै छ । हजुरले केही पीर मान्नु पर्दैन । बरु हामीसँग स्टकमा रहेका सबै तेह्रपन्ने सकियो, थप अर्डर गर्नुपर्‍यो । यसको माग अत्यन्त धेरै छ अहिले मर्त्यलोकमा ।’

चित्रगुप्तको कुरा सुनेर दङ्ग हुँदै यमराजले भने, ‘हैन चित्रगुप्त, तिमीले के भनेको यस्तो ? अलि किफायत त गर । अस्ति भर्खर सय रिमभन्दा बढी तेह्रपन्ने फोटोकपी गरेको हैन त ? अलिअलि भए पनि बाँकी हुनुपर्ने हो । जाऊ त, पहिला स्टोरमा हेर अनि मलाई दिउँसोको मिटिङमा रिपोर्टिङ गर ।’

‘हो सरकार, हजुरबाट मर्जी भएको ठीक हो । तर, यो मर्त्यलोकको नेपाल भन्ने ठाउँबाट आउने सबै मनुक्खेहरुको रेकर्ड हेर्दा उनीहरुलाई तेह्रपन्ने भराउनैपर्ने देखियो र सोको लागि १५/२० ट्रक तेह्रपन्ने छपाए पनि नपुग्ने देखियो प्रभु ।’

चित्रगुप्तले फेरि जुक्ति सुझाए, ‘महाराज, बरु आजै इन्द्रलोकको भृङ्गी अफसेट छापाखानाबाट कोटेसन मगाउनुपर्‍यो र अर्डर दिइहाल्नुपर्‍यो । यो यमपञ्चकको पाँच दिनभित्र यति काम फत्ते गर्न सकिएन भने बडो अप्ठ्यारो पर्ला जस्तो भयो ।’

चित्रगुप्तको कुरा सुनेर यमराजले पुन: प्रश्न गरे, ‘हामीसँग पर्याप्त समय त छ नि छपाइका लागि ?’

‘छैन सरकार । हामीसँग अत्यन्त सीमित समय छ । मुल्तबीमा रहेका हाम्रा अन्य धेरै काम गर्न पनि हामीलाई पन्ध्र दिनभन्दा बढी समय लाग्नेछ । त्यसैले सरकार, यो तेह्रपन्ने छपाइको काम जतिसक्दो चाँडो गरिहाल्नुपर्छ ।’

चित्रगुप्तले फेरि बिन्ती गरे, ‘महाराज, बाढीपहिरो, अनिकाल, भोकमरी, भूकम्प, आन्दोलन र दुर्घटनाका कारण दैनिक बथानका बथान नेपालीहरु यमलोक आइरहेका छन् । जसका कारण हामीले मर्त्यलोकको अन्य ठाउँबाट आउने मानिसहरुलाई हेर्न समेत भ्याएका छैनौं प्रभु । यो नेपाल भन्ने मुलुकले टाउको दुखाइसक्यो ।’

चित्रगुप्तको कुरा सुनेर यमराजले पुनः प्रश्न गरे, ‘चित्रगुप्त, हामीले अन्य मुलुकबाट यहाँ आउने मानिसहरुलाई तेह्रपन्ने भराएका छौं कि छैनौं ? यदि भराएका छौं भने अन्य मुलुक र नेपाल भन्ने मुलुकबाट आउने मानिसलाई भराएको तेह्रपन्नेको रेसियो कस्तो छ ?’

चित्रगुप्तले बताए ‘हे धर्मराज, हाम्रो यमलोकको स्ट्याटिस्टक ब्यूरोले हालै प्रकाशन गरेको तथ्याङ्कका आधारमा भन्ने हो भने नेपालबाट र अन्य मुलुकबाट यहाँ आउने मानिसको तेह्रपन्ने भर्ने रेसियोको बीचमा एकदमै ठूलो ग्याप छ । एउटा अचम्मको कुरा, अन्य सबै मुलुकको तेह्रपन्नेको तथ्याङ्क र नेपालको तथ्याङ्कलाई तुलना गर्ने हो भने पनि नेपालकै फाराम भर्नेको संख्या बढी हुन आउँछ ।’

‘किन ? अन्य मुलुकमा भ्रष्टाचार भन्ने चिज नै हुँदैन रै’छ कि क्या हो ?’

‘हैन सरकार हैन । अन्य मुलुकबाट आउने मानिसमा पनि घोटालाका घटनाहरु त छन् । तर, ‘सुडान’, ‘एलसी’, ‘क्यान्टोनमेन्ट’, ‘धमिजा’, ‘एनसेल’, ‘विद्युत्’, ‘आयल निगम, ‘मेलम्ची, ‘हाइड्रो पावर अनुमति’, ‘विमान खरिद’ जस्ता अनेक काण्ड चाहिँ नेपाल भन्ने मुलुकमा मात्रै भएको देखिन्छ । त्यहाँ त सरकार, जो शाक्तिशाली उसैको राज्य छ । यो त साह्रै अनर्थ भयो प्रभु । नेपाल भन्ने मुलुकमा त सबैभन्दा बढी उत्पादन हुने खेती भनेकै भ्रष्टाचार भएको छ हिजोआज । त्यसैले ती सबैलाई तेह्रपन्ने भराउनुपर्ने भयो सरकार । त्यसैले धेरैभन्दा धेरै तेह्रपन्ने फारामहरु भराउन पनि थप विज्ञहरु नियुक्ति गर्नुपर्‍यो ।’

चित्रगुप्तले फेरि थपे, ‘यदि नेपाल भन्ने मुलुकमा यस्तै ताल हो भने यो तेह्रपन्नेले मात्र धान्न सक्तैन जस्तो छ ।’

‘किन र ? त्यो मुलुकमा अहिलेका युवा पुस्ता पनि भ्रष्टाचारमै लिप्त छन् र यतिका धेरै फाराम चाहियो चित्रगुप्त ?’ धर्मराजले जिज्ञासा राखे ।

‘सरकार, युवाहरुको के कुरा गर्नु ? उनीहरु त लाखौंको संख्यामा बेरोजगार छन् । तिनै बेरोजगारलाई पछाडि लगाएर काटमार गर्नेहरु अहिले बडो पावरवाला भएका छन् । लाखौं युवा विदेश पलायन भएका छन् । रहलपहल युवालाई अवसरबाट ८० वर्षे युवाहरुले विस्थापित गरिदिएका छन् । महाराज, एकचोटि नेपालबाट यमलोक अएका नेपाली नेताहरुको गिदीको जाँचपड्ताल गर्नुपर्‍यो । कतै सृष्टिकर्ता ब्रह्माजीले गिदी भनेर अन्य वस्तु त हाल्नुभएन ? बरु एक पटक हजुरले ब्रह्माजीसँग पनि परामर्श गर्नुपर्‍यो । सरकार यी सबै अलि समय लाग्ने कुरा हुन् । अहिलेको तत्कालीन आवश्यकता भनेको चाहिँ छिटोभन्दा छिटो १५/२० ट्रक तेह्रपन्ने छपाउनु हो’, चित्रगुप्तले थप विवरण दिए ।

यति कुरा सुनेपछि यमराजले पनि तत्काल हेडक्वाटरको इमरजेन्सी मिटिङ बोलाउन र सोको लागि पत्र काट्न चित्रगुप्तलाई अह्राए । बैठकमा उनका चार प्रमुख विभागहरु सहचारी, अत्याचारी, व्यभिचारी र कर्मचारीबाट विभागीय प्रमुखहरुलाई उनीहरुको प्रगति प्रतिवेदन सहित मिटिङमा आउन पत्राचार गर्ने निधो भयो । उक्त मिटिङको भेन्यू ‘छापामार रोयल ब्याङ्क्वेट हल’ छनोट गरियो ।

यमपञ्चकको अघिल्लो दिन गरिने उक्त बैठकमा फेसिलिटेटरका रुपमा छिमेकी मित्रराष्ट्रका यमदूतलाई समेत आमन्त्रण गर्ने निर्णय भयो । यसका अतिरिक्त खाना र खाजा यमलोककै पाँचतारे होटल तथा ग्लोबल कुजिनबाट तयार पारिने तथा सहभागीहरुको स्वास्थ्यलाई ख्याल गर्दै गुणस्तरीय भारतीय नुनको प्रयोग गर्ने गरी बैठकको पूर्ण तयारी भयो ।

बैठकको दिन कार्यक्रम निर्धारित समयमै सुरु भयो । यमराजले बैठकको अध्यक्षता गर्दै आसन ग्रहण गरे । अध्यक्षको अनुमति लिएर चित्रगुप्तले तेह्रपन्नेको आवश्यकता र यसले मर्त्यलोकमा ल्याएको तरङ्गको बारेमा सहभागी समक्ष आफ्ना धारणा राखे ।

चित्रगुप्तको मन्तव्यपछि यमराजले पटाङ्गिनीभरि लहरै बसेका आफ्ना वरिष्ठ विज्ञहरुलाई निर्देशन दिए, मर्त्यलोकबाट आउने जो कोही तेह्रपन्ने भर्नबाट वञ्चित नहोऊन् । त्यसमा पनि नेपाल भन्ने मुलुकबाट आउने एक जना पनि नछुटून् ।

उनले यसको खाका एक साताभित्र तयार पार्न र सम्पूर्ण लागत इस्टिमेट तयार पारी तत्कालका लागि आवश्यक संख्यामा तेह्रपन्ने छपाइ गर्न कोटेशन आह्वान गर्न समेत निर्देशन दिए । सबै विज्ञले स्वीकृतिमा टाउको हल्लाए ।

तेह्रपन्ने भराउने र छपाइका लागि कोटेशन तथा दरभाउ आह्वान गर्ने कुरा यमराजले गरेपछि छापामार ब्याङ्क्वेट तथा ग्लोबल कुजिनका एक्जिक्युटिभ डाइरेक्टरलाई सो कुरा अलि चित्त नबुझेको जस्तो देखिन्थ्यो । कोटेशन र वित्तीय नियमका कुरा गर्दा उनलाई अलि बढी नै बाँधे जस्तो लागेछ क्यार ।

उनले यमराज समक्ष बिन्ती गरे, ‘महाराज, यो कोटेशन, दरभाउ र तेह्रपन्ने भन्ने कुरा हामी आफैंलाई पनि भन्न खोज्नुभएको हो हजुरले ? यदि त्यसो हो भने त मेरो पनि यसमा आपत्ति छ है । हामी त अरुलाई पो नियमन गर्ने र आदेश दिने निकाय हौं त । हामी आफैं यसमा रुमलियौं भने त मर्त्यलोकका सबैलाई कसरी भराएर भ्याउनु तेह्रपन्ने ? बरु सबैले भर्नुपर्ने हो भने अनलाइनबाटै भराउने व्यवस्था मिलाऔं महाराज । यसो गर्दा फाराम भर्न समयको बचत र सहजता हुनेथ्यो ।’

उनको कुरा सुनेर यमराज सुरुमा त दङ्ग परे ।

पछि उनलाई सम्झाए, ‘हेर बालक, मैले त तेह्रपन्ने भर्नबाट सर्वसाधारणहरु पो कोही पनि वञ्चित हुनु नपरोस् भनेको हुँ । हाम्रो आफ्नै सर्कल, रोयल हैसियत भएका तिमी-हामी जस्ता मानिस र हाम्रा नातागोताका लागि त फाराम भर्ने कुरै आउँदैन नि ! किन आत्तिएको ? बरु अफ्रिकी मुलुक सुडानतिर विगतमा गएको एउटा नेपाली टोलीलाई भने तथ्याङ्क अपडेट गर्नकै लागि मात्र भए पनि फाराम भराऊ है चित्रगुप्त । मैले भनिनँ भनेर पछि अत्तो थाप्ने हैन नि ।’

उनले फेरि थपे ‘त्यस्तै डाक्टरी विषय अध्ययन गर्ने नाममा भए गरेका सबैलाई यो तेह्रपन्ने भराउन नबिर्स है ।’

यति भनेर यमराजले सहभागीहरुका केही प्रश्न छन् भने चित्रगुप्तलाई प्रष्ट पार्न आदेश दिए । बैठकको सहजीकरण भने छिमेकी मित्रराष्ट्रका महामहिमज्यूले गरेका थिए ।

सबै सदस्यको सहमतिमा बैठकको माइन्युट तयार पारियो । बैठकले यही महिनाको अन्त्यसम्ममा यमलोकको अर्धवार्षिक प्रगति समीक्षा गर्ने तथा तत्कालका लागि कम्तीमा ३० ट्रक तेह्रपन्ने फाराम छपाइका लागि टङ्गाल राष्ट्रिय दैनिकमा कोटेशन आह्वान गर्ने निर्णय भयो ।

उक्त बैठक बसेको राति सुडान गएको टोली, अस्पताल सञ्चालकको समूह, रोयल ब्याङ्क्वेट हलका प्रमुख लगायत हाइ प्रोफाइल व्यक्तिलाई यमराजले दिउँसो मिटिङमा गरेको कुरा चित्त बुझेन । उनीहरुलाई उक्त कुराले कता-कता चिसो लागिरह्यो ।

उनीहरुले चित्रगुप्त, छिमेकी खाद्य आपूर्ति तथा नुन सप्लायर्सलाई पत्तै नदिई यमराजलाई पाता कस्ने र उनको ठाउँमा पवनपुत्र हनुमानको मूर्ति प्रतिस्थापित गर्ने योजना बनाए । आफू जस्तै हनुमानको मूर्ति यमलोकमा प्रतिस्थापन गरेपछि तेह्रपन्नेको भूतले आफूहरुलाई कहिल्यै नसताउने कुरामा उनीहरु ढुक्क देखिन्थे ।

यमपञ्चक अवधिभरि यमराज आफ्नी बहिनी यमुनाको घरमा जाने भएकाले निर्णय कार्यान्वयन गर्न पनि केही समस्या नदेखिने कुरामा सम्पूर्ण सहभागीहरु निश्चिन्त थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment