Comments Add Comment

लोकमानको घरमा म्याद तामेली नगर्ने शम्भु खत्री भन्छन्- यो काम साह्रै गाह्रो छ हजुर !

Shambhu-Khadka,-Sarbochha

सर्वोच्च अदालतका श्रेस्तेदार शम्भु खत्री (हातमा कागजपत्र बोकेका)

११ कात्तिक, काठमाडौं । अख्तियार प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद तामेली नगरी फरार भए भनिएका सर्बोच्च अदालतका श्रेस्तेदार शम्भु खत्रीले विहीबार अदालतमा चार पन्ने लिखित जवाफ बुझाउँदै दुःख पोखेका छन् ।

लोकमान सिंहको घर पत्ता लगाएर पुग्दा त्यहाँ उनी टंगालस्थित अख्तियारको क्वाटरमै बस्ने गरेको पत्तो लागेको खत्रीले लेखेका छन् । बानेश्वरको घरमा लोकमान नबसेको प्रतिवेदन वडा कार्यालयले दिएको र सो प्रतिवेदन आफूले अदालतमा पेश गरेको भन्दै खत्रीले आरोपबाट सफाइ पाउँ भनेका छन् ।

खत्रीले बदनियतपूर्ण ढंगले म्याद तामेल नगरेको भन्दै अदालतले कारबाही प्रक्रिया अगाडि बढाएपछि उनले विहीबार लिखित जवाफ पेश गरेका हुन् ।

खत्रीले अदालतलाई लेखेका छन्, ‘मेरो योग्यता नै आठ-दश कक्षा उत्तीर्ण हो । २० वर्षभन्दा बढी लगनशील भई काम गरेको छु । म्याद तामेल गर्नु त्यति सहज छैन ।’

म्याद तामेल गर्न हिँड्दा लाग्ने तेल खर्चसमेत आफूले नपाउने गरेको र आफ्नो मञ्जुरीबिना काभ्रे जिल्ला अदालतमा सरुवा गरिएको खत्रीको गुनासो छ ।

लोकमानको म्याद तामेलीबारे उनले लेखेका छन्, ‘मैले नियतबस उक्त म्याद तामेल गर्न नचाहेको हुँदै होइन, अव्यवस्थित बसोबास, बढ्दो शहरीकरण, स्वार्थ राजनीतिक अवस्था, कुण्डले मण्डले, गाउँटोल कानुनी ज्ञानको कमी, साक्षी बस्ने मानिस नपाउने, कसैलाई अनुरोध गरे थर्काउने हप्काउने, त्यसलाई कानुनी दायरमा सहयोग गरेन भनेर निवेदन अगाडि बढाए भोलि सोही गाउँटोलमा हामीलाई कुटपिट समेत गर्ने असुरक्षित अवस्थाका बाबजुद म्याद तामेली कार्य सम्पन्न गर्न साह्रै कठिन अवस्था भएको छ ।’

आफू भागेको भन्ने कुरा सत्य नभएको भन्दै खत्रीले दशैंको छुट्टी भएकाले कार्यालय नआएको उनले बताए । अदालतमा बुझाएको लिखित जवाफमा उनले लेखेका छन्, ‘दशैंको चाडबाडको मुखमा म कतिपटक तामेली भनी हिँड्ने ?’

पढ्नुहोस्, श्रेस्तेदार खत्रीले सर्बोच्चमा बुझाएको लिखित जवाफको पूर्णपाठ

१. मैले मिति २०७३/०६/०९ मा उक्त म्याद तामेल गर्न बुझिलिएको थिएँ । त्यसमध्ये प्रचण्डको लगायत अन्य म्यादहरुसमेत तोकुवा अं. आदेशका लाथि झिकाउने म्यादहरु मिति २०७३/०९/१३ सम्म तामेल गरी मिसिल सामु राख्न फाँटमा बुझाईसकेको थिएँ । बाँकी कामनपा वठा नम्बर १० बस्ने पूर्व मूख्यसचिव लोकमान सिंह कार्कीका नामको म्याद तामेल गर्न खोज तलासी गर्दै कामनपा वडा नं. १० वडा कार्यालयमा समेत सम्पर्क गरिराखेको थिएँ ।

२. कामनपा वडा नम्बर १० को कार्यालय सचिव पनि सो समयमा बिभिन्न तालिममा भएको र दशैं नजिक आइसकेको र कार्यालय बिदा हुने दिन नजिक रहेको र बृद्ध अपांग भत्ता विवरण लगायतका काममा व्यस्त छु, म पनि बुझ्छु तपाईंले बुझ्नु भन्नेसम्मका कुराहरु भयो ।

३. त्यसपछि घर पत्ता लाग्यो तर लोकमानसिंह कार्की र परिवार नेपाल सरकारको निर्णय अनुसार बिगत तीन बर्ष पहिलादेखि अख्तियार प्रमुख सरकारी निवास टंगालमा हुनुहुन्छ भन्ने कुराको बल्ल जानकारी भयो । मिति २०७३/०६/१४ देखि घटस्थापना बिदा भैसकेको थियो ।

४. म तामेलदार पदमा प्रवेश गरेदेखि हालसम्म मेरो बुद्धी र विवेकले म्यादसम्म सदा इमान्दार र लगनशील भई काम गरेको छु । २० बर्षभन्दा बढी भयो म्याद तामेली कार्य गर्दा मेरो व्यक्तिगत दुई दशकमा कार्बाही स्पष्टीकरणसहित कहिले केहि पाएको थिइनँ र छैन, यसमा पनि पाउनपर्ने अवस्था कानूनतः र व्यवहारिक दुवै पक्षबाट छैन ।

५. म्याद तामेल गर्नु भनेको त्यति सहज छैन । अहिलेको अवस्थामा अव्यवस्थित बसोबास, बढ्दो सहरीकरण, स्वार्थ राजनैतिक अवस्था, कुण्डले मण्डले, गाउँ टोल कानूनी ज्ञानको कमी, साक्षी बस्ने मानिस नपाउने, कसैलाई अनुरोध गर्दा थर्काउने हप्काउने, त्यसलाई कानूनी दायरामा सहयोग गरेन भनेर निवेदन अगाडि बढाए भोलि सोही गाउँटोलमा हामी सोही कामको सिलसिलामा उनीहरुसँग पुन सहयोग माग गर्नुपर्ने त्यस्तो अवस्था परे हामीलाई कुटपीट समेत गर्ने असुरक्षित अवस्थाका बाबजुद म्याद तामेली कार्य सम्पन्न गर्न साह्रै कठिन अवस्था आएको छ ।

६. मैले नियतबस उक्त म्याद तामेल रितपूर्वक गर्न नचाहेको बदनीयत गरी तामेल नगरेको होइन र गर्नु हुँदैन भन्ने कुरामा म अत्यन्त गम्भीर र सचेतनामा नै छु ।

७. मैले यसरी काम गरिरहेको अवस्थामा मेरो घर काठमाडौं जिल्ला डाँछी हो । मैले मिति २०५३ देखि यस सर्वोच्च अदालतमा तामेली कार्य सुरु गरेको हो । काठमाडौं जिल्ला कामनपा वडा नं. १० नयाँ बानेश्वर ३४, ३५ कोटेश्वर गौशाला कामनपा वडा नं. ९ चावहिल, बौद्ध, कपन, गागलफेदा, डाँछी, साँखु, बज्रयोगिनी, नाङलेभारे, सिन्भुपाल्चोकको सीमानामा लगायत बिभिन्न स्थानसम्म लगभग काठमाडौंको ४ भागमध्ये २ भाग बराबरको क्षेत्रफलमा मैले मात्र म्याद तामेल गर्नुपर्ने अवस्था म माथि आइपरेको छ । साधन केहिपनि छैन । जसलेे ममाथि यो आरोप निवेदन दिएको छ उसलाई तेल, मोटरसाइकल र काम गर्ने एरिया पनि कम छ । मैले बुझेको म्यादमा कहिले कोहि साथी खटाउन नपर्ने र सो म्यादमा उसलाई पठाउन पर्ने प्रतिवेदन यस बिदा पछि संयुक्त रुपमा पर्ने थियो वा तामेली गर्नुपर्ने थियो । आखिर दशैं पछि नै भयो त्यो पनि पटक पटक गरेर । मैले लाखौं म्याद तामेल गरेँ कुनैमा बदनियत भएन तर यो म्याद अड्डा बिदा भएको दशैंको चाडवाडको मुखमा सबै घरबिदा म कतिपटक तामेली भनी हिँड्ने फेरि मेरो २०७३/६/१४ को निर्णयबाट मलाई काभ्रे जिल्ला अदालतमा सरुवासमेत मेरो मञ्जुरीबिना गरिएको छ ।

८. जहाँसम्म अन्तर्वार्ता दिँदै हिडेको भन्ने सवालको आरोप छ त्यसमा म घरघर गाउँगाउँ हिँड्ने एउटा निर्धक कर्मचारी हुँ । को कुन स्वभाव र प्रकृतिको मानिस हो मैले कसरी चिन्ने ? चिन्न सक्ने कुरा पनि भएन । कसले कुन पेशा अपनाएको छ त्यो पनि मलाई तत्काल थाहा हुने कुरा होइन । के हो भनेर सोध्यो पनि गम्किने कुरा पनि भएन । जनमासले म कर्मचारी हो भन्दा, भन्नासाथ जनचासोको बिषयमा जिज्ञासामा बिभिन्न बिषयमा राखेपछि वातचित हुन्छ त्यसमा म अदालतको कर्मचारीले कानून नियमको परिनधिभित्र रही मेरो योग्यता र क्षमताले भ्याएसम्म कहीँ कतै अमुक मानिस भीड कहित आवत आवतका हातपात हुनसक्ने अवस्थामा समेत म्याद तामेली कार्यमा खतरा हुनसक्ने अवस्था हुन सक्ने एकाएक परिस्थिति सृजना भएको पनि हुन्छ । त्यस्तो अवस्थामा आत्मरक्षा अंगभंगको अवस्था हुने हुँदा जहाँ ने बोलेर पनि उम्कने काम गर्नुपर्ने बेलामा केही बोलिए कुन अमुक प्रतिकार पनि हुन सक्छन् । बिभिन्न मतलव साँध्ने व्यक्ति हुलहुज्जत थपथाप गरी मनगणन्ते कुरा मिसावट कुरा पनि लेखिदिनसक्छन्, त्यसमा मेरो दोष हुँदैन । हुन सक्दैन ।

९. मेरो योग्यता नै आठ दश कक्षा उत्तीर्ण हो । सामान्य लेखपढ गर्न सक्ने हो । म त्यति बिभिन्न बिश्लेषण केलाएर निरकेवल गर्ने क्षमताको पनि होइन । म केवल म्याद तामेलीको व्यहोरासम्म लेखपढ गर्नसक्ने व्यक्ति मात्र हो । मलाई यति थाहा छ कि सामान्य कानूनको परिधिभित्र रशेर निष्ठापूर्वक कार्यसम्पादन गर्ने मातहत श्रीमानको निर्देशन बुझाएपछि बुझेर दायिात्व र कार्यसम्पादनको प्रभावकारितामा भरिसक्य कुनै बिचलन नआउने गरी आफू संवेदनशील भई म्याद तामेली जस्तो महत्वपूर्ण जिम्मेबारी रहेको तथ्य बोध गर्दै अदालतको आदेश प्राथमिकता जस्तो बन्दी अग्राधिकार अ.आ. तोकुवा म्यादलाई सिघ्राती सिघ्र तामेल गर्दै त्यसपछि सो कार्य दो.पा. को म्याद तामेल गर्दा मर्यादा प्रतिष्ठा र छविलाई उच्च तुल्याउने ढंगबाट कार्यसम्पादनलाई तीव्रता दिनुपर्छ भन्ने बिषयमा मेरो ज्ञान विवेकले भ्याएसम्म गरिरहनुपर्दछ भन्ने मेरो कर्तव्य हुनेछ । भएको छ । सेवाग्राहीको मानभावनालाई उच्च प्राथमिकता दिई कानूनको परिधिभित्र रही अदालतको काम कारबाहीप्रति उत्साहित बनाउन जाने बुझेसम्मका लागि सजग रहनेछु ।

१०. मैले कुनै बदनियत राखी म्याद तामेल नगरेको होइन । म्याद तामेल गर्न मेरो जिम्मेबारीमा धेरै भएकाले हरेक ठाउँ पुग्नुपर्छ । वडा कार्यालयको म्यादवाला यो घरमा नवस्ने भनी मिति २०७३/०६/२८ मा प्रतिवेदन दिएकाले सोही व्यहोरा पेश गरेको छु । म्यादवाला मानिस त्यो ठाउँमा नवस्ने भनी वडा कार्यालयले लेखिदिएमा सोही ब्यहोराको प्रतिवेदन दिने आम प्रचलन छ । सोही प्रचलनबमोजिम गरेको हुँ । वडा कार्यालयको सहयोगबिना घरमा म्याद तामेल गर्न नमिल्ने कानूनी व्यवस्था छ ।

११. अतः माथि उल्लेख गरे बमोजिम बदनियत राखी म्याद तामेल नगरेको होइन हरु मुद्धामा गर्ने गरेजस्तै वडा कार्यालयले म्यादवालाको घरमा नवस्ने भनी वडा कार्यालयले दिएको प्रतिवेदन पेश गरेको हो म उपर कुनै कारबाही हुनुपर्ने होइन । आरोपबाट सफाइ पाउँ ।

१२. माथि लेखिएको ब्यहोरा ठीक छ फरक परे कानून बमोजिम सहुँला बुझाउँला ।

वडा कार्यालयका कर्मचारी सरीता र भेषबहादुर के भन्छन् ?

म्याद तामेल गर्ने कार्यमा काठमाडौं महानगरपालिका वडानम्बर १० को कार्यालयका अधिकृत सरीता राई र नायब सुब्बा भेषराज अर्यालले पनि असहयोग गरेको समाचार सार्बजनिक भएको थियो ।

तर, वडा कार्यालयकी प्रशासकीय प्रमुख सरीता राईले सो समयमा आफू नमूना वडा कार्यालयको तालिममा सहभागी भएको र पतिको उपचारका लागि विदामा बसेका कारण सजायँको भागिदार नहुने प्रष्टिकरण पेश गरेकी छन् । उनले भनेकी छन्, ‘म वडा कार्यालयमा प्रशासकीय प्रमुख भएको कारणले कार्यालयको आयोजनामा भइरहेको नमुना वडा तालिममा सहभागी भएको तथा आफ्नो पतिको उपचारमा संलग्न हुन परी बिदा बसेको अवस्थामा यस्तो सजायको प्रस्ताव मेरा हकमा लागू हुन सक्दैन । मेरो कुनै पनि क्रियाकलापले म्याद तामेलीमा असहयोग वा बाधा विरोध गरेको छैन । एकमुष्ट रुपमा मलाई समेत लागू हुने गरी सजाय गर्न मिल्दैन, म निर्दोष छु ।’

म्याद तामेलीमा असहयोग गरेको भन्दै सर्बोच्च अदालतले वडा कार्यालयकी अधिकृत राई र नायबसुब्बा अर्याललाई समेत कारबाहीको सिफारिस गरेको थियो ।

त्यसको प्रतिवाद गर्दै राईले लेखेको जवाफ यस्तो छ-

सम्मानित सर्वोच्च अदालतबाट मिति २०७३/६/०५ मा म्याद जारी भएपछि समयमा नै म्याद तामेल गर्नु सम्बन्धित कर्मचारीको कर्तव्य हुन्छ । त्यसरी उक्त मितिमा जारी भएको म्याद समयमै तामेल नगरी अदालत विदा भएपछि मात्र तामेल गर्न आउनु र वडाका निरीह कर्मचारीहरुलाई दोष लगाउने कार्य सर्वस्वीकार्य हुँदैन । यस आदलतको आदेशमा काठमाडौं महानगरपालिका वडा नं. १० वडा कार्यालयका अधिकृत सरीता राई र ना.सु. भेषराज अर्यालले म्याद तामेल कार्यमा सहयोग नगरी वाधा अवरोध खडा खरेको भनी सजाय प्रस्ताव गरिएको छ । जबकी म लिखित जवाफ प्रस्तुतकर्ता उक्त मितिमा स्थानीय विकास मन्त्रालयले आयोजना गरेको नमुना वडा बनाउने तालिममा भाग लिन गएको र कार्यालयमा उपस्थित नभएको व्यक्तिलाई म्याद तामेलको काममा वाधा खडा गरेको भनी सम्मानित अदालतबाट सजाय प्रस्ताव गर्दा व्यक्तिको संलग्नताका बारेमा नजरअन्दाज गर्ने कार्य भएको छ ।’

यसैगरी म्याद तामेल गर्ने कार्यमा रोहबर बस्न नमानेको भनेर आरोप लगाइएका वडा कार्यालयका नायब सुब्बा भेषराज अर्यालले पनि आफू कारबाहीको भागीदार नभएको लिखित जवाफ सर्वोच्च अदालतमा पेश गरेका छन् । आफूलाई लगाइएको आरोपबाट ठूलो अन्याय भएको उनले बताएका छन् ।

अर्यालको जवाफमा लेखिएको छ, ‘म्याद तामेली गर्ने जवाफदेही भएका जिम्मेवार व्यक्तिले नै म्याद तामेलीको काम नगर्ने भनिसकेपछि हामी महानगरपालिकाका कर्मचारीले केहि गर्न मिल्ने अवस्था हुँदैन । साथै मैले म्याद तामेली गर्ने कार्यमा कुनै पनि किसिमबाट प्रत्यक्ष वा अपरोक्षरुपमा असहयोग तथा अवरोध सिर्जना गरेको छैन र मैले असहयोग वा अवरोध गर्नुपर्ने कुनै पनि कारण छैन ।’

पढ्नुहोस् अर्यालको जवाफ 

‘…म कार्यरत १० वडा कार्यालयका प्रशासकीय प्रमुख श्री सरीता राई कार्यालयबाहिर रहनु भएको थियो, मलाई पछिमात्र थाहा भयो कि निज महानगरपालिकाले नै सञ्चालन गरेको तालिममा सहभागी हुन समेत जानु भएको रहेछ तर निजले मलाई निजको अनुपस्थितिमा कार्यालयको काम गर्न तथा मुद्दा मामिला तथा अन्य कुनै विषयमा रोहवरमा बस्न अख्तियारी तथा निर्देशन दिनु भएको थिएन । अदालतबाट खटी आउनु भएका तामेलदारहरु म कार्यरत कार्यालयमा उपस्थित भइ उहाँहरु श्री सर्वोच्च अदालतबाट श्री लोकमानसिंह कार्की नाममा जारी भएको म्याद तामेल गर्न आउनु भएको भन्ने जानकारी गराएपछि सो काम सम्पन्न गर्न सहयोग गर्नको लागि प्रशासकीय प्रमुख श्री सरीता राईलाई जानकारी गराउन निज कार्यालयमा नभएको हुनाले मोबाइल फोनमा सम्पर्क गर्न प्रयास गर्दा सम्पर्क हुन सकेन । सम्पर्क हुन नसकेपछि मेरो पदीय जिम्मेवारीको बारेमा निज तामेलदार ज्युलाई मैले बताएको थिएँ । त्यसपछि तामेलदार बलदेव महतले श्री सर्वोच्च अदालतका सम्बन्धित कर्मचारी -उहाँको नाम र पद मलाई थाहा भएन) लाई फोन दिनुभयो र उहाँले कि प्रशासकीय प्रमुखलाई उपस्थित गराउनुस् हैन भने तपाइले नै रोहवरमा बसी सही गरिदिएपनि हुन्छ भन्नुभयो । तत्पश्चात तत्कालै प्रशासकीय प्रमुख सरीता राईले मलाई फोन गरी आज म बिदामा बसेको छु, तपाईंले श्री सर्वोच्च अदालतको म्याद तामेली गर्ने कार्यमा रोहवरमा बसी म्याद तामेली गर्न सहयोग गर्नु भनी निर्देशन दिएपश्चात म सम्मानित अदालतका कर्मचारीहरुसँग आवश्यक कार्य गरी सहयोग गर्नका लागि म श्री लोकमानसिंह कार्कीको घरसम्म अदालतबाट नै ल्याएको सवारी साधनमा तामेलदारहरुसँग नै चढी गएको हुँ ।

श्री लोकमानसिंह कार्कीको घरमा जाँदा स्थानीय व्यक्तिहरु, पत्रकारहरु लगायतको ठूलो जमात उपस्थित थियो । अदालतबाट म्याद तामेल गर्न आउनुभएका कर्मचारीहरु बीचमा कोसँग के कुरा भयो मलाई थाहा भएन । उनीहरु बिभिन्न मान्छेसँग कुराकानी गर्दै थिए, म रोहवरमा बस्न प्रतिक्षारत रहेकै अवस्थामा आज काम गर्न सकिने अवस्था छैन तपाइ जान सक्नुहुन्छ म्याद तामेल सम्बन्धी काम भोलि गरौंला भनि तामेलदार श्री शम्भुबहादुर खत्रीले भनेको हुनाले निजहरुले भनेबमोजिम म मेरो कार्यालयमा गएको हुँ ।

मैले यस मुद्दाका प्रतिवेदक श्री बलदेव महतले आरोप लगाएजस्तो म्याद तामेली गर्ने स्थानको नजिक पुगेर फर्केको होइन । निजहरु दुबै जना सँगै भएको बेलामा निजहरुले भने बमोजिम नै फर्केको हुँ । मेरो दायित्व म्याद तामेल गर्ने नभइ म्याद तामेल भएपछि प्रचलित कानुन तथा मेरो कार्यालयले प्रदान गरेको जिम्मेवारीको अधिनमा रही म्याद तामेल भएपछि रोहवरमा सम्म बसिदिने हो । म्याद तामेली गर्ने जवाफदेही भएका जिम्मेवार व्यक्तिले नै म्याद तामेलीको काम नगर्ने भनिसकेपछि हामी महानगरपालिकाका कर्मचारीले केहि गर्न मिल्ने अवस्था हुँदैन । साथै मैले म्याद तामेली गर्ने कार्यमा कुनै पनि किसिमबाट प्रत्यक्ष वा अपरोक्षरुपमा असहयोग तथा अवरोध सिर्जना गरेको छैन र मैले असहयोग वा अवरोध गर्नुपर्ने कुनै पनि कारण छैन । सम्वन्धित जिम्मेवार कर्मचारीले दायित्व पुरा नगरेकोमा त्यसको परिणाम निजहरुले नै बहन गर्नुपर्छ सो वापत म असम्बन्धित व्यक्ति जवाफदेही हुनुपर्ने होइन । वास्तविक तथ्यलाई लुकाएर सस्तो प्रचारबाजीको लागिमात्र नभए नगरेको कुरालाई समाचार बनाई पत्रिकामा समाचार प्रकाशन गरेबाट मलाई ठूलो अन्याय हुन पुगेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment