Comments Add Comment

महाअभियोग प्रस्ताव सकारात्मक निष्कर्षतिर: प्रधानमन्त्री

Prachanda

१२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव सकारात्मक निष्कर्षतिर अघि बढेको बताएका छन् । भ्रष्टाचारविरुद्ध काम गर्ने संस्थालाई नै महाअभियोग लगाउनुपर्ने परिघटना आफैंमा नकारात्मक भएपनि यसबाट सकारात्मक परिणाम निस्कने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरे ।

लोकमानविरुद्धको महाअभियोग प्रस्ताव अविलम्ब अघि बढाउन दबाव दिने उद्देश्यले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउन गएका संयुक्त विद्यार्थी संगठनका नेताहरुसँग प्रचण्डले भने, ‘कांग्रेस, एमाले र मधेसी मोर्चा समेतसँग यसलाई सहमतिका साथ ट्ंगो लगाउने गरी छलफल भएको छ ।’

प्रधानमन्त्री दाहालले सडक आन्दोलन मार्फत दलहरू एकठाउँमा ल्याउन र जनमत निर्माण गर्नमा सकारात्मक भूमिका खेलेको भन्दै विद्यार्थी संगठनहरूलाई धन्यवादसमेत दिएको प्रतिनिधि मण्डलमा रहेका अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिए ।

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने, नेविसंघ अध्यक्ष नैनसिंह महर, अनेरास्ववियु अध्यक्ष नविना लामा लगायत सिंहदरवार गएका थिए ।

लोकमानविरुद्धको महाअभियोग प्रस्ताव संसदबाट तत्काल पारित गर्न माग गर्दै क्रान्तिकारी, नेविसंघ, अनेरास्ववियुसहितका ११ विद्यार्थी संगठनले दबावमुलक अभियान सञ्चालन गर्दै आएका छन् ।
उनीहरुले सभामुख ओनसरी घर्ती, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओलीलाई भेटेर ध्यानाकर्षणपत्र बुझाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment