Comments Add Comment

राष्ट्रपति विद्यादेवीको प्रस्तावमा विदा दिइएको हो: प्रधानमन्त्री

आचार्य भन्छन्- 'भ्याली डीआइजीले तीनदिन विदा मागेका थिए'

prachanda-(4)
१२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउँदा सार्वजनिक विदा दिने निर्णय राष्ट्रपति विद्यादेवी भण्डारीको प्रस्तावमा भएको बताएका छन् । साथै यो निर्णय आफूले एक्लै गरेको नभई सर्वदलीय सहमतिअनुसार भएको समेत प्रधानमन्त्रीले स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री प्रचण्डले मुखर्जीको भ्रमणमा सार्वजनिक विदा दिने निर्णय आफू एक्लैले नगरेको शुक्रबार विद्यार्थी नेताहरुसँग बताएका हुन् ।

महाअभियोग प्रस्ताव संसदबाट छिटो पारित गराउन माग गर्दै संयुक्त विद्यार्थी संगठनका नेताहरुले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए ।

विद्यार्थी नेताहरुसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सार्वजनिक विदाको निर्णय राष्ट्रपति विद्या भण्डारीको प्रस्ताव र सबै दलको सहमतिमा भएको जानकारी दिएको नेविसंघ अध्यक्ष नैनसिंह महरले अनलाइनखबरलाई जानकारी दिए ।

भेटमा सहभागी अनेरास्ववियुकी अध्यक्ष नविना लामाले विदाबारे प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै अनलाइनखबरसँग भनिन्, ‘हामीले यसबारे राष्ट्रपतिसँग छलफल गरेका थियौं, त्यहाँ भएको सहमतिअनुसार सम्मानका लागि यो निर्णय गरेका हौं ।’

माओवादीभित्रै असन्तुष्टि

विद्यार्थी नेताले प्रधानमन्त्रीलाई भेट्नुपूर्व माओवादी निकट जनवर्गीय संगठनका नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । सो भेटमा भारतीय राष्ट्रपति नेपाल आउँदा किन विदा दिएको भनेर माओवादी केन्द्रनिकट जनवर्गीय संगठनका नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई र्‍याख-र्‍याख्ती पारेका थिए । त्यहाँ पनि प्रधानमन्त्रीले विदा दिने प्रस्ताव राष्ट्रपतिको भएको स्पष्ट पारे ।

शुक्रबार विहान माओवादी निकट वाइसीएल, अखिल क्रान्तिकारी, महिला संघ क्रान्तिकारी, दलित मुक्ति मोर्चालगायत जनवर्गीय संगठनका अध्यक्षहरु प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरवार गएका थिए । उनीहरुले सार्बजनिक विदा दिने निर्णयले जनतामा नकारात्मक सन्देश गएको भन्दै सम्भव भए निर्णय सच्चाउन प्रचण्डलाई सुझाव दिएका थिए । उनीहरुले सुरक्षा चुनौति भए आवश्यक प्रवन्ध मिलाउनुपर्ने तर भारतीय राष्ट्रपतिको भ्रमणमा विदा दिने निर्णय अनुचित हुने बताएको भेटमा सहभागी एक नेताले बताए ।

विहीबार बसेको मन्त्रिपरिषद बैठकले मुखर्जी नेपाल भ्रमणमा आउने दिन कात्तिक १७ गते सार्बजनिक विदा दिने निर्णय गरेपछि यसबारे तीव्र प्रतिक्रियाहरु आइरहेका छन् । सरकारको यो निर्णयको चौतर्फी आलोचना भइरहेको छ ।

तीन दिन विदा दिनुपर्ने माग

विहीबार क्याबिनेटको बैठक बस्नुअघि शीतलनिवासमा प्रधानमन्त्रीले राष्ट्रपति भण्डारीसँग भारतीय राष्ट्रपतिको भ्रमणबारे परामर्श गरेका थिए । प्रधानमन्त्री कार्यालय र राष्ट्रपति कार्यालयका सचिवालयका अधिकारीसमेत संलग्न रहेको छलफलमा राष्ट्रपति भण्डारीले मुखर्जीको सम्मानमा विशेष ध्यान पुर्‍याउन सरकारलाई सुझाव दिएकी थिइन् । प्रचण्डको सचिवालयले अनलाइनखखबरलाई दिएको जानकारी अनुसार मुखर्जीको भ्रमणका बेला सार्वजनिक विदा दिन राष्ट्रपति भण्डारीले आग्रह गरेकी थिइन् ।

शीतलनिवासको छलफल सकिएपछि विहीबार नै सिंहदरबारमा प्रधानमन्त्रीले सरोकारवालाहरुसँग अर्को छलफल आयोजना गरे । छलफलमा गहृ र स्थानीय विकास मन्त्रालयका अधिकारीका साथै उपत्यकाको सुरक्षा व्यवस्था हेर्ने अधिकारीलाई समेत बोलाइएको थियो ।

सो छलफलमा उपत्यकाका डीआइजीले मुखर्जीको भ्रमणका बेला तीन दिन विदा दिइनुपर्ने सुझाव दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले अनलाइनखबरलाई बताए ।

आचार्यले भने- ‘सार्वजनिक विदा नदिँदा उपत्यकामा ट्राफिक व्यवूस्थापन गर्नै सकिन्न भन्दै भ्याली डीआइजीले तीन दिन विदा दिनुपर्ने सुझाव दिनुभएको थियो, तर सरकारले एक दिनमात्रै विदा दिने निर्णय गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment