Comments Add Comment

लोकमानका आफ्नै ‘विज्ञ’ ले खुट्याए ७ गल्ती !

lokman-singh-karki

१२ कात्तिक, काठमाडौं । अख्तियार प्रमुख लोकमानसिंह कार्की यतिबेला निलम्बित स्थितिमा छन् । कुनैबेला समानान्तर सत्ता चलाएका लोकमान किन यसरी जनता र राजनीतिक दलका नेताबाट एक्लिने अबस्थामा पुगे त ?

समानान्तर सत्ता चलाउन ‘बिज्ञ’का रुपमा उनको सचिवालयमा नियुक्त भएका सहयोगीहरुले नै लोकमानका केही गल्तीहरुका कारण लोकमान यो अबस्थामा आएको बिश्लेषण सुनाएका छन् ।

नियुक्त भएदेखि निलम्बित हुँदासम्म लोकमानले आखिर के-के गल्ती गरे जसले गर्दा उनी यति चाँडै तिरस्कारको पात्र बन्न पुगे ? लोकमानका एक बिज्ञका अनुसार लोकमानले गरेका ७ मुख्य गल्तीहरु उनकै शब्दमाः

१. गोविन्द केसीलाई पागल भन्नुहुन्थेन

Dr.-Govinda-KCगोविन्द केसीलाई ‘पागल’ भनेर आक्रामक रुपमा बिज्ञप्ति जारी गर्नु गल्ती थियो । लोकमानले गोविन्द केसीको सार्वजनिक छवि कति बलियो छ भन्ने हेक्का राख्न सकेनन् । आखिर गोविन्द केसीसँग एमालेका पाण्डे दाजुभाईहरु लडेकै थिए, पुरै एमाले पंक्ति गोविन्द केसीलाई कतैबाट परिचालित हुन् भनेर सावित गर्न लागेकै थियो । बेकारमा गोविन्द केसी मामिलामा सार्वजनिक रुपमै लडाईँमा उत्रिएर उनले नचाहिने ठाउँमा टाउको दुखाए ।

एमाले र गोविन्द केसीको लडाईँलाई ‘लोकमान भर्सेस गोविन्द केसी’को रुपमा अगाडि बढाइयो । सचिवालयमै रहेका केहीले उनलाई यसरी पागल नभनौं भने पनि लोकमानले टेरेनन् । पछि उनले गल्ती महसुस गरेर अफिसियल डकुमेन्टबाट पागल शब्दचाहिँ हटाए ।

२. लडाकूको फाइल खोल्नु हतारो भयो

सर्वोच्च अदालतले आफ्नो मुद्दा अघि बढाएको रीस फेर्न लोकमानले प्रधानमन्त्री प्रचण्ड भारतमा रहेका बेला लडाकूको फाइल खोल्ने काम गरे । त्यसरी हतारो नगरेको भए लोकमानका दुःखका दिन यति छिटो आउने थिएनन् ।

maoist-combatants

लडाकूको फाइल खोलेर अदालतलाई दबावमा राख्न खोजिए पनि त्यसको असर लोकमानका लागि प्रत्युत्पादक बन्न पुग्यो, जुन उनको अदुरदर्शी र आवेगपूर्ण निर्णय थियो । प्रचण्ड ओलीका सारथी रहेका बेला लडाकूको फाइल उठाएको भए अर्कै हुन सक्थ्यो, लोकमानले वाहवाही पाउन सक्थे । तर, प्रचण्ड भारतीय पाहुना बनिरहेका बेला हतासपूर्ण तरिकाले लडाकूको फाइल खोल्नु प्रत्युत्पादक भयो । शीर्ष तहमा सबैभन्दा राम्रो सम्बन्ध भएका प्रचण्डसँगै उनले अस्त्र प्रहार गर्न खोज्दा लोकमानको राजनीतिक सम्बन्धको आधार समाप्त भयो । त्यसो नगरेको भए प्रचण्ड महाअभियोगको प्रस्तावमा कुनै हालतमा अगाडि बढ्ने थिएनन् । बेकारमा लोकमानले प्रचण्डलाई शत्रुको कित्तामा पुर्‍याए, जुन आबश्यक नै थिएन ।

३. हिन्दु धर्मका पक्षमा लविङ गर्दा नेताहरु डराए

लोकमान आफैं पनि हिन्दुराष्ट्रका पक्षपाती हुन् । उनले सार्वजनिकरुपमा आफूलाई गणतन्त्रको पक्षपातीसम्म भन्न हिच्किचाउँछन् । यो अवस्थामा उनी अख्तियार प्रमुखको संवैधानिक जिम्मेवारीलाई समेत बिर्सेर हिन्दु धर्मको पक्षमा भित्री लविङमा उत्रिएका थिए बिचमा । लोकमानले केही नेताहरुलाई भेटेर धर्म निरपेक्षताको प्रावधान हटाई हिन्दु राष्ट्र बनाउने गरी संसदमा संसोधन प्रस्ताव दर्ता गर्न दबाव दिएका थिए । कतै लोकमानले राजतन्त्र फर्काउने भूमिका खेल्न थालेका त होइनन् ? यस्तो आशंका नेताहरुमा पलायो । धर्म निरपेक्षताका पक्षमा लडेका बिभिन्न दलका केही मुख्य नेताहरु लोकमानप्रति आगो बने । र, हिन्दु धर्मको लविङ गर्नु लोकमानसिंहको तेस्रो गल्ती ठहरिन पुग्यो ।

४. तामेलीकाण्डले इमेज बिग्रियो

सर्वोच्च अदालतमा मुद्दा चलिसकेपछि लोकमान नराम्रोसित आत्तिए । अदालतले पूर्जी काट्दा संवैधानिक निकायको प्रमुखका हिसाबले उनले त्यसलाई सहज रुपमा लिइदिएको भए हुन्थ्यो, तर म्याद तामेली नबुझ्ने र सरकारी कर्मचारीसमेत प्रयोग गरेर गुण्डागर्दी गर्ने काममा लोकमानले भूमिका खेले, जुन उनको ठूलो गल्तीमात्रै थिएन, संविधान र कानूनको समेत बर्खीलापसमेत ठहरियो ।

Shambhu-Khadka,-Sarbochha

हुन त यसमा अदालतको तर्फबाट पनि केही स्टन्टहरु भएका हुन् । अख्तियारबाट सर्वोच्चका रजिष्टारलाई पटक-पटक फोन गरेर पत्र अख्तियारमै ल्याइदिनुस् हामी बुझ्छौं भन्दा पनि त्यसो किन गरिएन हामी आफै छक्क परिरहेका छौं । जे भए पनि तामेली काण्डमा जे भयो त्यसले जनमानसमा लोकमानको इमेज समाप्त गरिदियो । हाम्रो सचिवालय पुरै रक्षात्मक अवस्थामा पुग्यो । पहिले लोकमानले भ्रष्ट नेताहरुविरुद्ध केही गर्छन् भनेर आश गरेका पब्लिक पनि यि त ज्याद्रा पो रहेछन् भनेर समर्थन गर्न छाडे । यसले लोकमानलाई निर्णायक रुपमा समाप्त गरिदियो ।

५. आत्तिएर विदेश जानु अर्को गल्ती

अदालतसँग डराएर त्यसरी हतार-हतार विदेशतिर जानु पनि जरुरी थिएन । अदालतको प्रकृया आफ्नो तरिकाले चल्दथ्यो, त्यहाँ मुद्दा चल्दैमा काम गर्न नमिल्ने भन्ने थिएन । अख्तियारलाई सक्रिय राखेर केही सकारात्मक काम गर्न सकिन्थ्यो जसले गर्दा जनतामा समर्थनको भाव देखिन्थ्यो । विदेशतिर लाग्दा उनले भारत पुगेर षडयन्त्र गर्न लागेको नेताहरुलाई पर्न गयो । अर्कातिर उनी स्वदेशमै बसेका भए आफ्नो पक्षमा थप लविङ गर्न सक्ने थियो । विदेशतिर जाँदा उनले उनले आफ्नो प्रतिरक्षाको अवसर गुमाए ।

६. एमालेलाई हान्ने योजना चुहियो

KP Sharma Oli, UML Chairman 1

विदेश भ्रमणमा गएका बेला लोकमानसिंहले नेपाल फर्केर एमाले नेताहरुलाई भ्रष्टाचार अभियोगमा मुद्दा चलाउने योजना बनाएका थिए । तर, त्यो योजना बिमानस्थलमा आइनपुग्दै चुहियो र एमालेले तत्कालै उनीमाथि एक्सन लियो ।

हाम्रो जानकारीमा रहेसम्म कुनै खास मुद्दामा उनले एमालेका केपी ओलीसहित धेरै शीर्ष नेताहरुलाई पत्र काट्ने गरेर आएका थिए । उनले एक दिन पनि कार्यालय चलाउन पाएको भए त्यो हुने नै थियो जस्तो लाग्छ । तर, एमाले यसमा चतुर देखियो, उसले बिचमै यो योजना थाहा पाउन सफल भयो र लोकमान बिमानभित्र छिरेपछि उनीबिरुद्ध संसदमा महाअभियोग दर्ता भयो । उनी नेपाल आइसक्दा त निलम्बन पो भइसकेछन् । त्यस्तो सूचना चुहाएर लोकमानले सवैभन्दा ठूलो गल्ती गरे ।

७. सचिवालयमा भ्रष्टहरु हावी भए

लोकमानले आफ्नो सचिवालयमा जति पनि मान्छेहरु राखे, ती अधिकांश भ्रष्टहरु थिए । लोकमानको नाममा सचिवालयका मान्छेहरुले गर्ने गल्तीको भागी पनि लोकमान नै भए । उनीहरुको ध्याउन्न पैसा कमाउनेतिर मात्रै गयो । र, यसले लोकमानलाई थप भ्रष्ट एवं विवादित बनायो । लोकमानले स्वच्छ छविका मानिसहरुबाट काम लिएनन् ।

अन्यमाः लोकमानका केही स्वाभावजन्य कमजोरीहरु पनि थिए, जसले गर्दा उनको अवसानको दिन नजिकियो । उनी आफैं पहिलेदेखि बिबादित छविका थिए । त्यसैले कतिपय राम्रै काम गर्न खोज्दा पनि उनलाई सपोर्ट भएन ।

लोकमान हक्की र खरो स्वभावका व्यक्ति हुन् । तर, धेरैका आलोचनालाई उनले अत्यन्तै व्यक्तिगतरुपमा लिएर देखाइदिने र चिप्लाइदिने चक्करमा लाग्नु जरुरी थिएन । उनी अरुविरुद्ध प्रतिशोध साँध्नेतिर भन्दा पनि चुपचाप काम गर्नेतिर लाग्नुपर्दथ्यो । तर, सिंगै देश आफैं चलाउँछु भनेजस्तो गर्न थालेपछि उनी नराम्रोसँग फसे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment