Comments Add Comment

भारत र चीनलाई गाली गरेर देश अघि बढ्दैनः डा. शेखर कोइराला

मधेसको समस्यालाई भारतको आँखाले हेर्नु गल्ती

shekhar-koirala

१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तराई मधेसको समस्या आन्तरिक भएको भन्दै यसलाई भारतको आँखाले हेर्नु गलत हुने बताएका छन् ।

राजधानीमा विहीबार आयोजित एक छलफलमा डा. कोइरालाले देशको सर्वोपरी हितलाई केन्द्रमा राखेर मधेसको समस्या समाधान गर्नुपर्नेमा जोड दिए । अघिल्लो सरकारले मधेस समस्यालाई भारतको आँखाले हेरेर गल्ती गरेको भन्दै उनले यसलाई निरन्तरता दिनु ‘ब्लन्डर’ हुने बताए ।

कोइरालाले संविधानमा मधेसको केही असन्तुष्टि रहेको भन्दै धेरै कुराहरु सम्बोधन गर्न सकिने बताए । प्रदेशको सीमांकनमा झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई के गर्ने भन्ने समस्या रहेको भन्दै उनले हिन्दी भाषालाई सम्पर्क भाषा बनाउन नसकिने प्रष्ट पारे ।

नागरिकताबारे रहेको असन्तुष्टि छलफल गर्न सकिने र राष्ट्रिय सभा गठनबारे मधेसी मोर्चाको माग जायज भएको बताए ।

नेता कोइरालाले हिजो संविधान बनाउने क्रममा मधेसी मोर्चालाई बाहिर राख्नु गल्ती भएको स्वीकार गरे । तर, अहिले सरकारले फेरि संविधान संशोधन प्रक्रियामा दोस्रो ठूलो दल एमालेलाई बाहिर राखेर अर्को गल्ती गर्न लागेको उनले बताए ।

कांग्रेस नेता कोइरालाले नेपालका लागि भारतको विकल्प चीन हुन नसक्ने समेत बताएका छन् । भारत विरोधी कुरा गरेर राष्ट्रवादी हुने होडले नेपाललाई नै अप्ठ्यारोमा पार्ने भन्दै कोइरालाले भने, नेपाल भारत र नेपाल चीन सम्वन्धको परिवर्तित सन्दर्भमा हामी पनि परिर्वतन हुनुपर्छ, हरेक कुरामा चीन वा भारतलाई दोष दिने प्रवृत्ति रहेसम्म देश अगाडि बढ्न सक्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment