Comments Add Comment

जात्राः भरपूर मनोरञ्जनको प्याकेज

फिल्म समीक्षा

jatra-movieपैसाको विषयलाई केन्द्रविन्दुमा राखेर हलिउड, बलिउड र नेपाली रजतपटमै धेरै फिल्म बनिसकेका छन् । अधिकांश फिल्मले पैसाको तागत र समाजसँग यसको गोलचक्कर साइनोबारे केलाएका छन् ।

यसै क्रममा पछिल्लो पटक ‘जात्रा’ फिल्मले आम जनजीवनमा पैसाको स्थान र यसका अनेक कडी ‘नेपाली पारामा’ छामेको छ । समाजमा पैसाबाट मान्छेको इज्जत नापिँदा मानवीय भावना, सम्बन्धको जग र नैतिकता कसरी चकनाचुर हुन्छ, जात्राले जात्रा देखाउँदै जान्छ ।

कथा हो तीन पुरुषको, जो अभावको दहमा भासिएको जीवनको रथ कसरी अघि बढाउने भनेर छटपटीमा बस्छन् । व्यापार-व्यवसायमा खटिए पनि नगद नारायणले नपत्याउँदा उनीहरु आ-आफ्नै समस्यामा रुमलिएका छन् । त्यस्तो अवस्थामा उनीहरुले जब आकस्मिक रुपमा थामिनसक्नुको पैसा पाउँछन्, झन् छटपटीको भवसागरमा डुब्छन् ।

पैसा हुँदै नभएको र कतै पैसा पाए पनि हुन्थ्यो भनेर सुर्ताउने मान्छेले फ्याट्टै पैसा पायो भने के हुन्छ होला ? यसैको सेरोफेरोमा फिल्म रोचक मोड हुँदै अघि बढ्छ ।

फिल्म पैसाको पछि कुदे पनि ‘जात्रा’ को धन हो, उत्कृष्ट पटकथा । जसले चारैतिर छरिएका चरित्रहरुलाई जसरी एउटा लिकमा राखेको छ, उसैगरी दर्शकलाई पनि हलभित्र बाँधेर राख्ने सामथ्र्य राख्छ ।

फिल्मलाई रोचक रुपमा अघि बढाउन द्वन्द्व विधानको जरुरत पर्छ, ‘जात्रा’ रोचक द्वन्द्व र रहस्यहरुको चाखलाग्दो संग्रह हो । अब के हुन्छ भन्ने जिज्ञासाले दर्शकलाई कुतकुत्याइराख्छ । पैसाले जोड्ने र संकटमा पार्ने सम्बन्धको आयामलाई कथाको सानो परिधिभित्र सीमित पात्रले एकसाथ रमाइलो र मार्मिक रुपमा खुलाएका छन् ।

समाजका हुनेखानेहरुसँग कुम मिलाउने आकांक्ष राख्दा पारिवारिक सन्तुलन बिग्रने, अभावमा अपमानित जीवन बाँच्नुपर्ने यथार्थ वैभवलाई सफलतासँग गाँसेर हेर्ने हाम्रै समाजको अँध्यारो र झन्-झन् गाढा बन्दै गएको पाटा हो ।

jatra-1

यो फिल्म ठेट पाराको कमेडीका लागि पनि सम्झिइनेछ । पात्रहरुको हरेक संवादमा हँसाउने फिल्मले ‘स्पिड ब्रेकर’ जस्तो घरिघरि भावुक पनि बनाउँछ । हँसाउने र रुवाउने कारक तत्व पैसै बनेको छ, जुन हाम्रो आजको भागदौडको जीवनमा पनि एउटा सत्य बनेर रहेको छ । फिल्मले रमाइलो पस्किँदा पस्किँदै गहन स्वर बोल्छ, ‘मान्छेले कागजलाई पैसा बनायो, पैसाले मानिसलाई कागज बनायो ।’

तीन व्यवसायीको भूमिकामा बिपिन कार्की, रविन्द्रसिंह बानियाँ र रविन्द्र झा तीनै जना जमेका छन् । षट्कोण प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा नाट्य क्षेत्रका कलाकारको वर्चश्व छ ।

कपाल काट्ने नाइ मुन्ना ठाकुरको भूमिकामा देखिएका झाले दर्शकले सम्झिरहने छाप छोडेका छन् । जनकपुरको मिथिला नाट्य कला परिषद्बाट खारिएर आएका उनी मधेसी पात्रकै भूमिकामा देखिएका छन् । तर, परम्परागत आम प्रचलनमा जस्तै मधेसी चरित्रलाई हदैसम्मको तराई लवजमा देखाउनु फरकपन बोकेको फिल्मको कमजोर छिद्र हो ।

बिपिनले यसअघि ‘पशुपति प्रसाद’ बाट चर्चित बनेको ‘भष्मे डन’को ट्याग यो फिल्मबाट मेट्ने सम्भावना देखाएका छन् । फिल्मभित्र पनि फिल्म बनाउने मोह पालिरहेका रविन्द्रसिंहको संवेदना धेरै प्रष्ट भएर नआए पनि उनमा समभाव राख्ने ठाउँ दर्शकले प्रशस्तै भेट्छन् ।

jatra-2

वर्षा राउत कथाको मर्मलाई गति दिन सुहाउँदो छिन् । थिएटरका अन्य कलाकार प्रकाश घिमिरे, प्रविण खतिवडा, कमलमणि नेपाल लगायतको भूमिका पनि अस्वाभाविक छैन ।

यो सबैको जस सानो पर्दाबाट अनुभव सिकेर ‘जात्रा’मा डेब्यू निर्देशक भएर आएका प्रदीप भट्टराईको पोल्टामा परेको छ । हास्य कलाकार मह जोडीसँग साढे एक दशक काम गरेका उनले संगतगुनाको गुलियो फल यो फिल्ममा पस्किएका छन् ।

समग्रमा यो फिल्मले सावित गरेको कुरा हो, फिल्म राम्रो हुनलाई ठूल्ठूला विषयको पहाड फोरिराख्नै पर्दैन । समाज र मान्छेको मसिना कुरा बाँकी दुनियाँलाई नयाँ कुरा भन्न पर्याप्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment