Comments Add Comment

यात्रा संस्मरण: ज्यानको बाजि लगाएर पश्चिम यात्रामा

यात्रा गर्न निकै रुचाउँछु म । त्यसमा पनि अपरिचितहरुसँग यात्रा गर्न बढी मन पर्छ । यसैले चाडबाडमा राजधानीबाट साथीभाइसँग हुल बाँधेर जानुभन्दा प्राय: एक्लै घर गएँ ।

यस वर्षको दशैंमा पनि एक्लै घर जाने योजना थियो । तर, काठमाडौंदेखि महेन्द्रनगरसम्म दुई जना भाइसँग यात्रा गरेँ । काठमाडौंदेखिकै जामको कारण कुरिनटारतिरै एक रात बित्यो । करिब ३० घण्टाको यात्रापछि महेन्द्रनगर पुगियो । राजधानीबाट गृहजिल्ला बाजुरा पुग्न मैले छुट्याएको अवधिमध्येको लगभग १२ घण्टा महेन्द्रनगर नपुग्दै फाल्तु खर्चिसकेछु ।

mimraj-pandeya
मिमराज पाण्डेय

यहाँ पुगेपछि यकिन भयो, सदरमुकामसम्मै बसमा जान पाइने भो । महाकाली सेती र पवनदूत यातायात व्यवसायी समितिले महेन्द्रनगर–बाजुरा बस सञ्चालन गर्दा रहेछन् । भोलि ३/४ घण्टा पैदल हिँड्नुपर्ने समय जोगियो ।

मैले जुन बसको टिकट पाएँ, त्यसमा जाने सबै उत्साहित । बढीजसोले सुरक्षित र आरामदायी मान्ने पवनदूत यातायातको बाह्रसिंगे मेट्रोबसको यात्रा गरिने भो ।

काउन्टरवालाले टिकटमा बस छुट्ने समय १२ बजे लेखे पनि एक नबजी बसपार्कबाट बस निस्किएन । अगाडिका ठाउँमा कतै मान्छे चढाउने त कतै सामान हाल्ने गरेकाले झलारीको अजुर्नी ब्यारेकको चेकपोष्ट पुग्दा तीन बजिसकेको थियो । एकछिन चेकजाँच भएपछि बस अघि बढ्यो ।

बसभित्र खचाखच हामी र छत सामानले भरिएको थियो । पहाडको बाटो नाप्नुअघि बस पूर्व-पश्चिम राजमार्गबाट मोडिएर अत्तरियामा पार्क भयो । अधिकांश यात्रु पानी खाने र शौचालय जाने निहुँले उत्रिए । त्यही बेला हातमा रसिद र टिकटको अर्धकट्टी बोकेर तीन जना आए । हरेक यात्रुको टिकट हर्दै उनीहरूले दुई जनाको सिटमा तीन र तीन जनाको ठाउँमा चार जना बसाउँदै गए । अझै पनि १२/१५ यात्रु उभिइरहेका थिए, जो बाजुरासम्मको पूर्ण भाडा ११ सय रुपैयाँ तिरेका थिए ।

तीन दिनपछि त दशैं थियो, सबैलाई घर पुग्नै थियो । बस सञ्चालक पनि सकेसम्म बढीलाई लैजाने सुरमा हुने नै भए । तर, प्रहरीले मुढामा यात्रु बोकेको भेटिए बसवालालाई कारबाही गर्ने भनेको रहेछ । त्यसैले होला, ती सहचालकले डिकीबाट त्रिपाल झिकेर ओछ्याइदिए– ग्यालरीमा ।

उनले उभिएका यात्रुहरुलाई तीन पङ्तिमा तीन–तीन जना गरी अन्तिम सिटदेखि ढोकासम्मै बसाउँदै भने, ‘उल्टी आयापछि प्लाष्टिक माग्या है !’

हामी महेन्द्रनगरबाटै दुई जनाको सिटमा तीन जना बसेर आएका थियौं । म झ्यालपट्टिको सिटमा नभई ग्यालरीतर्फको छेउमा बसेको थिएँ ।

हामी बसेको सिटमा पहिले नै खाँदाखाँद गरी बसेकोले हामीले अघि एक बालकलाई बसाउन मानेका थिएनौं, ऊ त अहिले हाम्रो सिटको आडैमा बसेकी आमाको काखमा लुपुक्क परेर बसिरहेको रै’छ ।

बसको इञ्जिन चालु भएसँगै दाह्री पालेका एक जना गाइने दाइ बसभित्र पसेर सारङ्गी रेट्न थाले-

‘नमुछे आमा दहीमा टीका नछरे जमरा

दैवले गर्दा छुटायो आमा आउदिनँ फर्केर ।’

उनले गाएको सुनिरहँदा घरि उनीप्रति नै करुणा जाग्दै थियो, घरि आफैंप्रति र घरि सबै यात्रुप्रति । गाइने दाइले हरेक यात्रुको रुचि अनुसार गीत सुनाए र यात्रुले पनि केही पैसा दिएर बिदाइ गरे ।

बसमा केही जिल्ला बाहिर अध्ययन गरिरहेका विद्यार्थी, केही उपचार गरेर फर्किएका गाउँले र बढीजसो भारतबाट फर्किएका युवा सवार थिए ।

बस गोदावरीतिर पुग्दै थियो, म छेउको ग्यालरीमा बसेकी दिदीलाई गाह्रो परेछ । उनले भनिन्, ‘मेरा बच्छाकन बोकिदेउ पन । म कन उल्टी आउन लागिगो ।’

मैले बच्चालाई काखमा राखेँ । ११ वर्षका ती बालक धनगढीमा कक्षा ४ मा पढ्दा रहेछन् । केही समय मैले बोकेपछि उनलाई बाजुरा–कोल्टी, सिराडीका कालीबहादुर विकले बोकिदिए । कालीबहादुर दाइ भारतको उत्तराखण्ड राज्यको पिथौरागढबाट आएका रहेछन् ।

गाडी निकै तीव्र गतिमा गुडिरहेको थियो । अधिकांश यात्रु झ्यालबाट मुण्टो बाहिर निकालेर वाकवाकी गरिरहेका थिए । मान्छेहरु बसेको ग्यालरीमा पनि दिगमिगाउने गन्ध आइरहेको थियो ।

कुनै बिहे पार्टीमा जस्तै चर्को आवाजमा लगातार गीत बजिरहेको थियो । बसभित्रका अधिकांश यात्रु निदाए जस्तो भए पनि हरेक मोडमा डराए झैं आँखा खोल्थे र पुन: बन्द गर्थे

चालकले खानीडाँडाबाट एकैपटक डोटीको शान्तिनगर पुगेपछि खाना खानका लागि गाडी रोके । केहीले खाना खाए । धेरैजसो भने एक बोतल पानी र चाउचाउ किनेर बसभित्र पसे ।

‘खाना खाने समय मात्र २१ मिनेट ।’ बसको भित्रपट्टि लोखिएको यो समय सकिएछ ।

गाडी गुडेरर केहीबेरमा पहिलेकै तीव्र रफ्तार समायो । सिट र ग्यालरी उस्तै भरिभराउ थिए । सिट छेउको सानो डण्डी खोल्दा त म नअटाएर पूरै सिट बाहिर हुन्थेँ । तीव्र गतिको बसको झिनाझप्टीले गर्दा कम्मर चस्किरहेको थियो ।

कुनै बिहे पार्टीमा जस्तै चर्को आवाजमा लगातार गीत बजिरहेको थियो । बसभित्रका अधिकांश यात्रु निदाए जस्तो भए पनि हरेक मोडमा डराए झैं आँखा खोल्थे र पुन: बन्द गर्थे । मेरो छेउको ग्यालरीमा बसेकी दिदी भने तारन्तारको बान्ताले बेहोश झैँ थिइन् । उनले यो पटकसहित जम्मा दुई पटक मात्र बस चढेकी रहिछिन् । वाकवाकी लागिरहने भएकाले गाडी चढेदेखि उनले खानेकुरा, पानी केही पनि खाएको देखिएन ।

ग्यालरीमा अडेस लाग्ने सजिलो ठाउँ पनि थिएन । हरेक पल्ट बस मोडिँदा उनी मेरो देब्रे खुट्टामा दुवै हातले अँगालो मार्न आइपुग्थिन् । गाडी मोडिएपिच्छे उनी चिच्याउने गर्थिन्,  ‘ओ दैव, आइ मरिजान्या छौँ ।’

उनको त्यो अवस्था देखे पनि मैले सिटमा बस्नुस्, म उभिएर जान्छु भन्न पनि सकिनँ । किनकि दुई जनाको सिटमा बडो मुश्किलले हामी चार जना बसिरहेका थियौं ।

गाडीको वेग उस्तै थियो । म अगाडि-पछाडिका सिटहरु, ग्यालरी र क्याबिनमा बट्टाको अचार झैँ खाँदिएका सबै यात्रुलाई हेर्दै थिएँ ।

असोज ९ गते रुट परमिट नभएको यात्रुबस धादिङको मार्पाकमा दुर्घटना हुँदा १९ जनाले ज्यान गुमाउनुपरेको कुरा पनि दिमागमा घुम्दै थियो । त्योसहित मैले आजसम्म थाहा पाएजतिका सवारी दुर्घटनाहरु एक–एक गरी सम्झिरहेको थिएँ ।

बसको यात्रा पूरा भएपछि सबैले सकुशल पुगेकोमा सन्तोषको सास फेरे । मैले पनि सदरमुकामदेखि घरतर्फको पैदल यात्रा सुरु गरेँ ।

कसैले यकिनका साथ नभन्लान्, बसको क्षमताको तीनगुणा यात्रु बोक्नु नै दुर्घटनाको प्रमुख कारण बन्न सक्छ । तर, महेन्द्रनगर–बाजुराको बाटोमा हाल बस गुडिरहने बस सडक, तिनको वेग र ग्यालरीभरि यात्रु कोचिने अवस्थाले देखाउँछ, यही हालतमा सञ्चालन हुने गाडी कदाचित दुर्घटना भएमा मानवीय क्षति तेब्बर हुनेछ ।

 

ट्विटर @mrpandeya

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment