Comments Add Comment

कालापानीदेखि पृथ्वी बा सम्मलाई लगाम !

‘कपाल नफुलेका’ राष्ट्रवादी गायक

bidhan-shrestha_810

जतिबेला आफ्नो छिमलका गायक-गायिका माया-पिरतीका ‘झिल्के’ गीतहरु गाइरहेका थिए, विधान श्रेष्ठ जवानीका भक्कानाभन्दा देशको भावना छाम्दै थिए ।

२३ वर्षे ठिटौलीमै उनले राष्ट्रिय गीत गाए, जुन समयमा देशप्रेम र राष्ट्रिय भावनाले ओतप्रोत  गीतहरु ‘बूढाहरुको पेवा’ जस्तै मानिन्थ्यो र युवा पुस्ताका गायकहरु तर्कन्थे ।

त्यस्तो अवस्थामा विधानले ०५५ सालमा ‘ज्ञानबहादुर छोरो’ गीत गाउँदा धेरैले अचम्म माने ।

चलनचल्तीका राष्ट्रिय गीतहरुमा हारमोनियम र तबलाको प्रयोग गरिने भए पनि ‘ज्ञानबहादुर’मा रक शैली अपनाउँदै आधुनिक बाजा हालियो । गायन शैली पनि फरक थियो ।

bidhan-shrestha-1

उनकै बाबा विजय श्रेष्ठको शब्द/संगीत रहेको त्यो गीत निकै चर्चित बन्यो । र, हिजो खिसी गर्ने र अचम्म मान्ने युवाहरु पनि यस्ता गीत गाउन कस्सिए ।

राष्ट्रिय गीतलाई युवा पुस्तामा ल्याउनुपर्छ भन्ने सोचले नै त्यसबेला आफूले गाएको विधान सुनाउँछन् । उनी सम्झिन्छन्, ‘मैले ज्ञानबहादुर गाएपछि एउटा लहर नै आयो, राष्ट्रिय गीत नगाई त गायकको छापै नलाग्ने जस्तो भयो ।’

०५७ सालमा ‘माछी मार्न जाऔं न दाजै कालापानीमा’ बोलको गीत आएपछि त त्यसले झन् बेग्लै तरंग ल्यायो ।

पिताकै शब्द/संगीत रहेको गीतमा विधानका साथै जे पापी र रिता उपाध्यायको स्वर छ । गीतले पूर्वको कालापानी ओगट्ने दक्षिणको छिमेकीलाई हाँक दिएको थियो । यस्तै, विदेशको नोकरीको भर नभएकोले देशमै केही गर्नुपर्ने भावको गीत जुरुक-जुरुक पार्ने खालको थियो । लोक-पप फ्युजन भएकोले नयाँ पुस्तामा लोकप्रिय हुँदै गीतले युवा मनलाई पनि राष्ट्रिय मुद्दामा सचेत बनायो ।

चर्चाको शिखरमै रहेको बेला ०५८ सालमा एकाएक ‘कालापानी’ गीतमा अघोषित प्रतिबन्ध लाग्यो । मिडियाहरुमा एकाएक बज्न छाड्यो

जनताले रुचाए पनि सरकारी नजरमा भने त्यस्तो गीत दुस्साहस जस्तै बनिदियो । गीत केही वर्ष ब्यान्ड नै भयो । सरकारीसहित सबै मिडियामा चटक्कै बज्न छाड्यो ।

प्रतिबन्ध भोगेका केही गीतहरुको उनीसँग फेहरिस्त नै छ ।

कालापानीदेखि पृथ्वी बा सम्मलाई लगाम !

चर्चाको शिखरमै रहेको बेला ०५८ सालमा एकाएक ‘कालापानी’ गीतमा अघोषित प्रतिबन्ध लाग्यो । मिडियाहरुमा एकाएक बज्न छाड्यो । तीन-चार वर्ष ब्यान्ड भयो ।

तर, विधानले हार मानेनन् । मिडियाहरुमा धाउँदै गीत किन ब्यान्ड गरेको भनेर सोधे । तर, स्पष्ट कारण पाएनन् । बजाउन अनुमति छैन भन्ने मात्र जवाफ दिन्थे ।

‘राष्ट्रिय समस्या उठाइएकोले गीत नबजेको भन्ने सुनिन्थ्यो,’ उनी भन्छन्, ‘गणतन्त्र आएपछि चाहिँ फेरि निकै बज्यो ।’ यो खुसी मनाउन नपाउँदै उनलाई अर्का झड्का लाग्यो । गणतन्त्र व्यवस्थामै उनको अर्को गीत निशानामा पर्‍यो ।

‘ऊ पनि मान्छे हो, तँ पनि मान्छे हो, म पनि मान्छे हो

हाम्रो बडा पृथ्वी बाले भनेका एकता नै बल हो ।’

०६२ सालमा ‘एकता नै बल हो’ बोलको गीत बनाएर म्युजिक भिडियो  सार्वजनिक गर्न पाउँदा-नपाउँदै सरकारी सञ्चार माध्यम नेपाल टेलिभिजनले ब्यान्ड गरिदियो ।

कुरा बुझ्दा ‘हाम्रो बडा पृथ्वी बा ले भनेका’ भन्ने शब्दहरु सरकारी आँखामा बिझेको रै’छ । र, राजतन्त्र गइसक्दा पनि राजाको गुणगान गायो भनेर गणतान्त्रिक सरकारले गीतमा लगाम लगायो । साढे दुई वर्ष जति प्रतिबन्ध लागेपछि फेरि बज्न थाल्यो ।

गीतले प्रतिबन्ध खेप्ने र पछि आफैं खुल्ने भइरहेपछि उनले पनि त्यसलाई स्वाभाविक रुपमा लिन थालेका छन् । विधान त्यसलाई गीतको शक्ति भनेर अर्थ्याउँछन् ।

bidhan-shrestha3

सारंगी र मादलले नचाएको मन

सुनसरीको इनरुवामा जन्मे-हुर्केका विधान एसएलसी दिएपछि गिटार सिक्न काठमाडौं आएका थिए । तर, गिटारसँग खासै गाँठो कसिएन । बरु सारंगीको तारले बेर्दै लग्यो ।

बच्चैदेखि रुचाउँथे सारंगी । उनको मन पर्ने बाजामा सारंगीपछि मादल पर्छ । आज पनि उनी आफ्ना गीतहरुमा पहिलो प्राथमिकता सारंगी र मादललाई नै दिन्छन् ।

०४८ सालताका उनी सांगीतिक क्षेत्रमा आउँदा पप संगीतको जगजगी थियो । जता पनि ड्रम्स र गिटारको झङ्कार । युवा रहर न हो, उनी पनि त्यही बाढीमा हेेलिन सक्थे । तर, उनले मनको आवाज सुने । पप गायकहरुको भीडमा परिचय बनाउन गाह्रो देखे पनि लोक संगीतलाई नै आफ्नो बाटो बनाए ।

लोकसाहित्य र लोकजीवनप्रति उनको पहिल्यैदेखि लगाव थियो, इनरुवाको ग्रामीण भेगमा हुर्किनुलाई यसको कारक मान्छन् उनी । ‘भारत र पाकिस्तान शास्त्रीय संगीतका धनी हुन् भने हामी लोकगीतका धनी हौं,’ गुनासो गर्छन्, ‘तर, हामीकहाँ कतैबाट पनि लोकगीत-संगीतको खोजखबर छैन । बरु बाहिरबाट आएर रिसर्चहरु गरेका छन् ।’

उनको रेकर्ड भएको पहिलो गीत थियो, ‘जलन छातीको’ । तर, त्यो सहित केही गीत खासै चलेनन् । सिने साउन्ड स्टुडियोमा एकैचोटि चार-पाँच वटा गीत रेकर्ड गराएका थिए ।

त्यसमध्येको एउटा गीतले विधानको भाग्यको ढोका खोल्ने तागत साँचिरहेको रहेछ ।

मादल र सारंगीको भरपूर प्रयोग गरिएको त्यो गीत थियो –

‘बुहारी झार झैं लजालु पिपल झैं छायालु

पुञ्ज जस्तै राम्री मेरी मायालु… मेरी मायालु…’

०५१ सालमा ल्याएको ‘बुहारी झार’ ले उनको संगीतयात्राको लाज मात्र राखेन, गायककै रुपमा स्थापित गर्‍यो । त्यही समयको ‘आज नाच्छे मेरी गौरी’ पनि श्रोताको मनमा उत्तिकै बस्यो ।

त्यसबेला ‘बुहारी झार’ कति चल्तीको भयो भने, गीत नबजेको दिनै हुँदैनथ्यो । नेपाल टेलिभिजनमा हरेक साँझ समाचार प्रसारण हुनु अगाडि बजेकै हुन्थ्यो । तर, पछिल्लो समय टेलिभिजनमा उक्त गीतको भिडियो छैन । बुझ्दा हरायो भन्ने जानकारी पाए ।

भूषण दाहालले बुहारी झारसहित आज नाच्छे मेरी गौरी, सोल्टिनी भनी बोलाको, कान्छीको अल्लारे जोबन लगायत गीतको म्युजिक भिडियो लगालग बनाएका थिए ।bihdna-shresth-4

पिताको पथमा

विधानले जति पनि गीत गाएका छन्, अधिकांशमा पिता विजय श्रेष्ठको शब्द र संगीत छ । पिताको सिर्जनासँग उनले खोज्ने स्वाद पनि मेल खान्छ ।

बाबाले मौलिक स्वादमा राष्ट्रिय र ठेट बान्कीका गीतहरु लेखे जस्तै नयाँ-नयाँ विषयमा अरु गीतकारहरुले पनि लेखेका छन् कि भनेर यसो खोज्छन् । तर, चलिरहेको ट्र्याकभन्दा बाहिर निस्किन नसकेको देख्दा खिन्न हुने गरेको उनले सुनाए ।

लेखिएका अधिकांश गीतहरु मायाप्रेम र त्यसमा पनि बिछोडको मात्र देख्दा उनी गीतकाहरुप्रति शंका गर्छन्, ‘लेख्नै नचाहेको हो कि वा दिमागले नै काम नगरेको हो कि ?’

अग्रज गीतकारहरुले समेत ४०-५० वर्षदेखि एउटै विषयमा शब्दहरू रगडिरहेको देख्दा उनी हैरान हुन्छन् ।

उनी मायाप्रेमका गीत गाउँदै नगाउने हैनन्, फरक शैलीको लेखाइ होस् भन्ने चाहन्छन् । नेपालीपन खोज्छन् ।

उनले ‘बुहारी झार’, ‘आज नाच्छे मेरी गौरी’ जस्ता गीतहरू बच्चैदेखि बाबाको मुखबाट सुन्दै आएका थिए ।

घरमा विजय गिटार बजाउँदै गीत गाइराख्थे । अहिले पनि बाउ-छोरा कहिलेकाहीँ ‘महफिल’ जमाएर सुन्ने-सुनाउने गर्छन् । त्यसमा भिडियोग्राफीमा रमेका भाइ विधेयक श्रेष्ठ पनि साथ दिन्छन् ।

‘बाबा आफ्नो अनुभव सुनाउनुहुन्छ, उनी भन्छन्, ‘परिवारमै सांगीतिक माहौल हुँदा धेरै सपोर्ट हुन्छ ।’

रेडियो नेपालबाट विजयले भ्वाइस टेस्ट पास गर्दा संगीतकार नातिकाजीलाई अगाडि राखेर ‘बुहारी झार’ गीत नै गाएको विधानले सुनाए । आखिरमा पछि त्यही गीतले छोराको चिनारी पनि बनायो ।

बाबाका खारिएका गीतहरु गाउँदा-गाउँदै विधान शब्द र संगीतमा एकदमै ‘चुजी’ भएका छन् । नयाँ विषयवस्तुमा लेखिएका गीतहरु बाहेक हत्तपत्त चित्त बुझाउँदैनन्

विशुद्ध लोक र लोक-पप शैलीका उनका गीतहरू अरुभन्दा सर्लक्कै चिनिन्छन् । जहाँ जाँदा पनि श्रोताहरुले उनका गीतहरुलाई ‘अरुभन्दा धेरै फरक छ’ भनेको सुन्छन् उनी । यही फरक शैली नै उनको मूल बाटो भइसक्यो अब ।

‘बाबाको फरक विचार र भावना आउने भएकोले उहाँले लेखेको गीत अरुभन्दा छुट्टइिहाल्छ’, उनी भन्छन्, ‘मैले त आफ्नो क्षमता अनुसार गाएको मात्र हो । मौलिक र नयाँपन भएको शब्द र संगीतले गर्दा नै अरुभन्दा बेग्लै सुनिएको हो ।’

उनका बाबा विजय एक समय चतुर्भुज आशावादीका चेला थिए । विराटनगरमा खोलेका भानु मोरङ कला केन्दमार्फत उनीसँगै सांस्कृतिक कार्यक्रममा विभिन्न ठाउँ घुमिहिँड्थे । दीप श्रेष्ठको आरम्भिक चरणका धेरै गीत विजयकै हुन् । तीमध्ये ‘म पत्थरको देवता होइन’, ‘साइँली बरी चियाबारीमा’ उल्लेख्य छन् ।

विधान भन्छन्, ‘बाबाले कम्पोजिसन गरिसकेका गीतहरु रेकर्ड गर्न बाँकी टन्नै छन्, बिस्तारै ल्याउँछु ।’

पुराना गीत ब्युँताउँदै

बाबाका खारिएका गीतहरु गाउँदा-गाउँदै विधान शब्द र संगीतमा एकदमै ‘चुजी’ भएका छन् । नयाँ विषयवस्तुमा लेखिएका गीतहरु बाहेक हत्तपत्त चित्त बुझाउँदैनन् । थोरै गाऊँ, राम्रो गाऊँ भन्ने सोचले काम गर्छन् ।

नयाँ गीतभन्दा पनि उनलाई पुरानोको मोह बढी देखिन्छ । मौलिक सिर्जना आफ्नो ठाउँमा छँदै छ, रेडियो नेपालमा कार्टेजहरु बिग्रेका, हराएर बिर्सिसकेका अरुका गीतहरु रि-रेकर्डिङ गरेर नयाँ पुस्तामा ब्युँताउनमा पनि लागिरहेका छन् । त्यसबाट स्रष्टाप्रति सम्मान हुने र आत्मसन्तुष्टि पनि मिल्ने सोच राख्छन् उनी ।

‘हुन त मसँग नयाँ गीतहरुको अभाव छैन’, उनी भन्छन्, ‘तर पुराना, हराइसकेका र रेडियोमा कार्टेजहरु बिग्रेर सुन्न नसकिने अवस्थामा रहेका गीतहरु गाउँदा त्यसको छुट्टै सन्तुष्टि आउँछ ।’

त्यस्ता गीतहरु उनी सम्बन्धित स्रष्टाहरुसँग लिखित अनुमति लिएरै गाउँछन् । त्यहीमध्येको गीत हो, ‘यो नानीको शिरैमा इन्द्रकमल फूल फुल्यो’ । झलकमान गन्धर्वले संकलन गरेको यो गीत उनले मूल गायक प्रेमध्वज प्रधानसँग अनुमति लिएर ०६८ सालमा गाए ।

त्यसो त उनी नयाँ गीत दिनुस् भन्दै गीतकार र संगीतकारकहाँ धाई-धाई गीत माग्ने गायकमा पर्दैनन् । आफ्नै घरमा दिग्गज गीतकार र संगीतकार छँदै छन् । आफैं पनि गीत लेख्ने र कम्पोज गर्ने गर्छन् । रेकर्डिङ गर्न बाँकी धेरै गीत लाइनमै छन् ।

उनलाई नयाँपन बोकेका मौलिक शब्द र झट्ट सुन्दाबित्तिकै समातिहाल्ने संगीतले मोहित बनाउँछ । त्यस्तो देख्यो भने उनी जहाँसुकै पुगेर पनि ती गीत बटुल्छन् । यसै क्रममा गायक एलपी जोशीलाई झापा दमकमै भेटेर दुई-तीन वटा गीत ल्याएका छन् । तुलसी दिवसले ०२५/२६ सालतिर पूर्वाञ्चल, गण्डकी अञ्चलबाट संकलन गरेका गीतहरू पनि राखेका छन् । पालैसँग रेकर्ड गरेर ल्याउने उनको सोच छ ।

नराम्रा गीतको दबदबा

विधानले आफूले संगीतलाई पैसा कमाउने रुपमा कहिल्यै नलिएको बताउँछन् । यसैले अहिले सीडी बिक्री नहुने समयमा पनि उनलाई केही फरक पारेको छैन ।

०६३ सालमा नवौं एल्बम नयाँ एल्बम निकाल्न छोडेका छन्, तर २-३ वर्षको अन्तरालमा सिंगल ट्र्याकहरु लिएर आइरहेका छन् । भलै पछिल्ला गीतहरु पहिले जस्तो चर्चामा आएनन् । यसमा उनको तर्क छ, अहिले राम्रा गीत पनि नराम्रा गीतहरुको बाढीमा ओझेल पर्छन् ।

उनी आफ्नै रफ्तारमा थोरै गाउने, राम्रो गाउने मान्यतामा अडिग छन् । उनको यस्तो मान्यता हुनुमा संगीतज्ञ अम्बर गुरुङको भूमिका रहेछ

उनी भन्छन्, ‘अचेल स्तरीय गीतहरु आउँदै आउँदैनन्, आए पनि फाट्टफुट्ट मात्र आउँछन् । कतिपय राम्रा गीतहरुलाई पनि नराम्राले छोपिदिएका छन् ।’

यसतर्फ गीत प्रसारण गर्ने मिडियाहरु सचेत हुनु जरुरी देख्छन् उनी । शब्द र संगीत हेरेर मिडियाहरुले कस्तो गीत बजाउने-नबजाउने भनेर छान्नुपर्ने उनी सुझाउँछन् ।

गीत-संगीतमा पहिले र अहिलेको तुलना गर्दा उनी आकाश-जमिनको फरक पाउँछन् । साधनाबाट माझिएर आएका गायकको खुबी, स्तरीय शब्द र संगीतले विगतको उँचाइ अहिलेको गीत-संगीतले छुन नसक्ने उनी बताउँछन् ।

ट्र्याक सिस्टमले गर्दा गाउन सजिलो भएर अहिले जो पनि गायक हुन सक्छन्, त्यसमा एकैसाथ वरदान र अभिशाप देख्छन् विधान ।

उनले भने, ‘अहिले खुबी भएका गायकहरु पनि छन् । तर, नराम्रोको प्रभाव बढी छ । अधिकांशमा जसरी होस्, आज रेकर्ड गरेर भोलि हिट हुने सोच देखिन्छ ।’

यस्तो अवस्थामा उनी आफ्नै रफ्तारमा थोरै गाउने, राम्रो गाउने मान्यतामा अडिग छन् । उनको यस्तो मान्यता हुनुमा संगीतज्ञ अम्बर गुरुङको भूमिका रहेछ । एक समय करिब ५ वर्षसम्म उनले अम्बरसँग संगीत सिकेका थिए ।

अम्बर उनलाई भन्थे, ‘गीतको संख्या बढाएर मात्र हुन्न । मान्छेलाई दुइटा गीत गायो भने जिन्दगीभरिलाई काफी हुन्छ । अमर गीत गाउनुपर्छ ।’

सिनियरसँग संगत

कलाकर्ममा सकेसम्म समूहमा विचार-विमर्श गरेर आफूलाई परिष्कार र सुधार गर्दै अघि बढ्नु जरुरी मानिन्छ । तर, विधानको समकालीन गायक-गायिका कसैसँग उठबस छैन ।

bidhan-shrestha-455लजालु स्वभावका उनी बाहिरी दुनियाँमा खासै घुलमिल गर्दैनन् । प्रायः घरमै संगीत सिर्जना र अध्ययन गर्दै बसिरहेका हुन्छन् ।

बरु सिनियर संगीतकर्मीहरुसँग उनको केही संगत छ । नेपालमा बेस गिटार भित्र्याउने पुराना गिटारिस्ट सुवर्ण लिम्बूसँग उनको बढी उठबस भयो । अहिले पनि उनैसँग भेट गर्छन् । यदाकदा ओमविक्रम विष्टसँग भेट हुन्छ । समकालीनहरुसँग छलफल गर्न नपाउँदा खासै ग्याप महसुस गर्दैनन् । टीभी, पत्रपत्रिका हेरेर पछिल्ला अपडेट थाहा पाइरहेका हुन्छन् ।

सिनियरहरुसँग संगत गर्न रुचाउने उनी नयाँ गायक-गायिकाले पुराना कलाकारका गीत सुन्नैपर्ने जरुरी देख्छन् । उनलाई नारायणगोपाल, ओमविक्रम, दीपक खरेल, प्रकाश श्रेष्ठको गीत मन पर्छन । रियाज गर्दा पनि उनी तिनै गीत गाउँछन् ।

उनी लाइभ म्युजिकका पक्षपाती हुन् । कन्सर्टहरुमा म्युजिक ट्र्याकमा गाउने चलन उनलाई पटक्कै मन पर्दैन । यसैले अहिलेसम्म देश-विदेशका कुनै कार्यक्रममा सहभागी भएका छैनन् । अब लाइभ म्युजिकसहित आफ्नो एकल कन्सर्ट गर्ने कुरा भइरहेको उनले सुनाए ।

शब्द, संगीतलाई ध्यान दिए पनि पछिल्लो समयका उनका गीतहरु खासै चलेका छैनन् ।

यस्तो किन त ?

यसमा उनी एउटै प्रकारका गीत गाउनुभन्दा अलिक भेराइटी दिनुपर्छ भन्दै आफ्नो बचाउ गर्छन् । भन्छन्, ‘श्रोताहरुमा गायकको एक किसिमको छाप बसे पनि हामीले विभिन्न प्रकारका गीत गाइरहनुपर्छ ।’

पछिल्लो समय प्रेम-प्रणयका गीतहरु गाइरहेका छन् उनी । यही वर्ष दशैंअघि ‘के गर्छ्यौ माया’ ल्याएका उनी अबको केही महिनामा चेतन कार्कीले ०२३/२४ सालतिर संकलन गरेको ‘जूनले बरु पोल्ला हजुर ताराले पोल्दैन’ बोलको गीत ल्याउने तयारीमा छन् ।

शब्द-संगीतप्रति सचेत र अलग गायकी शैली भएका गायक भएर पनि उनले आम श्रोताको मायामै चित्त बुझाउँदै आएका छन् । साढे दुई दशकको संगीत यात्रामा उनले अहिलेसम्म कतैबाट अवार्ड र सम्मान थापेका छैनन् ।

बिट मार्ने क्रममा बुहारी झार झैं लजाउँदै सुनाए, ‘यो कुरा थाहा पाउँदा जो पनि अचम्म मान्ने गर्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment